“एउटी स्वास्नी पाल्न नसक्ने नामर्दले पनि किन बिहे गरेको होला ?”

“आफू साहित्यकार भएपछि त बरु साहित्यकार्नी नै खोजेर बिहे गरेको भा’ हुन्थ्यो नि !”

बेला बेलामा स्वास्नीले गर्ने यस किसिमका शब्द प्रहारहरूबाट ऊ असाध्यै मर्माहत हुन्छ । झट्ट स्वास्नीलाई मुख फर्काउन सक्दैन । स्वास्नीलाई मुख फर्काउनुको अर्थ बल्दै गरेको आगामा घिउ थप्नु हो भन्ने कुरा बुझेको मात्र हैन  भोगेको पनि छ । पहिले पहिले कहिलेकाहीँ दुई-चार शब्द फर्काएर नसम्झाएको पनि होइन । उसले मुख फर्कायो कि स्वास्नी झन् उग्र हुन्थी । लोग्नेको कुरै सुन्न चाहँदिनथी । लोग्नेको मुखबाट शब्द भुइँमा झर्नै हुँदैनथ्यो, मुखमुखै लाग्थी, बाझ्थी । कहिलेकाहीँ त घण्टौँसम्म पनि गालीगलौजका शब्दहरूको ओइरो लगाउँथी ।

ऊ विवश थियो चोथाले स्वास्नी बेहोर्न । यद्यपि स्वास्नी नराम्री होइन, रूपरङ मिलेकी हिस्सी परेकी नै हो । पाहुनापाछा, इष्टमित्र सबैसँग राम्रो व्यवहार गर्थी । उसमा बजार डुल्ने, सिनेमा हेर्ने तथा पैसा उडाउने कुनै त्यस्तो सोख थिएन । भोगी विलासी पनि थिइन ऊ । अर्काको ईर्ष्या गर्दिनथी । सफासुग्घरमा ध्यान दिन्थी । घरगृहस्थीमा रमाउँथी । सासूससुरालाई मानमर्यादा गर्थी । अरूबाट लिनुभन्दा आफूले अरूलाई दिनुमा आनन्द मान्थी । कुनै दाग थिएन, भ्रष्ट थिइन ऊ । थानको मान गर्न सिपालु थिई । स्त्री सुलभ सौन्दर्यले पूर्ण । कृत्रिमतामा विश्वास नगर्नु र सतीत्वमा अडिग रहनु उसका चारित्रिक सद्गुणहरू थिए ।

यतिका विधि असल गुणहरू हुँदाहुँदै पनि ऊ लोग्नेसितको सम्बन्धमा आगाको मुस्लो बनेर दन्कन्थी । भेट हुनै हुँदैनथ्यो । भेट हुनासाथ लोग्नेलाई हप्तौँदेखिको भोको बाघले सिकार झम्टे झैँ झम्टन पुग्थी । एकैचोटि चार-पाँचवटा तीरहरूको निशाना लगाउँथी । तीरहरू मुटुमै रोपिन्थे । ऊ रन्थनिन्थ्यो । चुपचाप एक गिलाँस पानी पिउँथ्यो र ढोका थुनेर बस्थ्यो । शब्दहरू ढोकाको चरबाट पनि पस्थे र कोठामै विस्फोट हुन्थे । सहन नसकेपछि ऊ ढोका खोलेर त्यहाँबाट निस्कन्थ्यो र सडकतिर डुल्थ्यो, भौँतारिन्थ्यो । पछिपछि लाग्थी । ऊ मन पराउँदैनथ्यो ।

अब त रिस शान्त भयो कि भन्ने ठानी एकाध घण्टापछि डेरामा फर्कन्थ्यो । कहिलेकाहीँ रिसको गतिमा क्रमभङ्गता हुन्थ्यो भने कहिलेकाहीँ उस्तै रहन्थ्यो जस्तो ऊ डेराबाट बाहिरिने क्रममा हुन्थ्यो । क्रमभङ्गताको अवस्था उसलाई प्रिय लाग्थ्यो किनभने यस समयमा स्वास्नी ठुस्स परी अर्कोतिर मुख फर्काएर बसेकी हुन्थी । स्वास्नीको कचकच सुन्नु नपर्ने हुँदा उसलाई क्रमभङ्गताको यो समय प्रिय लागेको हो । ऊ स्वास्नीसँग प्राय बोल्दैनथ्यो । स्वास्नी ठुस्स परेकै मौका छोपेर उसले आफूले गर्नुपर्ने कामहरू गर्थ्यो ।

