कला अभिव्यक्तिको एक शसक्त माध्यम हो । दृश्यको सुन्दरता होस् वा भावना र विचारको, कलाले दृश्यद्वारा विचार र भावनालाई सौन्दर्यपूर्ण ढंगबाट सहजरुपमा समाजसामु प्रस्तुत गर्छ । कला भावना तथा अभिव्यक्तिको एक सशक्त माध्यम हो । विश्वकला परिवेशमा कलालाई (चित्रकला, मूर्तिकला) अन्य कलाभन्दा जेठो, कलात्मक, बौद्धिकस्तर र गहन रुपमा रुपाकृति भएको भावमा बुझिन्छ । चित्रकला विश्व भाषा हो । यसलाई बुझ्न र बुझाउन भाषाको आवश्यक पर्दैन । यो आफैँमा ध्वनि र भाषाको एकमुष्ठता हो, जसको दृश्यावलोकनबाटै वाह्य र अन्तरमननिहीत सुन्दरताको अभिव्यक्तिलाई विश्वका जुनसुकै कुनाका दर्शकलाई सहजै रुपमा बुझाउन सक्छ । कला धर्म, संस्कृति, संस्कार, प्रकृति, मनको भावना, प्रयोगवादी अवधारणा र विचारको उद्वेगसँग मुखरित हुन्छ ।

तीर्थ निरौराद्वारा निर्मित गणेशको चित्रकला

समष्टिगत रुपमा भन्नुपर्दा वा कला विधालाई वर्गीकरण गर्नुपर्दा, कलाका धेरै विधा पर्छन् । यस पंक्तिमा अन्य विधालाई थाँति राखेर चित्रकला विधालाई मात्र बुझ्ने प्रयत्न गरिएको छ । चित्रकला भनेको के हो ? रेखांकन विधिद्वारा मनको भावना र सुन्दरता पस्किएको कला नै चित्रकला हो । चित्रकलालाई विभिन्न समयका विद्वान वा कलाकारहरूले परिभाषा दिएका छन् । यद्यपि यस विधाप्रति सबैको सार भन्नु नै रेखाङ्कन माध्यमको सुन्दर अभिव्यञ्जना हो । यस विधा अर्थात् चित्रकलाभित्र विविध शैली र मान्यता विधमान छन् । यो विधाको इतिहासमा समयसमयमा विश्व प्रसिद्ध कलाकारहरुले थुप्रै मान्यता स्थापित गराएका छन् । उस बेलाका कलाकारहरूले प्रयोग गरेका चित्र, लय र शैलीहरू आज विश्वभरि छरिएका छन् । उनीहरूकै मान्यतालाई आज विश्वकलाको भूगोलले आत्मसात गरिरहेको छ । विश्वकलामा विकास भएका भाववाद, अभिव्यन्जनावाद, दादावाद, पपवाद लगायत पछिल्लो चरणमा विकास भएका प्रतिस्थापन कला र स्वर्मितवाद आजका कलाकारको हृदयमा विचरण भइरहेका आयाम हुन् । अहिले त झन् आआफ्ना देश, प्रकृति र स्वभाव अनुकूलका तथा भूगोल अनुरुपका आधुनिक कलाहरूको जन्म भइरहेको देखिन्छ । नेपालमा पनि आधुनिक कलाको सन्दर्भमा विश्व परिवेशमा छुट्टै पहिचान बन्दै गइरहेको छ । परम्परागत कलाबाट फड्को मारेको हाम्रो नेपाली कलामा आधुनिक कलाको लेप मनग्ये लागिसकेको छ । यस्ता कला गर्ने कलाकारहरूको पनि मनग्य जन्म भइरहेको छ ।

