केही दिनअघि मात्र जातीय मानहानिको कसुरमा कास्की जिल्ला अदालतले पोखरा महानगरका एक जना वडाध्यक्षलाई चार महिना कैद, ७५ हजार रुपैयाँ जरिवाना र १० हजार रुपैयाँ क्षतिपूर्तिको सजाय सुनाएको समाचार पढियो । कारबाहीमा परेका वडाध्यक्षले सोही वडाकी एक दलित महिला सदस्यलाई बजेटको प्रसङ्गमा जातीय दुर्व्यवहार गरेछन् । पीडितको उजुरीअनुसार वडाध्यक्षले ‘सार्कीले सिनो लुछेजस्तै’ भन्ने घृणित शब्दावली प्रयोग गरेका थिए । कुनै जाति समुदायलाई आजका दिनमा पनि सिनोसँग जोडेर गिद्धजस्तै ठान्नु सर्वथा गलत छ । ‘डोले’ शब्दका कारण ’सेतो धरती‘ उपन्यासले एक जातीय समुदायको चर्को विरोध खेप्नुपरेको सर्वविदितै छ ।

ध.च. गोतामेकृत उपन्यास ‘घामका पाइलाहरू’ पढ्दै थिएँ । यो २०३५ सालको मदन पुरस्कार विजेता बहुचर्चित कृति हो । उपन्यासमा एउटा धार्मिक समुदायलाई चोट पर्ने गरी ‘मुसल्टे’ र ‘टुप्पी कट्टा’ जस्ता शब्दहरूमा बिझ्दै अगाडि बढ्दै गर्दा एक हरफले फेरि बिझायो । हरफ यस्तो छ, “बाजे चुरोटको ‘दमाईं ठुटो’ थुकदानीमा फ्याँक्नुहुन्छ (साझा प्रकाशन, पाँचौँं संस्करण, पृ. ९०) ।” साहित्य सिर्जना हो, साहित्य मार्गदर्शक पनि हो । कुनै अमुक धर्म, सम्प्रदाय, जातिलाई पर्न जाने असरबारे गोतामेजस्ता नेपाली साहित्य जगतका हस्तीले पनि ख्याल गरेको देखिएन ।

पछिल्लो समय उखानले विवादमा परेका व्यक्तिहरूमध्ये एक हुन् नेपाली कांग्रेसका सांसद तथा उद्योगपति विनोद चौधरी । उनले संसद्मा प्रयोग गरेको उखान रेकर्डबाट हटाइएको छ । बजेटमाथि छलफलका क्रममा सांसद चौधरीले मल आपूर्तिको विषयमा बोल्दै ‘जब भयो राति, तब बुढी ताती’ भनेका थिए । त्यस्तै अर्का व्यक्ति हुन् धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ । फेसबुक स्टाटस लेख्ने क्रममा चमार जातिको अपमान हुने उखान प्रयोग गरेका कारण उनी चौतर्फी दबाबका कारण अन्ततः दलित समुदायसँग माफी माग्न बाध्य भए । स्टाटसमा उनले लेखेका थिए, “बल होइन, बुद्धि लगा चमारे बुद्धि !”

उपर्युक्त प्रसङ्गहरू पढेपछि हाम्रो समाज र साहित्यमा व्याप्त अपमान आतङ्क अगाडि आएर उभियो । अनि लेख्न बसियो ।

पारिजात को हुन् भनेर धेरै भन्नै पर्दैन । अहिले गोविन्द गिरी प्रेरणाद्वारा लिखित ‘सुश्री पारिजात’को बजारमा चर्चा छ । ‘शिरीषको फूल’ उपन्यासको पठनबाटै धेरैले साहित्यिक यात्रा सुरु गरे होलान् । यिनै सदाबहार चर्चित लेखिकाको कृति ‘बैंसको मान्छे’मा एउटा संवाद यस्तो छ, ‘के हेर्छ आँखा फुकालेर चोरजस्तो, कामीदमाईंजस्तो मान्छे … ।’

पारिजात नेपालदेखि पारि अर्थात् दार्जिलिङकी स्रष्टा हुन् । दार्जिलिङ हुँदो जातपातका कुरामा मतलब गरिँदैन । यस्तो लेखिएको छ— अङ्ग्रेजको हातमा दार्जिलिङ आइसकेपछि उनीहरूले आफ्नो क्षेत्रमा सामाजिक विभेद हटाइदिएका थिए । यसले गर्दा त्यहाँ दासदासी, छुवाछूतको भावना रहेन (डिल्लीराज शर्मा, नेपालबाहिर नेपाली साहित्य र संस्कृति, साझा प्रकाशन, २०५२, पृ. २१) । तर उनको उपर्युक्त संवाद हेर्दाचाहिँ दार्जिलिङका-हरूमा पनि भित्रभित्र जातीय भावना रहेछ भन्न सकियो वा उनी नेपालमा बस्न थालेपछि उनलाई यताको हावाले छोएको हो !