सहरबजारको ठाउँ । अर्काको घरमा डेरा लिएर बसेका दुइटा कोठा । एउटा सन्तान । जम्माजम्मी तीन प्राणीका लागि दुइटा कोठा । एउटामा भात पकाउने र अर्कामा पढ्ने, सुत्ने । भात पकाउने कोठालाई भान्छाकोठा भन्न अलि मिल्दैनथ्यो । त्यस कोठामा भाँडाकुँडा राख्ने व्यवस्थित दराज, तखता, टाँसीहरू केही थिएनन् । फ्रिज थिएन र डाइनिङ टेबुल पनि थिएन । लोहोटा, अम्खोरा र कसौँडीहरू पनि थिएनन् ।

एउटा नयाँ र अर्को पुरानो गरी दुईवटा प्रेसर कुकर, एउटा कराइ, एउटा दिउरी, केही थान थालकचौरा र गिलाँसहरू । परिवारअनुसार सबै कुरा सीमित मात्रामा । बरु एउटा मधुसजस्तो काठको किचेन र्याक । त्यसको माथिपट्टि ग्याँस चूलो र भित्रपट्टि जिरामसला र नुनखुर्सानीका बट्टाहरू राख्ने ठाउँ । यो भात पकाउने कोठामा पनि एउटा खाट अर्थात् एउटा सामान्य खालको बिस्तरा । रिसले खपी नसक्नु भएको रात ऊ त्यही भात पकाउने कोठाको बिस्तरामा बिताउँथ्यो । कहिलेकाहीँ कथा लेख्नुपर्दाको रात पनि त्यहीँ बिताउँथ्यो उसले ।

पढ्न सानैदेखि नै सिपालु थियो ऊ । खुरुखुरु पढ्दै गयो । दुईवटा विषयमा एमए सकेपछि विश्वविद्यालयको औपचारिक पढाइ छाडिदियो । विश्वविद्यालयका लागि बनाइएको पाठ्यक्रम छाडेपछि बल्ल साँच्चैको अध्ययन गर्न थाल्यो उसले । घरमै बसेर नानाथरी किताबहरू खोजीखोजी पढ्न थाल्यो । कहिलेकाहीँ त साँझपख पढ्न बसेको मान्छे बिहान तीन-चार बजेसम्म पनि पढिबस्थ्यो । घरव्यवहारमा त्यति चासो दिँदैनथ्यो । स्वास्नी र सन्तानको इच्छा आकाङ्क्षालाई पनि प्राथमिकतामा राख्दैनथ्यो । दिनमा दुई छाक खान, एकसरो लाउन र अर्काकै घरमा भए पनि भाडा तिरेर बस्न पाए  भैहाल्यो नि !

जति नै दुःख गरे पनि आखिर काट्ने भनेको यही एउटा जुनी मात्र त हो । उसले आफू र आफ्नो परिवारका लागि यसभन्दा बढी सोच्दैनथ्यो । तर कहिलेकाहीँ दुःख बिमार पर्दा अस्पताल र डाक्टरहरूलाई बुझाउने पैसा नपुगेर भने चिन्तामा छटपटिन्थ्यो र रुन्थ्यो पनि । स्वास्नीको किचलाले सीमा नाघेपछि पनि रुन्थ्यो ऊ, सधैँ होइन कहिलेकाहीँ । तर स्वास्नी र सन्तान पाल्नुपर्ने अभिभावक भइटोपलेको ऊ आफै रुँदा परिवेश नै नरमाइलो बन्थ्यो । अझ त्यसमाथि छोरी पनि केही बुझ्ने हुन थालेकी थिई । त्यो पनि ऊसित सँगसँगै रोइदिन्थी । रुन त स्वास्नी पनि रुन्थी । अनुहारमा हाँसो देखिए पनि उसको भित्री मन चौबीसै घण्टाजसो रोइरहेको हुन्थ्यो ।

खान त जागिर खाइरहेको छ उसले । जागिर खान थालेको पनि दुई दशकभन्दा बढी भइसकेको छ । जागिरबाट राम्रो आर्थिक जोहो गर्न सकेन, रातदिन स्वास्नी बास्नुको मुख्य विषय नै यही थियो । जागिरका बारेमा यसो भन्नु अझ बढी उपयुक्त हुन्छ – उसले जागिर खाइरहेको छैन कि जागिरले उसलाई खाइरहेको छ । उसको जागिरमा न पेन्सन हुन्छ न त अन्य खालका सुविधा नै । सामान्य बोर्डिङ स्कुलमा पढाउने मास्टर न पर्‍यो ऊ । त्यहाँ न उसको योग्यताको कुनै कदर हुन्छ, न त पर्याप्त आर्थिक सुविधा नै । वर्षौंदेखि घिचिरहेको छ ऊ यही पेसामा ।

