प्रदीप रोदन वर्तमान नेपाली गजलको क्षेत्रमा एक परिचित नाम हो । नेपालको गोरखा पालुङटारमा बसेर गजल सिर्जनामा रमाइरहेका रोदन शिक्षण पेसामा आवद्ध छन् । उनी गजल सिर्जनाकै कारण देशविदेशसम्म वाचनमा सहभागी बनेका छन् । सामाजिक सञ्जाल युट्युब, फेसबुक, टिकटक आदिमा उनका गजललाई दर्शक तथा श्रोताहरूले औधी मनपराएको पाइन्छ । देशभित्र तथा देशबाहिर उनका धेरै ठाउँमा एक वाचनसमेतका कार्यक्रम भइरहेका छन् । लेखन र वाचन दुवै क्षेत्रमा क्षेत्रमा सक्रिय रोदनले २०७३ सालमा ‘लोकप्रिय गजकार अवार्ड’, २०७५ सालमा ‘उत्कृष्ठ  युवा प्रतिभा पुरस्कार’, २०७९ सालमा ‘साताको साहित्य पुरस्कार’ आदिबाट सम्मानित भइसकेका छन् (‘मफलर’, २०७९) भने  ‘मफलर’ कृतिका लागि ‘छाँयादेवी चेतनाथ गजल पुरस्कार २०७९’ समेत प्राप्त गरिसकेका छन् । प्रदीपको एक मात्र ‘मफलर’ नामक गजल सङ्ग्रह प्रकाशित भएको छ । प्रस्तुत लेख उनी रोदनको गजल सङ्ग्रह ‘मफरल’सँग सम्बन्धित छ । गजल काव्य साहित्यको एक महत्त्वपूणर् विधा हो । यसको आफ्नै संरचना वा साहित्य सिद्धान्त रहेको छ । यो विधा अरबमा जन्मिएर, फारसीमा हुर्किएर हिन्दी हुँदै नेपाली भाषामा भित्रिएको हो (नेपाल, २०७८) । अन्य साहित्यका विधा जस्तै यसका पनि आफ्नै संरचनागत तत्त्वहरू रहेका छन् । गजलमा मतला, मकता, काफिया, रदिफ, सेर, लय, विषयवस्तु, तख्लुस आदि तत्त्वहरू रहेकाले यो विधा अन्य विधाभन्दा भिन्न रहेको छ (बराल, २०६८) । गजलका यिनै तत्त्वगत आधार साथै सङ्ग्रह (कृति) को भौतिक तथा आन्तरिक तत्त्वको आधारमा प्रदीप रोदनको ‘मफलर’ गजल सङ्ग्रहको विश्लेषण गर्नु प्रस्तुत लेखको मुख्य उद्देश्य रहेको छ ।

‘मफलर’को भौतिक स्वरूप

‘मफलर’ गजल सङ्ग्रह मझौला आधारको कृति हो, किनकि यस कृतिको बनोट ८ इन्च लम्बाइ र ५ इन्च चौडाइ रहेको छ । त्यसैगरी जम्मा आवरणबाहेक १८० (१६४ + १६) पृष्ठ रहेका छन् । बाक्लो कभर रहेको यस कृतिको आवरण ‘मफलर’जस्तै लाग्ने हल्का रातो, निलो, खैरो र  सेतो रङ्गलाई घेराघेरा बनाएर राखिएको छ । मध्य भागभन्दा केही माथि ‘मफलर’ ठुला अक्षरमा लेखिएका छ भने तल्लो भागमा लेखकको नाम राखिएको छ । आवरणको पछिल्लो भागमा भने सङ्ग्रहभित्रै समावेश भएको १०३ औँ गजलमा राखिएको एक सेरलाई थप परिमार्जन गरी संक्षिप्तमा राखिएको छ । र अन्त्यमा प्रकाशकको नाम र अन्य विवरण राखिएको छ । संङ्ग्रहको भित्री भागमा दुई दुई पृष्ठ (सुरु र अन्त्य) रातो रङ्गले सजाइएको छ, त्यसैगरी सुरुका अन्य पृष्ठ खाली छन् भने अन्त्यमा लेखकीय विचार र लेखक परिचय राखिएको छ । बाँकी १६४ पृष्ठमा १०८ गजल र १०८ ओटा फर्दहरू छन् । फाइन प्रिन्ट बुक्स काठमाडौँले बजारमा ल्याएको यस कृतिको मूल्य कृतिमा उल्लेख नगरिए पनि बजारमा किन्दा भने यसको मूल्य रु ५९८ पर्दो रहेछ । दुई सय पृष्ठ पनि नभएको कृतिको मूल्य पाठकीय कोणबाट हेर्दा बढी देखिन्छ ।

