राम सुग्रीव मितेरी
बाली र सुग्रीव नाम गरेका दुई बडा प्रतापि बाँदरहरू थिए । भाइभाइ थिए । किष्किन्धामा राज्य थियो । बाली औधि बलिया थिए । उनलाई लडाइँमा जित्न कोही सक्तैनथ्यो । रावणजस्तो वीरलाई काखीमा च्यापेर उनी दगुरेका थिए । एक दिन मय नाम गरेको राक्षसले उनलाई हकार्यो । उनीसँग लड्दै एउटा पहाडको गुफाभित्र पसेका थिए । १५ दिनभित्र फर्किने म्याद थियो । त्यस म्यादमा फर्केनन् भने ‘मरेछन्’ भन्नु भनेका थिए । बाली फर्केनन् । उल्टो रगत बगेर आयो । ‘बाली मरेछन्’ भन्ने पर्यो । सबैले सुग्रीवलाई राजा तुल्याए । बाली मरेका रहेनछन् । फर्केर सुग्रीवमाथि जाइलागे । लखेटे । उनको सर्वस्व र स्त्रीहरणसमेत गरिदिए । ऋष्यमूक पर्वतमा बाली जान सक्तैनथे । उनलाई त्यहाँ गएमा मर्ने श्राप थियो । सुग्रीवले त्यहीँ शरण लिएका थिए ।
राम र लक्ष्मण ऋष्यमूक पर्वतनिर पुग्नुभयो । सुग्रीवले माथिबाट देखे । बालीले मार्न पठाएको हो कि भन्ने पर्यो । हनुमानलाई बुझ्न पठाए ।
हनुमान बाहुन बनेर गएका थिए । पहिले त चिनेनन् । पछि दशरथका छोरा राम भन्ने थाहा पाउनासाथ पाउमा परिहाले । हनुमान औधि ज्ञानी, विद्वान् र भक्त थिए । रामलाई इष्टदेव सम्झन्थे । आफ्ना काँधमा राम–लक्ष्मण दुवै भाइलाई चढाए । वायुका छोरा थिए । तुरन्तै सुग्रीवकहाँ पुर्याए । सुग्रीवले राम र लक्ष्मणको स्वागत गरे । आफूलाई परेको दुःखको कुरा सुनाए । रामबाट पनि सबै सुने । आफूआफूको मद्दतका लागि मीत लाउने ठहरियो । आगोलाई साक्षी राखेर दुवैले मीत लगाए ।
रामको आड पाएर सुग्रीवले बालीलाई हकारे । दुवैको कुस्ताकुस्ती चल्यो । बालीको अघिल्तिर सुग्रीवको के चल्थ्यो ? घुस्सा र मुड्कीले जीउ सबै दुख्यो । कायल भए । दुवै एउटै अनुहारको भएकाले रामले नचिनेर त्यसो भएको थियो । अर्कोपटक माला लगाइदिएर पठाउनुभयो । दुवै लड्दै थिए । बालीलाई रामको बाण लाग्यो । मैले के बिराएँर मार्नुभयो भन्दै बाली कराए । ‘छोरी–बुहारी बिगार्ने पापीलाई मार्नैपर्दछ’ भन्ने जबाफ पाए ।
===
सीताको खोज
सुग्रीवको राज्याभिषेक भयो । सीताको खोजमा सर्वत्र उनले बाँदर फौज पठाए । हनुमान पनि खटिए । चारै दिशातिर बाँदरहरू खोज्दै पुगें । कतै केही अत्तोपत्तो भएन । निराश भइसकेका थिए । समुद्रको किनारामा अँध्यारो मुख लगाएर हनुमान र अरु सहयोगीहरू बसिराखेका थिए । उनीहरूको सम्पातिसँग भेट भयो । उनी जटायुका दाजु थिए । भोकै थिए आहारा भेटाएँ भन्ने पर्यो । जटायुको नाम लिनासाथ उनी अर्कै भए । उनैले सीताजीको ठेगाना बताए । समुद्र नाघेर लङ्का पुग्नु थियो । त्यत्रो समुद्र कसरी नाघ्ने ? कसले नाघ्ने ? जाम्बवानलाई ‘हनुमानमा बल छ’ भन्ने थाहा थियो । उनले नै हनुमानलाई सुरयाए । श्रीरामलाई सम्झेर हनुमान आकाश बाटोद्वारा लङ्कातिर लागे । यहीँ सुरसा (नाग माता) ले उनको बाटो रोक्न खोजिन् । मुख बाएर बाटोमा तेर्सिइन् । हनुमानलाई आहारा बनाउन खोजिन् । उनले आफ्नो शरीर ठूलो–सानो तुल्याउन सक्थे । ठूलो तुल्याउँदै गए । सुरसाले पनि त्यो विद्या जानेकी थिइन् । उनले पनि त्यसै गर्दै गइन् । पछि सानो रूप लिए, एकतिरबाट पसेर अर्कातिरबाट निस्केर भागे । देवताले सुरसालाई जाँच्न पठाएका रहेछन् । जाँचमा हनुमान पास भए । रामको काम गर्न सक्ने उनै ठहरिए ।
