मान्छे सुखका खातिर जीवनभर भौँतारिन्छ, तर उसको ‘सुख’ भोग अतृप्त नै रहन्छ । भौतिक सुख मान्छेका लागि कति भए पुग्ला त, यो प्रश्न निरुत्तरित छ । अर्थात् सुख एक भावनात्मक अनुभूति हो, र त्यो भोगको अभिलाषा नहुँदो हो भने मान्छे कस्तो रहन्थ्यो होला, त्यो प्रश्न पनि निरुत्तरित नै रहन्छ ।
धन कमाउने वा सफल बन्ने उत्कण्ठा सुख प्राप्तिको द्रवीभूत इच्छाले गरिने कर्म हो । साथै मान्छेको सबै कार्यको गन्तव्य ‘सुख’ नै हो, र सबैले आर्जन गरिरहेको धन, प्रतिष्ठा वा उन्नति प्रगति सबैले खोजिरहेको सुखको स्वप्निल सम्पत् हो । के यो सबै वैभवको प्राप्तिले वा ऐश्वर्य-प्रतिष्ठा पाएको मान्छे चैँ सुखी होला त ? त्यो भन्दा पनि फरक कुरामा केही घोत्लन मन लाग्यो, आखिर सुख के हो वा यसको मापनको आधार के हो त ?
सुखको मापन वा सुखी मान्छेको वर्गीकरण समेत गर्ने धेरै मापदण्डहरू प्रयोगमा छन्, तर त्यो अमूर्त छ । जस्तै संयुक्त राष्ट्र सङ्घको, दिगो विकास सञ्जालको प्रतिवेदन ‘ह्याप्पिनेस रिपोर्ट’ले सामाजिक सहयोग, स्वास्थ्य, जीवनको आयु, स्वतन्त्रता, भ्रष्टाचार, उदार हृदयता र प्रतिव्यक्ति कुल उत्पादनका आधारमा देशहरूलाई ‘सुखी’को सूचीमा क्रमबद्ध गर्ने गरेको छ । साथै तत्-तत् भूगोलका नागरिकलाई तुलनात्मक सुखी मानेको छ । त्यो प्रतिवेदनले फिनल्याण्ड, डेनमार्क, नर्वे, आइसल्याण्ड, नेदरल्याण्ड एवं अन्य नाँर्डिक देश र जीवन भोगी मान्छेहरूलाई ‘सुखी’को उपमा दिएको छ । अब प्रश्न, के ती देशका मान्छेहरू सुख भोगको अभिलाषाले परिपूर्ण छन् होला त?
अब अर्को प्रश्न, भौतिक सुविधा वा आत्मसन्तुष्टि नै के सुखको स्रोत हो त ? दैनिक साइकल चढ्नेले मोटरबाइक चढ्नेलाई सुखी देख्छ भने मोटरबाइक चढ्नेले गाडीवालालाई सुखी देख्छ । फेरी गाडीवालाले रतिरागको मोजमस्तीमा लिप्त व्यक्तिलाई सुखभोगमा लिप्त मानेर जिब्रो लपेट्दै आरिस गर्दछ । यसको अर्थ भौतिक उपलब्धि वा तृष्णा पूर्तिको मात्रा बढ्दैमा पनि सुख फेला त पर्ने रहेनछ । अर्थात् सुविधा थपिँदै जाँदा दैनिकी सहज हुन्छ, तर सुख भौतिक बस्तुमार्फत कहिल्यै तृषित तन तुष्टि नहुने निश्चित छ ।
तर वैश्विक जगतमा सुखको पछि नलाग्ने मनुवा कोही छैन । नेपाल सरकारले समेत योजना दस्ताबेजमै ‘समृद्ध नेपाल सुखी नेपाली’को नारा तय गर्यो । समृद्ध सरकारको सङ्कल्प लक्ष्य बनिरहेको ‘सुख’को उत्कट तृषा उसै पनि जनताको हृदयमा स्वादिष्ठ र मृदुल अनुभूति प्रदायक पनि छ । र, भावनात्मक सौन्दर्यको कल्पना र वास्तविक ‘सुखी’ जीवनको अभिलाषायुक्त तृष्णाले अतृप्त जनतालाई ‘सुख’ को बिम्बात्मक आलम्बनले पुलकित नतुल्याउने कुरै भएन ।
अर्थात्, सबैको मनले ठान्यो – सरकारको ‘सुख’को सङ्कल्प एवम् सर्वोपरि स्तुत्यकर्मले सतृष्ण पूर्ति त हुन्छ, हुन्छ । तर त्यो सन्तृप्तिको स्थिति के होला, कठै निर्धारित आर्थिक सूचकले के बोल्थ्यो होला र ?
