फ्रान्सेली साहित्यकार रेने एफ.ए. सली-प्रुधोम १६ मे १८३९ का दिन फ्रान्सको राजधानी प्यारिसको एउटा पसलेको घरमा जन्मेका थिए। उनी आफ्नी आमाका एकमात्र सन्तान थिए । इन्जीनियरिङ् पढेका प्रुधोम पछि दर्शनशास्त्रको अध्ययन गर्न थाले र दार्शनिक कविता लेख्ने कवि र नियात्राकार भए। २६ वर्षको उमेरमा प्रकाशित उनको पहिलो कविता सङ्ग्रह स्टचान्जाज एण्ड पोएम्स (Stanzas and Poems, 1865) मा उनका अत्यन्त चर्चित कविता समावेश छन् । यसै पुस्तकबाट उनी चर्चित हुन पुगे । उनको लेखन पहिलो सङ्ग्रहको भावनात्मक शैलीबाट वैयक्तिक शैलीमा विस्तारै रूपान्तरण हुँदै गएको देखिन्छ ।

सन् १८८१ मा उनी फ्रान्सेली प्रज्ञा प्रतिष्ठानका सदस्य भए। सन् १९०१ मा नोबेल पुरस्कार स्थापना भएको थियो। त्यही साल साहित्यतर्फको नोबेल पुरस्कार पाउने पहिलो व्यक्ति प्रुधोम भए । पुरस्कार प्रदान गर्दा उच्चस्तरको आदर्श, कलात्मक पूर्णता तथा मन र बौद्धिकताको अभूतपूर्व संयोग भएका काव्य सिर्जनाको विशेष मान्यताका रूपमा उनलाई यो पुरस्कार प्रदान गरिएको भनिएको छ।