कवि अभय श्रेष्ठले नवीनतम कृति “लहना र तिर” कवितासङ्ग्रह सहित नेपाली साहित्यमा उपस्थित भएका छन् । वि.स २०६२ मा `कायाकल्प´ कवितासङ्ग्रह प्रकाशन गरेको १८ वर्षपछि दोस्रो कवितासङ्ग्रह उत्साहजनक अवस्थामा नेपाली साहित्यप्रेमी माझ छाएको छ । कविता बाहेक उनले कथा विधामा पनि कलम चलाउँछन् । उनको “तेस्रो किनारा” कथासङ्ग्रह प्रकाशित छ ।

आलोचकलाई समर्पण गरेको यसै सङ्ग्रहसँग सम्बन्धित रहेर कविता विविध विषयमा जनक कार्कीले कवि अभय श्रेष्ठसँग गरेको कुराकानी प्रस्तुत छ ।

अभय श्रेष्ठ

अभय श्रेष्ठ

‘लहना र तीर’ भव्य रूपमा सार्वजनिक भएको छ । यस कविता सङ्ग्रहभित्र के कस्ता–कस्ता विषयवस्तुका कविता अटाएका छन् ? 

– मेरा हरेकजसो कविताको अन्तर्यमा राजनीतिक स्वर हुन्छ । यस सङ्ग्रहमा ‘बागी कवि’, ‘पण्डित र नगरबधू’, ‘अस्मिताको प्रेमगीत’ र ‘लहनामा सूर्योदय’ गरी चार खण्ड छन् । सङ्ग्रहमा विविध विषय र शैलीका ४९ कविता छन् । पहिलो खण्डमा ‘सन्देह’, ‘बागी कवि’, ‘इरेजर’, ‘गोली दागिएको बालकको सम्झना’, ‘आमाको उत्तरदान’, ‘दलन’ लगायत वैचारिक कविता छन् ।

दोस्रो खण्डमा ‘सुश्री आमा सुन्दरी’, ‘सावित्री भाउजूको बाटो’, ‘आमाको याद’, ‘वादी युवतीको घोषणा’ लगायत महिला संवेदनामा केन्द्रित कविता छन् ।

त्यस्तै, तेस्रो खण्डमा ‘अछुतको प्रेमगीत’, ‘मानचित्र’, ‘अर्ध मुस्कान’ लगायत उत्पीडित वर्गको पहिचानका सवाल र चौथो खण्डमा ‘लहनामा सूर्योदय’, ‘दृष्टिहीन गायकको घोषणा’, ‘कमरेड माक्र्सको प्रश्न’, ‘सहृदय नगरबधूको प्रेममा’ लगायत राष्ट्रिय त्रासदीमा केन्द्रित समसामयिक कविता छन् ।

 

पुस्तकको प्रतिक्रिया कस्तो पाउनुभएको छ ? काठमाडौँमा साहित्यिक गुट–उपगुटको हालत के छ ?

– हामीकहाँ क्रिया, प्रतिक्रिया र खुला बहस गर्ने चलन नै छैन । किताब ननिस्कुञ्जेल जिज्ञासा राखिरहने मेरा अधिकांश साथीहरू, अझ मेरा नजिकका साथीहरू किताब निस्किसकेपछि त्यसबारे मौन छन् । किन छन्, थाहा छैन । मलाई प्रतिक्रिया दिने र मेरो किताबको प्रचार गरिदिने त तिनै हुन् जो कविका रूपमा उति धेरै चर्चामा छैनन् वा आफू कविता लेख्दैनन् र कवितालाई असीम प्रेम गर्छन् । लोकार्पणअघि नै किताब पढिसकेर पनि कार्यक्रममा जिज्ञासापूर्वक उपस्थित हुने पनि तिनै थिए । नत्र मेरो किताब लोकार्पण कार्यक्रममा निमन्त्रणा भएर पनि एकाध अपवाद बाहेक मेरा समकालीन कविहरू, अहिलेका क्रियाशील कविहरू, नामी प्रगतिवादी युवा कविहरू, नामी पहिचानवादी कविहरू लगभग गयल थिए ।

 

कविता समाजले होइन व्यक्तिले लेख्छ । तर पनि कविता सामाजिक कर्म किन भएको होला ? 

