म त भन्छु- रात बिछाएको एउटा ठूलो कार्पेट हो, त्यसलाई विस्तारै बेरौँ, सुखको बिहान झुल्किन्छ । नभुलौं, कालो-कालो रातको पेटबाट नै सुनको बिहानी जन्मन्छ । विरोध नै जीवन हो । मन झन् दुख्छ । किन दुख्छ ? त्यो पनि भन्न गाह्रो छ । दुःख स्वयं गाह्रो । मृत्यु सबभन्दा ठूलो दुःख ठानिन्छ, बाँच्नेहरू यसमा विश्वास गर्छन् । दुःख अदृश्य र सूक्ष्म हुन्छ, जुन वस्तु जति सूक्ष्म हुन्छ त्यसको बल पनि उत्ति नै बढी हुन्छ । बिजुलीको तेजगतिले दुःखको तीव्रतालाई सम्झिन सकिन्छ । दुःख सचेतनासित तालमेल राख्छ र त्यो छिटै संवेद्य वस्तु बन्छ ।
विचारको अर्को नाम दुःख हो । विचार प्रारम्भ हुँदैमा दुःखको अनुभूति बढ्न थाल्दछ । विचारका परमाणु बिजुलीभन्दा पनि सूक्ष्म र बलवान् हुन्छन् । विचार छिटै टाढा फ्याँक्न सकिन्छ । दुःख सोच्दा टाढा र नजिकको भनी छुट्टयाएर अनुभव गरिँदैन । छोरोको मृत्युले टाढा नजिक जहाँ रहे पनि बाबुआमाको मन खान्छ ।
मनको तार दुःखको चुटाइले बढी रन्किन्छ । तातेर खस्छ । सुखको विचारले मात्र होइन, दुःख चपाउँदा पनि आनन्द मिल्दो रहेछ, अन्यथा कारुणिक चित्र, कथा, नाटक आदिमा मानव-मनोवृत्ति बिलकुलै लाग्न नपर्ने, तर लाग्छ । विचारको कम्पनबाट प्रभावको आगो पैदा हुन्छ । नराम्रो विचारले नराम्रो प्रभाव पार्छ, दुःख नचिन्दा पनि दुःख हुन्छ, दुःख चिन्दा पनि दुःख हुन्छ । कस्तो दुःख ! दुःखविनाको क्षण मानिसलाई मिल्न गाह्रो छ । यसैले दुःख बाणजस्तै मानिसलाई लाग्छ । हृदयमा त्यसले ठूलो असर पार्छ । यो वेधी हो ।
दुःख अध्यात्म पनि हो । हामीले विचारलाई उचित मार्गमा चलाउन जान्यौँ भने मात्र दुःखमुक्ति या आनन्दमय जीवन बिताउन सक्छौँ । साँच्चै, उत्तम विचारमा उत्तम जीवन छ । जान्नेहरू भन्छन् ‘अपवित्र विचारबाट बच, आवश्यकतालाई यथाशक्य घटाऊ, ईर्ष्या ओठमा नराख, असत्यमा नाचेर आफूलाई बहादुर साबित नगर, एक दिन मिथ्याको बारुद पड्कन्छ, तिमी ध्वस्त हुन्छौँ ।’ यस उस्तै शिव सङ्कल्प दुःखका विकारबाट सजिलै बचाउन सक्ने सामर्थ्य राख्छन् ।
विचारका दृढतामा अत्यन्त ठूलो तेज रहन्छ । शान्ति भएमा धेरै आयु बढ्छ, अन्यथा छिटै भाँचिन्छ । विचार अनन्त छ । चिकित्सकको निरोगिताको प्रमाणपत्र एकलकाँटे र बाह्य जीवनको रूप हो । कसैलाई पनि विचारद्वारा आघात पुऱ्याउन सकिन्छ अनि मर्मान्त पीडा । त्यसैले नराम्रो विचार नगर्नुमा हित छ । दुःख आन्तरिक तत्त्व भएकोले दुःख पिएर आनन्दको नयाँ सिर्जना गर्न सकिन्छ । त के हामी दुःखी छैनौँ ? यसरी दुःख आधिभौतिक सत्य पनि हो । दुःखको विचारभाव दुःख होइन, सुखको विचारमा पनि दुःख मिल्छ । ‘इच्छा स्वयं दुःखको मूल हेतु हो ।’
म विचारमा एकैचोटि ओहर्ले । धारामा पानी आएन आज, पानीको छङछङ आवाज नसुन्दा बिरसिलो मलाई भएको छ । पूर्वको पहिलो झुल्का झन् उकासिँदै चर्कंदै कोठामा पसिरहेको छ । त्यो पनि अहिले त पोल्न खोज्छ । भान्सामा भाँडाको स्वर सुनिन्छ । जीवन धान्नेहरू मेरो घरको अगाडिपट्टिको बाटोमा हिँडिरहेका छन् । हावा नभएर गर्मी आफैँ गम्म छ । आजभोलि मन ठीक छैन, द्वन्द्व र द्विविधा दुवै पलाएका छन् मनभरि ।
