ग्राण्ड महफिल, सिजन – २ को एघारौँ शृङ्खला मङ्सिर ३० गते शनिबार हुने भएको छ । गजलका शेरका पारखीहरू लाइभ गजल सुन्नका लागि ठिक २ बजे कालिकास्थानस्थित सर्वनाम थिएटर पुग्नु पर्नेछ जहाँ गजलकारत्रय सृष्टि सावित्रा, सीता यारी र सञ्जिता देउजाले आफ्ना शेरहरू स्रोतालाई सुम्पिने छन् ।
गजलकार तथा गजल अभियन्ता बाबु त्रिपाठीको प्रस्तुति रहने कार्यक्रममा मनिषा गौचनको नवीनतम पुस्तक प्रतिवहनमाथि चर्चासमेत गरिनेछ । महफिलको प्रत्यक्ष स्रोता हुनका लागि १५० रूपियाँको टिकट लिनुपर्नेछ ।
ग्राण्ड महफिलकाे मिडिया पाटनरका रूपमा साहित्यपोस्ट रहेकाे छ ।
गजल त हामी सर्वनामै पुगेर सुनिहाल्छौँ । साहित्यपोस्टले महफिलमा शेरहरू बोकेर आउने तीन गजलकारसँग छोटो संवाद गरेको छ । प्रस्तुत छ, गजलकारत्रय सृष्टि सावित्रा, सीता यारी र सञ्जिता देउजासँग गरिएको संवादको सम्पादित अंश;
===
१. ग्राण्ड महफिलमा गजलकारका रुपमा उभिन पाउनु हरेक गजलकारको सपना हुन्छ । तपाईंले चाहिँ यसलाई कसरी हेर्नुभएको छ ?
सृष्टि सावित्रा : कति जनाले सम्बन्धको आधारमा भन्छन्, कति जनाले सोर्सफोर्सको आधारले महफिल पुग्छन् भन्छन् । तर गजल महफिल एउटा यस्तो प्लेटफर्म हो जहाँ सिर्जनाको कदर हुन्छ । एउटा साधकले पाउने मञ्च हो यो, जहाँ राम्रो लेख्ने र राम्रो लेख्ने सम्भावना बोकेका तथा राम्रो लेखेर पनि ओझेलमा पर्नुभएकाहरूलाई खोजेर मञ्च प्रदान गरिन्छ । मलाई लाग्दैन, म यहाँसम्म आउन लायक छु । तर सम्झिनु भयो, मेरो पनि चाहना थियो, जो हरेक गजलकारलाई हुने गर्छ – म महफिल पुगौँ । अब आइपुगेको छु, सकेसम्म राम्रो गर्ने कोसिस रहनेछ । बाँकी स्रोता दर्शकको हातमा छ । यो मेरो लागि ठूलो अवसर हो, साथै चुनौती पनि । आभार व्यक्त गर्दछु सम्पूर्ण टिमप्रति ।
सीता यारीः म निकै खुसी छु । यो मिठो अवसरका लागि आयोजक र बाबू दाइप्रति हार्दिक आभार प्रकट गर्दछु ।
सञ्जिता देउजाः मौका २ वर्षअगाडि नै पाएको हो, महफिलमा आउने तर कोरोनाले गर्दा सफल हुन सकेन । बाबुजीले फेरि मौका दिनुभयो, धेरै धेरै धन्यवाद । धेरै खुशी लागेको छ ।
===
२. नेपालको परिप्रेक्ष्यमा, तपाईंले बुझेको गजल के हो ? व्यक्तिगत रूपमा, तपाईं किन गजल नै लेख्नुहुन्छ ?
सृष्टि सावित्रा : आयातित विधा मानिन्छ तर नेपालको आधारमा गजलका प्रमुख अङ्गहरूलाई समातेर नेपाली माटो सुहाउने, सबै स्रोता पाठकले बुझ्ने गरी मनछुने सिर्जना गर्नु नै मैले बुझेको नेपाली गजल हो । मेरो रुचि नेपाली गजल नै भएको हुनाले म आफ्नो आत्मसन्तुष्टिका लागि गजल लेख्ने गर्छु । विभिन्न सामाजिक सञ्जालहरूमार्फत सार्वजनिक गर्ने गर्छु । अरूलाई मन पर्छ-पर्दैन, फ्याँकिसकेपछि त्यो अरूको कुरा हो । आफूले देखेका, सुनेका, पढेका र भोगेका समाजका सङ्गती-विसङ्गतीविरुद्ध जनचेतनाका निमित्त पनि हुनसक्छ मेरो लेखाइ । मैले भने, सर्वप्रथम त म आफ्नो आत्मसन्तुष्टिका लागि लेख्छु, बाँकी सार्वजनिक भएपछि त्यो समाजका लागि पनि हुनसक्छ ।
सीता यारीः माध्यमिक कालमा सुरु भएको गजल विधा समसामयिक अवस्थामा सबैले मन पराएको प्रिय विधा हो । यसले समेट्न नसकेको कुनै क्षेत्र छैन । म यसैबाट प्रेम, आर्थिक, राजनैतिक, देशको बारेमा भन्न सक्छु ।
सञ्जिता देउजाः गजल सुन्न मन पराउने मान्छे, गहन र गहिरो भएकाले अझै मन पर्छ । व्यक्तिगत रूपमा भन्नु पर्दा, मैले सुरू सुरूमा गजल लेख्दा मेरा अग्रजहरूको हौसला पाएँ र अझै लेख्दै गएको हुँ ।
===
३. नेपाली साहित्यको परिप्रेक्ष्यमा गजल विधा विवादमा रहँदै आएको छ । तपाईंको विचारमा यो किन भइरहेको छ ? सामधान के हुन सक्ला ?