– कला, साहित्यले अभिव्यक्त गर्ने कुरा नै त्यही हो । कविता एउटा व्यक्तिले लेखे पनि उसले त्यसलाई सार्वजनिक अर्थ दिन्छ । सार्वजनिक अर्थ र स्पेस दिन नसके त्यो नितान्त निजी कुण्ठामा सीमित हुन्छ । कविले सत्य, न्याय, प्रेम र करुणामा सौन्दर्य देख्छ जुन सार्वभौम हुन्छ ।

 

तपाईंलाई वैचारिक कवि भनेर टिप्पणी गरेको पाइन्छ । वैचारिक कविमा हुनुपर्ने गुण चाहिँ के रहेछ ? 

– वैचारिक कविका रूपमा मैले अरूलाई निर्देशन दिनुपर्ने कुरा केही छैन । यसका गुणभन्दा बरु जोखिमहरू धेरै छन् किनभने उसको मूल ध्येय लोकप्रिय हुनु र बजारमा बिक्नु होइन । उसले त अनुद्घाटित सत्यको उद्घाटन गर्ने, जडतालाई भत्काउने र स्थानीयतालाई राष्ट्रियकरण र अन्तर्राष्ट्रियकरण गर्ने हो । यति भनेपछि एक थरीले कलाको सवाल अवश्य उठाउँछन् । मेरो भन्नु यति हो, विचार र कलाबिना त कविता नै बन्दैन । विचारबिनाको कला शृङ्गार गरिएको शव हो भने कलाबिनाको विचार राजनीतिक शब्दजाल (जार्गन) हो ।

 

एउटा प्रसङ्ग कोट्याउनु मन लाग्यो । यहाँलाई डा. कवि पनि भनेको पाइन्छ । यसको किस्सा बताइदिनोस् न ? 

– यो ठट्टा हो । म कुनै पनि प्रकारको डाक्टर होइन । म योग सिकाउने र स्वअध्ययनले आर्जित सीमित प्राकृतिक उपचारको ज्ञान बाँड्न चाहने मान्छे हुँ । बीपी जाँचेको तस्बिर कहिलेकाहीँ सामाजिक सञ्जालमा राख्छु, यसको उद्देश्य हल्ला गर्नुभन्दा बढी सबैलाई यति सिक्नु भनेर प्रेरित गर्नु हो । पछिल्लो समय त्यसका आधारमा मलाई उहाँहरूले डाक्टर भनेर रमाइलो गर्नुभएको होला ।

 

एउटा कवि के कस्ता कुराबाट बच्न जरुरी हुन्छ ? 

– कविलाई अनुशासनमा बाँध्ने, उपदेश सुनाउने कुरा ठिक होइन । ऊ स्वाधीन, कति अर्थमा अराजक पनि, र आलोचनात्मक हुन्छ । कतिसम्म भने उसले आत्मालोचना गर्नसम्म साहस गरोस् । तर, शान्त, धीर र आलोचनाप्रति सहिष्णु पनि होस् । कवितामा भन्ने कुरा उसको जीवनशैलीमा देखियोस् । कविता र जीवनमा आकाश–जमिनको अन्तर भयो भने कविताकै मूल्यवत्ता घट्छ ।

 

अहिलेका कवितामा प्रचुर मात्रामा पाइने समस्या भनेको भावुकता, स्थूल यथार्थ, वायवीय सूक्ष्मता, पूर्वाग्रह, क्लिसे, आलोचनाको डरबाट उम्किन विचारको सलामी आदि हो भनेर भन्न सकिन्छ । यो आरोप नै माने पनि यस बारे यहाँको धारणा के छ ? 

– कविताको काम नै पहिला हृदय छुने पछि दिमागमा झड्का दिने हो । यसरी के बुझ्न सकिन्छ भने यसको काम भनेकै जड विचारको विशाल पर्खाल भत्काएर नयाँ चेतना निर्माण गर्नु हो । कविताको गन्तव्य चाहिँ मानव सभ्यतालाई अझ बढी मानवीय, न्यायिक, करुण र सत्यको नजिक पुर्याउन पृष्ठभूमि बनाउने हो ।

 

मान्छे भागिरहेको छ । समस्यादेखि भागिरहेछ । दालभातको लागि भागिरहेछ । आत्मालोचना देखि भागिरहेछ । अझ दुखको कुरा त देशदेखि पनि भागिरहेछ । यो भागिरहेको समयलाई कविताले कसरी नभागिरहन सहयोग गर्न सक्ला ? 