भिक्षुको ‘आगत’ अतीतजस्तो लाग्यो । मन परेको मेरो लेखक ‘लामिछाने’ बितेको पनि चार ग्रीष्म भयो । कसैलाई ‘बित्नु’ पनि एउटा समस्या । मृत्यु कति मीठो अदृश्य र अगोचर स्वप्न । हाम्रा ‘शङ्कर’ यसैमा पल्टे, अब शङ्कर रहेनन् । यो भाङको नशा हो; हामी शिव हौँ मसानका । उनको स्तुतिमा भएनभएका पनि लेखिए; भनिए । जिउँदामा खान नदिनेहरू जीवनदाता बनी जुर्मुराए, यस्तै छ हाम्रो जीवनको विचित्रता । उनको गोधूलि संसार हो यो । दुःखको इन्द्रेणी । मलाई उनी मन पर्छन् र उनको दुःख मलाई अति नै मन पर्थ्यो । तर…
जीउ मात्र कटकटी खाँदो रहेनछ, मन पनि । कता-कता के-के उकुसमुकुसी छ । मन बढेर एक चोटि तल खस्छ । के, कता भित्री पुर्जा खुस्केको छ । कहाँछेउ साह्नोपना बिउँझिँदो छ, म सम्झिन्नँ ।
हामी लेखक एक अवतारी पुरुष साहित्यका विधाअनुसार तुरुन्त भाव, भाषा र अभिनयको रङ्ग फेछौँ, आँखामा पानी पनि, आगो पनि उमाल्छौँ । हाम्रो तागत अथाह छ ।
जीवन अनेकथरी नाटकीय धाराको पहिचान मात्र होइन अभिशप्त यथार्थ । हाम्रो खल्तीभरि पैसा भएको दिनको अभिनय पूर्ण वीररसमा हुन्छ, नभएको दिन र नभरिएको पूर्ण पेट करुण रसमा हुन्छ । जीवन कति फितलो, कति खल्लो ! हँ, साहित्यमा ‘सत्य शिव सुन्दरम्’ यो अर्ती खोइ ? मेरो आँखा दिउँसै टल्ल टल्किन्छ । समस्याको सूत्रपात आँखा ।
शिरमाथिको मेरो कालो कपालमा सेता रौं पलाइसकेछन् । ऐना मैलो छ मेरो आजभोलि । खल्तीमा खर्च गर्ने उमेर छैन । बाटामा बूढाले चश्मा खोली ममाथि आँखा गाड्दा पो मेरो होश काँप्यो । तन्ना पुरानो भो मेरो, सिरानी साह्रो भो मेरो । म मेरै आँखा देख्दा तर्सिएँ । ए हजूर ! म मेरै आँखामा अटाइन नि, आँखासित दुःखको ठूलो तारतम्य बसेको हुन्छ। आँखा दुःख, दुःख आँखा । जासुसी गर्छ आत्माको यो ।
वसन्त आएपछि बकैनाको रूखमा हरिया पालुवा निस्कन्छन् । नाङ्गा रूखका कङ्कालहरूमा मासु भरिन्छ । गजबका दिन फक्रिन्छन् आजभोलि पनि । कसरी सुत्तसुत्त र फुत्तफुत्त उम्रन्छन् दिनहरू ? मेरा आँखामा पनि धेरै कुरा रोपिन्छन् र उम्रिन्छन् । आँखा बिझाउँछ, बाटाभरि धूलोको फागु छ, मन त्यसै-त्यसै घुम्छ । घरअगाडिको खाल्डो पुरिँदैन कहिले यसरी मेरो ।
मेरो घरअगाडि एउटा ठूलो घर छ। त्यसका धेरै कोठा-चोटा छन् । एउटा कलात्मक आँखीझ्याल छ । त्यसका विनापरेलीका थुप्रै आँखा छन् । विघ्नै गजबको हुन्छ घरको आँखा । कहिलेकाहीँ त्यसभित्र भने धेरै आँखा बज्छन्, बाहिर खस्छन् पनि, अझ कसैले टिप्न नपाउँदै ती आँखा मास्तिर उक्लिहाल्छन् । कस्ता ती चटकी आँखा ! ती राम्रा-राम्रा आँखा सुखका सपनी हुन सक्छन्, खस्ताखस्तै ती राम्राराम्रा आँखा विपनी पनि हुन सक्छन् । समयको भेल र मेल हो आँखा । आँखा हुँदैमा आँखा हुन्छ र ? त्यसो भए किन त दुःख दुख्ने गर्छ?
(अक्षरपछि अक्षर – २०४१, ‘निबन्ध सँगालो’बाट)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।