आफ्नो गाउँठाउँ सबैलाई प्यारो लाग्छ । नलागोस् पनि किन ? दिनहुँ हिँडेका, कुदेका, खेलेका सबै तस्बिरहरू आँखा अघि झल्किरहन्छन् । तर जब तिनै ठाउँलाई छाडेर एकदिन केही उन्नती गरौँ भनेर सहर झरिन्छ तब बाहिरबाट त सहर पनि झलमल लाग्न थाल्छ । फेरि पनि मनमा भने उही प्यारो मुनुवा गाउँकै माया ।

हो, मुनुवा गाउँ वास्तवमै प्रकृतिक सुन्दरताले भरिपूर्ण छ । जताततै मनै लोभ्याउने दृश्यहरू झलझली आउँन थाल्छन् । मानिसहरूको बस्ती भने खासै धेरै थिएन, सायद घरहरू पनि कति छन् भनेर औँला भाँचेर गन्न सकिन्थ्यो । त्यसैले पनि होला, गाउँमा गाउँलेहरू बीच माया र सद्भाव थियो । अब भने उही सुन्दर गाउँको एक परिवारमा प्रवेश गरौँ है त !

गाउँमा घरहरू थोरै भए जस्तै रमिलाका परिवारमा पनि सदस्यहरू कमै थिए- बुवा,आमा र रमिला । जेठी भने पनि कान्छी भने पनि, छोरो भने पनि छोरी भने पनि सन्तानको नाममा उही एउटी छोरी । त्यही पनि धेरै नै प्रर्थानाले जन्मिएकी ।

गाउँ जस्तै रमिला रूपले बहुतै सुन्दर थिइन् । गाउँमा सबैले बूढेसकालमा जन्मिएकी छोरी पनि कति राम्री भन्ने गर्छन् । रमिलाको शिरसुवास, पढाइलेखाइ सबै राम्रो थियो ।

रमिलाले गाउँमा सरकारी स्कुल मात्रै भएकाले १० सम्म त्यहीँ पढिन् । त्यसपछि ११ र १२ पढ्नका लागि कि त सहर आउनु पर्थ्यो कि त ढेड घण्टाको पैदल हिँड्नु पर्थ्यो । बुवाआमाकी एक्ली छोरी, त्यसै घर छाडेर कहाँ जान सक्थिन् र ? उनी उही पल्लो गाउँमा पढेरै १२ पनि पास गरिन्, राम्रो अंक ल्याएर । नतिजा आउने समयसम्म घरै बसेर बाआमाका साथ काममा सघाउने, कहिले कतै घुम्न जाने, कहिले घरमै सिलाइबुनाइ गरेर बस्ने गर्थिन् । तर बाआमासँगै उनलाई उनको सपना पनि पूरा गर्नु थियो । यदि कसैले ‘नानी तिमी भविष्यमा के बन्छौ ?’, भनी प्रश्न गर्दा, ‘म त बैँकमा काम गर्ने’ भन्थिन् । र ‘किन ?’, भन्दा ‘बैँकमा धेरै पैसा हुन्छ । अनि म बाआमालाई राम्रो घर बनाएर राख्ने हो’ भन्थिन् । साँच्चै नै अब भने रमिलाका ती दिन आउन धेरै टाढा थिएनन् ।

लक्ष्मी भट्टराई

बाँकी पढाइका लागि मन नभए तापनि रमिलालाई सहरको नौलो परिवेशले बोलायो । भित्री नै पर्यो । घरमा बाआमाका माया र ममताले हुर्किएकी प्यारी रमिलालाई केही समय उनलाई सहरका परिवेशमा बाँधिन निकै गार्हो पर्यो । यता घरमा बाआमाका लागि भने हर बिहान र बेलुका उही छोरीकै झल्को । रमिला पनि सहरमा राम्रो कलेजमा भर्ना भइन् । गाउँमा बसेर पढेका भए पनि उनको अंक राम्रो भएकाले भर्ना हुन गाह्रो परेन । घरबाट बाआमाले दिनहुँ फोन गरिरहन्थे । बाआमाको मन न हो, राम्रोसँग पढ्नु, राम्रोसँग खानु भनेर भनिरहन्थे ।

रमिला सहरसँग घुलमिल भइसकेकी थिइन् । उनका लागि नौलो सहर पुरानो भइसकेको थियो । साथीहरूका रमाइलो साथ, गुरूहरूको माया र प्रेरणा अनि बाआमाको साथले उनको जीवन राम्रैसँग चलिरहेको थियो । उनको मिल्ने साथी भनेका सिम्रन र महेश थिए । उनीहरू तीन जना भएपछि दिन गएको पत्तै हुन्थेन । रमिला एकदमै मिजासिली र लगनशील भएकाले उनलाई हर कोही साथी बनाएर नजिक हुन चाहन्थे । र सबैसँग हाँसेर बोल्ने उनको बानी थियो ।