हनुमानले लङ्का पुगेर सानो रूप लिएर रावणको कोठा चोटा चाहारे । कहीं सीताजीलाई देखेनन् । उनी निराश भइसकेका थिए । रामको धनुको चिन्ह भएको एउटा घर देखे । त्यहाँ तुलसीको बोट पनि लगाएको रहेछ । लङ्कामा राक्षस नै राक्षसको देशमा त्यसतो देख्नाले उनलाई आश्चर्य लाग्यो । त्यो रावणका भाइ विभीषणको घर थियो । उनी रामका भक्त थिए । रावणले त्यसरी अर्काकी स्त्रीलाई हरेर ल्याएको उनलाई कत्ति पनि मन परेको थिएन । त्यसमाथि रामकी सीता भनेपछि उनले हुनसम्म सम्झाए । हनुमानलाई पनि सीतालाई बन्धक बनाएर राखेको ठाउँ उनैले भनिदिए ।
रावणको अशोक बगैंचामा एउटा रूखमुनि दुब्ली पातली सीताको निन्याउरो अनुहार देखे । हातले फूलहरूको श्रीराम लेखेर रामैमा मग्न भइरहेकी पनि देखे । त्यो सीताको त्यसैबेलाको हालत देखेर हनुमानका आँखा आँसुले भरियो । रूखमा लुकिरहे । रावण आयो । सीतालाई भन्नु नभन्नु भन्यो । महिना दिनभित्रमा उसले भनेको नमाने मारेर तरकारी बनाएर खाईदिन्छुसम्म पनि भनिदियो । रावण गएपछि सीताले मर्न खोजिन् ।
त्रिजटा नाम गरेकी राक्षसनी बढी समझदार थिइन् । सीतालाई सम्झाइन्, बुझाइन् । उनी अरू राक्षसनीलाई पनि हप्काउँथिन् । सीतालाई दुःख दिन चाहदैनथिन् ।
सीताजीले एकदिन एक्लै बसेका बेला रूखलाई आगो खसाल्दे भनिरहेका बेलामा हनुमानले औंठी खसालिदिए । रामको औंठी थियो । सीताजीले चिन्नुभयो । उहाँलाई गजब लाग्यो । हनुमानले सबै कुरा सुनाउँदै गए । उनी देखा परे । एउटा सानो बाँदरलाई आफ्नो अगिल्तिर टुकरुक्क उभिएको देखेर सीतालाई झन् गजब लाग्यो । हनुमानले आँङ फुलाएर आफ्नो सच्चा रूप देखाए । सीतालाई विश्वास पर्यो ।
हनुमानलाई भोक लाग्यो । रावणको अशोकवाटिकामा जतासुकै फलफूलका रुखहरू थिए । ती सबै खुब फलेका थिए । खुब हिफाजतसँग राखिएका थिए । पाले पहराको बन्दोबस्त थियो तैपनि हनुमानले स्वाहा पारिदिए । यसै क्रममा राक्षसहरू धेरै मरे । रावणको छोरा नै मारियो । बल्लबल्ल मेघनाथले ब्रह्मास्त्रले हनुमानलाई समात्यो । रावणले उनलाई भन्नु नभन्नु भन्यो । पुच्छरमा टालो बेरेर आगो सल्काइदियो । हनुमानलाई यही सजाय दिएको थियो । उनले घरघरै छानैछाना दगुरेर जताततै आगो लगाइदिए । लङ्का जल्यो । उनले पुच्छर समुद्रमा चोपलेर आगो निभाए । सीताजीबाट चूडामणि र सन्देश लिएर उनी फर्के ।
हनुमानले रामको दर्शन गरे । सीताको सबै हाल सुनाए । उनले चिनो पनि टक्य्राए । रामलाई हुनसम्मको दुःख लाग्यो । पत्तो लागेकाले सजिलो पनि भयो । फौज जम्मा गर्ने ठहरियो । लङ्का हान्ने पनि निश्चय भयो । बाँदर भालुका अनगिन्ती सेना थिए । सबै समुद्रतिर लागे ।