समाज र हाम्रो सोचको छाया हाम्रो साहित्यका अरू पानाहरूमा पनि उत्तिकै देख्न पाइन्छ । क्लासिक भनेर उच्च स्थान दिइने साहित्यिक पुस्तकहरूमा नै ढुङ्गा लाग्दा दाँत झन् दुख्दो रहेछ ।

सरदार रुद्रराज पाण्डेकृत ‘रूपमती’ उपन्यासले नेपाली उपन्यासको आधुनिक युगको सूत्रपात गरेको मानिन्छ । शान्ति मिश्रद्वारा यस कृतिको अङ्ग्रेजी अनुवाद पनि भइसकेको रहेछ । यही रूपमतीमा अमुक जाति, समुदायमाथि गालीगलौजको लर्को नै छ । उपन्यासकी एक पात्र बरालपुत्री बर्बराउँछे, “खुर्राते बूढीले बहिनीलाई कसाइनी भनिदिइछन् । …मेरी बहिनीलाई कसाइनी भनेर मेरो जात लिन खोज्ने भएकी …  (पृ. ७१) ।”

कुनै जाति विशेषको मर्यादामा आँच पुग्ने गरी गरिएको यो खेलबाड छोरामाथि रिस प्रकट गर्दा आमा पोल्ने हाम्रो चल्तीको गाली रन्डीको छोराभन्दा भिन्न लाग्दैन । त्यसैले त कसाईहरूले कसाई लेख्न छाडेर साई मात्र लेख्न थाले, अहिले त शाही नै लेख्न थाले । साई लेख्दा साईभक्त जस्तो लागे पनि, शाही लेख्दा ठकुरी हुन खोजेको आरोप लाग्न सक्ने भए पनि अपमानित शब्दलाई जातका रूपमा काँधमा बोकेर हिँड्नुभन्दा फालिदिएकै राम्रो ।

सासू बुहारीको झगडामा रूपमतीकी सासू पात्र कुर्लन्छे, ‘लौ भन ए बाहुनी नानी ! यस्ता सर्किनीहरूसँग को सवाल जवाफ गरिरहोस् (पृ. ७८) ।’ सासूको कुरा सुनेर बरालपुत्रीको पारो तात्छ र कसलाई सर्किनी भनिस् भन्दै सासूलाई भुत्ल्याउन पुग्छे । लोग्ने रविलाल घरमा आएपछि फेरि बरबराउँछे, ‘मलाई सर्किनी भन्न हुन्छ त ? के हजुर सार्की हुनुहुन्छ र मलाई सर्किनी भनेको ? (पृ. ७९) ?’ अरू पनि छन् डायलगहरू — ‘दमाईंकामीको जस्तो बेहोरा छिः (पृ.४०) !’ ‘पोडे भए जागिर खाऊँला (पृ. ९५)’ आदि ।

२०६५ सालमै बीसौं संस्करणमा उपलब्ध कृति कतिका घरघरमा पढिए होलान्, अनि यस्ता सिङ्गो समुदायलाई हियाउने गरी बोलिएका संवादहरू मनन गरिए होलान् । ठूला भनिनेहरूले कति स्वाद मानेर पढे होलान् । साना बनाइएहरूले पढ्न पाएका भए कति बेस्वाद माने होलान् । अनि अहिलेको पुस्ताले पढ्दा कस्तो सोच्छ होला ? अब एउटा सामाजिक उपन्यासको रूपमा बहुचर्चित कृति रूपमतीलाई कुरूप भन्दा के फरक पर्ला ? एउटा परिवारभित्रको तीतोसत्य उप्काउँदा समाजमा रहेको एउटा ठूलो समुदायको मानहानि भएकोतर्फ कृतिकारले पटक्कै ध्यान नदिएको देखियो । यस्ता उखानहरूको प्रयोगले हाम्रो भाषा र साहित्य समृद्ध हुन्छ के !

