सोफामा बसेर कुराकानी गरिरहेकी कृपाको काँधमा शोभा दिइरहेको सल अनायासै उनकै तिघ्रामा खस्यो । वक्षस्थलको त्यो एउटा ढकनी खुल्नाले एकातिर उनका तिखारिएका पुष्ट मकालु र कञ्चनजङ्घा केही खुला भै थप टड्कारो देखिन गए । अर्कोतिर ती बान्की परेका युगल सुमेरुहरूले उनको रूपमा लावण्य थपेको देखियो । खसेको सल यथास्थानमा मिलाउन नचाहेर त होला, वक्षस्थल खुला नै राखिन् । त्यति मात्र हैन, छलफलमा सहभागी पुरुष साथी हिमेशसँग तत्क्षण नजानिंदो गरी सकारात्मक रूपमा हल्का मुस्कुराइन् पनि ।
हिमेश र कृपा अमेरिका आएदेखि एउटै सहरमा बसोबास गरिआएका साथीहरू हुन् । नेपाली हुनुको नाता, बसाइँको निकटता त्यसमाथि दुवै साहित्यमा रुचि राख्ने हुनाले भेटघाट र छलफल बारम्बार गरिरहन्छन् ।
कृपाको आजको जस्तो परिवेश यस अघि मैले कहिल्यै भोगेको थिइन । उनी सक्षम, योग्य र सुशील प्रकृतिकी विवाहित नारी हुन् । हिमेशको भित्री मनको गोलोमा कमिला सलबलाएझैँ यस्तै बग्रेल्ती भावनाहरू सल्बलाउन पुगे । अन्यमनस्क भै सोच्न थाल्छन् – कृपाको त्यो मुस्कान सधैँको जस्तो मित्रवत् सद्भाव, स्नेह र मर्यादाकोभन्दा धेरै फरक छ । सम्मोहनको लाक्षणिक रूप जस्तो पो अनुभव गरेँ मैले । वक्षस्थलको प्रदर्शन पनि त्यसैसँग जोडिएको अव्यक्त आकर्षण र आमन्त्रणको अर्थमा पो बुझ्नु पर्ने जस्तो लाग्यो ।
हिमेशको मनमा आदर्श बोल्छ- आफ्नो पुरुषत्वको प्रयोग अमर्यादित र गैर अनुशासित हुनुहुँदैन । परस्त्री गमन सामाजिक आदर्श र मर्यादाको विपरीत छ नै । त्यसभन्दा ठूलो कुरा आफ्नी प्रतिव्रता अर्धाङ्गिनी सुमनाप्रति धोका अनि बेइमानी हो भन्ने कुरामा म स्पष्ट छु । परिवारमा विग्रह घोल्दै आफ्नै प्रतिष्ठा र छविमा दाग लाग्ने काम मबाट कदापि हुँदैन ।
हुन पनि हो, हिमेशले महिलाहरूसँग कामको सिलसिलामा धेरै नै सङ्गत गरे । तर नारी वासनामा लम्पट भै चरित्र बिगारेनन् । कृपासँगको यो प्रसङ्गलाई पनि यसै गरे । अन्धकारमा छाउने बेहद आनन्दको कल्पनामा पातपतिङ्गर जोरजाम गरी यौन रागको सलाई कोरेनन् । वासनाको तिर्सनाले स्वार्थको बाघचाल खेलेनन् हिमेशले । यौन चाहना भनेको एउटा रबर जस्तै तन्काए तन्कँदै जाने र खुम्च्याए खुम्चँदै जाने विषय हाे भनी चित्त शान्त पारे ।
हिमेश र कृपा बसेका सहरमा त्यति धेरै नेपालीहरू छैनन् र पनि एउटा संस्थाको गठन भएको छ । त्यसले विभिन्न कार्यक्रमहरू गरी चाहना हुनेहरूलाई एकताबद्ध गरेको छ । समय समयमा हुने साथी भाइसँगको भेटघाट, उठबस अनि खानपिनबाट नेपालको न्यास्रो मेट्न पाएकोमा सबै खुसी छन् । आफ्नो भाषामा बोल्न र जिब्रोको स्वाद अनुसारको खाना खान पाउँदा को आनन्दी हुँदैन र ?