‘मफलर’मा विषयवस्तुगत विविधता साथै भावगत प्रस्तुति

‘मफलर’ गजलसङ्ग्रहमा १०८ ओटा गजल रहेका छन्, यी सबै गजल गैर मुसलसल गजलहरू हुन् । गजलका हरेक सेर आफैँमा भिन्न भिन्न हुन सक्ने भएकाले यस सङ्ग्रहमा विषयवस्तुगत विविधता पाइन्छ । गजलको विकासक्रमको सुरुवातमा श्रृङ्गारिक विषयवस्तुमा मात्र गजल लेखिएता पनि वर्तमान समयमा सबै विषय क्षेत्रमा गजल लेख्न थालिएको र लेख्न सकिने देखिन्छ (बराल, २०६८) । ‘मफलर’ सङ्ग्रहका पनि हरेक गजलमा सामाजिक, आर्थिक, धार्मिक, सांस्कृतिक, राजनैतिक, ऐतिहासिक, भौगोलिक आदि पक्षलाई वैचारिक ढङ्गबाट प्रस्तुत गरिएको पाइन्छ । रोदनले गजलमा समाजका साना साना पक्षहरूलाई गहिरिएर प्रस्तुत गरेका छन्् । जहाँ मानिवीय संवेदना बढी जोडिन्छ, जहाँ नैतिक जिम्मेवारीहरू बढी छन्, जहाँ खबरदारीहरू बढी गर्नुपर्ने छ, त्यहाँ त्यहाँ रोदनले आफ्नो गजलका विषयवस्तुहरूलाई प्राथमिकतामा राखेका छन् । गजलका केही सेरहरूबाहेक प्रायः सेरहरू चर्चा गर्न र उदाहरणका प्रस्तुत गर्न योग्य छन्, यहाँ केही प्रतिनिधि सेरहरूलाई विषयवस्तुगत तथा भावगत विविधतालाई जोडेर प्रस्तुत गरिएको छ ः

गरिबहरूको बाध्यात्मक परिस्थितिको चित्रण :

खान मन छैन भन्नुभन्दा उपयुक्त बहाना छैन, 

थाहा छ, कसौँडीमा आमालाई पुग्ने खाना छैन । (पृ.१)

गाउँ र शहर सुरक्षात्मक भिन्नता :

पर्खाल लगाएर बसिसकेछ हजुरको शहर,

अहो, मैले गाउँमा अझै ढोका लगाएको छैन ।  (पृ.२) 

सामन्त वर्गप्रति व्यङ्गात्मक प्रस्तुति साथै ज्यामी किसानप्रति सम्मान :

नङमा माटो आउँछ, हातमा फोराहरू आउँछन्,

मालिक, त्यही पनि हाम्रो घरमा अनाज आउँदैन । (पृ.२८) 

समयको महत्त्व र जीवन चक्र :

के पानीको बाफ फेरि पानी भएर आउन सक्छ ? 

सक्छ बाबु, समयले जोकसैलाई घुमाउन सक्छ । (पृ.५)

मान्छेहरूको स्वार्थीपना,

मेरो पिठिउँमा घाउ छ भन्ने थाहा पाएको छ,

कहिल्यै नआउने मान्छे धाप मार्न आएको छ । (पृ.७) 

 

सरकारका गतिविधिप्रति व्यङ्ग्य (असन्तुष्टि):

किन रिसाउनुहुन्छ यो त सरकारी अस्पताल हो, 

यहाँ बिरामीहरू भेटिन्छन्, डाक्डर भेटिन्न । (पृ.४०) 

जस्तो सुकै दुःखमा पनि शान्ति अँगाल्नुपर्ने सन्देश :

बरु मैले पिँजडा बेचेर छाक टारेको छु,

महोदय, हजुरले झैँ चरा कहाँ मारेको छु । (पृ.१८) 

कसै गर्दा पनि गल्ती छोप्न नसकिने र माफ माग्नुपर्ने अवस्था :

एक पटक त भनिदेऊ के गल्ती गर्‍यौँ तिमीले,

तिमी किन हेर्न सक्दैनौ मेरा आँखामा अचेल ? (पृ.२४)

