‘आत्मीय जनको माझमा चाडबाड मनाउन पाउनु साँच्ची नै आनन्ददायी हुन्छ’, सिल्भिया क्र्याम्पले छिमेकी सिड्नी टाइलरलाई भनिन् । (सत्तरी लागेका यी दुवै छिमेकी आफ्नो एक्लो वार्धक्यमा सकेजति रमाएका थिए ।)
‘छोरीहरू आउँछन् र सँगै तिनीहरूका प्रेमीहरू पनि (अचेल बिहे कसले पो गर्छ र हैन ?) उनीहरूलाई ढङ्गको क्रिसमसको सबै जोरजाम गर्न के भ्याउँथे र तिनीहरू ?’
‘त्यही त’, सिड्नीले भने, ‘म पनि आफ्ना छोरीहरूकहाँ जान्छु । सधैँ जस्तै एउटीकोमा चार दिन बिताउँछु । ऊ आफै भ्याउँदिन, मैले यहाँबाट गएर सबै व्यवस्था गरिदिनुपर्छ, के गर्नु ? तिनीहरूलाई सास फेर्ने फुर्सद छैन । त्यसपछि अर्कीकहाँ पनि यसो छिर्नु छ । एक दुई रात तिनका बच्चाहरूलाई हेरिदिन्छु भनेको छु । उसलाई एक दुई दिनको भए पनि आराम मिलोस् न ”
‘कुरा ठिकै हो । यस्तै बेलामा त परिवार र आफन्त चाहिने हो नि । ल, अब म पनि जान्छु । केही किनमेल गर्नु छ, ठ्याम्मै सात जनाको लागि । फेरि तिनीहरूलाई सबै कुरा भनेजस्तो चाहिन्छ, जस्तोजस्तो मन पराउँदैनन् । निकै नाटीकुटी गर्छन् मेरा छोरीहरू । ल त सिड्नी, गएँ है।”
‘पोलेको साल्मन माछा, फलफूल, खाने मसलाहरू, स्टिल्टन (लेदो चीजको खाने परिकार) अनि बास आउने चकलेटको पेय सबै ताजा हेरेर ल्याउनू हे आमा ! बजारिया खानेकुरा नपरोस् नि ! पैसाको चिन्ता नगर्नुस्, बरु त्यो सबै पछि मिलाउँला । पैसा त छ नि, समय नै छैन, के गर्ने ? तैपनि तपाईँलाई त क्रिसमसको तयारीमा खट्न रमाइलो लाग्छ नि, हैन ? अँ, हाँसको मासु बनाउनुस् है, टर्कीको चलन छैन अचेल । अनि मटरकोसा नल्याउनुहोला, त्यो पनि चलनमा छैन । गज्जबको मीठो बनाउनुस्, हामी त तपाईँकै भरमा छौँ नि । तपाईँ क्या मीठो खाना बनाउनुहुन्छ ।’
सिल्भियाकी एउटी छोरी डिपार्टमेन्ट स्टोरमा छालाका कोट आपूर्ति गर्थिन् । अकी फूल उत्पादक थिइन्-थुप्रै फूल पसलकी मालिक्नी । तेस्रीको चाहिँ रोजगारदाता संस्था थियो । तिनीहरू वर्षमा हजारौँ पाउन्ड कमाउँथे तर आफ्नै थुप्रै सम्पत्ति बन्धकी राखेका थिए, अनि त्यसमाथि थुप्रै थुप्रै क्रेडिट कार्ड, उच्च रक्तचाप र चिकित्सकहरूबाट कहिल्यै छुटकारा पाउँदैनथे । त्यसैले होला, उनीहरू खाना पकाउन पटक्कै सक्तैनथे । त्यसैले उनीहरू सधैजसो रेस्टुराँमा नै खान्थे, कति त खाँदैखाँदैनथे । आफ्नी आमालाई उनीहरू असाध्यै माया गर्थे । अहिले पनि कहिलेकाहीँ मैलो लुगा लिएर आमालाई धुन लगाउन भनेर घर आइपुग्थे अनि क्रिसमसमा त जहिल्यै पनि आउँथे । परम्परागत मनाइने क्रिसमसमा नक्कल पार्दै चिटिक्क भएर आइपुग्थे । आउँदा माइग्रेन (टाउको दुख्ने रोग), उच्च रक्तचाप अनि क्रेडिट कार्ड र यात्राथकानको बोझमा हरघडी रहने प्रेमीहरू सँगै ल्याउँथे ।
