योगी एउटा गुमनाम पात्रको प्रतिनिधित्व गर्छ । उसलाई समाजमा चिनिने रहर छैन । तर, आफ्नो भोगाइ उजागर गर्ने उत्सुकता छ । ऊ चाहन्छ उसको परिचय बिना नै उसको कथा सार्वजनिक होस् । उसको कथा समाजमा एउटा पाठ बनोस् । उसको कथाले समाज बदलिन सम्भव छैन तर समाजको एक नजर पर्नु पर्ने पात्रमध्ये ऊ पनि एक हो भन्ने सम्झन्छ ।
आजको समाजमा धर्मको नाममा कर्मकाण्डीहरूबाट भएको ताण्डव मानव सभ्यताको निमित्त ठूलो कलङ्क हो । धर्मलाई शुद्ध रूपमा रहन दिइएन । धर्मको अगाडि अनेक नामका साम्प्रदायिक सर्ग तथा उपसर्गहरू झुण्ड्याइयो । आ–आफ्ना मान्यताहरू अगाडि सारियो । धेरैजसो मान्यताहरू अन्धविश्वासमा आधारित रहे । यी अन्धविश्वासहरू समाजमा आफ्नो स्थान सर्वोच्च गर्नेहरूको पक्ष या राज्य सत्ता टिकाउन चाहनेहरूको पक्ष पोषण गर्दछ । जसरी सत्ता आतङ्कवाद र धर्मगुरुहरू एकापसमा अन्योन्याश्रित सम्बन्ध राख्दछन् ।
वेद श्रुति परम्परामा आधारित मानवोचित मन्त्रहरू थिए । जो सम्पूर्ण मानवको लागि थियो कुनै सम्प्रदाय विशेषको लागि होइन । विश्व मानव समुदायको जीवनोपयोगी मन्त्रहरू एउटा सम्प्रदायले कब्जा गरेर आफू अनुचित व्याख्या गर्नु वेदको दुर्भाग्य थियो । यही झोँकमा म्याक्स मुलरले वेदको चीरहरण हुने गरी अपव्याख्या गरिदिए ।
विवेकानन्दले यसको सही व्याख्या नगरेको भए त्यही समय वेद जल्ने थियो । एउटा सम्प्रदाय भित्रका महत्त्वाकाङ्क्षी व्यक्तिहरूको स्वानुकूल व्याख्यालाई अर्को विद्रोहीले अपव्याख्या गरिदिनु दुवै गलत थियो । शुद्ध धर्मको अनुयायी विवेकानन्दको आगमनले वेद आज जीवित छ र विश्वमा आफ्नो ज्ञान छरिरहेको छ । वेद हिन्दुहरूको प्यावा ग्रन्थ थिएन र होइन । यो सम्पूर्ण मानवको लागि गुणस्तरीय जीवन यापन सिकाउने मन्त्रहरूको सँगालो हो ।
योगी कुनै धर्म विशेष पात्र होइन । योगीको धर्ममा हिन्दु, मुस्लिम, सिख वा इसाई झुण्याउन पाइँदैन । योगी अध्यात्ममार्गी हो । अध्यात्म कुनै धर्म होइन । कसैको नागरिकतामा धर्म अध्यात्म भनेर लेखिँदैन । अध्यात्म प्रत्यक्ष अनुभव हुने कल्याणकारी विज्ञान हो । फरक यति हो विज्ञानको अनेक प्रयोगशाला हुन्छ र परिणाम देखिन्छ । अध्यात्मको प्रयोगशाला शरीर हुन्छ र यो सम्यक् ज्ञान स्वयं अनुभव गरेर थाहा हुन्छ । योगीहरू सत्यलाई तबसम्म सत्य मान्दैनन् जबसम्म प्रत्यक्ष अनुभव गर्दैनन् । यो अनुभव शील, समाधि र प्रज्ञाको तपबाट प्राप्त हुन्छ । वेदका ऋचाहरू तत्कालीन योगीहरूले आफ्नो तपोबलबाट प्रत्यक्ष अनुभव गरेका सत्य विषयहरू हुन् ।