वास्तवमा भन्ने हो भने, नेपालमा अचेल देखापर्ने आधुनिक कलाको विकास अकस्मात भएको भने होइन । यो कलाले वर्तमान धरातलसम्म पाइला टेक्न निकै लामो समयचक्रहरू पार गर्नु परेको इतिहास छ । र, थुप्रै कलाकार जन्माउनु परेको परिघटना छ । नेपालमा आधुनिक कलाको छाप राणाकालीन समयदेखि नै देखापरेको हो, जुन काललाई कलाको सन्दर्भमा आधुनिक कला विकासको प्रस्थान वा उठान काल भनिन्छ । इतिहास पल्टाएर हेर्दा नेपाली परम्परागत लोकशैली र प्रविधिमा नेपाली समाज रमाइरहेको बेला पहिलो पल्ट जङ्गबहादुरसँग नेपालका भाजुमान चित्रकार बेलायत जाने मौका पाएको र त्यहाँको प्रचलित कलाशैली, प्रविधि तथा प्रवृत्ति नेपाल ल्याएको घटना देखिन्छ । यस इतिहासलाई आधिकारिक मान्दा नेपाली कलाक्षेत्र विदेशी रङमा मुछिने क्रम यहींबाट शुरु भएको हो भन्न पनि सकिन्छ । अर्को अर्थमा नेपाली कला भूगोलमा युरोपेली शैलीले हक जताउने क्रम यहींबाट शुरुभएको हो । त्यसो त भाजुमान भन्दा तीस वर्ष अघिदेखि नै राजमान भन्ने कलाकारले विदेशी शैलीनुरूप काम गरिसकेका थिए भन्ने पनि भनाइ छ । यस्तो ऐतिहासिक तथ्यको खुलासा केही वर्षअघि मात्र सार्वजनिक भएको हरिहर जोशी र इन्दु जोशीद्वयको अनुसन्धानमूलक पुस्तिका ‘द पायोनर आर्टिस्ट राजमान’ मा उल्लेख गरिएको छ । यदि यो खोजपुस्तिकाले लेखेजस्तै राजमानको समयलाई आधुनिकताको आरम्भकाल मान्ने हो भने नेपाली कलामा आधुनिकताको जग बसाल्ने काम भाजुमानकाल अघिदेखि नै बनिसकेको हो भन्नुपर्छ ।

सुरेन्द्र श्रेष्ठको एक चित्रकला

राणाकालीन युगमा कलामा कलाकार बखतमान, पूर्णमान, दीर्घमान आदि कलाकारहरूको वर्चस्व थियो । यिनीहरू त्यस समयका खारिएका र स्वअध्ययनबाटै पोख्त बनेका कलाकार थिए । यिनीहरूको कलामा घरेलु कलाप्रविधिको प्रयोग प्रचुर हुने गर्दथ्यो । उतिबेला बनेका राजा–महाराजा र राणाहरूका चित्र अझै पनि कतिपय संग्रहालयमा सुरक्षित देख्न सकिन्छ । यिनीहरू पछिको समयले औपचारिक कला शिक्षाबाट विद्वत भई आउने कलाकार युगलाई जन्म गराएको थियो । त्यसताका कलाकार चन्द्रमान मास्के, तेजबहादुर चित्रकार, कालिदास श्रेष्ठहरू, सिद्धिमुनि शाक्य आदि नामुद कलाकार नेपाली कलामा छाएका थिए । विधिवत कला शिक्षा हासिल गरेर नेपाली कलामा देखिनु नै यिनीहरूको महत्त्वपूर्ण र युगान्तकारी विशेषण थियो । भारतमा औपचारिक कला शिक्षा हासिल गरेर फर्केका तिनीहरूले नेपालमा भारतीय कलाप्रभाव र प्रयोगलाई सर्लक्कै नेपाली कलामा डो-याएर ल्याएका थिए । त्यसताका भारतीय भूमि आधुनिक कलाको सन्दर्भमा उँचो उठिसकेको पाइन्छ । त्यहाँका कलाकार र जनमानसले आधुनिक कलालाई पूर्णरूपमा आत्मसात गर्दै विश्वासको जग मजबुत बनाई सकेको अवस्थामा, भारतबाटै प्रशिक्षित भएर आएका नेपालका कलाकार भने राजा, राणा र साम्भ्रान्तहरूकै चित्र कोर्नमा धेरै कालसम्म व्यस्त बनिरहे । जसले गर्दा सम्भावना हुँदाहुँदै अन्तर्राष्ट्रिय जगत र छिमेकी मुलुक भारतमा पछिल्लो समयमा मौलाएको आधुनिक कलाको अभियानहरूलाई नेपाली कला पृष्ठभूमिले बेलैदेखि सिँगार्न पाएन । यस कारणले पनि आज विदेशी मुलुकहरूको तुलनामा आधुनिक कलाक्षेत्रको विकासमा हामी पछि परेका हौँ । राणाकालमा कलाकारले चित्र बनाई श्री ३ लाई खुसी पारे बकस मिल्थ्यो । र, विदेश जान र पढ्न जाने मौका मिल्थ्यो । यो लालसाले पनि त्यसताका विदेशमा चल्दै गरेको नौलो कला मान्यता अर्थात् आधुनिक कलाप्रतिको कलाकार चासोले वस्तुगत रूप लिन नसकेको हो । राणाकालको नेपाली कला भाजुमान र राजमानको कलाज्ञानसम्ममा नै सीमित घुमिरह्यो । यसले अन्तर्राष्ट्रिय ट्रेनले विकास गरेको आधुनिक कलालाई आत्मसात गर्ने चासो नै देखाएन । जसको फलस्वरूप हामी पछि पर्दै जानेक्रम त्यहीँदेखि शुरु भयो ।