नेपाली संस्थाको स्थापनामा हिमेशको ठुलो योगदान छ । उनी संस्था गठन सम्बन्धी आफ्नो भावना व्यक्त गर्दै भन्छन्- हामी परदेशी धेरैलाई लाग्न सक्छ, जहाजको टिकट काटेर एक्लो रूपमा विदेश आएको छु । तर बिना टिकट हामीसँग धेरै विषयवस्तुहरू सँगै आएका हुन्छन् । भाषा, भेष, चाड, पर्व, धर्म, संस्कार, संस्कृति, साहित्य, भोजन आदि छाया बनी आएका छन् । कतिपय ती विषयवस्तुहरू उपभोग गर्ने क्रमको संयोजन र व्यवस्थापनको भूमिका निर्वाह गरेको छ हाम्रो नेपाली संस्थाले । वार्षिक रूपमा मनाउने कार्यक्रमहरू धेरै छन् भने केही मासिक पनि छन् यसका ।
फरेष्ट्रिमा पिएचडी गर्न दशक पहिले अमेरिका आएका लक्का जवान युवक हुन् हिमेश । सुन्दर मोहडा, पर्याप्त उचाइ र सुसङ्गठित शारीरिक बनावटले उनको योग्यता र क्षमतालाई थप सुगन्ध बनाएको छ । वाचाल र बहिर्मुखी स्वभावका हिमेशलाई अमेरिका आएको एक वर्ष नपुग्दै नर्सिङमा मास्टर गरेकी नव यौवना सुमनाले वासनाको मदिरा पिलाइन । आपसी सौन्दर्य, माया र मोहको बल्छीमा तानिए दुवै । पारिवारिक आनन्द अनि यौन सुखको सुस्वाद भोजन अक्षुण्ण प्राप्तिको कामना गर्दै विवाह बन्धनमा बाँधिए ।
सृष्टिको क्रम रोकिने कुरै भएन । यसै क्रममा छोरी र छोरा पनि जन्मिए । यी दुवै स्कुल जान्छन् । कोरोना कालदेखि हिमेश घरैबाट काम गर्छन् भने सुमना दैनिक हस्पिटल जान्छिन् ।
० ० ० ०
नेपाली संस्थाले गर्ने मासिक कोठे साहित्यिक कार्यक्रम आइपुग्यो । पुराना साथीहरूलाई त अघिल्लो कार्यक्रममा नै सूचित गरिसकेको छ । नयाँ केही साथीहरूलाई हिमेशले फोन मार्फत नै खबर दिँदै गए – भोली कृपाको घरमा कोठे साहित्यिक कार्यक्रम छ । प्रत्येक महिनाको दोस्रो शनिवार सम्पन्न हुने यो कार्यक्रम पालैपालो आआफ्नो निवासमा हुने गरी तय गरिएको छ । सकेसम्म उपस्थित हुनु होला ।
कृपा धेरै व्यस्त देखिन्छिन् आज । एक त आयोजक हुन् उनी । खानपिन र स्वागत सत्कारको साथै आयोजकले नै कार्यक्रम सञ्चालन गर्नु पर्ने भएबाट त झन् व्यस्त हुनु स्वाभाविकै भयो । त्यसमाथि घरमा उनी विगत केही महिनादेखि एक्लै छिन् । पिताजी बिरामी हुनाले उनको पति सुब्रत नेपाल गएका धेरै नै भयो ।
साथीहरू ! अब म कार्यक्रम सञ्चालन गर्ने अनुमति चाहन्छु भन्दै कृपाले सबैलाई स्वागत गरिन् र पालै पालो सबै सहभागीहरूले रचना वाचन गरे । त्यसपछि कृपाले आफ्नो भरखरै प्रकाशित चौथो कृति तथा दोस्रो कविता सङ्ग्रह ‘अतृप्त प्यास’ सबैको हातहातमा थमाइन् । पुस्तकको विषयमा आफ्नो धारणा राखिन् । केही प्रकाश पार्न हिमेशलाई पनि अनुरोध गरिन् । हिमेश अगाडी गए र शीर्ष कविता ‘अतृप्त प्यास’को मीठोसँग वाचन गरे अनि केही थप कुरा बोले ।
‘हिमेशमा साहित्यिक ज्ञान धेरै छ । समीक्षा र समालोचनामा त झन् अब्बल छन् । उनको वाक् कला पनि राम्रो छ, सुनिहाल्नु भयो । यो सहरमा हिमेश नै माथिल्लो तहको साहित्यकार हुन् । समालोचना लगायत विविध विषयका पाँच पुस्तकहरू प्रकाशित छन् हिमेशको ।’ यसरी कार्यक्रम सञ्चालनको क्रममा कृपाले हिमेशको विषयमा छोटो जानकारी पनि दिइन् ।
कार्यक्रम सकियो । टाठीबाठी, सम्पन्न र मनकारी कृपाले सबैलाई डिनरकै व्यवस्था गरेकी थिइन् । हिमेशको घरमा भने चुल्है निम्ता थियो । सुमनालाई थाईराइडले हिजोदेखि पुनः दुःख दिनाले आउन सकिनन् । छेरीछोरा आउने नै भए । कृपा कहाँ आउन खुसी हुन्छन् । कृपा पनि बच्चा भनेपछि हुरुक्कै हुन्छिन् । भोली आइतबार हुनाले हतार नमानी शान्तसँग खाइपिइमा मस्त देखिन्छन् सबैजना ।
० ० ० ०
हिजोको थकाइ हुँदाहुँदै पनि कृपालाई त्यति निद्रा लागेन । बिहानै उठिन् । श्रीमानसँग नेपालमा फोन गरेर हालखबर आदान प्रदान गरिन् । ससुराको स्थिति नसुध्रिनाले सुब्रत अझै कति दिन बस्न पर्ने हो निश्चित छैन भन्ने अवगत गरिन् । एक्लो सन्तान सुब्रत । बाबु अधबैँसे उमेरका नै हुन् तर रोगले गालेपछि कसको के लाग्दो रैछ र ?