बैद्धिककाल पछिका ग्रन्थहरू भक्तिमार्गीहरूको साहित्य हो । साहित्यमा वक्रोक्तिलाई बढी प्राथमिकता दिने भएकोले बुझ्न कठिन हुन्छ । यही साहित्यमा वर्णित पात्रहरू भगवान् बन्न थाले । आजको विज्ञानले पत्ता लगाएको इलेकट्रोन, प्रोटोन र न्युट्रोनलाई साहित्यको रूप दिएर तत्कालीन योगीहरूले ब्रह्मा, विष्णु र महेश नाम दिए । विज्ञानले यी तीन चीजहरूलाई विभिन्न प्रयोगमा ल्यायो तर योगीहरूको यो महत्त्वपूर्ण खोजलाई तत्कालीन साहित्यकारहरूले भगवान् बनाइदिए र मन्दिरमा थन्क्याए ।
ब्रह्माण्डमा निहित विभिन्न पृथक् शक्तिहरूको सम्बन्धमा योगीहरूको गहन खोजलाई भक्तिमार्गीहरूले साहित्यमा भगवान्को रूप दिए । कर्मकाण्डीहरूले पूजा, आराधनातर्फ पुर्याए । मानवोपयोगी कार्यको निमित्त प्रयोगमा ल्याइनुपर्ने शक्तिहरू देवता बनेर मन्दिरमा थन्किए । धूपबत्ती र फलफूल चढाएर शक्ति नियन्त्रण गर्नेतर्फ उद्यत भए ।
अध्यात्मले पुरै ब्रह्माण्डको एउटा सानो अंशको रूपमा मानव शरीरलाई चित्रित गर्दछ । आफूलाई बुझ्नु ब्रह्माण्ड बुझ्नु हो भन्दछ । अहम् ब्रह्मास्मीले यसैलाई पुष्टि गर्दछ । हिन्दुहरूले मान्ने ब्रह्मा, विष्णु र महेश, विज्ञानले पत्ता लगाएको इलेकट्रोन, प्रोटोन र न्यूट्रोन योगीहरू आफ्नो शरीरमा बोकेर हिँड्छन् इडा, पिंगला र सुसुम्ना नाडीको रूपमा । ब्रह्माण्डको मुख्य त्रिशक्ति यिनै हुन् । मानिसले यसलाई जागरूकताको हिसाबले बुझ्नु जरुरी छ । सम्यक् ज्ञान (प्रज्ञान अथवा प्रमाणित ज्ञान) पाउनु जरुरी छ ।
अध्यात्मसँग सबै धर्मलाई तुलनात्मक अध्ययन गर्न सकिन्छ तर धर्मभित्र अध्यात्म छुट्याउन मुस्किल पर्छ । अध्यात्मलाई कर्मकाण्डीहरूले गौण बनाइदिएका हुन्छन् । उदाहरणको लागि पशुपतिलाई लिऊँ । पशुपति भनेको आफूमा निहित पशुत्वलाई जितेको व्यक्ति हो । पशुत्व भनेको चेतना विहीन अवस्था हो । सोच्ने शक्ति नभएको सही र गलत छुट्याउन नसक्ने अवस्थाको । आफै खाऊँ अर्कोलाई बलपूर्वक हटाऊँ । धर्म के हो नैतिकता के हो इत्यादि थाहा नभएको अवस्था पशुत्व हो । यो पशुत्वलाई जितेपछि हुने पशुपति भनेको योगबलले प्राप्त हुने एउटा अवस्था हो । यसको प्रज्ञा प्राप्तिमा लाग्नु भन्ने योगीहरूको सन्देश मूर्ति बनेर मन्दिरमा थन्कियो । पशुहरूको मालिक भनेर चिनियो । हुनसक्छ तत्कालीन मानिसहरूलाई तप गर्ने फुर्सद नभएर पछिल्लो पुस्ताको लागि सिम्बोलिक रूपमा सुरक्षित गरिएको होस् ।
