(भारतीय प्रख्यात चित्रकार इमरोजको हालै ९७ वर्षको उमेरमा निधन भएको छ । उनका बारेमा बिबिसी हिन्दीमा रेहान फजलले एउटा आलेख लेखेका थिए, हामीले सोही आलेखको भावानुवाद पस्किएका छौँ ।)
भारतीय लोकप्रिय कवि अमृता प्रीतमले एकपटक लेखेकी थिइन्, ‘मैले जिन्दगीभर जे सोचे/लेखेँ, ती सबै देउताहरूलाई जगाउने कोसिस थियो, ती देउता, जो मानिसभित्र निदाएका छन्।’
अमृता र इमरोज बिस्तारै नजिकिएका थिए। अमृताले एकजना चित्रकार सेठीसँग आफ्नो पुस्तक ‘आखिरी खत’को कभर डिजाइन गरिदिने अनुरोध गरेकी थिइन्।
‘म एकजना यस्ता व्यक्तिलाई चिन्छु, जसले यो कार्य मभन्दा धेरै राम्रोसँग गर्न सक्छन्”– अमृतालाई सेठीले जवाफमा भनेका थिए ।
सेठीकै सुझावमा अमृताले इमरोजलाई आफूसँग भेट्न बोलाइन्। त्यसबेला इमरोज उर्दू पत्रिका ‘शमा’मा काम गर्ने गर्थे। इमरोजले अमृताको त्यस पुस्तकको कभर डिजाइन गरिदिए।
इमरोज सम्झन्छन्, ‘उसलाई डिजाइन पनि मन पऱ्यो, आर्टिस्ट पनि। त्यसपछि भेटघाटको क्रम सुरु भयो। हामी दुवै नजिकै बस्थ्यौँ। म साउथ पटेल नगर, ऊ वेस्ट पटेल नगर। एकपटक म त्यसै उसलाई भेट्न गएँ। कुरैकुरामा मैले भनेँ – आजकै दिन म जन्मेको हुँ। गाउँमा मानिस जन्मन त जन्मन्छन्, तर उसको जन्मदिन हुँदैन। एक मिनेटका लागि ऊ उठी र बाहिर गई। फेरि आएर बसी। केही क्षणमा एकजना नोकरले प्लेटमा केक राखेर बाहिरियो। उसले केक काटेर एउटा टुक्रा मलाई दिई, अर्को टुक्रा आफैँलाई लिई। न उसले ह्याप्पी बर्थ डे भनी, न त मैले धन्यवाद भनेँ। केवल एकअर्कालाई हेरिरह्यौँ। आँखाले भनिरहेको थियो- हामी दुवै खुसी छौँ।”
यो त एउटा सुरुआत मात्र थियो। वर्षौंअघि अमृताको दिमागमा एकजना काल्पनिक प्रेमी थियो – राजन। राजन, काल्पनिक प्रेमीलाई अमृताले दिएको नाम। यसै नामलाई अमृताले आफ्नो जीवनको पहिलो कविताको विषय बनाइन्।
‘स्कुले जीवनमै मैले एउटा नज्म लेखेकी थिएँ। सहपाठीहरूलाई देखाउने सोचले त्यो नज्म गोजीमा हालेकी थिएँ,’’ बीबीसीसँगको कुराकानीमा एकपटक अमृताले भनेकी थिइन्।
एक दिन अमृताले पितासँग केही पैसा मागिन्। पिताले पैसा अमृताको हातमा नदिएर गोजीमा हालिदिए। त्यही गोजी, जुन गोजीमा अमृताले जीवनकै पहिलो नज्म राखेकी थिइन्। पिताको हात जब गोजीमा सुरक्षित राखेको नज्ममा पऱ्यो, त्यसलाई निकालेर पढे।
‘के यो तिमीले लेखेको हो?” अमृतालाई पिताको प्रश्न थियो।
‘होइन, साथीले लेखेकी हुन्,” अमृताले ढाँटिन्, तर पिताले अमृताको झुट पक्रिए। दोहोऱ्याएर पढे। पढेपछि सोधे – राजन को हो?