आमाप्रतिको सम्मान,

कुरा निकिन्छ होला भगवान्को सभामा अचेल,

मैले पूजा गर्न थालेको छु आफ्नै आमा अचेल । (पृ.२४)

सन्तानको बाबुआमाप्रतिको जिम्मेवारी :

हर साँझ गिलासमा सराब भर्न सक्छ छोरो,

बाआमाको ओठमा हाँसो किन भर्न सक्दैन ? (पृ.३५)

परदेशीको जन्मभूमि माया साथै आञ्चलिकताको प्रयोग :

आमा, पिँढीमा बस, एउटा तस्बिर खिचेर जान्छु,

तिनाउ तरेपछि तिमी देखिन्नौ, हाम्रो घर देखिन्न । (पृ.४०) 

मानिसहरूको देखाओटी आस्था :

जहाँ मलाई ठेस लागेर मेरो रगत चुहिएको थियो,

अहिले त्यहाँ फूल अबिर देखिन्छ, पत्थर देखिन्छ । (पृ.४०)

समाजको विकृत पक्ष (गैरजिम्मेवार प्रेमीप्रेमीकाको कथा) :

अलि अघि एक जोडी झुटा प्रेमी देखिए,

अल्लि पछि झाडीमा एक शिशु देखियो । (पृ.३४)

भ्रष्टाचारको पराकाष्टा :

करोडको गाडी, अर्बौँको जहाज सुटुक्क ल्याउँछन्,

राहतको बोरा चामल स्थानीयको रोहबरमा आउँछ । (पृ.१०१) 

प्रेमिकाको विछोडमा प्रेमीको हालत :

म खोज्दै छु चाबी लिई हातमा नै,

गयौ जब तिमी होस मेरो कहाँ छ ? (पृ.९८) 

आमाको सन्तानप्रतिको अतुलनीय माया :

आमा मरेको खबर छोरालाई  सुनाइदिए हुन्छ,

छोरा मरेको खबर आमालाई नसुनाइदिनु । (पृ.८०)

केही दार्शनिक सेरका नमुनाहरू …

म पैसा हराएर न्याय माग्न आएको हुँ,

दस्तुर लाग्छ निवेदनको तपाईँ भन्नुहुन्छ । (पृ.३९) 

 

बाँचुन्जेल अरुलाई जलाउन मद्धत गर्ने ढुङ्गो,

क्रमशः आफू पनि त आगोले सकिन्छ । (पृ.९७) 

विषयवस्तुगत विविधता नै ‘मफलर’ सङ्ग्रहको मुख्य विशेषता हो । गजलकारले मानव जीवन र जगत्का सामान्यदेखि विशिष्ट विषयवस्तुहरूलाई वैचारिक ढङ्गबाट समेटने प्रयास गरेका छन् । एक सेरभित्र कुनै पनि कुरालाई पूणर् बनाउनसक्नु नै गजलकारको खुबी मान्नुपर्छ । काफिया शब्द र रदिफहरू दोहोरिए पनि सिङ्गो सङ्ग्रहभित्रका सेरमा भाव वा विषयवस्तु दोहोरिएको पाइँदैन, यो अर्को चर्चा गर्न लायक सन्दर्भ हो ।