मौसम अत्यन्तै आनन्ददायक छ । चारैतर्फको हरियाली र विभिन्न फूलहरूका मोहकताले परिवेश लट्ठिए जस्तो लाग्छ । बाटोघाटो सफासुग्घर छन् । मर्निङ् वाकमा प्रशस्त देखिन्छन् मान्छेहरू । कोही जोडी छन् त कोही एक्लै । कुकुर डोर्याएर हिँड्नेहरू पनि प्रशस्तै छन् । आइतबारको बिहानी हुनाले वाहनहरू त्यति गुडेका देखिँदैनन् । मर्निङ् वाकमा हिँडेकी कृपा यो परिवेशमा अत्यन्तै खुसी छिन् ।
० ० ० ०
दुई बच्चाहरू जन्मिएपछि नै हिमेशकी श्रीमती सुमनालाई थाईराइडले समायो । तर पनि औषधी सेवनबाट राम्रो हुँदै गएको हुँदा उनको परिवार खुसी नै छन् । कहिलेकाहीँ भने दुख दिइरहन्छ । आजको भातभान्छा र बच्चाहरूको नुहाइधुवाई अनि श्रीमतीको सेवामा अति व्यस्त भएका छन् हिमेश । खुसी हुँदै श्रीमतीलाई सुनाउँछन् – ‘लन्च तयार भयो । केटाकेटीले मन पराउने मटर पनिर र चिकेन छ । अर्कोतिर तिम्रो जिब्रोले विशेष रोज्ने मटन करी लगायतका सामाग्रीहरू तम्तयार गरी डाइनिङ् टेबलमा सजाइसकेको छु ।’
यौनको अस्मेल भेल बोकेर हिँडेकी सुन्दरी हुन् सुमना । अङ्ग अङ्ग कामुक देखिन्थे । आँखामा त झन् अमित वासनाको सागर नै छचल्किए जस्तो लाग्थ्यो । हिमेश जस्तो सुन्दरताको साँचोमा ढालिएर निस्केका योग्य व्यक्तिले रोजेको महिला नै परिन् सुमना । हिमेशका रातहरू झिलिमिली पार्दै दीपावली मनाइदिन्थिन् सुमना सधैँ । उनीहरूका रात्रिविलासका कक्षाहरू नियमित उत्सवमय हुन्थे । तर के गर्ने रोगले ददारेपछि । यौनको मामिलामा शिथिल जस्तै हुन पुगिन् । साँच्चि भन्ने हो भने ओइलाएको फूल जस्ती भएकी छन् । कति बदमास त्यो रोग ? हुन त थाईराइड ‘रोग’ नभै ‘अवस्था’ हो भन्छन् । वासनाको भोक कम लाग्ने । कामुकतालाई खुम्च्याइदिने तागत हुँदो रहेछ त्यसमा ।
एकातिर मैले प्राण प्याराको इच्छा र चाहना बुझेकी छु अर्कोतिर आफ्नो कर्तव्य । सुमना थप्दै जान्छिन्- म हिमेशको जीवनसाथी हुँ । प्रबल कामेच्छा भएका मेरा प्रियको चाहना पूर्ण गर्नु मेरो दायित्व हो । मेरो पतिको त्यो चाहनालाई दमित हुन कदापि दिन्न । यौन कुण्ठाको जीवन बाँच्न नपरोस् उसले । तुष्टि र तृप्तिको लागि अनेक हर्कतमा भौँतारिन नपरोस् भन्ने प्रार्थना गरिरहेछु । त्यसैले कम रुचि हुँदाहुँदै पनि समारोहमा सामेल भैरहेको छु । तर उत्तेजना र क्रियाशीलतामा केही कमी हुन गएकोमा भने मलाई बडो चिन्ता लागिरहेछ ।
समाजमा लोग्ने स्वास्नीको अधिकांश झगडा र बिछोडको कारक तत्त्व नै यौन हो । त्यसैले आफूभित्र हिमेश पूर्ण रित्तिने गरी पोखिन पाओस् । पानी घोप्टिएको लोटा समान पूर्ण खाली हुन सकोस् । विशेषत: यौनको मामलामा हिमेशको मुहार सधैँ उज्यालो र तृप्त हेर्न चाहन्छु म भन्छिन् सुमना ।