स्वास्नी पनि पढालेखा नै हो तर उसले काम पाएकी छैन । स्वास्नीका लागि लौन हजुर भन्दै जागिर खोज्दै हिँड्न उसको स्वाभिमानले मान्दैन । बन्दव्यापार वा अरू कुनै त्यस्तो किसिमको काम गर्न पनि स्वास्नी अगाडि सरेकी छैन यद्यपि छोरी हुर्काउने जिम्मा भने स्वास्नीकै भागमा परेको छ । भन्न त बच्चीको लालनपालन र घरगृहस्थी सम्हाल्नुपर्दा फुर्सद नमिलेर ऊ जागिरसागिर वा आयआर्जनको कुनै बाटामा नलागेकी हो भन्न पनि मिल्छ । घरगृहस्थी त के भन्नु र ! डेरागृहस्थी सम्हाल्दासम्हाल्दै उसलाई फुर्सद नभएको हो भन्दा अझ बढी उपयुक्त हुन्छ सायद् !

“तिम्रा कथाले खान दिन्नन् क्यारे, के कथा लेखेर बस्या’ छौ ! बरु बिदाका दिनमा पनि काममा गए त दुई-चार पैसा कमाइ हुन्थ्यो नि । तिमीसितै पढेको हो क्यारे त्यो बलराज, क्याम्पस पढाउँछ, बजारमा घर ठड्या’को छ । साइडमा खेलो गर्छ । बरु तिम्ले पनि उसले झैँ घरजग्गाको खेलो गर्नू नि !”

आज छुट्टीको दिन । एउटा साहित्यिक पत्रिकाका सम्पादकले उसलाई कथा लेख्न अनुरोध गरेको डेढ महिना भइसकेको थियो । यही साताभित्र जसरी पनि एउटा कथा तयार पार्नु थियो । ऊ यसो लेख्न भनी बसेको मात्र के थियो स्वास्नी पड्किहाली बाँस चिरिएको आवाजमा । लेख्दालेख्दैको कलम रोक्यो उसले । जुन कुरा सुन्नु नपरे हुन्थ्यो भन्छ ऊ, त्यही कुरा सुन्नुपर्छ । छुराभन्दा तिखा कुरा सुनेर आत्तियो, रनाहामा पर्‍यो ऊ । पिउने पानी खोज्यो, सकिएको रहेछ । रिस थाम्न गाह्रो पर्‍यो उसलाई । लेख्दालेख्दैको डटपेन दुवै हातले समाएर भाँच्यो । स्वास्नी ढोका बाहिरबाट बाझ्दै थिई । ढोकाको चुकुल लगायो । स्वास्नीका वचनले रन्थनिएकै बेला मस्तिष्कमा बलराजका कर्तुतहरू एकपछि अर्को तँछाडमछाड गर्दै आइपुगे–

त्यो बलराज पढाइमा सिपालु थिएन, लद्दु नै भने हुन्छ । आठ-नौ कक्षासम्म पढ्दा पनि उसले आफ्नो नाम समेत राम्ररी लेख्न जान्दैनथ्यो । आज कस्तो लाजको मर्नु ! जो आफू पढ्न जान्दैन उसैले विश्वविद्यालयमा पढाउँछ ! समाज र राष्ट्रले गति लिन नसक्नाका विभिन्न कारणहरूमध्ये यो पनि एउटा हो । हुन त उसले आफ्नो क्षमताअनुसारको काम गरेकै छ । आफ्नो दक्षताअनुरूपकै कमाइ गरेको छ । ऊ व्यापारी मानसिकताको छ । उसको दक्षता भनेकै घरजग्गासम्बन्धी कारोबार न हो । प्राध्यापन गर्नुलाई त उसको साइडको पेसा भने हुन्छ ।

ऊ प्राध्यापक बलराजले जस्तो अरूलाई ठगेर आफ्नो घर ठड्याउन चाहँदैन । स्वाभिमानपूर्वक बाँच्न चाहन्छ । यद्यपि स्वास्नीको आवाज ढोकाको चरबाट भित्र छिर्छ – “तिम्रो आदर्शले भोको पेट भरिन्न क्यारे ! केको आदर्शवादी बन्नु पर्‍यो !”