‘पेय पदार्थको चिन्तै नगर्नुस् न आमा ! केके चाहिन्छ, हामी सबै पठाइदिन्छौँ । त्यो विषयमा तपाईँलाई त्यति थाहा पनि छैन क्या ! फेरि केही गडबड गर्नुहोला नि ! खालि खानाको मात्रै विचार गरिदिनुस् । बिहान जलपानलाई ‘पेरियर’ र ‘क्रोसान्ट्स’ (खानेकुराको परिकार) नबिर्सिनु नि । अनि तपाईँले बनाउने मीठो घरेलु सूपचाहिँ बेलुकाको लागि होस् । क्रिसमसका लागि कटुस, एउटा छ फुटे रूख र पटका पनि चाहिन्छ है !’
सिल्भिया क्र्याम्प बजार गइन्-एक पटक होइन, दुई पटक होइन, तीन तीन पटक गइन् किनमेल गर्न झोला लिएर । सामान, सूचीमा आँखा गाड्दै मासु पसल दूध पसलदेखि किराना पसलसम्म धक्कमधक्का, ठेलमठेल गर्दै । अनि फर्किने लाममा एकोहोरो उभिँदै। ठेला तान्ने घोडाले झैँ पसिना चुहाउँदै, उकालो उक्लिँदै घर पुगिन् । यति गर्दासम्म छिमेकी सिड्नी टाइलरसँग उनको धेरै पटक भेट हुन भ्यायो। सारै असल छन् सिड्नी। बिचरा पत्नीलाई सम्झेर न्यास्रिँदै बसेका हुन्छन् । केटीहरूले अझ सम्झेपिच्छे फोन त गर्ने नै भए । म्यारन ग्लेसेज (चास्नीमा डुबाएको कटुस क्यान्डी) र केक त आमाले बनाइहाल्नुहुन्छ हैन ? एउटी छोरीले गँगटाको परिकार बनाउने नयाँ तरिका सुनेकी रहिछ, उसले फर्माई, ‘आमा’ पहिला कहिल्यै नबनाएकाले पनि बनाउन सक्ने किसिमको छ, बनाउँदा रमाइलो हुन्छ ।’ अर्कीले फेरि आफ्नो नयाँ प्रेमी शाकाहारी हो भन्ने कुरा अघि भन्न बिर्सिछे, केही साधारण शाकाहारी परिकार पनिर अथवा आलुदम भए हुन्छ । यसरी पालैपालो फोन आइरह्यो । तिनीहरूले कुन ठाउँबाट फोन गरेनन् होला ? अफिस, रेस्टुराँ, विमानस्थल, भ्याई नभ्याई थियो तिनीहरूलाई । एक मिनेट पनि फुर्सद छैन भन्थे । ‘सुन्तलाको रस, म्युसली, दही, गहुँका रोटीहरू पनि तयार गरिदिनुस् न ल ! हामी त सारै थाक्यौँ, आउने बित्तिकै घुप्लुक्कै ढल्ने अवस्था छ । अनि आमा । बाक्सिङ डे। क्रिसमसपछिको पहिलो सप्ताहको सुरुमा मनाइने उत्सव) का लागि ‘सिजर सलाद’ बनाइदिनुहुन्छ ? हाँसको मासुमा हाल्न अङ्गुर, किसमिस, काजु, मरमसला छ कि छैन ?”