साहित्यकार जगदीश घिमिरे अन्तर्मनको यात्राका लागि मदन पुरस्कार पाउने स्रष्टा हुन् । उनैद्वारा लिखित उपन्यास सकसका केही संवादहरू हेरौं :

‘सन्ते दमाईंले पुच्छरको र बले कामीले गर्दनको बाली भाग लगे ।’

‘त्यसकी बाहुनी दमैलाई दे ।’

‘दमाईं बालबालिकाहरू …सुँगुरका लीँड खेलाउँथे र मुखमा पनि हाल्थे ।’

‘ … यो रैछ लायक पोडे ।’

‘त्यो सार्की गन्देसँग रिन लिएर आफ्नो के बेइज्जत गर्नुजस्तो लाग्यो ।’

‘अन्तर्मनको यात्रा’ कृतिका निम्ति मदन पुरस्कार पाएका साहित्यकार घिमिरेले लेख्नलाई ठेट शब्दहरू लेखेका हुन् । तर गाउँ समाजमा प्रचलित भन्दै सबै कुरा सतहमा ल्याउन आवश्यक देखिँदैन । कुनै समयमा एउटा गाउँमा एक जना जुवाडेले आफ्नी स्वास्नीलाई झुन्ड्याएर मारेछ । सोही कारण सो गाउँको नाम नै झुन्ड्याएर मार्ने ठाउँ भएछ । के अब त्यो ठाउँलाई सधैंभरि त्यही नामले पुकारिरहने ?

अब राममणि आ.दि. को ‘भलो कुराको नमुना’ हेरौं । दलित समुदायका लागि केही भलो कुरा :

भोटे, पोडे अनि सार्की, दमाईं कसाईमा ।

सरोबरी गरी हाम्रो धज्जी फ्याँक्लान् बिचरा है ।

आ.दि. ले जनजाति समुदायलाई त झन् भित्तैमा पुग्ने गरी झट्टी हानेका रहेछन् । भलो कुराका केही नमुना :

खर्पने डोकेको देश हो नेपाल ।

जङ्गली, पर्वते काँठे, भुसतिघ्रे गँवारको ।

भगवान् राखिदेऊ यो यसैगरी ।

यी सभ्य भए हाम्रो सिरिखुरी कहाँ जाला ?

यहाँ स्वाँठे भनेर राई लिम्बूहरूलाई, तिघ्रे भनेर गुरुङ मगरहरूलाई, डोके भनेर तामाङ शेर्पाहरूलाई, खर्पने भनेर ज्यापुहरूलाई भनिएको हो रे ! कवितामा कुनै जाति समुदायलाई असभ्य नै रहनुपर्छ भनियो । ती सभ्य भए सिरिखुरी नै गइहाल्छ कि भन्ने त्रास पनि देखियो । यहाँ लेखकले कसको संरक्षण गर्न खोजेका हुन् भनेर भनिरहनै पर्दैन ।

यी त भए साहित्यभित्रका अपमानजनक केही प्रसङ्गहरू । अब पसौं समाजभित्र । समाजमा यस्ता अपमानजन्य शब्दावलीहरू बग्रेल्ती छन् । कसैलाई तल्लो देखाउन परे मुखैमा झुन्डिएर बसेको हुन्छ थेगोजस्तै । अरू त अरू गाईगोरुलाई दिने गालीमा पनि कुनै अमुक जातिलाई मुछिन्छ । तँलाई फलानाले खानुपर्ने भनेर । डिँगा मर्ने बाँच्ने कुरामा कुनै जातिलाई डोब्नु कति जायज हुन्छ ? पूजा पनि गर्ने, माता पनि भन्ने अनि सराप्ने पनि । यो द्वैध चरित्र भयो ।

अर्तीको कुरा घर्तीको पनि लिनुपर्छ भनेर किन कसैलाई होच्याएको ? डुम खेल खेल्नुको अर्थ के ? उखानले कामी कमिनीलाई किन चोर भनेको ? हरेक असोज १ मा विश्वकर्मा पूजा गर्ने अनि विश्वकर्मा जातिलाई चाहिँ चोर भन्ने ? नेवार र इष्टको कुरा जोडेर किन देखाइएको ? इष्टको अर्थ प्रिय व्यक्ति, हितैषी भन्ने हुन्छ । के नेवारहरू हितैषी हुँदैनन् ?