० ० ० ०
एक दिनको कुरा हो, प्रसङ्गवश कृपासँग हिमेशले उनको परिवाको बारेमा जिज्ञासा राख्न पुगे । कृपाले नम्र र शिष्ट भएर भनिन्- ‘काठमाडौँको सम्भ्रान्त परिवारमा जन्मे हुर्केकी केटी हुँ म । विशेष गरी आमाले मेरो नाम कृपा राखिदिनु भयो । अध्ययन, आम्दानी, आयस्ता र अवसरको लागि विदेश भौँतारिनु पर्ने थिएन मैले । आमा इन्जिनियर, सडक विभागमा हुनुहुन्छ भने बाबु अर्थको सचिव । खास गरी यौनको मामलामा सङ्कुचित छैन हिमेश हाम्रो परिवार । उदार र समाज भन्दा केही अग्रगामी छ भन्छु म । लिभिङ् टुगेदरमा बसेर प्राप्त अनुभवको आधारमा विवाहको निर्णयमा पुग्न स्वतन्त्र छन् सबै । यसैले होला सायद हाम्रो परिवारको वैवाहिक जीवनमा दुर्घटना कम भएको देखिन्छ ।’
यस्तो परिवार र परिवेशमा हुर्किएकी आधुनिक सोचकी केटी हुन् कृपा । अमेरिकामा मास्टर तहको पढाइ त सकिन् तर नेपाल फर्कन मन गरिनन् । बलियो पेपर हातमा हुन पाए हुन्थ्यो भन्ने कामना गरिन् । सुब्रत कृपाकै सहपाठी हुन् । डी भी परेर आएको सुब्रत जो सिटिजन भै सकेका थिए । पेपरको लागि उपयुक्त देखिन् । अन्य व्यक्तित्व सामान्य भए पनि विवाह बन्धनमा बाँधिन् । लिभिङ् टुगेदरपछि मात्र विवाह गर्ने कुरा नसोचेकी पनि हैनन् तर छिटो ग्रिन कार्डको लागि विवाह मितिको अहम् भूमिका हुने हुनाले विवाह बन्धनमा तुरुन्तै बाँधिहालिन् ।
कृपा र सुब्रत विवाह बन्धनमा बाँधिएको पनि लामै समय भयो । जायजन्म भएको छैन । समाजमा उनीहरूको छाप राम्रो छ । कृपा साहित्यकार पनि हुन् । उच्च खानदानकी छोरी । अन्तरमुखी स्वभावकी कृपामा कम बोलेर नै किन नहोस् सबैको कुरा धैर्यतापूर्वक सुन्न सक्ने क्षमता छ । शील, स्वभावले भरिपूर्ण रूपवती, सोमतिली युवती । सुब्रतलाई भन्दा कृपालाई चिन्छ समाजले । उनी भन्छिन्- ‘मेरो नामको छाताभित्र ओतिएर आफ्नो परिचय गराउनु पर्ने स्थिति भएपनि उच नीचको भावना राख्दैन सुब्रतले । त्यसैले त रथ सामान्यतया राम्रैसँग गुडिरहेको छ हाम्रो ।’
यौनको मामलामा उनको धारणा स्पष्ट छ । स्वमूल्याङ्कनमा अग्रसर हुँदै भन्छिन् कृपा- ‘कमीकमजोरी नभएको को नै हुन्छ र जीवनमा ? अनुभवबाट पाठ सिक्दै अगाडी बढ्ने हो । स्थितिमा परिवर्तन भै हाल्छ नि भन्ने आशावादी मान्यता अनुसार सुब्रतमा भएको यौन सम्बन्धी कमीकमजोरी हटाउन मैले धेरै कोशिष गरेँ । यौनको रङ्गमञ्चमा सुब्रतमा पहिलेभन्दा केही परिवर्तन पनि आयो तर त्यो मात्राको परिवर्तनले म पूर्ण सन्तुष्ट हुन सकिरहेकी छैन । जीवनसाथीसँगको लामो सहवासको अनुभवबाट म निष्कर्षमा पुगेको छु कि – यो भन्दा बढी सुब्रतबाट अपेक्षा गर्नु मूर्खता हो । ऊ मेरो आवश्यकता बुझ्दैन । मेरो चाहनाअनुसार यौनलाई गतिशील, सुस्वादु बनाउन जान्दैन र सक्दैन ।