दिनहुँको जसो रमिला उसैगरी कलेज गइन् तर त्यस दिन क्लासको माहोल बेग्लै थियो । एकदम हाँसो र मजाक गरिरहेका थिए क्लासमा । त्यस दिन महेश कलेज आएको थिएन र सिम्रन रमिलालाई हेर्दै बोर्डतिर हेर्न ईसारा गरी । जहाँ लेखिएको थियो- रमिला तिमी कति राम्री छौँ, तिमी कति लगनशील छौँ, तिमीमा खै कुन्नि त्यस्तो के जादु छ, म तिमीतिर मात्रै तानिन्छु हरबखत । म तिमीलाई नै सोचिरहन्छु ।’, अनि अन्तिममा तलपट्टि लेखिएको थियो, ‘उही तिम्रो पागल प्रेमी ।’

रमिलाले एकपटक जो भए पनि राम्रैसँग सम्झाउने मनशाय राख्छिन् । कलेजको अन्तिमतिर आएर नराम्रो बन्न र बनाउन उनलाई मन लाग्दैन ।

जब यी सब रमिलाले पढिन् तब ऊ न त क्लासभित्र छिर्न नै सकिन् न त बाहिर निस्किन नै । केही नबोली त्यही उभिरहिन् र सिम्रनले उसलाई लगेर बेन्चमा राखी । त्यस दिन ऊ कसैसँग पनि नबोली कोठामा फर्की । पूरा रात उसलाई निद्रा लागेन । बस्, सोचिरही, ‘त्यो व्यक्ति को होला जसले त्यसरी मेरो नाम लेखेर क्लासभरि मजाकको बाटो बनाइदियो ?’, सोच्दा सोच्दै ऊ बिहानपख निदाई । फोनमा आलराम लाएकाले निद्रा नपुगे पनि ऊ उठी । मन नभई नभई कलेज गई । जे भए पनि उसलाई आफ्नो पढाइ छाड्नु थिएन । त्यस दिन पनि फेरि उसैगरी लेखिएको थियो । ‘खै ! रमिला मेरो प्रेमको जवाफ ?’, भनेर ठूलो प्रश्नवाचक चिन्ह लगाइएको थियो । अब त अत्ति भयो भनेर रमिला क्लासको अघि गएर ‘यो कस्ले लेखेको हो ? हिम्मत छ भने मेरो अघि आइज’, भनेर एकदम रिसाएर क्लासबाट बाहिरिन् । उनका पछि महेश र सिम्रन पनि आउँछन् । उनीहरूले बरू हेड सरलाई भनौँ भन्छन् । तर रमिलाले एकपटक जो भए पनि राम्रैसँग सम्झाउने मनशाय राख्छिन् । कलेजको अन्तिमतिर आएर नराम्रो बन्न र बनाउन उनलाई मन लाग्दैन ।

तर भोलिपल्ट पनि उसैगरी लेखिएको हुन्छ, “रमिला, तिमी मेरो जिन्दगीको हिरा । तिमीबिना हुन्छ मेरो जिन्दगी अपुरा ।”

त्यस दिन भने त्यो पागल प्रेमी तोकिएको व्यक्ति आफैँ क्लासको अघि आएर, ‘रमिला त्यो व्यक्ति म नै हुँ । म तिमीलाई एकदम मन पराउँछु । के तिमी मेरी हुन्छौ ?’ भनी प्रशन गर्छ । तर रमिलालाई यो माया प्रेममा पर्नु र समय खेर फाल्नु मुर्खतासिवाय अरू केही हैन लाग्थ्यो र लाग्छ । हुन पनि कहाँ ऊ माया प्रेम गरौँला भनेर सहर आएकी थिइन् र ? उनका सपना छुट्टै छन् । उनले सबैको सामु भन्छिन्, ‘यो कदापि हुन सक्दैँन । मलाई यस्तो कुरामा अल्झेर बस्नु छैन ।’, उनी क्लासबाट बाहिर निस्किन्छिन् ।

