तापस शुक्ल

 

अचेल एक्लै पनि कहीँकतै जाने गर्छु
कहिलेकाहीँ बाटो भुल्ने गर्छु

तापस शुक्ल

उसले मलाई यो गल्लीमा कहिल्यै पनि नदेखेको हुँदो हो ।
क्या गल्ली छ यार ! खोपिएका झ्याल, तल राखिएका जेकार्ड मेसिनहरू, साडीका खाली भाँडाहरूमा राखिएका पाउदान, ढोकै छेउमा जमेको पानी, पानीको खाली जार, त्यो जार फेर्न सडक छेउमा राखिएको छ तर त्यसमाथि बसेर एउटा मानिस फोनमा व्यस्त छ । सेतो घर, घर कम कारखाना बढी । उसको छेउमा एउटा प्रार्थनागृह छ । त्यसको पल्लो पट्टि म भर्खरै रिक्सा चढेर आइपुगेको छु । म त्यो सेतो घरभित्र जाँदैछु । कारखानामा काम गर्ने कामदारहरू बिस्तारै आउँदैछन् । भर्खरै कामको सिफ्ट बदलिएको छ । जसको सिफ्ट सकिएको छ, तिनीहरू तास खेल्दैछन् । एक दुई पाउ खेलिसकेपछि उनीहरू खाना खान घर जान्छन् । पान खाएर पिच्च थुक्दा रंगिएका भित्ताहरू मैले देखिरहेको छु । मेसिन सफा गरिरहेको एउटा कामदार मतिर तीव्र गतिमा आउँछ । गुटखा थुक्दै ऊ खजूर चबाउँछ । भन्छ, ‘मसँग कुरा भा’को तपैं नै हो ? तपाईंको काम त गज्जबकै मिहिन छ, सक्न निकै समय लागिरहेको छ ।’

म उसका कुरा सुन्न थाल्छु । उसले जसलाई फोनवाला मान्छे भन्ने ठानेको छ, ऊ म होइन । मैले उसलाई भनेँ, ‘तपाईं इशाकलाई चिन्नुहुन्छ ?’

उसले मेरो कुरा सुनेन, सोध्यो, ‘को रे ?’

‘इशाक ।’

त्यसपछि उसले मलाई एउटा बूढो रुखछेउ लग्यो । त्यहाँ अर्को एउटा बूढो थियो । ऊ चश्मा पटक पटक लगाउँदै खोल्दै लगाउँदै गरिरहेको थियो ताकि पुछिएको चश्माबाट प्रस्ट देखियोस् । म सुस्तरी उसकहाँ गएँ । मैले बिर्सिएँ कि वास्तवमा ऊ न त बोल्नै सक्छ न त सुन्न नै । उसले मलाई देख्न पनि सक्तैनथ्यो । मलाई उसको निकै झिनोझैं स्मृति थियो ।

मैले भनेँ, ‘इशाक भाइ कस्तो हुनुहुन्छ ?’

उसले आँखा मिच्दै केही चिनेझैं र केही नचिनेझैं हेर्न थाल्यो ।

त्यसपछि उसले आफ्ना फाटेको कुर्ताको गोजीमा हात हाल्यो र उच्चगुणस्तरको पनडब्बा चोरलेझैं दिन लाग्यो । उसले पनडब्बा किन दिन लागेको भन्ने मैले बिर्सिसकेको थिएँ । यत्तिकैमा ठूलो आवाजमा अजान (प्रार्थना)को आवाज आउन थाल्यो । बूढो इसाक र सँगैको बुन्ने कालीगढ निस्कन लागे ।

मैले भनेँ, ‘सुन्नु त, म भोलि कुन बेला आऊँ ?’

इसाकसँगैको कालीगढले भन्यो, ‘भोलि आउनुहोला तर दिउँसो होइन है !’