अझ झन् राष्ट्रिय योजना आयोगले त सुखी नेपालीका लागि आह्लादकारी प्रकारले ५५ सूचक नै सार्वजनिक गर्दै नेपालीले सुखी हुने अन्तिम मिति नै तय गर्यो – आर्थिक वर्ष २०८०/८१ सम्मको । अनि ‘सुख’ जस्तो भावानुभूती वा दीर्घगामी स्वस्तिको अनुभूतिजन्य अमूर्त पदार्थलाई राष्ट्रिय सूचक बनाइयो ; सुखका २३ वटा सूचक रे । अब यो कुरालाई शब्दहरूमा खोइ कसरी पो विन्यास गर्ने ?
आखिरमा सुख र दुःख चैँ हो के त ?
नेपाली शब्दकोशमा सुखको सप्तार्थ अर्थात् सातवटा अर्थ लगाइएको रहेछ, ती हुन् : (१) कल्याण; मङ्गल, (२) मनोकामना पूरा हुँदा मनमा हुने खुसीयाली; प्रिय वस्तुको प्राप्तिबाट हुने आनन्दको अनुभव, (३) निरोगी अवस्था; आरोग्य (४) परोपकार वा धार्मिक कामबाट हुने आनन्द, (५) शारीरिक वा मानसिक आनन्दको अनुभव; सबै चाँजोपाँजो मिलेर हुने प्रिय वा अनुकूल अनुभूति; आनन्द; हर्ष (६) समृद्धि; उन्नति, र (७) सुविधा; सुबिस्ता ।
पारिभाषिक रूपमा शब्दकोशले सुखलाई उल्लेखित प्रकारको अर्थहरू दिनु अन्यथा पनि होइन । तर यी अवस्थाहरूको पूर्ति नै सुख हो, वा त्यो जिनिस मानिसको नियन्त्रणमै छ भनेर ग्यारेन्टी गरिदिने पो कोही भेटिँदैन र पो त ।
त्यसैगरी सामान्य अर्थमा भने दुःख त्यो स्थिति हो, जतिबेला मानिसमा एक नकारात्मक भावना उत्पन्न भइरहेको वा कुनै प्रकारको शारीरिक मानसिक कष्ट भोगिरहेको स्थिति रहन्छ । र, सामान्य अर्थमा दुःख भौतिक असुविधा, रोगव्याधि, कुनै प्रकारको हानि नोक्सानी, सम्पत्तिको क्षय, शोक वा मृत्यु, लक्ष्य प्राप्तमा असफल जस्ता कारणले उत्पन्न हुने भावनालाई मानिन्छ ।
के दुःखलाई स्थिति, भावना, असुविधा वा अनुभूति जस्ता अमूर्त शब्दले शृङ्गार गर्दा पुग्ला त र ?