‘मफलर’मा काफियाको प्रयोग 

गजल बन्नका लागि आवश्यक महत्त्वपूणर् तत्त्व हो काफिया । स्वरमात्रामा अलिकति पनि गडबडी नभएको वा असन्तुलन नभएको अनुप्रासयुक्त अर्थात् तुक मिलेको शब्द, शब्दाशं वा अक्षर नै काफिया हो (दाहाल, २०६८) । जस्तै ः गर्छ, पर्छ, झर्छ आदि शब्दमा हुने सामान ध्वनि ‘अर्छ’ । ‘मफलर’ सङ्ग्रहमा गजलकारले नवीन काफियाहरूलाई प्रयोग गर्ने प्रयास गरेको पाइन्छ । यस अर्थमा नवीन भनिएको हो कि काफियाका लागि प्रयोग गरेका शब्दहरूमा नवीनता देखिन्छ । ‘मफलर’मा एकाक्षरी, मिलित र मिश्रित तीनै प्रकारका काफियाहरू प्रयोगमा आएको पाइन्छ । ‘आउन’, ‘अर’, ‘इन’ जस्ता काफियाहरूको प्रयोग बढी पाइन्छ । ८ ओटा जति गजलमा ‘अर’ काफियाको भिन्न भिन्न विषय र सन्दर्भमा सफल प्रयोग गरेको पाइन्छ, यो गजलकारको सफलता पनि हो । केही आगन्तुक शब्दहरूलाई काफिया शब्द बनाउन प्रयोग गरिएको ‘इन’ काफिया र लालटिन, दूरबिन, पोलिथिन आदि शब्दको प्रयोग नवीन मात्र होइन कलात्मक पनि रहको छ । मिलित काफियालाई आवश्यतका अनुसार गजलकारले प्रयोग गर्न सक्ने तर मतलाको दुवै मिसरामा भने मिलित काफियाको प्रयोग उचित हुँदैन, एउटा मिसरामा मात्र प्रयोग गर्न सकिन्छ भन्ने परिश्रमी (२०७९) को विचारलाई मनन गर्दा भने ४१ औँ गजलमा क्रमशः बन्, छन्, स्तन, वजन (अन्) को प्रयोग गरिएकाले काफिया दोष देखिन्छ । ४६ औँ गजलमा गर्न, पर्न, भर्न, चहार्न जस्ता शब्दको प्रयोग गरेर ‘अनर्’ र ‘आर्न’ काफिया प्रयोग गरिएको पाइन्छ । त्यसैगरी ९८ औँ गजलमा ‘आरो’ (अँध्यारो) र ‘एरो’ (तेरो) जस्ता काफिया प्रयोग गरी काफिया प्रयोगमा केही कमजोरीहरू रहेका छन् । यससन्दर्भमा भने गजलकार सचेत हुनुपर्ने देखिन्छ ।

‘मफलर’मा रदिफको प्रयोग 

गजलमा काफिया पछाडि दोहोरिएर आउने शब्द वा पदावली नै रदिफ हुन् । रदिफले गजललाई सङ्गीतात्मक बनाउन ज्यादै ठुलो भूमिका खेल्दछ (बराल, २०६८) । ‘मफलर’ सङ्ग्रहमा रदिफको प्रयोग भएका र नभएका दुवै किसिमका गजलहरू रहेको पाइन्छ । ८३ औँ गजल, ७१ औँ गजल, ६० औँ, ५२ औँ ३७ औँ लगायतका गजल बाहेक प्रायः गजलहरूमा रदिफको प्रयोग गरिएको छ । रदिफको प्रयोग गरिएका अधिकांश गजलहरूमा क्रियापद (छैन, खेल्छ, हिड्छ, दियौ, आँउछ….)लाई रदिफको रूपमा प्रयोग गरिएको छ । १२ ओटाजति गजलमा त ‘पर्छ’े (चल्नु पर्छ, दिनु पर्छ, चर्किन पर्छ, बेला पर्छ…) रदिफलाई सफल प्रयोग गरिएको पाइन्छ । क्रियापदलाई रदिफ बनाएर लेखिएका गजलहरू हुन् वा सर्वनाम, संयोजक वा क्रिया विशेषण, जुनसुकै गजलहरूमा रदिफको प्रयोग उपयुक्त नै देखिन्छन् । गजलमा एक वा दुई शब्दहरू (पदावली) लाई रदिफको रूपमा प्रयोग गरिएको छ । रदिफलाई गजलकारले विषयवस्तु र काफियाअनुसार उपयुक्त प्रयोग गरेर नै गजलका हरेक सेरहरू सार्थक रहेका छन् । रदिफको एक सफल प्रयोगलाई हेरौँ ः

भरोसा छैन यो जीवनको तपाईँ भन्नुहुन्छ,

फेरि पक्का छु वचनको तपाईँ भन्नुहुन्छ । (पृ.३९)

‘मफलर’मा प्रयुक्त भाषाशैली तथा विम्बप्रतीक 

गजलकारले ‘मफलर’ गजल सङ्ग्रहमा वणर्नात्मक, संवादात्मक, प्रश्नोत्तरात्मक, विश्लेषणात्मक जस्ता शैलीलाई प्रयोग गरेको पाइन्छ । उनले कतिपय विषयस्तुलाई सामान्य वणर्नमात्र गरेका छन् भने कतिपय विषयवस्तुलाई विश्लेषणसमेत गरेका छन् । जुन शैली अपनाए पनि काव्यिक बनाउन भने हर प्रयत्न गरेको देखिन्छ । गजलमा संवादात्मक र प्रश्नोत्तरात्मक शैलीले भने हर पाठको मन सजिलै जित्ने देखिन्छ । यो शैलीले रोदनलाई अन्य गजलकारभन्दा भिन्न बनाउनसमेत सहयोग गरेको छ । कतिपय गजलहरूमा आफैँ प्रश्न गरेर उत्तर दिन्छन् त कतिपय गजलमा संवादको रूपमा अन्य पात्रलाई सहभागीसमेत गराएको पाइन्छ । हेरौँ केही सेरहरू ः