म बिस्तारै निस्किएँ । मलाई बिर्सने सनक छ । औषधि पनि निकै खान्छु र त्यसको सूची निकै लामो छ । केही खान्छु । केही बिर्सन्छु । रोगी त म रत्तिभर छैन । बिर्सनु त सामान्य कुरा भइसक्यो ।
कुन वर्ष गज्जबको थियो भन्ने कसैले याद राख्ला र ? अहँ ! स्मृति र याद मानिसमा निर्भर हुन्छ । मानिस आफ्नो अच्छा दिन छनोट गर्छन् र त्यसलाई वर्षकै सबैभन्दा राम्रो दिन भन्छन् । त्यो वर्षलाई तँ साँच्चिकै राम्रो वर्ष थिइस् कि थिइनस् भनेर कसैले सोध्ला त ? पक्कै पनि सोध्दैन । उसो भए म पनि गज्जबको वर्ष भनेर किन याद राखूँ ? त्यसैले बिर्सिदिन्छु ।
दक्ष..
हजुर.. भन्नोस् त !
अरे सर, तपाईं गज्जबकै कथा लेख्नुहुन्छ । म तपाईंको ठूलो प्रशंसक हुँ तर तपाईं यहाँ के गर्दै हुनुहुन्छ ?
म ? … तपाईं चाहिँ को नि ?
अरे, मलाई चिन्नु भएन ? हिजै मात्र म तपाईंको घर गएको थिएँ । तपाईंले नै मलाई खाना बनाएर खुवाउनु भएको थियो । तपाईंले म के गर्छु भनेर सोध्नु पनि भएको थियो । मैले म शायर हुँ भनेको थिएँ ।
मैले भनेँ, ‘तपाईं झूटो बोल्दै हुनुहुन्छ ।’
होइन सर, साँच्ची झूटो बोलेको छैन ।
ए ए, उसो भए मैले बिर्सिएँ । तपाईं मलाई घरसम्म छाडिदिनुहुन्छ ?
हुन्छ नि सर ! मेरो अर्को एउटा साथी पनि तपाईंलाई भेट्न चाहन्छ । भन्नुहुन्छ भने उसलाई बोलाऊँ त ?
मैले भनेँ, ‘खासै भन्ने हो भने मैले तपाईंलाई पनि बिर्सिसकेको छु । तर तपाईंलाई ठीक लाग्छ भने बोलाउनोस् । तर बुझ्नोस्, म उहाँलाई पनि भोलि बिर्सने छु ।
तर उनले त तपाईंलाई कहिल्यै बिर्सने छैनन् सर !
मैले भनेँ, ‘हैन, बिर्सन्छन् तर मैलेझैं चाँच्चाँडो चाहिँ नहोला ।’
म आफ्नो घर पुगेँ । फेरि याद के आयो भने म तिम्रो घर खोज्न निस्किएको थिएँ ।
– सर ! उहाँ आउँदै हुनुहुन्छ ।
– आउन दिनोस् ।
– सर म चिया बनाऊँ ?
– अँहँ, मै बनाउँछु ।
– सर, तपाईं बेकारमा चिन्ता गरिरहनु भएको छ । म राम्रो चिया बनाउँछु क्या ! पिंकीको कसम । तपाईं चिनी लिनुहुन्छ ?
– अँ, चिनी चाहिँ खैरो मात्र हाल्नोस् ।
तिमीलाई भेटेको कति वर्ष भयो । तिम्रो नाम पनि बिर्सिएँ । मात्र, तिम्रो पुरानो की–रिङ सँगै लिएर घुम्छु । अजीब छ । यसलाई चाहिँ कतै, कहीँ पनि बिर्सिन्नँ । केही मानिसहरू मलाई भेट्न भनेर आउँदैछन् । उनीहरूले मलाई तपाईंको प्रेमिका कहाँ छिन् भनेर सोधे बिर्सिएँ भन्दिन्छु । ती सात जना मानिसहरू भर्खरै आए । त्यो शायरले चिया बनाइसकेको थियो । म अलि असहज भएँ तर शायरले यसका बारेमा उनीहरुलाई भनेन । फेरि म केही बोलेँ, लामो कुराकानी त गर्न सक्थिनँ । त्यहीबेला तीमध्ये एक जना केटीले भनी, ‘कुनै कथा सुनाउनु न सर । अर्कोले बन्दुकझैं मेरो अनुहारमा क्यामेरा तेर्स्याइदियो ।
