(आफ्नो ऊर्जावान् वय देशलाई अर्पण गरेर जीवनको उत्तरार्ध्दमा परिवारको लालनपालनका लागि मुगलान जान बाध्य ती तमाम स्वाभिमानी सिपाहीमा समर्पण।)

राजन अधिकारी

ऊ हिजो देश सम्झँदै

खुशी खुशी घर त्याग्यो
कठै !आज घर सम्झँदै
बाध्यताले परदेश लाग्यो।
जागिर रित्तिँएसँगै
उसको तागत पनि रित्तिएछ,
उमेरले डाँडा काट्‌दा उमंग सिद्धिएछ,
तर ऋणको भारले पिल्सिएको उसलाई
धर किन मिल्थ्यो र?
रात दिन एक नगरी गुजारा कहाँ चल्थ्यो र?
गाउँभर उसको घर
सहजै भेउ मिल्थ्यो,
वरपर साथीभाइको महल,
 ऊ बाबुको झुपडीमा बस्थ्यो
आफ्नो घरमा आफै पाहुना जस्तो,
चाडपर्वमा अहँ कहिल्यै नआउने
अर्को साल मनाउला भनी
परिवारको चित्त बुझाउने।
उसका लागि क्यालेण्डरमा
कहिल्यै अर्को साल आएन,
तर अर्को साल मनाउला नि
भन्न कहिले उसले छाडेन
बरा! अर्को साल कुर्दाकुर्दा अवकाश पत्र पो पायो
आँखाभरि आँसु पार्दै प्यारो जागिरलाई बिसायो।
  ५
अवकाशपत्रको मसी नसुक्दै
परदेश जाने कहर आयो,
निधारमा आँगनीको टिका लायो
बृद्ध- बुबाआमाको चरण समायो
श्रीमती, छोराछोरीलाई अँगालोमा बेर्‌यो
सिपाहीको वर्दीलाई भावुक भई हेर्‌यो।
     ६
पछाडि भिर्ने कपडाको झोलामा
राहदानीसँगै रोजगारको कागजात राख्यो,
परिवार र वर्दीको आफ्नो फोटो राख्यो
ढाकाटोपीसँगै केही जोर लुगा पट्‌यायो
अनि बडो जतनले देशको झण्डा राखी मिलायो।
      ७
कठै, कति भारी भए होलान्‌
ती पैतालाहरू भासिदा मुगलान
पक्कै मुटु भतभती पोल्यो होला
मातृभूमिबाट टाढिदा त्यो ज्यान ।
विराटनगर