छोरा र बाबुको संवाद —

के पानीको बाफ फेरि पानी भएर आउन सक्छ ?

सक्छ बाबु, समयले जो कसैलाई घुमाउन सक्छ । (पृ.५)

लेखक स्वयम्को प्रश्नोत्तर —

तिमीलाई के गरेँ र मन पलाउँदैन भन्यौँ ?

यहाँ बञ्चरो खाएकै रुख पलाउन सक्छ । (पृ.१३)

विषयवस्तुको थप स्पष्टता (विश्लेषण)—

तिमीलाई पोल्छ भनेर आगो नदिएको हुँ,

लोभ गरेको हैन आगो सकिन्छ भनेर । (पृ.८७) 

त्यसैगरी रोदनले गजलमा प्रयोग गर्ने गरेको ‘महोदय’ शब्द गजलकारको अर्को भिन्न पहिचान हो । उनले हर मान्छेहरूलाई ‘महोदय’ भनेर सम्बोदन गर्ने गरेका छन् । यो ‘महोदय’ शब्द गजलकारको थेगो हो भन्न पनि सकिन्छ । यस शब्दलाई गजलमा जहाँ जहाँ प्रयोग गरेका छन्, त्यहाँ त्यहाँ पाठक कतै हार्दिक बन्नै पर्ने त कतै झस्किनुपर्ने अवस्था रहेको देखिन्छ । उनी ‘महोदय’ शब्दलाई यति सुन्दर तरिकाले गजलको सेरमा प्रयोग गर्छन् ः

पुरानो भित्तो पनि यति त चाहना राख्छ,

महोदय ! पात्रो अघिल्लो सालको नहोस् । (८५)

गजलमा तत्सम, तद्भव र आगन्तुक (अङ्ग्रेजी, हिन्दी, अरबी…) जस्ता शब्दहरूको प्रयोग गरिएको पाइन्छ । रोदनको अर्को महत्त्वपूणर् पहिचान विम्बप्रतीकहरूको प्रयोगलाई मान्नुपर्दछ । प्रदीपले सङ्ग्रहका गजलहरूमा पुराना तथा नवीन विम्बहरूलाई स्थान दिएका छन् । ग्रामीण विम्ब हुन्, या शहरीया, या त मिथकीय जस्ता विम्बभए पनि उनको विम्ब प्रयोग निक्कै सान्दर्भिक रहेको पाइन्छ ।

अधिकांश विम्बहरू उपमा र दृष्टान्त अलङ्कारका रूपमा प्रयोग गरिएको पाइन्छ । रोदनका प्रायः गजलहरू दार्शनिक तथा वैचारिक रहेका छन्, जसको कारण विम्बप्रयोगमा कलात्मकता साथै नवीनता नै हो । उनले औँठी, विस्कुन, रुमाल, पथ्थर, छिनो, चकलेट, द्रौपदी, दुर्योधन, गीता, ‘मफलर’, चस्मा, सुदामा, बेलुन, लोटा, सल जस्ता विम्बात्मक शब्दहरू प्रयोगमा निकै नवीनता दिएका छन् । उनी महिलाले कुर्थासलवारमा लगाउने ‘सल’को प्रयोगलाई यसरी सम्बन्धसँग जोडेर प्रस्तुत गर्दछन् ः

काँधमा हालेको सलजस्तै हो सम्बन्ध पनि

जसलाई बेलाबेलामा मिलाइरहनुपर्छ ।  (पृ.७१)