‘धोबीको कुकुर जसरी पछि लाग्ने’, ‘पाए अन्त, कहीँ नपाए कामीको जन्त’ ‘मरेपछि डुमै राजा’, ‘जाँड खाएको कामीजस्तो’, ‘काले कामी र कामी काले, राजाको काम छोडी कामीको देवाली, विष्टको घरमा खिर पाक्यो, दमाईंका घरमा खलबल, भोटेको बुद्धि भेडाको जस्तो, सार्कीको देउता अक्षताले मान्दैन, धोबीको कुकुर घरको न घाटको आदि उखानटुक्का हालिरहँदा भन्नेलाई त रमाइलो होला, सुन्नेहरूलाई पनि रमाइलै होला तर सम्बन्धित जाति, समुदायलाई चोट पर्छ किनभने यी उखानहरू बाहुनले च्याउ खाओस् न स्वाद पाओस् भनेजस्तो वा जता गुलियो त्यता बाहुन भुल्यो भनेको जस्तो सामान्य मजाक हुँदै होइनन् ।

अझ एउटा उखान त यस्तो छः ६ रुपियाँकी क्षेत्रिनी, सय पैसाकी सार्किनी, दुई पैसाकी दमिनी, बिनाकामकी कमिनी । उखानले क्षेत्रिनीको मोल कति चर्को रहेछ भन्ने देखाउँछ । मान्छे त्यसमा पनि कुनै महिलाको मोल रुपैयाँमा तोक्न हुन्छ कि हुँदैन ?

सूर्य वा चन्द्र ग्रहण लाग्दा सूर्य वा चन्द्रलाई कष्ट दिएको भनेर ‘छोड चमार’ भन्दै एउटा जाति वा समुदायलाई गाली गर्नेजस्तो परम्परा विद्यमान छ हाम्रो समाजमा । मान्छेलाई छुन नपाउने, देउतालाई पुज्न नपाउने, धारा समेत छुन नपाउने बिचरोले चन्द्रदेवलाई केको कालो पार्न सक्दो हो !

खोजिपस्ने हो भने नेपाली समाजमा र साहित्यमा यस्ता मानहानियुक्त शब्दावलीहरू कति होलान् ।  समाजमा सहजै बोलिने, लेखिने र मजाकका विषय बनाइने यस्ता नकारात्मक शब्द, वाक्य र उखानहरू विषाक्त छन् । नेपाली समाजमा प्रचलित र नेपाली साहित्यमा प्रयोग भएका यस्ता शब्दावलीहरूले तत्तत् समुदायका मानिसहरूको भावनामाथि खेलबाड गरेका छन् ।

अपमान बोधक शब्दहरू धेरै थोरैको कुरा मात्र हो, सबैमाथि प्रयोग भएका छन् । एक ठाउँमा मगरलाई अपमान गरिएको पाइयो । उखान यस्तो रहेछ— मगरको बुद्धि कोदाको तेल । यो उखान मिल्दो भयो त ? मिलेन किनभने यसको जवाफ डा. महावीर पुन हुन् । बाहुनहरूलाई लक्षित गरी बनाइएको एउटा उखान यस्तो छ : बाहुनको चित्त माखाको पित्त । एउटाले बिरायो साखा पिरायो भनेजस्तो । केही बाहुनका कारण सबै बाहुनलाई एउटै भाँडोमा हालेर डाम्न हुँदैन ।

महिलाहरूलाई तल पार्ने उखानहरू उत्तिकै छन् । जस्तै : छोरा पाए खसी खाउँला, छोरी पाए फर्सी, पोथी बासे अलच्छिन हुन्छ, आइमाईको बुद्धि कन्ना पछाडि, खुट्टा भए जुत्ता कति कति आदि । तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले २०४७ को संविधान जारी भएपछि भनेछन्, “ढिलो भयो छोरै भयो ।” नेपाली समाजको छोरामुखी सोच सन्त नेता भनेर कहलिएका भट्टराईमा पनि देखियो । ढिलो भयो राम्रो भयो भन्नलाई छोरा नै अघि सार्नुपर्छ र ? छोरा मात्र राम्रो हुने भए संसारमा हजुरआमाहरू, आमाहरू, दिदीबहिनीहरू अनि श्रीमती किन चाहियो ?