म नर्वस भएँ । कथाको डायरी नै गायब थियो ।
मैले भनेँ, ‘मेरो डायरी एउटा रेलयात्राका क्रममा हरायो । त्यसमा निकै कथा थिए र डायरीलाई एक जना प्रकाशकलाई जिम्मा लगाउनु थियो । जब प्रकाशकले मलाई रेलबाट उत्रनेबित्तिकै स्वागत गरे, त्यसलगत्तै उनले डायरी मागे । म खोज्न थालेँ । प्रकाशक पनि खोज्न थाले । ऊ र म पागलझैं डायरी खोज्न थाल्यौं । मानौं, उसको बच्चा हराएको होस् । ऊ रुन थाल्यो र अर्को स्टेसनमा उत्रियो । म भने रेलमै छुटेँ ।
‘वाह सर ! क्या कहानी लेख्नुहुन्छ तपाईं !’
सबै जना ताली बजाइरहेका थिए जबकि म उनीहरूलाई भएको घटना सुनाइरहेको थिएँ ।
कहानी ? यो त भएकै कुरा हो ।
त्यसैले म जे सुनाउँछु, तपाईंहरूले मैले पहिल्यै बिर्सिएको कुरा सुनाएको मान्नोस् ।
केही दिन पहिले म उसको घर गएको थिएँ । मसँग उसको ठेगाना थिएन । उसको की–रिङ मात्र थियो । जुन ठाउँमा ऊ बस्थी, त्यो ठाउँ भने मैले बिर्सिएको थिइनँ । सडकमा हिँड्दाहिँड्दै अचानक एक युवतीले तिमीले झैं सोध्न थाली, तपाईं कविता लेख्नुहुन्छ हैन ?
अँहँ ।
उसले भनी, ‘मलाई थाहा छ । तपैं बिर्सनुहुन्छ तर म तपैंलाई बिर्सन दिन्नँ ।
म चुपचाप उसलाई सुनिरहेको थिएँ । ऊसँग मैले लेखेको एउटा कविता थियो । उसले चोरेकी थिई कि ! पक्कै चोरेकी हुँदी हो । उसले फेरि भनी, ‘मैले तपाईंलाई पहिले पनि कहीँ देखेको हुनुपर्छ ।
कहाँ ?
ए, तपाईंले नै रक्षामन्त्रीलाई कालोझण्डा देखाउनुभएको थियो । जेल पनि जानु भएको थियो । तपैं त्यही दिन छुट्नु भयो पनि । प्रहरीले पक्रेका बेला आफ्ना युनियनका साथीहरूसँग तीखो आवाजमा केही भन्नुभयो–
के भनेँ ?
अँ, कुनै भाषण तर मैले बिर्सिएँ । तपाईंका कुरालाई नजरअन्दाज गर्दै उनीहरूले नारा लगाइरहेका थिए ।
मैले उसलाई एकटक हेरिरहेँ । त्यो युवतीका सामु मन अचानक बेहोसजस्तै हुन थाल्यो । ऊ निकैबेर बोलिरही । म सुनिरहेँ । पक्कै ऊ मेराबारेमा केही जान्दिन होली । बोलिरहेकी स्त्री सुन्दर देखिन्छे तर उसले बोलेका कुरा सुन्दर केही पनि लागेन । त्यसपछि मैले तय गरेँ, जीवनमा नबिर्सनेजस्तो केही हो भने त्यो तिमी हौ ।
अर्को कुनै दिन ऊ मसँग फेरि भेट्टिई । उसले हिजो मसँग भेटेको कुरा स्मरण गराई ।
मैले भनेँ, ‘मलाई याद छ । जब जब म उसलाई देख्थेँ, वाङ कार वाईको फिल्म इन द मूड फर लभको साउन्डट्याक पृष्ठभूमिमा बज्न थाल्थ्यो । भिडभाडमा ऊ अझै दुब्ली लाग्थी । उसको दुब्लोपन प्रेम थियो । उसको पसिना ग्लेसियरबाट पग्लिएको हिउँजस्तै चिप्लन्थ्यो । त्यो बेला सर्सराहट दौडियो । मेरो चश्मा भिज्थ्यो । भिजेको चश्मा निकालेर आफ्नो सलले पुछेर फेरि लगाइदिन्थी ।