‘मफलर’मा सेर, मतला (मत्ला) र मकता (मक्ता) को प्रयोग

‘मफलर’ गजल सङ्ग्रहमा सङ्ग्रहित गजल गैर मुसलसल भएकाले सबै सेरहरू आफैँमा स्वत्रन्त्र छन्, अर्थात् सबै सेरहरूले फरक फरक विषयवस्तुहरूलाई उठाएको पाइन्छ । गजलमा प्रयुक्त सेरमा मिसरा ए उला (सेरको पहिलो हरफ) ले कुनै पनि समस्या (विषयवस्तु)को उठान गर्दछ र मिसरा ए सानी (सेरको दोस्रो हरफ) ले त्यस समस्यालाई समाधान गर्ने गर्दछ (पौडेल, कमलप्रकाश (सन् २०१६) । ‘मफलर’मा समावेश गजलहरूका सेरले उक्त धर्मलाई निभाएको पाइन्छ । अझै गजलमा एक मिसराले उठाएको विषयवस्तुको समापन अर्को मिसराले कसरी गर्दछ भनेर सोझै अनुमान गर्न पाठकले नसक्नु सेरको महत्त्वपूणर् पक्ष हो । रोदन यस सन्दर्भमा सफल देखिन्छन् । उनका प्रायः सेरहरूमा मिसरा ए उला र ए सानीको निक्कै कलात्मक प्रयोग पाइन्छ । अझ यसो भनौँ अन्दाजेबयाँ निक्कै ससक्त रहेको छ । मिसरा एउलाको प्रसङ्गबाट अनुुमान गर्न नसकिएका जिज्ञासा र मिसरा ए सानीले समाधान गरेको समाधानलाई यो नमुना (सेर) बाट स्पष्ट बन्न सकिन्छ ः

बा ! हेर्नुस् त खाना पाइन्छ लेखिएको छ त्यहाँ, 

थाहा छ बाबु ! सित्तैमा पाइन्छ लेखिएको छैन । (पृ.३)

सङ्ग्रहमा पाँच सेरभएका गजल सबैभन्दा बढी रहेका छन् ।  जहाँ ४ देखि ७ सेरसम्मका गजलहरू छन् । परिश्रमी (२०७७) भन्छन्— “एउटा गजलमा कम्तीमा पाँच सेर हुनुपर्दछ भन्ने काव्यशास्त्रीय मान्यता छ तापनि कतिपय फारसी र उर्दूका गजलकारहरूले नै चार सेरका मात्र गजलहरू पनि रचेको देखिन्छ ।” यसर्थ सेरको प्रयोग आवश्यकताअनुसार गरिँदा खास फरक नपर्ने देखिन्छ । गजलहरूमा प्रयुक्त मतला र मकताको प्रयोग पनि काफिया, रदिफ साथै विषयवस्तुलाई आधारमानेर हेर्दा उपयुक्त नै देखिन्छ । मतलाका दुवै मिसरामा क्रियापद, काफिया साथै रदिफको उपयुक्त प्रयोग भेटिन्छ । त्यसै गरी हरेक गजलका मकताहरू पनि निष्कर्षन्मुख नै देखिन्छन् । १७, २६ औँ लगायतका केही गजलमा गजलकारले मकतामा तख्लुस (उपनाम)को प्रयोग गरेको पाइन्छ । मकतामा बहुअर्थमा तख्लुसको प्रयोग गर्न सक्नु गजलकारको क्षमता मान्नुपर्दछ । उनले आफ्नो उपनाम ‘रोदन’लाई एक आफैँ र अर्को ‘दुःखी/आँसु’ का रूपमा यसरी प्रयोग गरेका छन् ः

केही दिन तिम्रो झुटो माया नि चलोस् बजारमा,

नचले त्यसपछि फेरि ‘रोदन’को गजल चल्छ ।  (पृ.२६)

‘मफलर’मा लयको प्रयोग

गजलमा लयले श्रुतिमधुर बनाउन भूमिका खेल्ने गर्दछ । गजल गेय विधा भएकाले गजलमा लय हुनु आवश्यक देखिन्छ । गजलमा लय भन्नाले मतलामा भएको गति र विश्राम हरेर सेरहरूमा समानरूपमा वितरण हुनुभन्ने बुझिन्छ । जुन लयका कारण गजललाई सङ्गितबद्ध गर्ने गरिन्छ । बहर, छन्द, लय, मात्रा जेजस्ता शब्दहरू दिए पनि यी सबै शब्दले लय वा गेयात्मकतालाई बुझाउँछ (ओझा, २०६८) ।  प्रस्तुत ‘मफलर’ गजल सङ्ग्रहमा लयको खोजी गर्दा ६४ औँ, ६७ औँ, ६८ औँ, ६९ औँ, ९८ औँ लगायतका केही गजलमा मात्र लय भेट्न सकिन्छ । अन्य गजलमा मतलाले अनुसरण गरेको गति र यतिको अवस्था सोही गजलका अन्य सेरमा भेट्न सकिने अवस्था देखिँदैन । लयमा लेखिएका गजलहरूमा बहर (बहरे मुतकारिब) साथै स्वनिर्मित (आक्षरिक) लयको प्रयोग गरिएको छ । विशेषगरी लेख्य भाषाभन्दा लय निमाणर्मा उच्चारणलाई आधार बनाएको देखिन्छ, बहर (बहरे मुतकारिब मुसम्मन सालिम)बद्ध एक गजलको सेरः

