दुई टेल चाँदी त्यसका हातमा हालिदिँदै येनले भन्यो- “हाल यति लेउ, पछि गहकिलै किसिमले कृतज्ञता प्रकट गर्दै गरुँला । यी सबै लुगा पनि तिम्रै भए, राख । कसैसित यी कुरा नगरे – यति मात्र मेरो भनाइ छ । भोलि बिहानै जाने कुरा यू चेनसित मिलाइसकेको छु ।”
चिएनले भन्यो, “तपाईंंको जो विचार । तपाईंका यी लुगा त पछि फर्काइहालुँला, तर यो चाँदी भने लिन्न ।”
येनले भन्यो, “अघिअघिका मानिस साथीसाथी बिच घोडा, बग्गी र भुत्लाका कोट बाँडचुँड गर्ने गर्दथे । मद्दतै नचाहिएका खण्डमा पनि यी थोरबहुत मामुली लुगाफाटा तिमीलाई दिँदा मलाई कत्ति चित्त दुख्दैनथ्यो । यो दिनु त मैले तिम्राप्रति अलिकति कृतज्ञता जनाउने एउटा सानो बाटो खोज्नु मात्रा हो । तिमीले यति पनि स्वीकार गरेनौ भने मलाई ज्यादै असजिलो लाग्नेछ ।”
“तपाईंका ठुलो कृपा भएको हुनाले यी लुगासम्म लिइहालुँला । यो चाँदी त भइहाल्यो ।”
यसरी नाइँ भन्यौ भने तिम्रो इच्छा मेरो मद्दत गर्ने रहेनछ भन्ठान्नेछु ।
चिएनले त्यो चाँदी लिनैपर्यो ।
त्यस दिन येनले फेरि यू चेनलाई भेट्यो । यस पटक यू चेनलाई जाने मन पटक्कै थिएन । तर, येनमो चित्त दुखाइहाल्न नचाहेको हुनाले मात्र अन्त्यमा त्यसले मन्जुर गर्यो । यति कुरा मिलाइसकेपछि येनले एउटा नाउको इन्तजाम गर्यो, र यात्राका लागि खानेकुरा र ओढ्ने-बिछ्यौनाहरूको बन्दोबस्त पनि गर्यो । अह्राए खटाएका कामकाज गर्न त्यसले तीन जना ठिटालाई पनि तिनका साथै जान खटायो । ती तीन जनामध्ये एउटा चाहिँ अघि यूका साथ जाने सियाओ यी पनि थियो । तीनै जनाले छिटो छरितो किसिमका रेसमी लुगा लगाएका थिए । येनले तिनीहरूलाई टापुमा पुग्नासाथदेखि चिएनलाई ‘मालिक’ भनेर मात्र बोलाउनू, नाम काढी बिर्सेर पनि नबोलाउनू – भनी राम्ररी बुझाएर अह्रायो । यो सब बन्दोबस्त मिलाउँदा मिलाउँदै धेरैजसो रात गइहाल्यो । भोलिपल्ट बिहानै उठेर सबै जनाले मिलेर चिएनलाई सिँगारपटार पार्नमा मद्दत गरे । त्यसले लाएका सबै कुरा नयाँ थिए । हिँड्दा त्यसका लुगाबाट मनै प्रसन्न पार्ने मगमग बास्ना आउँथ्यो । अघिभन्दा ऊ कताकता रबाफिलो देखिन्थ्यो ।
येनले यू चेनलाई पनि आफू र भाइका साथ खान भनी आफ्ना घरमा डाकेको थियो । खानपिन सकिएपछि सियाओ यी र त्यसका साथ खटिएका दुई जना नोकरले चिएन र यूलाई नाउमा लगी बसाले । हावा त्यस दिन पनि आनुकूलै चलेको हुँदा नाउ सबै पाल फिँजाएर साँझसम्म पश्चिमी टुङटिङ द्वीपमा गएर लाग्यो । तिनीहरूले त्यो रात नाउमै काटे ।
भोलिपल्ट बिहानको खाजासाजा खाइसकेपछि – अब त काओ त्सान उठिसकेको होला – भन्ठानी चिएनले येन चुनका भाकामा अत्यन्त विनम्र शब्दवलीले परिपूर्ण एउटा औपचारिक परिचय पत्रिका तयार पार्यो । त्यो पत्रिका काओका घर पुर्याएर सियाओ यीले ‘यूका साथ मेरा मालिक दर्शनका लागि सवारी भएको छ’ भन्ने खबर दियो । काओका नोकरचाकरले सियाओ यीलाई अघि आउँदैखेरि चिनिसकेका थिए । तसर्थ तिनीहरूले फुर्तीसाथ उसको खबर पुर्याइदिए । खबर पुर्याउनेबित्तिकै काओले ‘पाहुनाहरूलाई तुरुन्तै डाकी ल्याउ’ भनी अह्रायो । यूलाई पछि लाएर नकली येन चुन बैठक कोठामा आइपुग्यो । त्यस्तो भलाद्मी, रूपवान् र खाइलाग्दो नवयुवकलाई देखेर काओका मनमा साह्रै अनुकूल प्रभाव पर्यो ।