उखानले अपाङ्गता भएकाहरूलाई पनि छोडेन । कानाको देशमा आँखा चिम्लनु । लङ्गडाको देशमा खुट्टा खुम्च्याउनु । कानाले आँखा हेरे पो के चिम्ले पो के । के खोज्छस् काना आँखो । लाटा देशमा गाँडा तन्नेरी । अन्धाले अन्धालाई डोर्याउनु । यी सब कसैलाई होच्याउने नियतले सुरु गरिएका शब्दजाल हुन् जसले हाँसीहाँसी कुनै जात वा समुदायको गला रेट्छ ।

हाम्रा केही उपन्यासका शीर्षकहरू हेरौं जस्तै लैनसिंह बाङ्देलको ‘लङ्गडाको साथी’ अनि सरुभक्तको बहुचर्चित उपन्यास ‘पागल बस्ती’ । के आजका दिनमा यस्तो शीर्षक राख्न मिल्छ ? आज अपाङ्गता भएका मानिसहरूलाई डिसएवल भनिँदैन, बरु डिफ्रेन्ट्ली एवल भनिन्छ । आँखा नदेख्नेलाई दृष्टिविहीन भनिन्छ । मानसिक बिरामीलाई पागल वा बहुला भन्न पाइँदैन ।

त्यसो त पुरुषहरू पनि कहीँकतै प्रहारमा परेकै छन् । जो पुरुष शारीरिक, मानसिक रूपमा कमजोर छन्, रोगी छन् तिनलाई मर्द नामर्द जस्ता शब्दले घोच्दैन र ? एउटा उदाहरण प्रस्तुत गर्नुपर्दा कथा विधामा चर्चा कमाउन सफल साहित्यकार बिना थिङको ‘याम्बुनेर’ कथासङ्ग्रहको एउटा कथा ‘ब्याड भाले’ लाई लिऊँ । कथाको एक पात्र इरमान बिहे भएको तीन महिनामै बेपत्ता भएको छ । ऊ बेपत्ता हुनुको कारण उसले श्रीमतीको आगो निभाउन नसक्नु रहेछ । श्रीमती स्याङम्हेन्दोले नामर्द इरमानको सम्झनामा झ्याल उघारेर हाक्क गरेर थुक्छे र रातमा सन्तोषले निदाउँछे । कथाको अन्त्यमा लेखिएको छ, “त्यसपछि स्याङम्हेन्दोले त्यो नामर्द इरमानलाई पर्खिन । उसले गाउँको अर्कै मर्दसँग बिहे गरी ।” अनि अन्तिममा कथाकी म पात्र घोषणा गर्छे, “धन्न इरमानजस्तो नामर्द छैन विप्लप । ऊ नामजस्तै शरीरमा आँधी बोकेर आएको थियो अघिल्लो हप्ताको भेटमा । कम्तीमा म जोसँग बिहे गर्दै छु त्यो मर्द हो भन्ने कुरा थाहा पाएर यतिखेर म ढुक्क छु ।” जुँगा चलेको देख्दा त यहाँ म पात्रले जागिर खाने बेलाजस्तै अनुभव सँगालिसकेको बुझिन्छ ।

इरमानको समस्या के हो ? जैविक हो या परिस्थितिजन्य हो वा अस्वस्थता के हो ? उपचार गरे ऊ सामान्य बन्न सक्छ कि सक्दैन ? उसलाई पनि ‘मदन राई’ जति हजारे त होइन तर महिलाले चाहेजतिको मर्द बन्न मन लाग्दो हो नि ! उसले व्यक्त गर्न नसक्नुको कारण मर्द बन्नुपर्ने दबाब होइन र ? ऊ पनि पीडित पात्र हो भन्ने हामीले बिर्सन हुँदैन । महिला हिंसा जत्ति नै पुरुष हिंसा छ भन्ने कुरा थाहा पाउन समाजमा पस्नुपर्छ, परिवारमा पस्नुपर्छ । अहिले त युट्युबहरूमा पसे पुग्छ ।

गालीगलौजमा र उखानमा खासगरी दलित समुदायलाई निशाना बनाइएको पाइयो । त्यसपछिको शिकार महिलाहरू भएका छन् । परोक्ष रूपमा पुरुषहरू पनि डामिएकै देखियो । त्यसपछि जनजाति समुदायको पालो सायद । अनि कताकति बाहुनक्षेत्री । अपमान जसलाई गरे पनि राम्रो हुँदैन । अपमानले बाहुन होस् यो दलित होस् या जनजाति होस् या मधेसी होस् या महिला होस् या पुरुष सबैको दिल दुखाउँछ ।

