![](https://sahityapost.com/wp-content/uploads/2023/11/Rajib-Ja.jpg)
मध्यम वर्गीय परिवारको आफ्नै विशेषता हुन्छन् । यस परिवारको मुख्य आधार कृषि हुन्छ । त्यसपछि जोडिन आउँछन् – वैदेशिक रोजगार, स्वदेशी सानो नोकरी, जीवनयापनका लागि परम्परागत व्यवसाय । यस्तो परिवारमा एउटा समस्याको पूर्ण समाधान भइसकेको हुँदैन, अर्को टुप्लुक्क आइपुग्छ । भगवान्को कृपा हुन्छ । हौसला र धीरता हुन्छ । यस्ता परिवारमा समस्यासँग लड्ने अद्भुत शक्ति हुन्छ । यिनीहरू हरेक कदममा समस्यासँग लडिरहेका हुन्छन् । लड्दै गर्दा मुटुको एउटा कुनामा आशाको दियो पनि जलाइरहेका हुन्छन् – सन्तानले हरेक दुख:को निवारण गर्नेछन् । यस्ता परिवारले विभिन्न आयामिक समस्याहरूले जुझिरहेको हुन्छन् ।
व्यक्ति व्यक्ति मिलेर परिवार बन्छ । परिवारहरू मिलेर समाज । हरेक समाजमा फरक स्तर भएका परिवारहरू हुन्छन् । समाज चलाउनलाई एउटा साझा मापदण्ड बनाइएको हुन्छ । राम्रो आय भएकाले त मापदण्डभन्दा बढी नै गर्ने गर्छन् । मध्यमवर्गी परिवारलाई सामाजिक रीति-रिवाज, प्रथा-कुप्रथा, भोज-भतेरले सदैव पिरोलिरहेको हुन्छ । भद्रभलादमीले तोकेको मापदण्ड पूरा गरेन भने अवहेलनाको डर । जेनतेन पूरा गर्यो भने थोरबहुत उब्जाइरहेको खेत बेचिने डर । यस्तो डर हटाउन, समाजमा आफ्नो अस्तित्व खोजेन । समाजमा आफ्नो हैसियत कायम गर्न, लाखौँ बिदेसिएका छन् । हजारौँले शरीरको पसिनालाई गङ्गाजलझैँ पवित्र मानी दिनरात खटिएका छन् । यति दुःख गरेर आर्जन गर्ने गर्छन्, रुपैयाँ पैसा । यस्तो परिवारमा कमाउने कार्य सधैँ भइरहन्छन् । तर राम्रो बचत कहिले हुँदैन । छोरा पढाउँदा ऋण लिनुपर्ने, छोरीको बिहेमा खेत बेच्नु पर्ने, परिवार बिरामी हुँदा गाईबस्तु बेच्नु पर्ने, क्रिया-प्रक्रिया चलिरहन्छ निरन्तर ।
धर्म जीवन जिउने शैली हो । धर्म कसैको सापेक्ष चल्दैन, निरपेक्ष हुन्छ । धर्मले गरिब, मध्यम वर्गीयलाई पनि धनी बमोजिमकै बाँच्ने अधिकार दिएको हुन्छ । जुन तरिकाले कुव्याख्या गरिएको हुन्छ, त्यो केहीको लागि अभिश्राप बन्न पुग्छ । धर्म आफैमा गतिमान हुन्छ । तर जब यसलाई केही कथित समाजका भलादमीहरूले स्थिर बनाइदिन्छ। त्यसलाई कुसंस्कृति बनाएर लाद्ने गर्छन् । धनीलाई ठिक भएपनि गरिब, मध्यमवर्गीलाई हीनताबोध गराउँछ । उनीहरूको अस्तित्वमाथि नै पहिरो जान्छ । उनीहरूको सामाजिक पहिचान क्षय हुँदै जान्छ । सामाजद्वारा लादिएको कुसंस्कृतहरू यस्ता हुन्छन् । ऋण लिएर पनि, छोरीको बिहेमा समाजलाई एक छाक भोज खुवाइदिनु पर्ने । खेत बेचेर पनि पूर्वज पितृको श्राद्धमा भोज गर्नै पर्ने । गर्नै पर्छ र ? भन्ने पनि हुँदैन । तर समाजले भोज भतेर, बुहारीले लिएर आएको दाइजोको आधारमा हैसियत तौलने गर्छ ।