त्यसपछि कृपाले अब आफू अझै पूर्ण सन्तुष्ट हुन नसकेका गुनासाहरू श्रीमानलाई सुनाउनु अर्थहीन ठानिन् र हाउभाउबाट पनि देखाएकी छैनन् । सुब्रतको हातको दाम्लोमा डोरिँदै जे र जसो गर्छ त्यसैमा समर्पित हुनु उपयुक्त देखिन् । अधुरो प्यासमा चित्त बुझाएर दिन गुजारिरहेकी छन् ।
सुब्रत र मेरो यौनप्रतिको दृष्टिकोण नै फरक छ । दुवैले उमेरअनुसार यौनको अस्मेल भेल बोकेर त हिँडेका छौँ । तर भेल विसर्जनको मामलामा सोच फरकफरक देखिन्छ । लिङ्ग र योनीको मिलन नै यौन हो भन्ने सोझो बुझाइ छ सुब्रतको ।
कृपा निःसङ्कोच आफ्ना मान्यताहरू अघि सार्छिन्- ‘मेरो सोचमा परम्परावादी होइन परिष्कारवादी सीप र शिल्प हुनुपर्छ यौन साथीमा । सहकर्मीको आवश्यकता र चाहनाको ख्याल नगर्ने जीवन साथीसँगको सहवासले यौनको भोक कसरी मेटिन्छ र ? सातपत्रे लुगामा एउटै ओछ्यान सेयर गर्न आउने सहकर्मीलाई कठै भन्छु म । परिपाक पुर्याएर पुरुषोचित कार्य सम्पन्न गर्ने सामर्थ्य आफ्नो सिन्दूरको नातामा नहुनाले अत्यन्त दुखी छु । यौन आनन्दको चङ्गा चैट हुन गएकोमा चिन्तित पनि ।’
कृपा थप स्पष्ट पर्छिन्- ‘एउटा उत्तेजक, कामान्ध र व्याकुल श्रीमानले बसाउठीपछि छाडेको सन्तुष्ट र थकित श्रीमतीको अनुभव गर्न नपाएकोमा खेद छ मलाई जिन्दगीमा ।’
‘यौनको सन्दर्भमा बाहिरी समाजले बुझेको जस्तो सरल र भोलेबाबा मात्र छैन म ।’ कृपा आफ्नो भावना पोख्छिन् – ‘हुन त मेरो मात्र के कुरा भयो र ? समग्र समाजकै चित्र र चरित्र फरक छ यो मामलामा । अतृप्त, अधुरो यौन प्यासको कुण्ठामा बाच्नु भनेको रोदन, क्रन्दन, अभाव, चित्कार र आँसुमा बाँच्नु हो । सबै नशा त्याग्न सकिन्छ तर यौनको नशा त्याग्न कसरी सकिएला र एक बारको जुनीमा ?’
कृपा भावुक हुँदै थप्छिन् – ‘यौनको सुन्दर फूलबारी विनाश भएपछि रस आकाङ्क्षी मौरीहरू बसाइँ सर्नु के आश्चर्य भयो र ? त्यसैले मौन विद्रोहमा उद्वेलित हुन प्रारम्भरत छु । काँधको सल झारेर वक्षस्थल प्रदर्शनको घटना विद्रोहको एउटा प्रारम्भिक रूप हो मेरो ।’
० ० ० ०
हिमेश र सुमनाको छोराछोरी कृपाको घरमा जान औधी मन पराउँछन् । मिठो खाना, खेलौना र माया पाएपछि केटाकेटीलाई के चाहियो र ? एक हप्ता स्कुल भ्याकेशन छ उनीहरूको । पहिलो दिनदेखि नै कृपा अन्टी कहाँ जाने भनेर ममीसँग पिरिरहेका थिए ।
आज शनिबार सुमनाको हस्पिटल ड्युटी छैन । केटाकेटीलाई लिएर कृपाकहाँ जाने सोच बनाइन् र फोन गरिन् । कृपा त साथी तनुजाको हाउस वार्मिंङको निम्तामा बिहानै गइसकेकी रहिछन् । त्यही निम्तामा हिमेश पनि साँझतिर जाँदै थियो । सायद काम सघाउन अगाडी नै गइछन् कृपा ।