प्रेम पुतली थियो । उड्न थाल्यो । मेरो शहरमा कफी हाउस कल्चर थिएन । न हामी महँगो ठाउँमा जान सक्थ्यौं । न लुक्न नै सक्थ्यौं । न सँगै भिज्न सक्थ्यौं । डरले मलाई सधैँ भन्यो, ‘कस्तो डरपोक !
प्रेम अझै घनीभूत भयो र शहरको जंगलमा घुम्दैघुम्दै त्यो प्रेम बाघ बन्यो । डर चियाका आवारा अड्डामा छिर्यो । डरको थर्मामिटर यसरी भाँचियो कि हामी सँगै चुरोट पिउन थाल्यौं । हुन त म बिर्सन्छु, ममाथि नजर टिकाउनेहरूको आँखा पनि नजिकै छ, तर म तिनलाई कसरी याद राख्न सक्थेँ र ?
प्रेम असहज नहोस्, यसका लागि फिक्स्ड डिपोजिट गर्नुपर्यो । सँगै उछलकुद गर्दा म पसिना खान्थेँ । पत्र लेख्थेँ । शवको दायाँ र बायाँ हिँड्दै जाडोमा मफलर र गर्मीमा कुल्फी । वर्षामा भिज्दा त कालीदास हुन्थेँ । चर्को घाममा सायर जफर हुन्थेँ । यसरी प्रेम नरम भयो होला । म केही राम्रो काम गर्न थालेँ । ऊ मेरो घर पनि आउन थाली र केही दिनपछि त सँगै पनि बस्न थाली ।
कति निष्ठा चाहिन्छ पैदलप्रेमलाई !
– सर त्यसपछि के भयो ?
एक दिन म उसको ढलानयुक्त घरमा गएँ । ज्यादै सेतो घर थियो त्यो । त्यसमा एउटा कारखाना पनि थियो । त्यहाँ धेरै कालिगढहरू थिए । एक जना कालीगढको नाउँ कबीर थियो तर ऊ त्यो कबीर चाहिँ थिएन । ऊ साडीहरूलाई रोलमा राखेर घाममा सुकाउँथ्यो । धागोमा उल्झिएको दिमागले सुल्झाएको व्यक्ति इशाक थिए ।
जुन दिन म उनको घर गएँ, मलाई लाग्यो, कारखाना नै उनको घर होला । ऊ मबाट निकै टाढा ढोकैमा उभिइरही । मैले इशाक नामक कालीगढलाई भेटेँ, जो अरुका कुरा नसुनी मानिसहरूलाई कागजमा डिजाइन बुझाइरहेका थिए । लगभग चालीस जनाले उनलाई वरिपरिबाट घेरेका थिए । उनी वृक्ष थिए । उनले मलाई देखे र केही यस्तो भन्न थाले, त्यो म बुझ्न सक्दिन थिएँ । त्यसपछि तिमी आयौ । तिमीले इशाकलाई इशारामा केही भन्यौ र उनले बुझे । त्यसपछि म कारखानाको काम हेर्न थालेँ । एकाध पटक मैले तस्बिर खिच्ने प्रयास गरेँ । तर कवीर नामक कालीगढले मलाई रोक्यो । किन रोकेको भनेर सोध्दा उसले भन्यो, ‘कबिरा यो घर प्रेमको हो ।’ त्यसपछि अन्य कालीगढहरू जोडजोडले हाँस्न थाले । अन्ततः मैले उसैको फोटो खिचेँ ।
हामी दुवै बाहिर जान लाग्यौं । म अचम्मित थिएँ, कारखाना तिम्रो घर थियो जबकि घरजस्तो त्यो केही थिएन । मैले त केसम्म सोधेँ भने, ‘के इशाक तिम्रा पिता हुन् ?
तिमीले भन्यौ, ‘होइनन् ।’