सृष्टि सावित्रा : मचाहिँ मेरो व्यक्तिगत विचारमा यसमा विवाद गर्ने कुरै देख्दिनँ । यो आयातित विधा हो । यसका विधिविधान अरू देशहरूमा त्यहाँको जनजीवन, माटो सुहाउँदो होला । तर हुबहु हाम्रो जनजीवन र माटो सुहाउँदो नहुन पनि सक्छ या सबैलाई त्यही लागू हुनुपर्छ भन्ने नलाग्न पनि सक्छ । तसर्थ, जसलाई जस्तो लेख्न आउँछ त्यस्तै लेखौँ । एकले अर्काको अस्तित्वलाई स्वीकार गर्न सके, सम्मान गर्न सके यो विवादको समाधान भएर जानेछ ।
सीता यारीः विवादमा रहेकोभन्दा पनि बनाइएको हो । विवाद गर्नुपर्ने आवश्यकता नै छैन । समयको विकासक्रमसँगै लेखन परिमार्जन हुन सक्छ । फराकिलो सोच राखेर मेरो गोरुको बाह्रै टक्का भन्ने नसोचेर अघि बढियो भने समाधान होला ।
===
४. पछिल्लो समयमा प्रविधिका माध्यमबाट गजल, कविता तथा समग्र साहित्यले नै आफ्नो क्षेत्र फराकिलो बनाउँदै गइरहेको देखिन्छ । तपाईँले चाहिँ गजलमार्फत के कसरी यसको (समाजिक सञ्जाल, युट्युब, टिकटक) को प्रयोग गरिरहनुभएको छ ?
सृष्टि सावित्रा : त्यही हो, जो सबैले प्रयोग गरिरहनुभएको छ । मैले प्रयोग गरेको पनि तिनै सञ्जालहरू हुन् । यदि आज फेसबुक, टिकटक र युट्युबजस्ता सञ्जाल नभएको भए म यसरी सबैसामु आइपुग्ने पनि थिइनँ । समय हुँदा, आफू फ्री हुँदा मैले पनि यिनै सञ्जालहरू प्रयोग गर्ने गरेको छु ।
सीता यारीः मैले फेसबुकमा राख्छु । आफूलाई निखार गर्ने माध्यम फेसबुक पनि हो भन्ने सोच्छु । कुनै कार्यक्रममा वाचन गरेका रचनाहरू युट्युबमा आयोजक राखेका छन् । खुसी छु । टिकटकबाट रचना राख्दा धेरै माया र साथ पाएँ । गजलले नै भाइरल बनायो । मिलियन भ्युज र अपेक्षा गरेकोभन्दा राम्रो लाइक देख्दा खुसी छु ।
सञ्जिता देउजाः मेरा आठवटा गजल सत्यराज आचार्य, स्वरूपराज आचार्य र दिपक थापा गाउनुभएको छ जुन युट्युबमा उपलब्ध छन् । सबैले सुनिदिनु होला ।
===
५. महफिलजस्ता ठुला मञ्चह?मा सुनिने गजकारह?लाई आरोप लाग्छ – उही गजल जहीँ पनि सुनाउँछन् । ग्राण्ड महफिलमा नयाँ गजलह? सुनाउँदै हुनुहुन्छ कि अन्य मञ्चह?मा सुनाइसकिएका उही पुरानै ?
सृष्टि सावित्रा : मलाई के लाग्छ भने, सिर्जना कहिले पुराना हुँदैनन्, हुन्छन् त मिति पुराना । अक्सर जो गजलकारलाई उहाँको जुन गजलले चिनायो, स्रोता दर्शकहरूले तिनै गजलको फर्माइस या योचाहिँ नछुटाउनुस है भनेर अगाडिदेखि नै अनुरोध आएको हुन्छ । लेख्न त धेरै जनाले हजारौँ गजल लेखिसक्नुभएको छ तर जुन मञ्चमा पुगिन्छ त्यहाँ पहिले सुनेकै स्रोता दर्शक नहुन पनि सक्नुहुन्छ । तसर्थ, ती गजल पस्किँदा पनि यो आरोप लागेको हुनसक्छ । कतिपय ठाउँमा गजलकार आफू स्वयंलाई पनि यो मेरो राम्रो गजल हो, योचाहिँ सुनाउँछु भन्ने पनि लागेर त्यस्तो हुनसक्छ ।
सीता यारीः लेखकहरू धीरताको प्रतीक हुनुपर्छ । रिसले भन्दा मायाले नयाँ गजल सुन्ने हुटहुटीमा लगाइएका आरोप हुन् भन्ने सोच्नुपर्छ । लगभग आधाभन्दा धेरै नयाँ रचनाहरू सुनाउने छु ।
सञ्जिता देउजाः नयाँ पुराना, दुबै ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।