फोन गर्नुको कारण सबै बेलिबिस्तार लाइन् सुमनाले कृपालाई । भोली आफू फुर्सद हुनाले केटाकेटी ल्याउन निम्ता गरिन् । तर सुमना हस्पिटल जान पर्ने हुँदा हिमेसलाई भन्ने छु, उसको अनुकूल के छ ? मलाई अहिले नै ज्ञान छैन भनिन् । बेलुकीपख हिमेश पनि पुगे हाउस वार्मिङमा । सुमनाले कल गरेकी कुरा कृपाले सुनाइन् । सुमनाको फुर्सद नहुनाले भोली केटाकेटीलाई लिएर आफू आउने कुरा जानकारी दिए हिमेशले ।
समय आफ्नै गतिमा बगिरहेको छ । नेपाली सङ्गठनले विविध कार्यक्रमहरू सम्पन्न गर्दै आएको छ । अबको दोस्रो सप्ताहान्तमा अर्को छिमेकी सहरको नेपाली संस्थाले साहित्यिक कार्यक्रम गर्ने निमन्त्रणाको इमेल प्राय: सबैले प्राप्त गरिसके । लजिङ, फुडिङको समेत व्यवस्था रहेछ ।
हिमेश भोली केटाकेटी लिएर आउने कुराले रातभरि जसो कृपाको मनमा भावनाका ज्वारभाटाहरू उठिरहे । अनेकन् प्रसङ्गहरू आइजाइ गरिरहे । कृपालाई यो भरभराउँदो उमेरमा जीवन साथीसँगको अतृप्त यौन यात्राका परिदृश्यहरू आफ्नै मलामीको जुलुस जस्तै लागिरहेछ । अधुरो प्यासको सम्झनाले वेदना गानिएर आउँछ । अर्कोतिर श्रीमानको अनुपस्थितिले थप तिर्खा सँगालिंदै समेत गएको यो अवस्थामा भाले परेवा घुरेको आवाजले पनि उद्वेलित हुन पुग्छिन् उनी । हिमेशसँग रात बिताएको सपना देख्न थालिन् । त्यसैले हिमेश आउने कुराले तरङ्गित छिन् र अझै नजिकिने सोचले सधैँभन्दा बढी सजिएर बस्ने निर्णयमा पुगिन् ।
हिमेश पनि आफ्नो जीवन साथीमा देखिएको यौन सुस्तताको असर भोग्न बाध्य छन् । त्यो असरको तुसमा घोलिएर हुन सक्छ भोली हुने कृपासँगको भेट सामान्य जस्तो मात्र लागिरहेको छैन उसलाई । रोमाञ्चक लागिरहेछ । कृपाले सल झारेकी दिनको हिमेशलाई समयले न्याक्दै लगेको महसुस स्वयंले गर्न पुग्छन् । अङ्गालोभरिकी ऊर्जाशील जीवन साथी च्यापेर सुत्दाको हिजोको आदर्श र बर्तमानको यथार्थ बिचको फैसला अनुभव गरिरहेका छन् । उनको यौन आदर्श क्रमशः ओइलाउँदै छ । समयको दास हुनुको विकल्प नभएको महसुस गरिरहेछन् ।
दुई छोरीहरूलाई लिएर हिमेश कृपाकोमा पुगे र कलिङ् बेल दबाए । कृपाले ढोका खोलिन् र स्वागत गरिन् । जवानी कस्सिएर चोली नै फुटाउलान् जस्ता छातीका जोडी फूलहरूमा नै पहिलो दृष्टि पुग्यो हिमेशको । प्यासी बने । बच्चाहरूलाई कृपाले अङ्कमाल गरिन् । खुसी हुँदै सबै बैठकमा पुगे ।
उ त्यो कोठामा तिमीहरूले खेल्ने सामाग्रीहरू राखिदिएकी छु । त्यही कोठामा तिमीहरूलाई मन पर्ने तयारी खाने कुराहरू पनि छन् । खेल्दै र खाँदै गर्न सक्छौ । त्यतै जाऊ है भनेर देखाइदिइन् कृपाले । केटाकेटीलाई त्यति भएपछि पुगिहाल्यो ।
कफी तयार छ, ल्याऊँ है हिमेश ?