साडीहरूको डिब्बा, पानको चौघडा, साना साना बच्चाजस्ता पनडब्बा, तीमध्ये एउटा टेक्सचर गज्जबको थियो । पीक । फिल्मको पुराना पोस्टरहरू । धागोमा अल्झिएका आँखा । बियरका खाली बातल । सानो रोशनदान (बत्ती) । तासका बेकारका पत्ताहरू । क्यारमबोर्ड । पेप्सी, फेन्टा र माजाका प्लास्टिक बोतलमा पानी । पसिना र इत्रको मिलीजुली अमिलो गन्ध । तिम्रो हात आफ्नो दाँतले नदुख्ने गरी टोक्छु, मानौं सबै कुरा याद आइरहेको होस् र हामी घर आउँदै छौँ । हामी प्रेम गर्न थाल्छौँ । सम्भवतः अनअर्गनाइज्ड तरिकाले । केही केही याद आउँदैछ । ढोका खुल्ला थियो । बाथरुममा पानी भरिएको थियो । बिरालो भान्सामा ढुक्कले दुध पिउँदै थियो । र, निद्रा फूलजस्तै तरिकाले ढकमक्क फुल्यो । मैले एउटा सानो पनडब्बाजस्तो कथा लेखेको थिएँ । त्यसलाई सिरानीमुनि राखेर सुतेँ । तिमी ब्युँझिसकेकी थियौ । त्यो कथा तिमीले देख्यौ । त्यो कथामा के लेखिएको थियो भने, तिमीले मलाई छोडेर जानेछ्यौ र म तिमीलाई याद राख्न सबैथोक बिर्सनेछु ।
त्यसपछि तिमी गयौ । मैले सबैथोक बिर्सिएँ ।
म कारखाना गएँ । तिमी त्यहाँ थिइनौ । तिमी कतै थिइनौ । जब मैले कालीगढहरुलाई सोधेँ, ‘म इशाकलाई भेट्न किन आएको थिएँ, कृपया बताइदिनु पर्यो !’
कालीगढले भन्यो, ‘को ? जान्नु छ भने भोलि आउनू तर दिउँसो नआउनू ।’
मलाई त तिमीले किन छाड्यौ भन्ने अहिलेसम्म थाहा छैन । बसीबसी मैले यसका अनेक अर्थ लगाएँ । मानौं, तिमीलाई अरु नै कोहीसित प्रेम भयो कि ? हुन पनि त सक्छ ! म त बेकारको भुलक्कड मानिस हुँ ।
म भिडमा तिम्रो हात छाडेर जान सक्थें । मेरो विस्मृतिमा मानिसहरू हाँस्थे तर प्रेम गर्ने कुनै न कुनै मापक त तिम्रो मनमा थियो होला । थिएन भने पनि त हामी दुईको साथ त थियो नि ! त्यही नै पनि निकै ठूलो कुरा हो ।
झरिरहेको पातहरूमध्ये केही पात हरियै भएजस्तो तिमी मसँग हुनुको अर्थ थियो ।
हेर त, मानिसहरू जान थाले । बाँकी त शायर मात्र थियो । मानिसहरू बाहिर गएर मलाई चाँडै भुल्न चाहँदा हुन् । तिमी गएजस्तै म पनि बन्द फूलहरूमा पूरै तौलका साथ झर्नेछु ।
ऊ जानुका बारेमा लेख्न बाँकी छ ।
ठीक त्यही बेला ढोकामा एउटा पहेँलो ट्याक्सी आयो । शायरले मलाई बाहिरसम्म लिएर गयो ।
उसले सोध्यो, ‘सर कहाँ जाँदै हुनुहुन्छ ?’
– म ?
मैले भनेँ, ‘अब एक्लै कतै जानेछु ।’
सर तपाईं कविता लेख्दै हुनुहुन्थ्यो ?
उसले मेरो डायरी उठाउँदै सोध्यो । मैले टाउको झुकाउन थालेँ डायरीतिर ।
त्यो हेर्दै मैले भनेँ, ‘म लेख्न त चाहन्थेँ, बिर्सनुमाथिको एउटा लामो कविता ।’
ट्याक्सी गयो । शायर कथासँगै ढोकैमा रहिरह्यो ।

(इन्डिया टुडेको साहित्य वार्षिकी २०२३-२४ मा प्रकाशित कथाको भावानुवाद ।)