‘कोही होइन,” अमृताले भनिन्। उनका पितालाई विश्वास नै लागेन। पिताले जोडले थप्पड हिर्काए अनि नज्म लेखिएको कागज च्यातिदिए।
अमृता भन्छिन्, ‘यस्तो अन्त्य थियो मेरो पहिलो नज्मको। ढाँटेर आफ्नो नज्ममा कसैको नाम लगाउन चाहन्थेँ, तर एक थप्पडसँग त्यो नज्ममा मेरो नाम टाँसियो।’
आफ्नो प्रेम व्यक्त गर्ने संसारका प्रत्येक प्रेमीलाई इच्छा हुन्छ यद्यपि यसका लागि अमृता र इमरोज अपवाद थिए। उनीहरूले एकार्कालाई प्रेम गर्छु भनेर कहिल्यै भनेनन्।
इमरोज भन्छन्, ‘प्रेम छ भने भनिरहने अवश्यकता नै किन ? फिल्ममा पनि तपाईंहरू उठ्-बसका ढङ्ग हेरेरै भन्न सक्नु हुन्छ – नायक-नायिकाले एकअर्कालाई प्रेम गर्छन् तर तिनीहरूले परस्परमा पटक पटक भनिरहन्छन् – म तिमीलाई प्रेम गर्छु। तिनीहरू अझ भन्छन् – साँचो प्रेम गर्छु, जस्तो कि प्रेम पनि झुटो हुन्छ। परम्परा नै छ – पुरुष-स्त्री एउटै कोठामा बस्छन्, यद्यपि हामी पहिलो दिनदेखि नै एउटा छानोमुनि बेग्ला-बेग्लै कोठामा बस्यौँ। ऊ रात्रिको समय लेख्थिन्, जब न आवाज सुनिन्थ्यो, न टेलिफोनको घण्टी बज्थ्यो न त कोही आउँथे-जान्थे। त्यस समय म सुतेको हुन्थेँ। लेखिरहेको समय उसलाई चिया चाहिँदा ऊ आफैँ चिया बनाउन जान सक्थिनन्, त्यसैले राति एक बजे उठ्न सुरु गरेँ । चिया बनाएर मैले चुपचाप उसको अघि राखिदिन्थेँ। ऊ लेखनमा यति डुबेकी हुन्थी, मतिर समेत हेर्दिन थिई। यस्तो क्रम चालिस-पचास वर्षसम्म चलिरह्यो।’
इमरोज र अमृता दुवैका नजिकका साथी उमा त्रिलोकले उनीहरूमाथि पुस्तकै लेखेकी छन् – अमृता एन्ड इमरोज- अ लभ स्टोरी।
उमा भन्छिन्, ‘अमृता र इमरोजको प्रेम सम्बन्ध त थियो, तर त्यसमा स्वतन्त्रता धेरै थियो। थोरै मानिसलाई थाहा छ- उनीहरू एउटा घरका बेग्ला-बेग्लै कोठामा बस्थे। यसबारे प्रसङ्ग उठ्दा, इमरोज भन्नेगर्थे – एकार्काको सुगन्ध त आउँछ। यस्तो जोडी मैले धेरै कम्ती देखेको छु – एकअर्कामाथि यति धेरै निर्भर, तर दाबी नै छैन।’
सन् १९५८। जब, इमरोजले मुम्बईमा नोकरी पाए, अमृतालाई मनबाटै राम्रो लागेन। अमृतालाई लाग्यो – साहिर लुधियानवी जस्तै इमरोज पनि उनीबाट अलग हुनेछन्।
इमरोज भन्छन्, ‘गुरु दत्त मलाई आफूसँग राख्न चाहन्थे। तलब के कति पाइने हो भन्ने निश्चित भइहालेको थिएन। अचानक एक दिन नियुक्तिपत्र आयो। मैले चाहे जति नै पैसा दिने सहमति पनि थियो। म धेरै खुसी थिएँ। दिल्लीमा अमृता मात्र थिई, जसलाई म आफ्नो खुसी बाँड्न सक्थेँ। मलाई खुसी देखेर ऊ खुसी त भई, तर उसका आँखामा आँसु आयो। अमृताले कुरा घुमाएर भनी – ऊ मलाई मिस गर्नेछे तर भन्न त केही भनिन। म मुम्बई जान अझै तीन दिन थियो। उसले भनी– यी तीन दिन मानौँ मेरो जिन्दगीका अन्तिम दिन हुन्। यी तीन दिन उसले जहाँ जान मन गरी, त्यहाँ गयौँ। त्यसपछि म मुम्बई गएँ। म जाने बित्तिकै अमृतालाई ज्वरो आयो। मुम्बईमा नोकरी नगर्ने तय गरिसकेको थिएँ। दोस्रो दिन मैले फोन गरेर भनेँ – म दिल्ली फर्किरहेको छु। उसले सोधी – सबै कुरा ठिकै छ होइन? मैले भनेँ– ठिकै छ तर म यो सहरमा बस्न सक्दिनँ। त्यसबेला पनि मैले उसलाई भनिनँ – म उसकै लागि फर्किरहेको छु। मैले उसलाई ट्रेन र कोच नम्बर भनिसकेको थिएँ। जब म दिल्ली पुगेँ, ऊ मेरो कोच बाहिर उभिरहेकी थिई। मलाई देख्नसाथै उसको ज्वरो निको भयो।’