लगाएर माया कुनै पल तिमीले

पुरै जीन्दगीभर गर्‍यौ छल तिमीले । (६४)  

गेयात्मक बनाउन खोजिएका गजलहरूमा पनि लयगत (अक्षर, मात्रा, ह्रस्व, दीर्घ आदिमा) समस्या देखिन्छ । ‘मफलर’मा समावेश अधिकांश गजलहरू गेयात्मक छैनन् । वाचन गर्न सकिन्छ तर गाउन सकिँदैन । गजल गेयात्मक तथा लयात्मक विधा भएकाले यस सङ्ग्रहमा समावेश अधिकांश गजलहरू लयचेतका दृष्टिले कमजोर देखिन्छन् ।

‘मफलर’मा फर्दहरू

‘मफलर’ सङ्ग्रहमा पछिल्लो १११ पृष्ठबाट १६४ पृष्ठसम्म १०८ ओटा फर्दहरू भनी अगाडि गजलमा प्रयुक्त सेरहरूलाई राखिएको छ । ‘फदर्’ शब्द अरबी शब्द हो, जसको अर्थ हुन्छ कागज वा कपडाको टुक्रा, पत्र वा एक्लो । यहाँ गजलको सन्दर्भमा एक्लो भन्ने अर्थले हेर्न सकिन्छ, किनकि यी गजलमा प्रयोग गरिएका एक्ला सेरहरूको समूह हुन् । खास अर्थमा ‘फर्द’लाई गजल लेख्न बस्ता एक सेरभन्दा बढी लेख्नै नसकिएको अवस्था भनेर बुझ्ने गरिन्छ (पौड्याल,२०७९) । यसरी ‘मफलर’का सेरहरूलाई हेर्दा, गजलकारले यी सेरहरू लेख्दा अन्य सेरहरू लेख्नै नसकिएको हो भनेर बुझाएका हुन् वा यी सेरहरू कतै छैनन् एक्लै हुन् भनेर भन्न खोजेका हुन्, के हो दुवै प्रस्ट छैन । पाठकले यी सबै फर्दहरूलाई अगाडि गजलहरूमै पढिसकेका हुने भएकाले फर्दहरूले पुस्तकको आकार बढाउने काममात्र गरेको देखिन्छ । फर्दहरू स्वयम् लेखकलाई बढी मन परेका सेर हुन् र सोही उद्देश्यले राखिएको हो भने यसबारे केही भन्नुपर्ने अवस्था रहँदैन ।

‘मफलर’ गजल सङ्ग्रह र ‘मफलर’ शीर्षक (कतिको नाम) 

‘मफलर’ शब्दको अर्थ गलामा लगाइने ‘न्यानो कपडा वा गलबन्दी’ भन्ने हुन्छ । लाक्षणिक अर्थमा मायाको चिनोका रूपमा बुझ्न सकिन्छ । गजलको सन्दर्भमा लक्षणात्मक अर्थमा बुझ्नु उपयुक्त होला । गजल गेयात्मक विधा भएकाले गजलमा हार्दिक, मार्मिक, सुललित, गेयात्मक शब्दहरूको प्रयोग उत्तम मानिन्छ, यसर्थ ‘मफलर’ गजल सङ्ग्रहको नाम उपयुक्त रहेको छ । रोदनले उक्त सङ्ग्रहभित्र ४० औँ, ५५ औँ लगायतका केही गजलका सेरहरूमा ‘मफलर’ शब्दलाई मिठासपूणर् ढङ्गबाट प्रयोग गरेका छन् । उनले पाठकको मनलाई न्यानो दियो भने ‘मफलर’को अर्थ पूणर् हुने कुरा आफ्ना विचारमा उल्लेख गरेको पाइन्छ । यस सङ्ग्रहले पाठको मनमा मात्र न्यानो नदिएर नेपाली गजललाई नै न्यानो दिने देखिन्छ ।