उसको मस्तिष्कमा बलराजकै कर्तुतहरू घुमिरहेका थिए । बलराजले घरजग्गाको कारोबार गर्दा ठगिएका साथीहरूको आक्रोशलाई निकै नजिकबाट अनुभूत गरेको छ उसले । बलराज यतिसम्म निकृष्ट बनियाँ थियो कि उसले आफ्नै सहोदर बहिनीलाई घडेरी किनिदिँदा समेत ठगेको थियो, अरूको त कुरै छोडौँ । कथित पढालेखाहरूको यस्तो घिनलाग्दो प्रवृत्ति देखेपछि ऊ अझ बढी स्वाभिमानी हुन चाहन्छ । के मान्छे आफ्नै खुट्टामा उभिएर स्वाभिमानपूर्वक बाँच्न सक्दैन ? अरूलाई नठगी बाँचेको जीवन पो जीवन । के मान्छेले सार्थक जीवन जिउन सक्दैन ? ज्ञान आर्जन गर्नु पो पढाइ, के सर्टिफिकेट आर्जन गर्नु मात्रै पनि पढाइ हो र ?
सम्झने क्रममा उसले बलराजभन्दा ठूलो सर्टिफिकेटधारी महाप्राध्यापकलाई पनि सम्झ्यो । जुन प्राध्यापक आफ्नै छात्राहरूसँग सेटिङ मिलाएर डेटिङमा जान्थे । प्रत्येक साँझ भट्टीपसलमा भेटिन्थे । चारित्रिक रूपमा जति नै दाग भए पनि अखबारका पानाहरूले उनलाई स्वच्छ र सफेद तुल्याइदिन्थे । प्रयोगात्मक परीक्षामा राम्रो अङ्क प्राप्त गर्ने आशामा विद्यार्थीहरू कसैले पनि उनको चरित्रमाथि प्रश्न चिह्न खडा गर्दैनथे बरु उल्टै मानका खातिर मान थप्थे ।

मान्छे किन सक्कली पहिचानमा बाँच्न सक्दैन हँ ? सर्टिफिकेटधारीहरूले नै किन बढी कृत्रिमताको खोल ओढ्नुपरेको होला ? सम्झँदै जाँदा उसले आफूभन्दा सिनियर भक्तिप्रसादलाई पनि सम्झ्यो । भक्तिप्रसाद जसले पाँच वर्षसम्म विभिन्न विषयमा भर्ना भई एमएका कक्षाहरू पढ्यो । तर कुनै पनि परीक्षामा सामेल भएन । विश्वविद्यालयको पढ्ने कोठामा पनि नियमित गएन बरु पुस्तकालयतिर नियमित धायो । मात्र ज्ञान आर्जनका लागि उसले पढेको थियो, सर्टिफिकेटका लागि होइन । भक्तिप्रसादमा प्रशस्त ज्ञान छ । राजनीति पढेको छ, अर्थशास्त्र, साहित्य साथै दर्शन पनि पढेको छ । के पढेको छैन र उसले ? इतिहासदेखि विज्ञानसम्म सब पढेको छ । त्यसैले त भक्तिप्रसादका अगाडि बडाबडा सर्टिफिकेटधारीहरू पनि कायल छन् ।

“तिमी सितैको हो क्यारे त्यो जेदुनाथ पनि, अहिले क्याम्पसमा स्थायी भएर … ।”

स्वास्नीको मुखबाट घृणा ओकलिँदै गर्दा जेदुनाथको विगतलाई पनि सम्झने प्रयत्न गर्‍यो उसले । अहिलेसम्म देखेभोगेका चाटुकारहरूमध्ये पहिलो दर्जाको चाटुकार हो जेदुनाथ । उसले आजसम्मको जीवनमा भेटेका साथीहरूमध्ये एक नम्बरको चाकरीबाज हो जेदुनाथ । कसको चाकरी गरेर विश्वविद्यालयमा छिर्‍यो, करारमा जागिर खायो ? चाकरी गरेरै ऊ स्थायी भयो । विश्वविद्यालयमा छिर्दादेखि स्थायी हुँदा सम्ममा कति वटा पार्टी बदल्यो ? यी सबै तथ्यहरूमा जानकार छ ऊ । अरू धेरै कुराको हद हुन्छ तर खुराफातीको किन हद हुँदैन हँ ? बोल्दाखेरि शब्दैपिच्छे चाकरीको मिठास भर्ने जेदुनाथका बारेमा उसले यसभन्दा बढी सम्झन चाहेन । बरु सोच्यो– पार्टीका लागि जेदुनाथ जस्ता मान्छेको आवश्यकता किन पर्छ हँ ? समाज भँडाउनमा कसको हात बढी हुन्छ– मजदुर, किसानहरूको कि जेदुनाथ प्रवृत्तिका सर्टिफिकेटधारीहरूको ?