योगी यो सम्बन्धमा स्पष्ट हुन्छ तर बोल्दैन । सामाजिक सद्भाव भड्किने डरले । योगी पूजा पनि गर्छ । योगीले गर्ने पूजा विधि र कर्मकाण्डीहरूले गर्ने पूजा विधि फरक हुन्छ । योगी सकेसम्म आफ्नो इन्द्रियहरूको वशीकरणको निमित्त पूजा गर्छ । नाडी शुद्धीकरणको लागि पूजा गर्छ तर कर्मकाण्डीहरू नर्कको डर देखाएर, स्वर्गको लोभ देखाएर पूजा गर्न लगाउँछन् । अक्षता, भेटी, नैवेद्य असुल्छन् । पूजामा हुने मन्त्रोच्चारणबाट जसले उच्चारण गर्ने हो उसैले फलप्राप्त गर्दछ । मन्त्रोच्चारणको प्रत्यक्ष फाइदा मानव शरीरमा हुने हो । पूजा उसैले गर्नु उत्तम हुन्छ जसले शुद्ध रूपमा मन्त्रोच्चारण जान्दछ । अरूले आरती लिने, प्रसाद ग्रहण गरे पुग्दछ । बुझ्नुपर्ने कुरा के छ भने पूजा भनेको शारीरिक शुद्धीकरणको लागि हो ।
योगी मानव जीवनका मुख्य तीन स्वभावमध्ये मध्यमा आधारित हुन्छ । मानव शरीरमा रहेको मेरुदण्डबाट दायाँ भागले पुरुष, बायाँ भागले नारी र मध्य भागले योगी स्वभाव धारण गरेका हुन्छन् । अथवा, बायाँ तमस, दायाँ रज र मध्य सत्वगुणले भरिएको हुन्छ । अथवा दुनियाँमा सकारात्मक र नकारात्मक धारणा बोकेका मानिसहरू हुन्छन् । यिनीहरू तटस्थ धारणा बोकेका योगीको अघिपछि गरिरहन्छन् । योगी न सकारात्मकको पक्ष लिन्छन् न नकारात्मकको लिन्छन् । योगीले यी दुबैमा सन्तुलन कायम गर्दछ । अघि नै भनियो योगीको धर्म हुँदैन तर योगी आफैँमा धर्म हो । धर्म जहिले पनि न्युट्रल रहन्छ र सांसारिक आलम्बको काम गर्दछ । अरू नामकरण गरिएका धर्म यिनै सकारात्मक र नकारात्मकको साम्प्रदायिक स्वार्थको लागि खोलिएका राजनीतिक दल जस्तै हुन् ।
धर्म जड रुढीवादलाई अँगालेर आधुनिक विज्ञानको खिलाफमा छ भने सोचनीय विषय हो । यसले मानव जीवनका हर सम्भव कुराहरूबाट वञ्चित गराउन सक्छ । मानव जीवन आफ्नो कालखण्डमा उसको हर सम्भव कुराहरूको अनुभवको निमित्त प्रकृतिले रचेको हुन्छ । यही प्रकृतिलाई हामी शिव भन्दछौं । शिव शून्य हो । शून्य केही नभएर सबै थोक हो । ब्रह्माण्डको अस्तित्व शून्यमा हुन्छ । सबै योगीहरू शून्य प्राप्तिको अभिलाषी हुन्छन् । यसैलाई मोक्ष भनिन्छ । मोक्षप्राप्ति गर्नु हर मानवको अन्तिम लक्ष हो । अथवा, हर मानवले मोक्ष प्राप्तिको लागि योगी हुनु जरुरी छ ।