पटकैपिच्छेको फोनमा सिल्भिया हिँडेरै पसल पुगिन् । फ्रिजमा ठाउँ बाँकी थिएन । दराज कुनै खाली थिएनन् । उनले घर सफा गरिन्, ओछ्यान मिलाइन् । बिचबिचमा सँगै घरका सज्जन छिमेकी सिड्नीसँग बात पनि मार्दै गरिन् । यसबिचमा छोरीहरूले फोन गर्न भ्याइसके-कति अधैर्य । उनीहरूको रक्तचाप फेरि बढ्यो । नयाँ केटा साथी खोज्नुपर्ला भन्थे, ‘आमा । हामीलाई परिवारसँग बसेर साधारण क्रिसमस मनाउनु छ । के गर्नु, कहिले क्रिसमस आउला जस्तो भइसक्यो ।’
क्रिसमसको अघिल्लो साँझ सिल्भियाले खाना पकाइन् । फ्रिजबाट हाँसको परिकार झिकेर झ्यालको सँघारमा राखिन् । टेबलमा आलु, टुसा, प्याज, सुन्तला, कागती, थलथले, चिनी सबै चीज ठिक्क पारेर सजाइन् । त्यसपछि माथि उक्लिन् । त्यसको लगत्तै पछि एक हातमा सुटकेस, अर्को हातमा आफैले लेखेको चिठी बोक्तै ओर्लिन् । चिठी भान्साको टेबलमा राखिन् । चिठीमा लेखिएको थियो-‘सूप बनाउन तरकारी घण्टौँ लगाएर काट्नू । केक बनाउनलाई मिसाएको सामान नथाकुन्जेल फिट्नू । सिजर सलाद र गँगटाको परिकार बनाउन चाहिने सामान अनि मरमसला र भोजनान्तको मिष्टान्न फ्रिजभित्र छन् ।’
सिल्भिया ठुलो कोठामा गइन् । मदिरा समाजले पठाएको ‘स्यान्डन स्याम्पेन’ र ‘ला टुर कार्नेट’ (मदिराका किसिम) झिकिन् । फेरि एक छिन सोचेर ‘ग्लेनफिडिच’को सिसी पनि झिकिन् । त्यसपछि उनले कोट लगाइन्, झोलामा मदिरा समाजका सिसीहरू बोकिन्, सुटकेस समातिन् र बगैँचा हुँदै ट्याक्सी भएको ठाउँमा पुगिन् । त्यो ट्याक्सीमा सिड्नी टाइलर हातमा ‘टेनरिफ’ (ठाउँको नाम) जाने दुई हवाई टिकट अनि अनुहारमा हार्दिक मुस्कान बोकेर उनैलाई पर्खिरहेका थिए ।
पेनिलोप लाइभ्ली
इजिप्ट
जन्म : सन् १९३३, मार्च १७, इजिप्टको कायरोमा । १२ वर्षको उमेरमा इङ्गल्यान्डमा गई सेन्ट आयन्स कलेजबाट सन् १९५६ मा ग्र्याजुएसन र स्थायी बसोबास । फेलो अफ रोयल सोसाइटी अफ लिटरेचर प्राप्त पेनिलोपका कृतिहरू एस्टरकोट बाल पुस्तक (सन् १९७०), सन् १९७० को मध्यतिर ‘द रोड टु लिचफिल्ड’बाट प्रौढ साहित्यमा प्रवेश । मुन टाइगर सन् १९८४ को बुकर पुरस्कार विजेता कृति । ट्रेजर्स अफ टाइम, जजमेन्ट डे, परफेक्ट ह्यापिनेस, वियोन्ड द ब्लु माउन्टेन्स जस्ता कृति प्रकाशित ।
हाल : इल्यान्डमा पूर्णकालीन लेखिका ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।