परस्परमा शिष्टाचारपूर्वक ढोगभेट भइसकेपछि काओले चिएनलाई विशिष्ट आसनमा बस्न अनुरोध गर्यो । ‘म त अहिले केटाकेटी नै छु’ भनेर चिएन त्यस आसनमा बस्न मानेन । काओ त्सान त्यसको विनय देखेर मनमनै खुसी भयो । आखिरमा ती दुवै जना आमुन्ने सामुन्ने बसे ।
सबै जना बसिसकेपछि आफू अघि आउँदा काओका घरमा पाएको स्वागत-सत्कारका कुरा झिकी यू चेनले कुराकानी थाल्यो ।
काओले प्रतिवाद गर्दै भन्यो, “कहाँ हुन्थ्यो, केही गर्नै पाइन । उस भए अघि कुरा गर्नुभएका तपाईंका नातादार यहाँ नै हुनुहुन्छ, होइन ? त्यस दिन त मैले यहाँको सम्मानित दोस्रो नामै सोध्न बिर्सेछु ।”
चिएनले बडा नम्रतासाथ भन्यो, “अहिले त बच्चै छु, दोस्रो नाम राख्ने मेरो उमेरै पुगेको छैन ।”
यूले बिचैमा कुरा काटेर भनिहाल्यो, “यहाँको दोस्रो नाम पोर्या (ज्येष्ठ परिष्कार) हो ।”
काओले खुसीले जोस देखाउँदै भन्यो, “बडा ठीक रोजिएको रहेछ, साह्रै राम्रो ।”
चिएनले भन्यो, “श्रीमान् मलाई फुर्क्याउनुहुन्छ ।”
त्यसपछि काओले येनका परिवारका कुरा झिक्यो । चिएन त्यसका प्रश्नको उत्तर बडा भलाद्मी किसिमले दिन लाग्यो ।
काओले आफ्नो मनमा विचार गर्यो – यसो हेर्दा त केटो निकै योग्य देखिन्छ, पढे लेखेको पो कत्तिको रहेछ ? – बुझ्नुपर्यो । यस्तो गमेर चिनापर्चीको निहुँ गरी बुढोले घरका अध्यापक र छोरो चाहिँलाई डाक्न पठायो ।
तसर्थ दोस्रो पटक चिया लिएर आउँदा बुढोले नोकरलाई पुस्तक कोठाबाट शिक्षक महोदय र छोरालाई पाहुनाहरूसित भेटघाट गर्न पाल्नुहोस् भनी डाकेर ल्याउन अह्रायो । छाँटकाँटले विद्वानै होला जस्तो एउटा पचास-पचपन्न वर्षको मानिस एउटा केटोलाई पछि लाएर छिटै कोठामा आइपुग्यो । केटोको कपाल कुमसम्म लर्केको थियो – अहिलेसम्म त्यसको छेवर भएको रहेनछ । ढोगभेट हुन्जेल सबै जना उभिइ नै रहे ।
काओले परिचय गराउँदै भन्यो, “यहाँ हुनुहुन्छ मेरा छोराका शिक्षक, श्रीमान् चेन; जिल्ला कलेजका विद्वान् हुनुहुन्छ । यो हो मेरो छोरो काओ पियाओ ।”
चिएनले विचार गर्यो, “छोरो त राम्रो छ भने छोरी झन् हेर्नै लायककी होली । येन भाग्यमानी नै रहेछ ।”
तेस्रो पटक चिया आइसकेपछि काओले शिक्षकतिर फर्केर भन्यो, “हाम्रा योग्य अतिथि वुचियाङका हुनुहुन्छ । उमेर कच्चै भए तापनि यहाँ बेस विद्वान् हुनुहुन्छ ।”
खप्पिस चेनले कुरो तुरुन्तै बुझिहाल्यो । त्यसले चिएनतिर फर्केर भन्यो, “वुचियाङ त कलमजीवीहरूका कारण प्रसिद्धै छ । त्यस जिल्लाका मानिस पारख गर्न सक्ने असाधारण शक्तिले परिपूर्ण हुन्छन् । तपाईं आफ्ना जिल्लाका सबभन्दा प्रसिद्ध तीन जना कसलाई ठान्नुहुन्छ ? तिनले कुन किसिमको विशेषता देखाए भन्ठान्नुहुन्छ ?”
