लेखकको शोषण विकाशसील वा विकासोन्मुख मुलुकमा मात्र होइन, विकसित भनिएका मुलुकमा समेत हुने गरेको खुलासा द टाइम्स पत्रिकाले गरेको छ । उसको १६ डिसेम्बरको अंकमा ‘बुक अवार्ड फिस एक्प्लोएट राइटर्स, सेज् टप अथर’ शीर्षकको समाचार छापी नयाँ लेखकहरूको कसरी शोषण हुन्छ भन्ने नमुना प्रस्तुत गरेको छ ।

कुनै पनि लेखक चिनिन उसका लागि फलानो पुरस्कार प्राप्त लेखक भन्ने पुच्छर निकै सहयोगी हुने गरेको छ । यो अभ्यास विकसित मुलुकमा लामो समयदेखि चलिरहेको छ । यसका लागि नयाँ पुस्ताका लेखकहरू मरिहत्ते पनि गर्छन् किनभने एक पटक किताब हिट भइसकेपछि सारा बाधा-व्यवधानहरू लगभग हट्छन् ।

यस्तोमा उनीहरूले ती पुरस्कार प्राप्त गर्नका लागि सक्दो मिहिनेत गर्छन् । यही मनोविज्ञानलाई बुझेका केही पुरस्कार तथा पत्रपत्रिकाहरूले नराम्रोसँग नवसर्जकलाई ठग्ने माध्यम बनाउने गरेको द टाइम्स पत्रिकाले लेखेको छ ।

द टाइम्सले यस्तो शोषणको चक्रबारे सोधेको एक प्रश्नमा सोसाइटी अफ अथर्सकी अध्यक्ष जोआने ह्यारिसले नयाँ लेखकहरूको हतास मनोदशालाई भजाउन केही साहित्य पुरस्कारहरूले लेखकबाट अनावश्यक फाइदा लिन खोजेको देखिएको स्वीकारिन् ।

‘पुरस्कारले सारा बाधा खुम्च्याउँछ र धेरै कुरालाई सजिलो बनाउँछ भन्ने लेखकहरूको सोच भएकाले त्यो मनोदशा तिनले शोषण गर्ने माध्यम बनाएका छन्, यो सत्य हो,’ ह्यारिसले भनिन्, ‘कतिपय अवस्थामा पुरस्कारका आयोजकका लागि प्रतियोगितामा सहभागी हुनका लागि केही रकम आवश्यक पर्ने कुरालाई म नराम्रो ठान्दिनँ किनभने त्यो व्यवस्थापन निकै महँगो पर्छ । व्यवस्थापन खर्च उठाउनका लागि केहीले यस्तो गर्नु पनि पर्छ तर पुरस्कारको रकम र सो पुरस्कार प्राप्त गर्न लिइने सेवा शुल्कबीच उति धेरै फरक नपाइएकाले त्यो लेखकको शोषणै हो कि भन्ने देखिएको छ ।’

हुन पनि कतिपय पत्रिकाले कथा प्रतियोगिता आयोजन गर्नका लागि प्रवेश शुल्क भनी ३० पाउन्डसम्म लिने गरेको पाइएको छ । पुरस्कारको राशि भने जम्मा ७५ पाउण्ड हुने गरेको छ । यस्ता पुरस्कारमा पनि नयाँ पुस्ताका लेखकहरू हत्ते गरी फारम भर्ने गरेको ह्यारिस बताउँछिन् ।

यता यस्ता पुरस्कारका संस्थापकहरू भने प्रवेश शुल्क जरूरी भएको र यसमा पुस्तक पढेर प्रतिक्रिया दिनेहरूको ठूलो समूह पढ्न, पढेका सामग्रीहरूको परिणाम निकाल्न, त्यसका लागि समय दिन ठूलो प्रयास लाग्ने हुनाले त्यो जायज पनि भएको बताउँछन् ।

खासगरी द पल केभ प्राइज फर चिल्ड्रेन पुरस्कारका संस्थापक टिम सन्डर्स यस्ता शुल्कलाई जायज ठान्छन् । उनी भन्छन्, ‘यो पुरस्कारका लागि उचित पुस्तक कुन हो भनी छान्नका लागि दर्जनौँ सर्वसाधारणहरूको सहयोग चाहिन्छ । उनीहरूलाई हामी सित्तैमा काम लगाउँदैनौँ । यो काम कुनै रोबोट वा आर्टिफिसियल इन्टेलिजेन्सले गर्दैनन् । त्यै भएर शुल्क त लाग्छ नै !’

सन्डर्स भन्छन्, ‘एउटा बाल साहित्य कम्तीमा ५ हजार शब्दको हुन्छ । त्यति शब्दको पुस्तक सम्पादन गर्न ३० पाउन्ड लिनु मेरो समयको सही मूल्य हो भन्ने लाग्छ ।’

‘हामीले पुरस्कार मात्र दिँदैनौँ, छापिदिन्छौँ पनि । नयाँ पुस्ताका लागि त्यो ठूलो पुरस्कार होइन ? रकममा मात्र ध्यान नदिने कि ? त्यसमाथि उनीहरूले एक सय पाउण्ड रकम पनि पाउँछन्,’ उनको भनाइ छ ।

अमेरिकाको द इन्डिपेन्डेन्ट पब्लिसर बुक अवार्डले गर्ने ९० विधाको किताब पुरस्कारले त्यसमा सहभागी हुने पुस्तकले ६५ पाउन्ड (८५ डलर) शुल्क लिने गरेको छ । सो अवार्डको वेबसाइटमा लेखिएको छ, ‘तपाईंले पुरस्कारका लागि पठाउनु भएको किताब वा पाण्डुलिपि निर्णायक मण्डलले पूरै पढ्छन् भन्न सकिन्न ।’

यो पुरस्कार कार्यक्रमका आयोजक जेनकिन्स ग्रुपकी प्रवक्ता भन्छिन्, ‘पुरस्कारका लागि पठाइएका सारा पाण्डुलिपि वा पुस्तकका एक एक पाना पढ्ने फुर्सद कुनै पनि निर्णायकलाई छैन । हामीले विगत ३० वर्षदेखि यो पुरस्कार दिइरहेका छौँ र यत्तिका वर्षमा यहाँ पुरस्कृत पुस्तकले पाठक र प्रकाशक दुवैलाई उँभो नै लगाएका छन् । त्यसैले त्यसको तुलनामा यो शुल्क केही पनि होइन ।’