अमृता प्रीतमको साहिर लुधियानवीसँग पनि अत्यधिक प्रेम थियो। आफ्नो आत्मकथा ‘रसीदी टिकट’मा अमृताले लाहौरस्थित उनको घरमा कसरी साहिर आइरहन्थे, कसरी एकपछि अर्को गरी सिगरेट खाने गर्थे र साहिर गएपछि छाडिएको सिगरेटका ठुटालाई कसरी उनले खाने गर्थिन् भन्ने कुरा लेखेकी छन्।
उनलाई यसरी सिगरेटको लत बस्यो। अमृताले साहिरलाई आजन्म भुल्न सकिनन्। इमरोजलाई पनि यस कुराको हेक्का थियो। अमृता र इमरोजको मित्रताबारे उमा भन्छिन्, यो कुनै विचित्रको कुरो थिएन। दुवै यसबारे सहज थिए।
उमा त्रिलोकको भनाइ छ, ‘अमृता भन्थिन् – ‘साहिर एक प्रकारले आकाश हो, इमरोज मेरो घरको छानो।‘ साहिर र अमृताको प्लेटोनिक प्रेम थियो। इमरोजले मलाई एउटा कुरा भनेका थिए– ‘जब ऊसँग कार थिएन, त्यसबेला अमृतालाई उसले स्कुटरमा लाने गर्थे। अमृताका औँलाले सधैँ केही न केही लेखिरहन्थ्यो, चाहे उसको हातमा कलम होस् अथवा नहोस्। उसले धेरैपटक पछि बसेका बेला मेरो पिँठ्यूमा साहिरको नाम लेखेकी थिई। यसैबाट मैले थाहा पाएँ- उसले साहिरलाई कतिसम्म मन पराउँछिन् यस कुराले मलाई त फरक पार्दैन थियो। उसले साहिरलाई मन पराउँथिई, म पनि उसलाई मन पराउँथेँ।’
अमृता जहाँ पनि जान्थिन्, इमरोजलाई सँगै लिएर जान्थिन्। कतिसम्म भने जब उनी राज्यसभाका लागि मनोनीत भइन्, इमरोज प्रत्येक दिन अमृतासँग संसद् भवनसम्म जान्थे। बाहिर इमरोज अमृतालाई पर्खिबस्थे।
उनी अमृताका साथी पनि थिए, र थिए चालक पनि। इमरोज भन्छन्, ‘अमृता धेरै चर्चित थिइन्। उनलाई धेरै दूतावासबाट सधैँजसो भोजनका लागि निम्तो आउने गर्थ्यो। म नै उनलाई लान्थेँ-ल्याउँथेँ। कार्डमा मेरो नाम नभएका बेला म भित्रसम्म जान्थिनँ। मेरो डिनर सँगै लान्थेँ। कारमा बसेर सङ्गीत सुन्दै अमृताको प्रतीक्षा गरिरहन्थेँ। बिस्तारै अमृताको प्रेमी पनि भएको कुरा थाहा भयो। त्यसपछि कार्ड मेरो नाममा पनि लेखिन थालियो। जब ऊ संसद् भवनबाट बाहिर निस्कन्थिन्, उद्घोषकलाई इमरोजलाई बोलाउन भन्थिन्। उद्घोषकलाई लाग्थ्यो – म उसको चालक हुँ। ऊ कराएर बोलाउँथ्यो।”
अमृताको अन्तिम समय धेरै कष्ट र पीडामा बित्यो। उनी बाथरूममा लडेकी कारण नितम्बको हड्डी भाँचियो। त्यसपछिको पीडाले अमृतालाई कहिल्यै छोडेन।
उमा त्रिलोक सुनाउँछिन्, ‘इमरोजले अमृताको सेवामा आफूलाई पूर्ण रूपले समर्पित गरे। ती दिनहरूलाई अमृताका लागि इमरोजले सुन्दर बनाए। अमृताको रोगलाई इमरोजले सँगै सहे- उनलाई खुवाउनु, पिलाउनु, नुहाउनु, लुगा फेरिदिनु। उनी लगभग शाकाहारी बने त्यसपछि, इमरोज अमृतासँग बात गर्थे, उनीमाथि कविता लेख्थे, उनका रुचिका फूल लिएर आउँथे, तर अमृता हाँ हुँ गरेरै भए पनि इमरोजलाई उत्तर दिनसम्म सक्षम थिइनन्।”
३१ अक्टोबर २००५ मा अमृताले अन्तिम श्वास फेरिन्, तर इमरोजका लागि अमृता अझै उनीसँगै छन्। उनको एकदमै नजिक।
इमरोज भन्छन्, ‘उनले शरीर छाडिन्, तर साथ छाडेकी छैनन्। अहिले पनि उनी भेटिन्छन् कहिले ताराको छायाँमा, कहिले बादलको छायाँमा, कहिले किरणका उज्यालोमा, कहिले विचारको उज्यालोमा। हामी यसैगरी भेट्छौँ चुपचाप। हामी हिँडेको देखेर फूलले बोलाउँछ। हामी फूलको घेरामा बसेर एकाअर्कालाई आ-आफ्ना कुरा सुनाउँछौँ। उनले शरीर छाडिन्, साथ होइन।’
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।