चिएनले तुरुन्तै तीन वटा नाउँ लियो । अनि ऊ त्यस विषयमा अध्यापकका साथ बहस गर्न लाग्यो । अध्यापक चेनमा कुनै विशेष पाण्डित्य नभई मामुली खालकै भएको देखेर नौजवान चिएन चिङ त्यसलाई आफ्ना तर्क र बुद्धिबलले सजिलैसित मिच्तै लैजान लाग्यो । त्यसले शास्त्रका उद्धारण र प्राचीन एवम् आधुनिक इतिहासका घटनाका उल्लेखद्वारा आफ्ना तर्कलाई पुष्ट पार्यो । अध्यापक महोदय सहजै पराजित भएर, “वाह, कत्रो योग्यता ! कस्तो प्रतिभा !!” भन्दै कराउन लागे ।
अर्कातिर, असाध्यै दङ्ग परेको हुनाले काओ चुप लागेर बस्न पनि नसक्ने भयो । त्यसले नोकरलाई डाकेर विशेष राम्रो भोजको बन्दोबस्त गर्ने आज्ञा दियो । हुकुम पाउनासाथ टेबुलहरू तयार पारिए, तिनमा असल असल परिकार धूमधाम सजाएर भरिभराउ पारी राखिए । काओ हातमा कचौरा र खाने कप्टेरा लिई चिएनलाई विशिष्ट अतिथिका आसनमा सुशोभित हुने अनुरोध गर्न लाग्यो । तर, नम्रतापूर्वक नामन्जरी देखाई चिएन त्यसमा बसेन । ऊ बुढोकै सम्मुखका आसनमा बस्यो । आँखा झिमिक्क गर्दा नगर्दै तीन थरीका सुप, दश थरीका मुख्य खानेकुरा र अनेक थरीका सित्तनहरू टेबुलमा पस्किए ।
यति चाँडो यी सारा कुरा कसरी तयार हुन गए ? – भनी सोध्नुहुन्छ – कुरो यस्तो भयो-
काओले छोरीलाई साह्रै पुल्पुल्याएर पालेको हुनाले येनलाई लिएर लमी आएको भन्ने सुन्नासाथ त्यसले पर्दाका आडमा लुकेर त्यसलाई हेरिसकेकी थिई । त्यस्तो राम्रो र त्यस्तो मजासित कुरा गर्ने देखेर उसले त्यसलाई मन पराइसकेकी थिई । त्यसको मनले मेरो बिहे यसै केटोसित हुन्छ हुन्छ भन्ने देखिसकेको थियो । त्यस कारण खबर पाउनासाथ त्यसले त्यस्तो मजाको भोज तयार पारिहाली, र नोकरहरूले खानेकुरा ल्याएर बिजुलीझैँ पस्कि पनि हाले । पाँचै जनाले फलफूलको रक्सीपछि भात खाए, अनि भातपछि फेरि रक्सी थपे । पश्चिममा सूर्य नअस्ताउन्जेल भोज त्यस्तै किसिमले चल्दै रह्यो । त्यसपछि चिएन र यू बिदा हुन भनी उठे । छुट्टिनुपर्दा दुःख लागेको हुनाले काओ त्सानले तिनीहरूलाई केही दिन अझै आफ्ना घरमा पाहुना भई बसिदिन अनुरोध गर्यो । तर, चिएनले मानेन । अन्त्यमा काओले तिनीहरूलाई बिदा गर्नैपर्यो ।
चिएन चिङले पहिले अध्यापक चेनसित बिदा हुँदै त्यसबाट पाएका शिक्षा अर्तीका लागि धन्यवाद दियो । त्यसपछि कृतज्ञता जनाउँदै त्यसले घरपट्टीसित बिदा हुने अनुमति माग्यो ।
