थुनिए छेकिए चार पर्खालभित्र
नियन्त्रित भएको छु
आँगन टेक्न पाउँदैन
शान्ति सुरक्षा खलल पारेको होइन
अनिष्ट र काला करतुत पनि होइन
आमहडतालले कर्फ्यु सजिइएको होइन
आतङ्कवादीको बम फक्रेको होइन
कोरोना महामारीको परीक्षा होइन
राजशाही आपत्‌कालीन
संकटकाल होइन
दश वर्षे जनयुद्धको जगजगी होइन
असह्य पीडाले भुलभुलैया छु
रोगको सहोदर पिलो जन्मेको छ
मर्मस्थलमा राज गर्दै छ
न आँखा पुग्छ न हात
निमोठ्ने निचोर्ने जोरजाम फेल हुन्छ
थानेदारले कटबाँस ठोकेझैँ चहर्‍याउँछ
पीडा कति हो कति
भारतीय सेनाले कालापानी हड्पेजस्तै
सुस्ताको मलिलो माटो कुम्ल्याएजस्तै
पानी पर्ने बादल वज्र बनेजस्तै
थाम्न नसक्ने ठूलो विपत्ति खेप्दै छु
जलपातको अभावमा जलचर तड्पेजस्तै
काकाकुल अनौठो व्यवहार
दीनहीन बिहानै टुप्लुक्क
ढोकामा साहुले बहिखाता खोलेजस्तै
खेतीपाती गर्दागर्दै विद्युत्‌को खम्बा
हलगोरुमा बिसिएजस्तै
पीडित भएको छु
एकान्तबासी अभ्यासमा छु
विवशताले करकापले
ल्यापटप साक्षात्कार छ
रमाउन खोज्छु फुर्सदिलो बन्छु
स्वचालित गोप्यस्थानी बन्दै
पृथ्वीको गर्भमा कति थुनिए कति लुटिए
प्राकृतिक प्रकोपले कति तुहिए
अनगन्ती रुख काटेर
ढकमक्क फुल्ने फूल टिपेर
कति जननाङ्ग बधिया भए
कृत्रिम गर्भाधानको नमिठो स्वादले
कतिका गर्भ थामिए
पृथ्वीको गर्भकालमा प्रभुत्व राख्दै
गर्भपातमा नियन्त्रण ठान्दै
प्रदूषित वातावरणमा कति व्युत्पन्न भए
अमृत पानी दूषित बन्दाबन्दै
कति जलचरका भ्रूण लहरै ठहरै भए
मौन छन्‌ नियोजन विद्‌हरू
र, भविष्य नि:शब्द छ साँच्चै नि:शब्द
कोठा काउन्टर बनेको छ
मिथक साहित्य बन्दैछ
शब्दजाल अविरल नजरबन्द छ
फिस्टो पिलो फस्टाउँदै
शक्तिशाली बन्दै छ ।

भी. न. पा. -१८, कञ्चनपुर