निष्कर्ष :

आधुनिक नेपाली गजलको सत्तरीको दशकबाट आफूलाई शसक्त रूपमा प्रस्तुत गर्दै आएका गजलकार हुन् प्रदीप रोदन । सामाजिक सञ्जाल तथा देशविदेशका विभिन्न स्थानहरूमा गजलवाचन गरेर आफ्ना गजलहरू स्वयम्ले पाठकसामु पस्कँदै पनि आइरहेका छन् । उनको गजलमात्र होइन वाचनकलालाई पाठक तथा स्रोताहरूले औधी मन पराएको पाइन्छ । उनको ‘मफलर’ गजल सङ्ग्रह विषयवस्तुगत विविधताले सजिएकोे एक वैचारिक तथा दार्शनिक गजल सङ्ग्रह हो । उनले गजलमा विषयवस्तुगत विविधता दिएका छन् । जसले मानव जीवन र जगत्का सामाजिक, आध्यात्मिक, भौतिक, सांस्कृतिक, प्राकृतिक, मनोवैज्ञानिक, धार्मिक आदि विषयवस्तुलाई सूक्ष्म ढङ्गले केलाएको पाइन्छ ।  त्यसैगरी परम्परागत विम्बहरूको प्रयोगमा नयाँपन साथै नवीन विम्बहरूको सफल प्रयोग गर्न सक्नु प्रदीपको महत्त्वपूर्ण विशेषता मान्नुपर्दछ । उनको गजल प्रस्तुतिको संवादात्मक शैली साथै ‘महोदय’ थेगोको प्रयोग अर्को महत्त्पूर्ण पक्ष हो । गजलको शास्त्रीय मान्यतालाई हेर्दा उनका गजलमा केही काफियागत कमजोरीका साथै लयगत कमजोरी पनि रहेका छन् । गजलमा उक्त केही कमजोरीहरू भएता पनि नेपाली गजलमा ‘मफलर’, ‘मफलर’ (न्यानो) बनेर हरपाठकका मनमा बसिरहने देखिन्छ ।

===

सन्दर्भ ग्रन्थसूची:

ओझा, घनेन्द्र (२०६८). नेपाली गजल : सिद्धान्त र विवेचना. काठमाडौँ : बी.एन. पुस्तक संसार प्रा.लि.।

दाहाल, बलराम (२०६८). खरानी पो भयो माछो (गजलसङ्ग्रह). ह्वअप्रकाशित स्नातकोत्तर शोधपत्रह्ण. नेपाली विभाग, रत्न राज्यलक्ष्मी क्याम्पस (त्रि.वि.) काठमाडौँ. https://elibrary.tucl.edu.np/bitstream/123456789/12336/2/Chapter%20page%286%29.pdf

नेपाल, देवी (२०७८). लेखन शिल्प. काठमाडौँ : ऐरावत प्रकाशन प्रा.लि. ।

परिश्रमी, घनश्याम (२०७७, भाद्र, ८). गजल संरचनाका बाहिरी तत्त्वहरू. साहित्यपोस्ट. https://sahityapost.com/gair-aakhyan/sr-serial/82358/

परिश्रमी, घनश्याम (२०७९, आश्विन ५). एकाक्षरी, मिलित र मिश्रित काफिया. साहित्यपोस्ट. https://sahityapost.com/gair-aakhyan/sr-serial/85047/.

पौडेल, कमलप्रकाश (सन् २०१६). नेपाली गजलको इतिहास र विकास सिद्धान्त.  साहित्य सङ्ग्राहलय. https://sahityasangraha.com/2016/11/04/नेपाली-गजलको-इतिहास-र-विक/

पौड्याल, नवीन (२०७९, वैशाख १७). भारतमा नेपाली गजल समालोचनाको एक फस्टाउँदो अवस्था. साहित्यपोस्ट.  https://sahityapost.com/prabash/sub-prabash/106875/.

बराल, कृष्णहरि (२०६८). गजल सिद्धान्त र परम्परा (दोस्रो संस्क). काडमाडौँ : साझा प्रकाशन ।

रोदन, प्रदीप (२०७९). ‘मफलर’. काठमाडौँ : फाइनप्रिन्ट बुक्स ।