आजको समयमा मानिसहरू योगी हुनुलाई सन्यासी हुनु सम्झिन्छन् । योगी हुनु सन्यास लिनु होइन । सबैभन्दा उत्तम जीवन भनेको गृहस्थ रहेर सन्तुलित जीवन जिउनु हो । सन्यासको पृष्ठभूमि खोतल्ने हो भने कतै न कतै कुनै न कुनै कुराको असन्तुलन भेटिन सक्छ । यो जीवनमा नभए अघिल्लो जीवनमा । अध्यात्मले पनि आत्मा र पुनर्जीवनको सत्य अनुभवको आधारमा अँगालेको हुन्छ । जस्तै कसैको जीवनमा ज्ञान पाउने उत्कट अभिलाषा होस् र सो मुताबिकको वातावरण नपाएको होस् । अथवा आफ्नो सम्प्रदायभित्रको चरम दमनको कारण अन्यायमा परेर वैरागी बनेको होस् । अथवा, कुनै न कुनै कुराबाट ऊ बहिष्कृत भएको होस् । यो हुनुको कारण पूर्व निर्धारित हुन्छ ।
अघिल्लो जन्ममा सत्वगुणमा जीवन जिएर पनि तमस र रज योगमा देहत्याग गरेको होस् । या, सर्वगुण सम्पन्न भएर पनि कुनै सञ्चितकर्म बाँकी रहेको होस् । मोक्षको नजिक रहेका मानिसहरू नै योगी या सन्यासी बन्नको निमित्त प्रकृतिबाट अभिप्रेरित भएका हुन्छन् । जागरूकताका साथ पल पलको सही सदुपयोग नगरी जीवन त्याग नगरे योगी होस् वा सन्यासी मोक्ष प्राप्त हुन्छ भन्ने कुनै सुनिश्चितता हुँदैन । मोक्षको अर्थ हुन्छ पुनर्जीवनको लागि बाध्यकारी अवस्थाबाट पार पाउनु ।
योगी स्थितप्रज्ञ चित्तधारी मानिस हो । सम्पूर्ण मनोविकारबाट रहित । भला मानिस । इन्द्रियहरूलाई जितेको इन्द्रजित । योगमा सिद्धता हासिल गरेको व्यक्ति । जीवनका हर सम्भव कुराहरू अनुभवद्वारा बुझेको व्यक्ति । सन्यास योगी बन्नको निमित्त अवलम्बन गरिने एउटा प्रक्रिया मात्र हो । मानव शरीर एउटा उत्कृष्ट इन्जिन हो जसको माध्यमबाट हर सम्भव कुराहरूको अनुभव गर्न सकिन्छ । यसमा धेरै तप धेरै पुरुषार्थ गर्नुपर्ने हुनाले शक्तिशाली शरीरको निमित्त वीर्यको सञ्चितिको लागि र तपको निमित्त बाधारहित वातावरणको निमित्त सन्यास लिने चलन छ । यस बाहेक सन्यास लिनुको कुनै कारण छैन । एउटा गृहस्थ र सन्तुलित जीवन यापन गरिरहेको मानिस योगी हुन सक्दैन भन्ने कुरा भ्रम मात्र हो । हर कोही सम्भावित योगी हो । यसैको निमित्त हामीले मानव योनीमा जन्म लिएको हो ।
भगवान् बुद्ध राजकुलमा जन्मिएका थिए । उनले राजसिक भोजन अवश्य गरे होलान् । राजसिक जीवन कुनै न कुनै समयमा भोग गरे होलान् । तामसिक विचार पक्कै लिए होलान् । उनमा वैराग्य उत्पन्न हुनुपर्ने कुनै कारण थिएन । यो त पूर्व निर्धारित थियो । अघिल्लो जन्मको सञ्चित कर्मले उनमा वैराग्य आएको थियो । उनी गृहस्थ पनि थिए तर योगी बनेर मोक्षप्राप्त गरे । योगी हुनु सन्यास लिनु हुँदै होइन । कहिलेकाहीँ वातावरणको निमित्त गृहत्याग हुनसक्छ तर यसको अर्थ यो होइन कि आजीवन सन्यासी बनोस् ।
क्रमशः



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२५ कार्तिक २०८२, मंगलवार 