चलिआएको चलन हो के फरक पर्छ र ? कतिलाई यस्तो लाग्न पनि सक्छ तर आत्मसम्मान भनेको ठूलो कुरा हो । यसको पीडा कति हुन्छ भन्ने थाहा पाउन आफैंले भोग्नुपर्दछ । मेरो नजिकै गोरु जोत्ने पेशा गर्ने एक क्षेत्री छन् । मेलामै पनि कसैले ‘हली खै हली ?’ भन्ने शब्दावली प्रयोग गरे उनी रिसले चुर हुन्छन् । गाउँघरतिर हली भन्नाले अर्काको घरमा जोत्न बस्ने मान्छेलाई बुझिन्छ । उनी त्यसैले हली हुन चाहँदैनन् । आत्मसम्मानको कुरामा यही उदाहरण नै प्रशस्त छ । आफ्नोजस्तै दुख्ने मुटु अरूको पनि हुन्छ भन्ने कुरा सबैले बुझ्नु पर्दछ । नारायण गोपालको आवाजले मलाई यही तत्वज्ञान दिन्छ, तिम्रोजस्तै मुटु मेरो पनि …!

हरेक वर्ष अङ्ग्रेजी शब्दकोशहरूमा कतिपय शब्दमाथि प्रतिबन्ध लगाइने रहेछ ।  मैले नेपाली बृहत् शब्दकोश कक्षा ९ मा पढ्दा नै किनेको हुँ । मैले किनेको शब्दकोश २०४० सालको हो जुन प्रथम संस्करण रहेछ । हाल प्रयोग गर्दै गरेको चाहिँ संशोधित र परिवर्द्धित सातौँ संस्करण, २०६७ हो । मैले २०७५ प्रकाशित दशौं संस्करण पनि हेरें । ३५ वर्षको अवधिमा पनि विभेदकारी शब्दहरू चाहिँ उस्तै रहेछन् । के हाम्रो देशमा चाहिँ जाति, समुदाय र लिङ्ग विशेषलाई अपमान गर्ने शब्दावलीहरूको प्रयोगमा कडाइ गर्नुपर्दैन ?

प्रज्ञा प्रतिष्ठानले दसौं संस्करणलाई आधार मानेर गत वर्ष ‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’ प्रकाशित गरेको रहेछ । कोशका सम्पादक निरौलाको दाबी छ, “आँखाले भ्याएसम्म कुनै पनि जाति समुदायलाई चोट नपुग्ने गरी शब्द र अर्थहरू समेटिएका छन् । अबदेखि अपमान बोध हुनेछैन । कथंकदाचित त्यस्ता शब्द परेका रहेछन् भने सच्याइनेछ ।” मैले यो संस्करण पढ्न पाएको छैन तर सम्पादकको कुरा पढेर खुसी लाग्यो ।

स्तम्भकार हरिबोल आचार्यका शब्दमा भन्नुपर्दा सानो हुँदा जे सुनिन्छ, जे पढिन्छ र जे बुझिन्छ, धेरै मान्छेले त्यसैलाई जीवनभर सत्य ठान्छन् । हुर्किसकेपछि वैज्ञानिक शिक्षा र संगतले पनि हत्तपत्त मान्छे बदलिँदैन । प्रारम्भमा जुन विचारधाराले मनमस्तिष्कमा जरो गाडेको हुन्छ, त्यसलाई पछि उखाल्न धेरै गाह्रो हुन्छ । आचार्यका कुरा सही छन् । भएको र भइरहेको पनि यही नै हो । त्यसैले हाम्रा साहित्यबाट, पाठ्यपुस्तकहरूबाट, हाम्रो शब्दकोशबाट जोकसैलाई चोट पुग्ने शब्दहरू हटाइनुपर्छ । लेखिसकिएका पुस्तकहरूको नयाँ संस्करण प्रकाशन गर्दा परिमार्जन गरी समयसापेक्षा बनाउनुपर्दछ ।

समग्रमा यस्ता शब्दावलीहरू हाम्रो जीवन व्यवहारबाटै हटाउनु आवश्यक छ । डा. अरूणा उप्रेतीका शब्दमा भन्नुपर्दा अहिले हामीले प्रयोग नगरेपछि अर्को पुस्ताले पनि यस्ता अपमानजनक उखान-टुक्का सिक्न सक्दैन । यस्ता उखान-टुक्का दैनिक जीवनमा प्रयोग नगरौं ।