येनले उठ्ता उठ्तै भन्यो, “भरमग्दुर गर्नुहुने नै छ, दस्तुरबमोजिमको लमी भागका साथै बिस टेल चाँदी पनि पाउनुहोला ।”

यूले भन्यो, “धन्दा नमान्नुहोस्, सकेसम्म गर्ने नै छु ।”

फर्केर घर आइपुग्नासाथ येन चुनले आफ्ना नोकरका हात भोलि टुङटिङ जान नाउखर्च भनी यूलाई पन्ध्र लेन्ट चाँदी पठाइदियो । त्यस रात पनि उसलाई पटक्कै निद्रा परेन । उसले मनमा कुरा खेलायो, “कथंकदाचित यूले आफ्ना लागेशक्ति गरेन र फर्केर नयाँ नयाँ बाधा आइपरेका कुरा मात्र गर्न आयो भने पठाएको के काम लाग्ला ? त्यहाँ पुगेर त्यसले कस्ता कुरा गर्दो रहेछ ? – सुन्न त्यसका साथै एउटा चलाख नोकर पनि लगाइदिनु बेस हो – राम्रो कुरो यही हुनेछ ।”

उज्यालो हुने बित्तिकै त्यसले सियाओ यी भन्ने आफ्नो नोकर ठिटोलाई डाकेर त्यसलाई यू चेनका साथ टुडटिङ टापु जान खटायो । सियाओ यीलाई यसरी पठाए पनि त्यसका मनमा शान्ति भने हुन सकेन । तसर्थ हत्तपत्त नुहाई धुवाइ गरी कपाल-सपाल कोरेर त्यो जोखना हेर्न नजिकैको एउटा देवालयमा गयो । धूपसुप बालीवरी त्यसले बडा भक्तिसाथ देवतालाई ढोग्यो । अनि त्यसले प्रश्न गर्ने शलाका राखेको भाँडो हल्लायो । भाँडाबाट खसेको शलाका टिपेर हेर्दा त्यो त्रिहत्तर सङ्ख्याको प्रश्नको जवाफ लेखिएको थियो –

                                               प्रतिज्ञा गरिन् जो बसी कुञ्जभित्र 

गएदेखि नै चुप लागी बसिन् ती ! 

                                             अझै भेट होला भनी आशा गर्छस् ? 

भताभुङ्ग तेरा सबै काम होलान् !

त्यति बुझ्न विद्वानै भइहाल्ने खाँचो थिएन – त्यसले राम्रै गरी त्यसको अर्थ बुझ्यो ।

“उछित्तो परोस् !” – भनी सराप्तै साहै बेमज्जा लागेको हुनाले बाहुला हल्लाउँदै ऊ ठुल्ठुला फट्का हाल्दै देवालयबाहिर निस्केर आयो ।

घर पुग्नासाथ एक ठाउँमा बसेर त्यसले परिस्थितिमाथि राम्ररी विचार गर्न थाल्यो ।

त्यसले अलि उदेक मानेर विचार गर्‍यो, “सारा काम कसरी भताभुङ्ग भइहाल्लान् त ? मेरा अनुहारले नामन्जुरै होला त ? रूपका दृष्टिले लोग्ने मानिस स्वास्नीमानिस जस्ता त पक्कै पनि हुन्नन् । लोग्ने मानिस छिः भन्न नपर्नेसम्म भए भइहाल्यो । त्यस काओले दोस्रो पान अन’ नै किन खोजिरहनुपर्‍यो ?”

हातमा एउटा ऐन लिएर त्यो धेरै बेरसम्म त्यसमा आफ्नो अनुहार हेरिरह्यो । अलि बेरमै त्यसलाई आफ्नो अनुहार आफैँ हेरि नसक्नु लाग्यो । ऐना त्यहीँ टेबुलमा पछारेर त्यसले लामो सास फेर्‍यो । अनि धेरै बेरसम्म साहै हतास भई त्यो त्यहीँ बसिरह्यो ।

अब यू चेन र सियाओ यीका कुरातिर लागौँ । तिनीहरूले खियाउने तीन जना माझी भएको छिटो चालको एउटा नाउ बन्दोबस्त गरे । त्यस दिन हावासावा नचलेकोले झिल एकदमै शान्त थियो । माझीहरूले बेस्सरी खियाउँदा बहनाबाट चर्रचर्र आवाज निस्कन्थ्यो । दिउँसो दुई बजेसम्म ती पश्चिमी टुङटिङमा काओको घरअगाडिका घाटमा उत्रिहाले । सियाओ यीले परिचय पत्रिका लगी दिएर आयो । काओले तिनीहरूलाई तुरुन्तै डाक्न पठाएर आउने कारण सोध्यो । यूले – हामी लमी भई कुमारी काओलाई माग्न आएका हौँ भनी बतायो ।

काओले सोध्यो, “कसका लागि माग्न आउनुभएको हो ?”