हिमेशले स्वीकृति दिए । कृपा किचनमा छिरिन् ।
एकातिर यौन आभूषण र अलङ्कारले सजिएकी परम रूपवती सुन्दरी कृपा छन् अर्कोतिर रोगले डसेकी आफ्नी श्रीमती सम्झे हिमेशले । उन्मत्त र कामुक श्रीमती अँगालेर बस्दाको हिजोको आफ्नो आदर्शमा स्थिर हुन सक्ने अवस्था छैन हिमेशको । यो अवस्थालाई कृपाले नबुझ्ने त कुरै भएन । उनी झन् नारी सुलभ लज्जा र सङ्कोच देखाइरहेकी छन् । सिङ्गारपटारमा सजिएकी कृपाको रूप र बैँसको वासना घरभरि हररर आइरहेछ ।
कफी कप हिमेशको हातमा बिस्तारै थमाइन् । दुवैका हात स्पर्श हुन पुगे । बिद्युतीय झड्काको महसुस गरे । आँखा जुधे । रती र कामदेवको तस्बिर देखे आपसी आँखाको नानीमा ।
‘आज लन्च के खाने हिमेश ?’ भन्दै कृपा भान्छातर्फ जान खोजिन् ।
‘खै के खाने भन्ने कृपा ! आऊ न बसौँ । गफ गरौँ । भो नजाऊ भान्छातर्फ । पहिले त म तिमीलाई हेरेर नै अघाउन चाहन्छु ।’ भन्दै धक र सङ्कोचको कालो पर्दा च्यातिदिए हिमेशले । खाना अनलाइन अर्डर गरे हुन्न र कृपा ?
लज्जाले हल्का मुस्कुराउँदै ‘ओहो ! गुड आइडिया !’ खानाको लिस्ट बनाउन मोबाइल लिएर हिमेशसँगैको कुर्चीमा नारिएर बस्न पुगिन् कृपा । प्रफुल्ल मुद्रामा रुचि अनुसारको खाना अर्डर गरे ।
दुवैको मुटुको गति बढ्दो छ । के गरौँ र कसो गरौँको अवस्थामा छन् । तिम्रो ‘अतृप्त प्यास’ कविता सङ्ग्रहको मर्म र आशय राम्रोसँग बुझेको छु । दोहोर्याएर पढेँ भन्दै हिमेशले अनजानमा जस्तो गरी आफ्नो दाहिने हात सँगै टाँसिएकी कृपाको देब्रे तिघ्रामा राखे । सहमति जनाउँदै बिस्तारै त्यो हातमाथि कृपाले आफ्नो देब्रे हात थपिन् । मीठो स्पर्शको न्यानो राप सहितको यौनको स्वादिष्ठ कुतकुती दुबैका शरीरभरि सञ्चार भयो । हातहरू थप सलबलाउन के आँटेका थिए अचानक केटाकेटी हल्ला गर्दै बैठकभित्र छिरे । भोक लाग्यो भन्दै हिमेश र कृपासँग टाँस्सिन पुगे । दुवै सतर्क र सावधान हुन बाध्य भए ।
० ० ० ०
रमाइलोसँग खानपिन र गफगाफपश्चात् कृपासँग बिदाबारी भै छोरीछोरा लिएर हिमेश निस्किए । बाटोभरि उनी आफैसँग गफ गर्छन्- ‘वास्तवमा यौनको मामलामा महिलाहरू धेरै भाग्यमानी छन् । एक त उनीहरूका धेरै अङ्गहरूले यौनका सुस्वादु झङ्कार अनुभव गर्न समर्थ छन् । संसारकै सर्वोपरि आनन्ददायक, सर्वग्राह्य र सर्वप्रिय बस्तु ‘यौन’ अनुभूत गर्न सक्ने अङ्गहरू धेरै हुनु नि:सन्देह खुसीको कुरा हो । पुरुषको भन्दा महिलाको यौन चाहना बढी हुन्छ भन्छन् चर्चाकारहरू । जब चाहना नै बढी हुन्छ तब भोगचलन गर्न धेरै नै अङ्गको आवश्यकता पर्नु स्वाभाविकै हो पनि ।’
‘दोस्रो कुरा, जीवनको यस्तो सर्वोत्कृष्ट बस्तु उपरको निर्णय र नियन्त्रण पनि त महिलामा नै निर्भर छ भन्न सकिन्छ ।’ हिमेश थप्छन्- ‘पुरुषले मात्र चाहेर नहुने अनि महिलाले आँटेमा भएरै छाड्ने अजिब बस्तु हैन त यौन ? पुरुषहरूले तुजुक त देखाउलान् तर आगोको समीपमा नपग्लने घ्यू प्रकृतिमा छ जस्तो लाग्दैन । यसको ज्वलन्त उदाहरण आफै हुन गएकोमा खेद छैन मलाई । उनी चित्त बुझाउँछन्- समाज र परिवारबाट वर्जित क्रियाकलाप गरेर पनि त्यसलाई गोप्य राख्न सके के फरक भयो र ?’