अब भने उनलाई त्यही केटाको नम्बरबाट दिनहुँ फोन, मिसकल, मेसेजहरू आउँन थाल्छ । उनलाई उसले अत्ति टचर दिन थाल्छ । साँच्चै नै ऊ एक पागल प्रेमी नै थियो जसलाई न त आफ्नो भविष्यको प्रवाह थियो न त अरूको नै । रमिलाले कति सम्जाइन्, ‘कुनै पनि प्रेम करले गरिदैँन । यो प्रेम त आफैँ हुने हो । प्रेम सधैँ दोहोरो मात्रै राम्रो हुन्छ ।’

तर उसले यी कुराहरू केही पनि नबुजेझैँ गर्थ्यो । ऊ एकदम नै एकोहोरो पाराको थियो र भन्ने गर्थ्यो, ‘म तिमीलाई मेरै बनाउँछु नत्र अरूको पनि हुन दिन्नँ ।’

सपनाको नजिकै आइपुग्दा रमिलाको जीवनमा उसले यसरी बाटो छेकिदिएको थियो कि ऊ एकदम दोधारमा परिन् । प्रेम गरौँ भने ऊप्रति रमिलालाई कुनै चासो नै छैन । प्रेमका कुरा गर्दा सुरूमा बाआमालाई सम्जन्छिन् न कि अरू कोहीलाई । तर एकदिन रमिलाले सोच्दै नसोचेको घटना घट्यो, जुन घट्नाले उनको जिन्दगीको हिँड्ने बाटो नै मोडिदियो ।

कलेजको अन्तिम दिन, बिदाई कार्यक्रम थियो । सबै सजिएर आएका थिए । केटीहरू सारीमा र केटाहरू दौरासुरूवालमा । त्यसै त राम्री रमिला त्यस दिन वरेन्ज कलरको सारी र कालो ब्लाउजमा कुनै मोडलभन्दा कम देखिएकी थिइनन् । सबै अन्तिम दिन भनेर फोटोहरू खिच्नै व्यस्त थिए र उता भने त्यही केटा रमिलालाई मात्रै घुरिरहेको थियो तर उनले कुनै वास्ता गरिनन् । सिम्रनले नि भनिरहेकी थिई, ‘ओए, त्यो मान्छे ठीक छैन । त्यसबाट अल्लि होसियार हो है । त्यसले आफूले भनेको गरेरै छाड्छ । अल्लि विचार गरेस् ।’

ए, पानी हैन एसिड पो रहेछ । रमिला आत्थाथा र पोल्यो भन्दै चिच्याउँदै रोइकराई गर्न लागिन् । तर उक्त मान्छेको आँखामा आक्रोश कायमै थियो ।

कार्यक्रम सकियो । सबै ग्रुप फोटो लिएर बिदा भए । तर बाटोमा रमिलालाई भने त्यही पागल प्रेमीले पिछा गरिरहेको थियो । एकदम डरलाग्दो हेराइले हेरिरहेको थियो । कता कता रमिलाको मन आत्तिरहेको थियो । पछाडिबाट आएर एक्कासि केही नबोली पागल प्रेमीले रमिला माथि बोतलको पानी फल्यो । ए, पानी हैन एसिड पो रहेछ । रमिला आत्थाथा र पोल्यो भन्दै चिच्याउँदै रोइकराई गर्न लागिन् । तर उक्त मान्छेको आँखामा आक्रोश कायमै थियो । प्रेम गरिएकी रमिलाको पीडाले उसलाई किन छोएन ?

वरिपरिका मान्छेहरू मान्छेले पागल प्रेमीलाई समात्न भ्याए । र पुलीसलाई बुजाइदिए । तर यता रमिलाको तड्पाइ, चिच्चाहट, पीडा, सपना, चाहना, बाआमाका इच्छाहरू कसलाई बुजाउने ?

एक साधारण परिवारमा हुर्किएकी केटी जसका अनेकौँ सपनाहरू आँखाभरि नाँचिरहँदा आज स्वयं भने अस्पतालको शैय्यामा छट्पटिएर बस्नु परेको छ । आफैँले आफैँलाई हेर्न नसकेर ऐनादेखि डराउनु परेको छ । रमिला राम्री भएर यस्तो भएको हो ? राम्री हुनु नै एक रमिलाहरूको दोष हो ? के प्रेम गर्दिनँ भन्नुको पछाडि यति ठूलो सजाय भोग्नु पर्छ ? आफ्नो प्रेम आफैँ रोज्ने अधिकार रमिलाहरूलाई छैन ?

एक रमिला हैन यहाँ यस्ता हजारौँ रमिलाहरू अनेक किसिमका तेजावको रापमा तड्पिएर कष्ट झेल्नु परेको छ । आखिर कहिलेसम्म ?