फ्रान्सेली साहित्यकार रेने एफ.ए. सली-प्रधोम १६ मे १८३९ का दिन फ्रान्सको राजधानी प्यारिसको एउटा पसलेको घरमा जन्मेका थिए । उनी आफ्नी आमाका एकमात्र सन्तान थिए । इञ्जीनियरिङ् पढेका प्रुधोम पछि दर्शनशास्त्रको अध्ययन गर्न थाले र दार्शनिक कविता लेख्ने कवि र नियात्राकार भए । २६ वर्षको उमेरमा प्रकाशित उनको पहिलो कविता सङ्ग्रह स्ट्यान्जाज एण्ड पोएम्स (Stanzas and Poems, 1865)मा उनका अत्यन्त चर्चित कविता समावेश छन् । यसै पुस्तकबाट उनी चर्चीत हुन पुगे । उनको लेखन पहिलो सङ्ग्रहको भावनात्मक शैलीबाट वैयक्तिक शैलीमा विस्तारै रूपान्तरण हुँदै गएको देखिन्छ ।

सन् १८८१ मा उनी फ्रान्सेली प्रज्ञा प्रतिष्ठानका सदस्य भए । सन् १९०१ मा नोबेल पुरस्कार स्थापना भएको थियो । त्यही साल साहित्यतर्फको नोबेल पुरस्कार पाउने पहिलो व्यक्ति प्रुधोम भए । पुरस्कार प्रदान गर्दा उच्चस्तरको आदर्श, कलात्मक पूर्णता तथा मन र बौदिकताको अभूतपूर्व संयोग भएका काव्य सिर्जनाको विशेष मान्यताका रूपमा उनलाई यो पुरस्कार प्रदान गरिएको भनिएको छ ।

उनका कैयौँ कविताहरू अङ्ग्रेजीमा अनूदित छन् । ती मध्ये प्रमुख निम्नलिखित हुन्ः

१. परिक्षण (The Test), २. हृदय, शान्त हो (Heart, Be Silent), ३. आवाज (A Voice) ।

दार्शनिक कविताबाट साहित्यिक क्षेत्रमा देखा परेका कवि प्रुधोमले आफ्ना विभिन्न कवितामा न्याय, सुख, मानव ज्ञान र चेतनाको खोज गरेका छन् र दार्शनिक विश्लेषणद्वारा मानिसको हृदयलाई नै सबैथोक मानेका छन् ।

६ सेप्टेम्बर १९०७ का दिन फ्रान्समा उनको देहान्त भयो ।