चिएनले भन्यो, “असाध्यै थोरै बस्नुभयो । राम्रो स्वागत सत्कार पनि गर्न पाइएन । त्रुटि हुन गएकामा क्षमा रहोस् ।”
काओको छोरोले पनि तिनीहरूलाई शिष्टाचारपूर्वक बिदा गर्यो ।
श्रीमती काओले बाटोमा खान पिउन केही सामान दिइपठाई । नाउखर्च भनी एक पुरिया चाँदी पनि त्यसले पठाइदिएकी थिई ।
काओले यू चेनलाई लगी भन्यो,”येन बाबुको रूप र गुण देख्ता मेरो चित्त राम्रै गरी बुझ्यो । अब गएर बिहेका सबै बन्दोबस्त मिलाइहाल्नुभए खुसी हुने थिए ।”
यूले त्यसलाई आश्वासन दिँदै भन्यो, “धन्दा नमान्नुहोस्, तपाईंकै इच्छानुसार सारा काम गरुँला ।”
काओ त्सान तिनीहरूलाई बिदा गर्न नाउसम्म आफैँ गयो, अनि घर फर्केर लोग्ने स्वास्नीले हुने ज्वाइँका कुरा गर्दै त्यो रात छर्लङ्गै बिताए ।
भोलिपल्ट बिहान चिएन र यूको नाउ घरतिर लाग्यो । हावा अनुकूल नभएको हुनाले धेरै रात गइसकेपछि मात्र तिनीहरू घर पुगे । येन चुन साह्रै छटपटाइरहेको थियो । मैनबत्तीका उज्यालामा एक्लै बसी खबर सुन्न त्यो तिनीहरूकै बाटो पर्खिरहेको थियो । नाउबाट ओर्लनासाथ भएका जम्मै कुरा सुनाउन यू र चिएन सरासर त्यसैकहाँ गए । बिहे हुनुमा कुनै बाधा देखिन्न भन्ने सुनेर येन साह्रै खुसी भयो । त्यसै महिनाभित्र वाग्दानका सरसौगात लेनदेन गर्न साइत हेराउन ऊ हतारियो । यू चेनलाई अघि ऋण दिएका बीस टेल चाँदीको तमसुक त्यसले फिर्ता गरिदियो । अनि साइत देखाएर त्यसले बाह्रै महिनाको दोस्रो दिन पर्ने बिहेको लगन रोज्यो । काओले पनि चिताएजस्तै केटो पाइहालेकै थियो, छोरीका लागि दरदाइजो पनि अघिदेखि नै ठीक पारिराखेकै थियो ;त्यसो हँदा त्यसले पनि यति नजिकै आइसकेको लगनमा छोरी बिदा गर्नमा आफ्ना तर्फबाट कुनै बाधा देखाएन ।
एघारौँ महिना छिटै बित्यो र खुसीयालीको दिन छिटो छिटो सर्दै नजिकै आइपुग्यो । त्यस इलाकातिर दुलही ल्याउन दुलाहा नै जानुपर्ने पुरानो चलन नभई कन्याकोमा डोला ल्याएर वरकै घरमा बिहे गर्न चलन थियो । धेरैजसो, कन्याकी आमा नै छोरी लिएर वरका घरमा पुर्याउन जान्थे । तर यस्तो वर भेट्टाएको हुनाले काओ जोसित पनि त्यसैको धक्कु लाएर हिँड्दथ्यो । त्यस कारण त्यसले बिहेभोजका लागि वरले मेरै घरमा आउनुपर्छ, म आफ्ना सबै साथीभाइ र कुलकुटुम्बलाई डाकी परिचय गराउँछु भन्ने ढिपी कस्यो । यो कुरा सुन्नासाथ यु चेन झन्डैले मूर्च्छा परेको । त्यसले येनलाई बुढाका यस्ता कुरा तुरुन्तै लगी सुनायो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।