आश्चर्यको कुरा, हामीले छोराछोरीलाई कुन (सरकारी/निजी) स्कुल पढाउँछौँ । त्यसलाई पनि सामाजिक हैसियतको आधार बनाइएको हुन्छ । मध्यमवर्गीको मनमा हीनता भइरहेको हुन्छ कि आफ्नो सन्तानलाई प्राइभेट स्कुल पढाउन सकिन । फेरि छोराछोरीलाई प्राइभेटमा पढाउनेको रवाफै बेग्लै । परिवारका सदस्य बिरामी हुँदा कुन अस्पतालमा जँचाउन जान्छौँ । त्यो पनि सामाजिक सम्पन्नताको सूचक हो । यदि घरको वृद्ध वृद्धालाई आर्थिक अभाव कारण सरकारी अस्पतालमा उपचार गराउनु भयो भने हजुरको हैसियतमा अर्को फुलबुट्टा थपियो ।
एक हिसाबले हेर्ने हाे भने धनीहरूले आफ्ना सन्तानलाई सरकारी स्कुल पढाउनै छोडेका छन् । तर छात्रवृत्तिको लागि सर्टिफिकेट सरकारीकै राख्ने गर्छन् । आफन्त बिरामी हुँदा सरकारी अस्पताल जँचाउनै छोडेकाछ्न् । यस्ता कारणहरूले पनि सरकारी स्कुल र अस्पतालहरूको स्तर खस्किरहेका छन् । त्यहाँबाट गुणस्तरीय सेवा प्रवाह नहुँदा गरिब तथा मध्यम वर्गीय परिवारलाई पनि निजी स्कुल र अस्पतालमा चर्को मूल्य तिरेर सेवा लिन बाध्य गरेका छन् । उनीहरूले आर्जन गरेको पैसाको अधिकांश प्रतिशत यसरी खर्च हुने गर्छन् ।
कतै न कतै निःशुल्क शिक्षा, निःशुल्क स्वास्थ्य उपचार राज्यको दायित्व हो । होइन र ? यो राजनैतिक मुद्दा पनि हो । र यसको निराकरण राजनैतिक स्तरबाटै सम्भव छ । निःशुल्क स्वास्थ्य उपचार र निःशुल्क शिक्षा नारामा सीमित हुन्छ, चुनावी घोषणा पत्रलाई आकर्षक बनाउनको लागि बनाइएको बेहुली भित्र्याउन सजाइएको भाडाको गाडी जस्तै । समाज सञ्चालनको मुख्य: आयाम हो – राजनीति । राजनीतिको पहुँच उन्नतिको बाटो हो र यसले दबिएको आवाजलाई उठाउँछ । पहुँच बिना समस्या निराकरण हुँदैन । विभिन्न समयमा राजनीतिले गरेको सामाजिक परिवर्तनलाई लिन सकिन्छ । चाहे त्यो सती प्रथा होस्, कमैया प्रथा वा हलिया प्रथा । मध्यम वर्गीय परिवारलाई घर चलाउनबाट फुर्सद हुँदैन । उनीहरूका लागि राजनीति पहिलो, दोस्रो प्राथमिकतामा पनि पर्दैन । उनीहरूलाई चुनावमा भोट हाल्ने सँग मात्र मतलब हुन्छ । यी वर्ग राजनीतिक दलको भोटर बैङ्कको रूपमा मात्र सीमित हुन्छ । चुनाव लाग्दा भोट तान्न विभिन्न प्रलोभनका सिकार हुने गर्छन् । चुनाव पछि समस्या उस्तै ।
यस्ता समस्याहरूसँग सङ्घर्ष गरिरहेको दाम्पत्यले आफ्नो पहिचान ती समाजको सायामा खोजिरहेको हुन्छ । अनि यावत समस्याको समाधानको मात्र एक केन्द्र – सन्तान । जानी नजानी उनीहरूको महत्त्वाकाङ्क्षा सन्तानप्रति बढिरहेको हुन्छ । सन्तानले यी सबै खाले समस्या समाधान गर्छन् कुनै दिन । एउटा हिन्दी सिनेमाको गीत छ नि, “पापा केह्ते हे बडा नाम करेगा बेटा हमारा ऎसा काम करेगा…” ।