===
सम्पादकीय
– उत्तमप्रसाद पन्त (सम्पादन)
सरदार रुद्रराज पाण्डे नेपालको शिक्षा, साहित्य, इतिहास र आध्यात्मिक जागरणका नक्षत्र हुनुहुन्छ । दरबार हाईस्कुलका पाहिलो नेपाली हेडमास्टर भएपछि नेपालबाटै म्याट्रिक (SLC) परीक्षा दिलाउने तथा नेपाली भाषामा पठनपाठन गराउने कार्यको थालनी उहाँबाटै भएको हो । यस अभियानलाई अगाडि बढाउन उहाँले इतिहास, उपन्यास, नाटक, कथा र बालकथाका थुप्रै पुस्तक लेख्नुभयो । त्यस्तै आध्यात्मिक र नैतिक शिक्षाबाट समाजलाई सुसज्जित गराउने कार्यमा उहाँका केही पुस्तक प्रकाशित छन् । त्यसैले शिक्षा, धर्म र संस्कृतिको विकासमा उहाँको ठूलो योगदान रहेको छ ।
बालमस्तिष्कदेखि नै आफ्नो संस्कृति, धर्म र सत्कर्मको वीजारोपण गर्न आवश्यक ठानी उहाँले बालसाहित्यसँग सम्बन्धित तीनवटा पुस्तक प्रकाशन गर्नुभएको छ । पूर्वीय संस्कृतिका एक मर्यादा पुरुष रामको जीवनसँग सम्बन्धित ‘बाल रामायण’ त्यसैमध्येको एक कृति हो । आजभन्दा ६० वर्षअगाडि इन्डियन पब्लिकेसन प्रेस प्राइभेट लिमिटेड इलाहाबादबाट सन् १९६२ मा यसको पहिलो संस्करण छापिएको रहेछ । बाल रामायण सम्पूर्ण रामायण जुन आठ अध्याय (बाल काण्ड, अयोध्या काण्ड, अरण्य काण्ड, किष्किधा काण्ड, सुन्दर काण्ड, लङ्का काण्ड, उत्तर काण्ड र लवकुश काण्ड) मा विभाजित छ ।
बाल हृदयले बुझ्ने भाषामा ४७ पृष्ठमा अभिव्यक्त गर्न सक्नु लेखकीय क्षमताको सह्रानीय कार्य हो । मैले यो पुस्तकको एक प्रति फोटोकपी मेरा अनन्य मित्र प्रकाश कार्कीको सहयोगमा मदन पुरस्कार गुठीको पुस्तकालयबाट प्राप्त गरेको थिएँ । जम्माजम्मी ४२ पृष्ठको पुरानो लेटर प्रेसबाट छापिएको यो पुस्तकमा २६ वटा रेखाचित्रबाट कथालाई बालसुलभ मनमा प्रस्ट्याउन खोजिएको छ । आधुनिक रंगीन चित्रको सहायताले पुस्तकलाई जीवन्त बनाउन बालबालिकाले पढ्ने र बुझ्ने शैलीमा प्रस्तुत गरेको छु । यसका लागि उद्वरण गरिएका तस्बिरका चित्रकार, संघसंस्था र व्यक्तिप्रति अनुगृहित छु ।
पुस्तक प्रकाशनको सम्पूर्ण आर्थिक भारको जिम्मा लिएर र सधैं पुस्तक प्रकाशनमा हौसला प्रदान गर्नुहुने मेरी पूज्य सासूआमा शारदा पाण्डेप्रति सधैं ऋणी नै हुनेछु । साथै यसलाई संसारका कुनाकुनामा एकैपटक पुर्याउने हिसाबले डिजिटल प्रविधिमा प्रवेश गराउन मद्दत गर्नुहुने मेरा मित्र हरि थापालाई जति धन्यवाद दिए पनि कमै हुन्छ । यो पुस्तक वाचन गरी आफ्नो स्वर प्रदान गर्नुभएका मेरा पूज्य श्री गोविन्दवावु तिवारीप्रति म सधैँ आभारी छु ।
अन्त्यमा, यो पुस्तकलाई प्रकाशनको मौका दिएर यो रूपमा पाठकसमक्ष पुर्याउने परिस्थिति निर्माण गरिदिएकोमा रुद्रराज साहित्य समितिका पदाधिकारीप्रति मुरीमुरी धन्यवाद दिन चाहन्छु । साथै आगामी दिनमा गहकिला अन्य पुस्तक पाठकसमक्ष ल्याउने प्रण गर्दछु ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।