
हिजो चोरहरू स्कुल गएछन्
डेक्स बेन्चका काँटी उखेलेछन्
ढोकाको कब्जा निकालेछन्
चुकुल च्वाईँच्वाईँ पारेछन्
केही नलागेर ताला काटेछन्
हिजो चोरहरू स्कुल गएछन्
कुर्सी भाँचेछन्, कालोपाटी फुटाएछन्
चित्र बनाउने नाउँमा विचित्र गरेछन्
क्यालेन्डर च्यातेर आफ्नो क्यालेन्डर झुन्ड्याएछन्
आइतबार बिदा थपेछन्
शनिबार बैठक राखेछन्
गेटमा हाजिर राखेछन्
स्यालुट हान्ने बहादुर राखेछन्
चकलाई पानीमा घोलेर जथाभावी पोखेछन्
चोरहरूले चुकुल, काँटी र कब्जा बेचेर
गोलखाडी खेल्न तास किनेछन्
चोरलाई अचेल स्कुल प्यारो लाग्छ
किनकि स्कुलको ढोका सजिलै खुल्छ
चोरहरूलाई स्कुल न्यानो लाग्छ
किनकि
स्कुलमा गोजी सेक्न पाइन्छ
ट्युसन थपेर ट्याटु खोप्न पाइन्छ
टुर भनेर सित्तै घुम्न पाइन्छ
अचेल चोरहरू
किताबको कमिसनमा छन्
ड्रेसमा छन् जुत्ता र मोजामा छन्
चोरहरू शिक्षित भएर स्कुलमा छन्
देश चलाउने दाउमा उनीहरू
दरबार छिर्छन्, तरबार झिक्छन्
भय र त्रासमा दुनियाँलाई पारेर
चोरहरू तर मार्ने दाउमा छन्
चोरहरू स्कुल गएपछि
साधुजस्ता देखिन्छन्
व्यवहारमा दाजुजस्ता देखिन्छन्
मसलामा काजुजस्ता देखिन्छन्
स्वाद स्वादका भेटिन्छन्
तेलभन्दा चिल्लो बोली हुन्छ
लोली मिलाउने टोली हुन्छ
चाहिने पनि हुन्छ
नचाहिने पनि हुन्छ
थाहा पाउनु भयो
चोरहरू स्कुल गएपछि
के के हुन्छ !



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