लेखको सुरुवातमै भनेको छु, मध्यम वर्गीय परिवारको आफ्नै विशेषता हुन्छ । केही यस्ता हुने गर्छन्, उनीहरू ओभर प्रोटेक्टिभ हुने गर्छन् । गर्मीमा आफू पङ्खा बिना सुत्छन् । सन्तानको कोठामा पङ्खा लगाउँछन् । आफू बिरामी हुँदा जँचाउन आलटाल गर्छन् । सन्तान बिरामी हुँदा तुरुन्तै अस्पताल दौडन्छन् । आफू एक छाक भोकै बसे पनि सन्तानलाई खाना खुवाउँछन् । सन्तान छिटै ठुलो होस् भन्ने आस गरिरहेको हुन्छन् । जति छिटो ठुला हुन्छन् त्यति छिटै आर्जन गर्छन् भन्ने विचार राख्छन् ।
आर्जन भनेको शिक्षा, पैसा, आफूले कमाउन नसकेको केही कथित भलादमीले निर्धारण गरेको सामाजिक हैसियत हो । आफू समाजमा कथित तल्लो स्तरीय काम गर्छन् । सन्तानलाई माथिल्लो स्तरमा पुगोस् भन्ने महत्त्वाकाङ्क्षा राख्छन् । यस्तो परिवारमा सधैँ लुगा कपडा किन्ने चलन हुँदैन । यसको लागि दसैँ, इद, वा घरमा कसैको बिहे कुर्नु पर्ने हुन्छ । कपडा किन्दा आफ्नो साइज भन्दा कम्तीमा एक साइज ठुलो किन्दिने गर्छन् । ताकि अलि उचाइ, मोटाइ बढ्दा पनि किन्न नपरोस् ।
सन्तानले आमाबुबा अगाडी नाइँ भन्ने चलन हुँदैन । कपडाको साइजमा मात्रै होइन । मध्यम वर्गीय परिवारमा सन्तानको स्कुल, करियर र बिहे पनि आमाबुबाले निर्धारण गर्ने गर्छन् । यस्तो सोचाइ उनीहरूको भोगाइबाट आएको हुन्छ । यसको यो अर्थ न लागोस् कि आमाबुवा निरङ्कुश हुन्छन् । उनीहरूलाई डर हुन्छ । सन्तानलाई कसैले गलत मार्ग निर्देशन नगरोस् ।
उनीहरूले देखेको हुन्छन्, सामाजिक हैसियत बढी भएकाको छोराछोरीले कुन करियर अङ्गालेको छ । कस्तो खन्दानमा बिहे गरेको छ । समाजमा पैसा मात्र हैन पेसा अनुसारको पनि हैसियत तोकिएको हुन्छ । यसर्थ आफूले भोगेको अवहेलना मेरो सन्तानले नभोगोस् भनेर सचेत हुने गर्दछन् । आफूले समाजमा नपाएको स्थानमा मेरो सन्तान विराजमान होस् भन्ने चाहन्छन् ।
भनिन्छ पनि कि तपाईँलाई आफूभन्दा पनि माथि स्थानमा देख्ने कोही हुन्छन् भने त्यो केवल तपाईँको आमाबुबा हो ।
![पोस्ट पेज – लेखको तल 1st (Banner Ad)](https://sahityapost.com/wp-content/uploads/2023/11/1200-100_GIF.gif)
![पोस्ट पेज – लेखको तल 2nd (Banner Ad)](https://sahityapost.com/wp-content/uploads/2023/12/Digital-Fraud-900X100-px.gif)
![पोस्ट पेज – लेखको तल 3rd (Banner Ad)](https://sahityapost.com/wp-content/uploads/2023/12/1000x100.gif)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
![](https://sahityapost.com/wp-content/uploads/2023/03/fonepay_payments_fatafat.png)
![](https://sahityapost.com/wp-content/uploads/2023/03/png.png)