”उति बेला बुबाले केटो पढालेखा रै’छ, बाँसको टुप्पा ल’र नि पाल्छ भन्नु भा’थ्यो, पाले खुबै यस्ता हुतीहाराले !”

गालीगलौजको पनि सीमा हुन्छ नि । कति गाली गर्नुपरेको होला ? आफ्नै श्रीमान्लाई पनि किन यतिका भाँती अपमान गर्नु परेको होला ? बाँचुन्जेल यस्तै यस्तै प्रहार मात्रै भइरहने हो भने त जिन्दगीको पूरा आयु कटाउन पनि गाह्रो पर्ने भो बा ! जीवनमा सबैभन्दा ठूलो अभिशाप इमानदार बन्नु नै हो त ? सोचमग्न भयो ऊ । छट्टुहरूले राज गरिरहेको समयमा ऊ इमानदार बन्न खोज्यो । पार्टीमा प्रतिबद्ध हुँदाहुँदै पनि नेताको झोला बोकेर हिँडेन । चुनावताका निकै खट्यो । आफ्नो नेतालाई जितायो पनि । चुनाव जितेपछि राजधानीतिर बस्न थालेका नेतालाई भेट्न जाने प्रयास गरेन उसले । शक्तिशाली मान्छेको पछाडि लाग्दा कतै चाकरीको बात लाग्छ कि भनेर डराउँछ ऊ ।

कतिपय उसका साथीहरूले सोझो औँलाले घिउ आउँदैन भनेर अर्ती उपदेश पनि दिने गर्छन् । त्यस्ता साथीहरूको चिन्तनगत दरिद्रतामा ऊ असाध्यै चिन्तित बन्छ । ऊ अहिलेसम्म बाङ्गो भएको छैन बरु अझ बढी इमानदार बन्ने प्रयत्न गर्छ । व्यक्तिगत रूपमा आर्थिक लाभ नहुने सङ्घसंस्थामा क्रियाशील भई सेवा गर्न चाहन्छ । आर्थिक लाभको पदमा बस्ने मान्छेहरूमा नैतिकता ज्यादै कम भएको देखेर उसले त्यस्ता पदहरूप्रति पनि आफूलाई योग्य ठान्दैन । बेला बेलामा सम्झन्छ ऊ हिन्दीको एउटा उखान– ‘कौन पुछेगा खेसरीका दाल !’

बाहिरफेर समय अलि बढी दिन्छ । साहित्यिक, सामाजिक सङ्घसंस्थाहरूमा आफूलाई सक्रिय बनाउँछ । प्रत्येक बिदाका दिनमा कार्यक्रम छ भन्दै डेराबाट निस्कन्छ । आर्थिक लाभ हुने सङ्घसंस्थाको नेतृत्व गरेका बलराज र जेदुनाथ प्रवृत्तिले विशुद्ध साहित्यिक–सामाजिक संस्थाहरूको नेतृत्वमाथि कब्जा जमाएकामा ऊ भित्रैदेखि दुःखी छ । आफैले स्थापना गरेका संस्थाहरूमा पनि उसको मानमनितो हुँदैन । यद्यपि उसले मानसम्मान तथा पुरस्कारको त्यति वास्ता गर्दैन । पुरस्कारद्वारा सिर्जना अझ परिष्कृत हुन्छ भन्ने कुरामा पनि विश्वास गर्दैन । कार्यक्रम अवधिभर अरूका पाङ न पुच्छरका कुराहरू सुन्छ । आफू त्यत्ति बढी बोल्दैन । बैठक तथा अन्य कार्यक्रमहरूको अन्तिम समयसम्म बस्छ ऊ । साँझ पर्न थालेपछि अब त स्वास्नीको रिस साम्य भयो कि भनी डेरामा फर्कन्छ ।

ढोका खोलेर भित्र पस्न पाएकै हुँदैन छोरीलाई सम्बोधन गरेर पठाइएका तीरहरू उसका कानबाट पस्छन्– “ऊ हेर् त नानी ! दिनभर कहाँ कहाँ अन्भरिएर खाने बेलामा टुप्लुक्क आइपुगेको !”