बुद्धबचन अनुसार जसरी प्रकृति र मौसममा परिवर्तन भइरहन्छ, त्यसैगरी मानव जीवनमा सुख–दुःख बरोबर रहने र जीवनमा दुःख नभएको मान्छे कोही नहुने बताइएको छ । समग्र बुद्ध दर्शनको सार नै चार आर्य सत्य मानिन्छ, ती हुन्; (१) संसार दुःखमय छ, (२) दुःख भोग्नुको कारण छ, (३) दुःखको अन्त्य सम्भव छ, र (४) दुःख अन्त्यको मार्ग छ ।
चार आर्य सत्य अन्तर्गत सुख वा जीवन शाश्वत र नाशवान् छ, जति सुख प्राप्त गर्न खोजे पनि दुःख निश्चित छ भनिन्छ । पाएको सुख पनि एक अन्त्य हुन्छ नै, र जीवनभर मात्र होइन मृत्युपछि पनि दुःखको अन्त्य हुँदैन भन्ने गरिन्छ किनकि त्यसपछि पुनर्जन्म हुन्छ नै । अर्थात् जन्म-मरण-चक्र (भाव-चक्र) निरन्तर चलिरहन्छ भने आनन्द लिने मौका कहाँ छ र ?
सुत्तपिटक अन्तर्गत संयुक्त निकायमा बुद्धले भनेका छन्, संसारमा दुःखी मानिसहरूले बगाउने आँसुको मात्रा समुद्रको पानीभन्दा बढी भैसकेको छ । बुद्धले दुःख उठानसँगै दुःख हटाउने उपाय पनि बताएका छन्, त्यसलाई आर्य अष्टाङ्ग मार्ग भनिएको छ ।
हिन्दु दर्शन र धर्मग्रन्थमा पनि पर्याप्त मात्रामा सुख र दुःखको चर्चा गरिएको छ । प्रसिद्ध ग्रन्थ महाभारतको केही श्लोक र त्यसको भावार्थ हेरौँ है त :
सुखस्यानन्तरं दुःखं दुःखस्यानन्तरं सुखम् ।
न नित्यं लभते दुःखं न नित्यं लभते सुखम् ॥
- महाभारत शान्ति पर्व, २५ र २३ ॥
यो जीवन वा जगतमा सुखले दुःखलाई पछ्याउँछ, र दुःखले सुखलाई पछ्याउँछ । न कसैले सधैं दुःख अनुभव गर्छ त, न कोहीले सधैं सुखको अनुभव गर्छ अर्थात् दुःख सुख अनित्य छ ।
दुखं जरा ब्रह्मदत्त दुःखमर्थविपर्ययः ।
दुःखं चानिष्टसंवासो दुःखमिष्टवियोजनम् ॥
- महाभारत शान्ति पर्व । १३९ र ६३ ॥
दु:ख भनेको ब्रह्मस्थिति र स्थिरताको उल्टोपन हो, अर्थात् अप्रियस्थितिको संगम हो, र सुखद स्थितिबाट अलग हुनु हो ।
सुखाद् बहुतरं दुःखं जीविते नात्र संशयः ।
स्निग्धत्वं चेन्द्रियार्थेषु मोहान्मरणममिप्रयम् ॥
- महाभारत शान्ति पर्व । २०५ र ६ ॥
जीवनमा सुख भन्दा दुःख धेरै हुन्छ भन्नेमा कुनै शङ्का छैन, र इन्द्रियहरूले सुख वा दुःख जस्ता अवयवसँग लगाव वा भ्रमबाट बाहिर हुनु नै मृत्यु हो ।
परित्यजति यो दुःखं सुखं वाप्युभयं नरः ।
अभ्येति ब्रह्म सोऽत्यन्तं न ते शोचन्ति पण्डिताः ॥
- महाभारत शान्ति पर्व । २०५ र ७ ॥
दुःख र सुख दुवै त्याग्ने मान्छे नै परम ब्रह्म प्राप्त गर्दछन्, र ज्ञानीहरू दुःख र सुखको लागि आशक्ति वा शोक गर्दैनन् ।