“मेरै जिल्लामा बस्ने एक जना नातादार छन् । एक माना खाने कुनै दुःख छैन । धन सम्पत्तिमा लौ त भनूँ भने यहाँकै जोडा लाग्न सक्लान् । हुन त अहिले भर्खरै अठारका भए, तैपनि बेस विद्वान् छन् ।”

“हेर्दा कस्ता छन् नि ? नहेरी मैले कसैलाई त्यसै ‘हुन्छ’ भनी नहाल्ने कुरो थाहै होला ।”

सियाओ मेच पछिल्तिरै छ भन्ने थाहा भएकोले यू चेनले एकदमै झुटो बोल्नुपर्‍यो । त्यसले भन्यो, “रूपरङका कुरै सोध्नुपर्दैन, सबै किसिमले चौपट्टै राम्रा छन् । विद्वान् पनि खुबै छन् । चौध वर्षका उमेरमा प्रारम्भिक परीक्षा दिँदा परीक्षकहरूले उनलाई सूचीमा सबैभन्दा पहिला गरी राखेका हुन् । बाबु स्वर्गे भएकाले उनी यता केही वर्षदेखि शोकमै छन् । तसर्थ कुनै विद्यालयमा नाम लेखाएका छैनन्, स्थानीय जाँच पनि दिएका छैनन् । तर, उनका रचना हेर्ने जति सबै बुढापाका विद्वान्का रायमा प्रादेशिक र केन्द्रीय परीक्षा दिन उनी बिलकुलै लायक भइसकेका छन् । म कुनै लमी काम गरी हिँड्ने मानिस होइन । यहाँका सम्मानित जिल्लामा कहिलेकाहीँ आएर फलफूल किन्ने गरेको हुँदा यहाँले आफ्नी रूप र गुणवती कन्याका लागि योग्य वर खोज्नुभएको छ भन्ने सुनेको हुँ । तिनका लागि त मेरा यी सम्बन्धी नै असल होलान् भन्ने झट्ट मनमा लागिहालेको हुनाले मात्र यहाँलाई दुःख दिन आउने आँट गरेँ ।”
काओ त्सानले खुसी हुँदै भन्यो, “तपाईँका सम्बन्धी देख्ता राम्रा र बुद्धिमानै छन् भने नामन्जुर किन गर्दथेँ ? तर, आफैले नहेरी चित्त बुझ्दैन । उनलाई एक पटक मेरै झुपडीमा ल्याउनुभयो भने अरू कुरा त मिलिहाल्ला ।”

यूले भन्यो, “मैले फूल बुट्टा भरेर कुरा गरेको होइन – पछि श्रीमान्ले आफै देखिहाल्नुहोला । मेरा यी सम्बन्धी केटा दिनरात पढ्न लेख्नमै लागिरहने भएकाले यहाँ आउन के कसो गर्लान् – भन्न सक्तिनँ । आइहाल्न मन्जुर पार्न सकै र बिहेको कामकुरो पनि मिलिहाल्यो भने त बेसै भयो, कथंकदाचित् कुरो मिलेन र उनले त्यसै फर्की जानुपर्‍यो भने साहै लाज मर्नु हुनेछ । उनले मैसित नराम्रो मान्ने छन् ।”

काओले भन्यो, “तपाईँले भनेअनुसार ती त्यस्ता लायक छन् भने कुरो नमिल्ने खण्डै छैन । मैले भाग्यका भरमा कुनै कुरा छोड्ने गरेको छैन – एक पटक नहेरी त हुँदै भएन । यहाँसम्म आउन उनी अप्ठेरो मान्छन् भने बरु मै तपाईँकहाँ गइदिउँला । अपर्झट त्यस्तै संयोग पर्न गएर भेट भएको जस्तो पारी आफ्नै घरमा चिनाइदिनुभए भइहाल्यो । त्यसो गर्न कसो होला ?”

वुचियाङ पुगी हेर्दा बुढो काओले येन चुनलाई त्यस्तो कुरूप देख्यो भने फसादै पर्न जाला भन्ने विचारले यू चेन झस्क्यो ।

त्यसले हत्तपत्त भनिहाल्यो, “नहेरी हुँदै हुन्न भन्नुहुन्छ भने, भइहाल्यो – ढोग भेट गराउन उनलाई यही ल्याउँला । श्रीमान्लाई त्यति टाढा लगेर किन दुःख दिऊँ ?”

यति भनेर त्यसले गइहाल्न खोज्यो । तर, काओले जान दिएन, र खानेकुरा छिटै तयार पार्न अह्राई पठायो । दुवै जनाले बसी रक्सी खाँदा खाँदै राति नौ बज्ने वेला भइसकेकाले काओ त्सानले यूलाई त्यस रात त्यहीँ विश्राम गर्ने आग्रह गर्‍यो ।

यूले भन्यो, “गुन्टाहरू सबै नाउमै छोडेर आएका छौँ । भोलि सखारै हिँडिहाल्नुपर्दछ । तसर्थ बरु अहिल्यै बिदा भइहाल्छु । आफ्ना सम्बन्धीलाई दर्शन गराउन ल्याउँदा यहाँको आतिथ्य सत्कारलाई भार पार्नु त छँदै छ ।”