लैनसिंह वाङ्देल

राणाकालको समाप्तिपश्चात् २००७ सालपछि मात्र नेपालमा आधुनिक कला भन्ने नामले अवतरण हुने मौका पाएको हो । अवतरणपश्चात युरोपेली र पाश्चात्य कलामा धेरै अगाडिदेखि नै स्थापित भैसकेका अभिव्यञ्जनावाद, प्रभाववाद, भाववाद, अमूर्तवाद, घनवाद तथा अन्य प्रयोगवादी अवधारणाहरूका काम नेपालमा देखा परे । यसअन्तर्गत मानवीय पीडा, द्वन्द्व, हिंसा र प्रयोगको फरक मत र भाव नेपाली कलामा झल्कन शुरू भए । यसै समयमा उदाएका थिए परिवर्तनकामी नयाँ अनुहार कलाकार गेहेन्द्रमान अमात्य, लैनसिंह बाङ्देल, उत्तम नेपाली, लक्ष्मण श्रेष्ठ, विजय थापा, ठाकुरप्रसाद मैनाली, उर्मिला गर्ग आदि । यिनीहरूको आगमनपश्चात नै नेपाली कला समाजमा अमूर्त र आधुनिक प्रयोगवादी शैलीको मन्थन र प्रयोग शुरु हुन थालेको हो ।

नेपालमा २०१६ सालदेखि अमूर्तकलाको लक्षण देखिएको भए पनि फ्रान्सको बसाई र अध्ययनबाट लैनसिंहले ०१८ सालमा यो मान्यताको कलालाई नेपाल भित्र्याएदेखि अन्तर्राष्ट्रिय मान्यतानुरुपको अमूर्तशैलीले नेपाली कलामा पदार्पण हुने मौका पाएको हो । यस काललाई नेपाली कला संसारमा अत्याधुनिकताको शुभारम्भको काल भनिन्छ । साथै यो कालका कलाले नेपाली समाजको कला बुझाईको क्रमिकतालाई भंग गराएको थियो । जसले गर्दा जनमानस बीचबाट कला बुझिँदैन भन्ने अभिव्यक्ति आउन थालेको थियो । यो प्रतिक्रिया आउनु स्वाभाविक पनि थियो, किनकि शुरुकालदेखि वस्तुवादी र यथार्थवादी कला हेर्ने बानी परेका नेपाली जनमानसमा एक्कासि अमूर्त शैली पस्कनु ठीक पनि थिएन । आधुनिक शैली वा अमूर्तशैलीलाई अघिल्ला वादको धारा क्रमशः जोड्दै आउनु पर्दथ्यो । तर हामीले त्यसो नगरी विदेशमा प्रचलित वादको अन्धानुकरण ग-यौं र यहींनेर चुक्यौं ।

लैनसिंह वाङ्देल

यद्यपि पछिल्ला समयहरूले क्रमशः यसलाई स्वीकार्दै गएको पनि देखियो । कलाको सौन्दर्य र भावलाई आत्मसात गर्दै भारत र पाश्चात्य मूलबाट कला अध्ययन गरेर आएका नेपाली कलाकारले कला गतिविधिहरू प्रशस्तै सञ्चालन गर्दै गए । र मानवीय कुण्ठा, विसंगति, विद्रोह र प्रयोगका बिम्बहरू नेपाली आधुनिक कलाको विशेषता बनाए । रामानन्द जोशी पानी रङको प्रभाव लिएर र डालीको प्रभावमा कलाकार शशी शाह घोडा लिएर मुम्बईबाट आए । ‘झ्वाम्म’ प्रकृति बर्साउन थाले मुम्बई पढेका कृष्ण मानन्धरले । प्रतीक र दैवीय आहाट सर्लक्क क्यानभासमा उतार्न थाले त्यहींका उत्पादन वत्सगोपाल वैद्य र इन्द्र प्रधानले । पाकिस्तान बनारसलगायत अन्य स्थानबाट अध्ययन सकेर आएका मनुजबाबु मिश्र, सुरेन्द्र भट्टराई, मदन चित्रकार, किरण मानन्धर, शशीकला तिवारी, राधेश्याम मुल्मी, रागिनी उपाध्यायलगायत धेरै कलाकारको प्रयत्नले नेपाली आधुनिक कलाको माहौल बन्यो, नेपालमा ।

अचेल नेपालमा युवा आधुनिक कलाकार धेरै बनिसकेका छन । राष्ट्रिय र अन्तर्राष्ट्रिय कला विश्वविधालयका कारण धेरै कलाकारको जन्म भइरहेको छ र उनीहरू कलाको नौलो प्रयोगमा निरन्तर लागिरहेका छन् । नेपाली जनमानसमा पनि यसप्रति धेरै जागरुकता छाइसकेको छ । अचेल आधुनिक वा समसामयिक कला सबैको प्यारो बनिसकेको छ ।