त्यसैगरी षड्दर्शन अन्तर्गत न्याय दर्शनमा एघारौं प्रमेयमा दुःखको सविस्तार व्याख्या पनि छ । दुःख के हो भन्ने ज्ञान नहुने जो कोहीलाई मोक्षको अधिकार नै छैन भनिएको छ । प्रतिकूल भावनाहरूको कारणले दुःख स्वभावले एक अप्रिय स्थिति हो र त्यो लक्षणलाई प्रतिकूल वेदनीय भनिएको छ ।
न्याय मीमांसामा आचार्य उद्योतकरले २१ प्रकारको दुःख उल्लेख गरेका छन्, र मान्छेको शरीर दुःखको घर बताएका छन् । दुःखको साधन नै मानिसको शरीरका छ इन्द्रियहरू, ती इन्द्रियहरूद्वारा बोध हुने छ वस्तुहरू, र समग्रमा ती छ वटा वस्तुहरूको बिषयज्ञान र दुःखमा निर्लिप्त सुखको खोजी नै दुःखको कारण हो भनिएको छ । अर्थात् जहाँ सुख छ त्यहाँ दुःख छ र सुख र दुःखको अविभाज्य सम्बन्ध छ जसका कारण सुख पनि दुःख पनि हो भन्ने सार न्याय दर्शनको छ ।
अब पैसाको कुरा गरौं है त,
संसारका सबैभन्दा धनाढ्यहरू एलन मस्क, जेफ बेजोस, बेर्नार्ड अर्नाल्ट, बिल गेट्स, लार्री एल्लिसन, स्टेव बल्मेर, वारेन बुफेट, लारी पेज र मार्क जुकर्बर्गलाई त सुख नै सुख होला होइन र ? वा, के उनीहरूले कुनै दुःख भोग्नु पर्ला र?
यो प्रश्नमा नै बहुलठ्ठी पन छ, अर्थात् सुख पैसाले पाउने नै होइन । पैसाले त निश्चित सुविधाको साधनको मात्र र उपयोगको सुनिश्चित नै प्राप्त हुने न हो ।
एकजना नेपाली आलोचनात्मक चेतका कविले ‘साला पहाडमें क्या है’ भन्ने सङ्ग्रह नै बजारमा बाँडेका छन् । त्यो पुस्तकको विवेचना कुनै समय गरौंला, तर शीर्षकको शब्द मात्र सापटी लिँदै यो आलेखमा चैँ मैले किन नभन्ने, ‘साला ! सम्पतिमें क्या है’ ।
र, गरिबहरूले सुख अनुभूत गर्न नसक्ने भन्ने तर्कमा ‘पागलवाद’को साध्य वा सिद्धान्तले चैँ मज्जाले काम गर्न सक्छ । तर त्यो भाष्यकर्ता लाई भने जति छिटो विशेष प्रकारको अस्पताल लैजाने सुरसार पनि सँगै-सँगै गर्नु त छदै छ ।
सुख एक आत्मा-अनुभूति पनि हो, र यो ‘सन्तुष्टि’बाट मिल्न सक्छ भन्ने सामान्य चेत पनि नहुने मान्छेहरूले नै सहरजति भरिएको जस्तै लाग्छ । अन्यथा, सडकभरि वैभवको प्राप्ति वा ऐश्वर्य-प्रतिष्ठाको कथित म्याराथन दौडमा व्यस्त आजका मान्छेले दुःखे मुङ्ग्रोको प्रहार किन सहनु पर्थ्यो र ?
‘सुख’ खोजी नै दुःखको कारण हो भन्ने सत्यार्थलाई ‘ओखती’ बनाएर आजका बुज्रुकहरूको दिमागमा जबरजस्ती घुसाउनै पर्ने देखिएको पनि छ । हथौडा लिएर कोही तयार छ भने यो लेखक साथ र सहयोगमा तत्पर छ । अनि त्यस्ता काँचो-बुद्धि बहादुरहरूको सुची चैँ जो कोहीले पनि तयार गरे हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।