० ० ० ०
अर्को सहरमा हुने साहित्यिक कार्यक्रमको समय नजिकिँदै आयो । पर्सिको लागि भोली त पुग्नै पर्छ । को को जालान् साथीहरू ? अनुकूल हुने आआफ्नो सुरले अवश्य पुग्नेछन् । हिमेशले कृपालाई फोन गरे । उनी नजाने कुरै भएन । भोली बेलुका कार्यक्रम स्थलमा नै भेट्ने सल्लाह भयो ।
घरमा काम सघाएर मात्र जानु पर्ने भएकोले आफू ढिलो पुग्ने कुरा कृपालाई सूचना गरे हिमेशले । कृपा आफ्नो कोठामा पुगिसकेकी थिइन् । हिमेशको कोठा पनि एउटै फ्लोरको नजिकै रहेछ । साथीहरू भेटघाट र परिचय हुँदै गयो । फ्रेस भएपछि हिमेश र कृपाको प्रस्ताव अनुसार चारपाँच जनाको समूह एकछिन पैदल हिँडाइको लागि होटेल बाहिर निस्किए ।
समयमा नै डिनरको लागि डाइनिङ हलमा जम्मा हुँदै छन् । हिमेश र कृपा चाहिँ खाना खाएर कोठातर्फ लम्किए ।
‘के सुत्ने यति चाँडै, एकछिन गफ गर्ने होइन कृपा ? हिँड जाऊँ मेरो कोठामा !’
‘हेर न हिमेश, मैले नेपालमा श्रीमानसँग फोन गर्नु पर्ने छ । नुहाएर फ्रेस हुन पनि मन छ । मिलेसम्म कोशिष गर्ने छु है ।’
यसरी आफू प्यासी हुँदाहुँदै पनि ‘पानीमाथिको ओभानो’ बनेको देखाइन् कृपाले ।
ए, हुन्छ कृपा । तिम्रो अनुकूल अनुसार गर न भन्दै दुवै आआफ्नो कोठातर्फ लागे ।
कृपाको ‘मिलेसम्म कोशिष गर्ने छु’ भन्ने वाक्यबाट हिमेशको मनमा बेचैनीले लामै समय परेड खेलिरह्यो । दुई घण्टा हुँदासम्म पनि आइनन् । हिमेशको मन आगोमा परेको रबर झैँ खुम्चिँदै थियो । यत्तिकैमा कसैले ढोका नक गरेको आवाज आयो । कौतुहलतामा लपेटिँदै ढोकातर्फ लम्किए । कृपा नै रहिछन् । हिमेशको मनको शङ्कालु कसिङ्गरलाई उनको आगमनको कुचोले सिनित्तै बढारिदियो । बिजुली समान चम्किली र फूलझैँ फक्रिएकी कृपाको स्वागतमा हिमेशले रुमानी उन्मादले भरिपूर्ण हात दिए । कृपाले पनि हातमा हात थपिन् । ढोका बन्द गरे र डोरिँदै सोफातर्फ लम्किए । आफ्नै बालबच्चा कबाफमा हड्डी बन्न पुगेका त्यो दिनको ननिको घटनाको सम्झना गर्दै हाँसोको फोहरामा भिजे ।
रहलपहल लज्जाको तगारो उघार्दै हिमेशले कृपालाई चुप्प गरे । उनले पनि पैँचो तिरिन् । दुबैका हातहरू शरीरका विभिन्न भागहरूको यात्रामा चलायमान हुन थाले । सोफाबाट दुवै उठे । कृपालाई छातीमा टाँसे र मधुमालती फूलको लहरा जसै आपसी अङ्कमालमा बेरिए । हिमेशले आफ्ना हातहरू कृपाको वक्षस्थल तर्फ पुर्यायो । अधिक उत्तेजनामा पौडँदै गइन् कृपा ।
दुई सडकहरू आपसमा मिले समान एक भए । कृपा मादकताले लैनो भैँसीझैँ पघ्रँदै गइन् ।’तिमी मेरो कामदेव मात्र हैनौ भुवन सुन्दर कृष्ण पनि हौ । जलेको दिलमा शीतल मलम बनिआयौ’ भन्दै गँगटोलेझैँ हिमेशलाई च्याप्प समाइन् । गहिरो चुम्बनमा लिइन् । उनलाई आफ्ना शरीरका अङ्गहरूबाट सन्तुष्टिका सुवासना प्रसारित भै रहे जस्तो लागिरहेछ । अर्कोतिर कृपाको रूपाग्निमा सम्मोहित भै बरबराइरहेछन् हिमेश । आजको रात सुत्नु पनि पर्छ भन्ने होसमा समेत छैनन् दुवै । कृपा अन्तिम आवेगको चरणमा पुगिन् र सम्पूर्ण रूपमा सुम्पिइन् । हिमेश चरम सुखभोगको स्थितिमा पुगे । तोरी खन्याएको पाथी तुल्य पूर्ण रित्तिने गरी पोखिए । वातावरण पानी मरेको घट्ट समान शान्त भयो ।
म्याडिसन, अमेरिका ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।