– भाग्नु त यो देशको राष्ट्रिय परिचय बनिसकेको छ । दिनकै झन्डै २२ सय मान्छे त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट देश छाडेर भागिरहेका छन् । कुन दिन हाम्रो देश नै अर्को देशमा पीआर खोज्दै जाला भन्ने डर छ । कविताले भाग्नेहरूलाई विमान स्थलमा छेक्न जाने होइन । उसले भागेर जान होइन, लड्न, सङ्घर्ष गर्न प्रेरित गर्ने हो ।

 

तपाईं त नेवार समुदायमा हुर्किनु भएको हो । त्यो पनि कलाको शहरमा । नेवा: समुदायमा कला,संस्कृति,धर्म परम्परालाई निकै महत्त्वपूर्ण स्थान पनि दिइन्छ । यहाँ फेरि योगलाई पनि आफ्नो जीवनशैलीमा जोडेर हिँड्ने मान्छे । लेखनका विषयमा मार्क्सवादी विचार पनि आउँछन् । हाम्रोमा कुन वादको लेखक भनेर खुब वादविवाद हुन्छ । तपाईं खास कुन वादमा विश्वास गर्नुहुन्छ र धर्म, अध्यात्म र मार्क्सवादी चिन्तनलाई कसरी हेर्नुहुन्छ ? 

– योग प्राकृतिक जीवनशैलीकै एक हिस्सा हो । म आदिवासी सभ्यता र ज्ञानलाई प्रेम गर्ने मान्छे हुँ । ज्ञान र सभ्यता भनेपछि मैले कुनै पनि कुरूपतालाई प्रेम गर्ने कुरा आउँदैन । आफ्नै समुदायमा प्रचलित भए पनि म त्यसका कुरूपता र क्रूरतालाई मान्यता दिन सक्दिनँ । स्वरूपमा अन्धविश्वासी देखिए पनि परिणाममा मानवीय देखिने परम्परालाई जोगाउनु पर्छ र कुरूपतालाई बिदा गर्नुपर्छ । विचारले म मार्क्सवादी–भौतिकवादी हुँ । म व्यक्तिगत रूपमा धर्म मान्दिनँ । योग धर्म होइन, विज्ञान हो । परिणाममा विज्ञानले प्रमाणित नगर्ने कुरालाई म मान्दिनँ ।

 

तपाईंका कविताहरू आलोचना र आत्मालोचना गर्न प्रेरित गर्छन् । तपाईं आत्म आलोचना गर्न सक्नुहुन्छ ?

– मेरो कविता सङ्ग्रह लोकार्पणका एक वक्ताले पनि मेरा कविताले सबैभन्दा बढी प्रहार आफैमाथि गरेको टिप्पणी गर्नुभएको थियो । मेरो कविता ‘सन्देह’को अन्तिम अंशै यस्तो छ :

म अविरल गर्छु सन्देह आफ्नै ब्रह्ममाथि पनि

जसरी माटोले हरेक पटक गर्छ

आफ्नै गर्भमा रोपिएको सद्वीजको परीक्षा ।

जहाँसम्म आलोचना र आत्मालोचनाको कुरा छ म प्रयास गरिरहेछु । त्यसकारण मेरो यो किताब नै आलोचकहरूलाई समर्पित छ । म कमजोरीहरूबाट मुक्त मान्छे होइन । मेरो जिन्दगीमा पनि केही विरोधाभासहरू होलान् । कथनी र करनीमा मेरा पनि केही फरकहरू होलान् । परीक्षण गरेर तीबाट मुक्त हुन यथाशक्य प्रयास गर्ने मान्छे हुँ म । कहिलेकाहीँ लाग्छ, ममा धैर्यको पनि कमी छ ।

महिला संवेदनामा मेरो किताबको एउटा सिङ्गै खण्ड समर्पित भए पनि तिनमा केही पुरुष दृष्टिकोण रहेको टिप्पणी महिला मित्रहरूले गरेका छन् । त्यसको सत्यबोध मलाई अहिले हुँदै छ । नयाँ संस्करण निस्केछ भने म अवश्य तिनमा सुधार गर्छु । म आफ्ना कवितामाथि प्रशस्त विमर्श र आलोचना होस् भन्ने चाहन्छु । निन्दा वा प्रशंसालाई म आलोचना मान्दिनँ ।