कल्पना काफ्ले

कल्पना काफ्ले
पितामाता: गंगाप्रसाद काफ्ले/पुष्पा काफ्ले
जन्मस्थान: मुर्तिढुङ्गा – ७ धनकुटा
शिक्षा : एम. ए., एम. पि. ए.
पेशा: नोकरी (नेपाल वायुसेवा निगम)
हाल: काठमाडौं, बानेश्वर
प्रकाशित कृतिहरू:
-भावसरोवर -छन्द कविता सङ्ग्रह,२०७५
-नेपाली गजलमा नारी हस्ताक्षर -संयुक्त गजल संग्रह,२०६२
-मुक्तक चौतारी -संयुक्त,२०७५
-युवामञ्च तथा अन्य पत्रिकाहरुमा कविता गजल तथा मुक्तकहरु प्रकाशित

आबद्धता :
-साहित्यसुधा नेपाल अध्यक्ष
-नेवानि साहित्य समाज सस्थापक उपाध्यक्ष
-नेपाल मुक्तक प्रतिष्ठान आजीवन सदस्य
-नेपाल मुक्तक प्रतिष्ठान प्रदेश नम्बर १, शाखा उपाध्यक्ष
सम्मान तथा पुरस्कार:
-श्री पञ्चकुमारी सामाजिक गुठिद्वारा १४०औं मोति जयन्तीको अवसरमा आयाेजित प्रतियोगितात्मक कविता गोष्ठीमा प्रथम स्थान हासिल
-पल्लव साहित्य सम्मान -पल्लव साहित्य प्रतिष्ठान २०६७
-धनवाणी युवा प्रतिभा पुरस्कार २०६७
-सम्मान तथा प्रशंसापत्र -नोवेल साकोस साहित्य प्रतिष्ठान- २०७४ – उत्कृष्ट काव्य पुरस्कार
-अनुपम साहित्य प्रतिष्ठान२०७४
– उत्कृष्ट काव्य पुरस्कार लीलाध्वज थापा साहित्य प्रतिष्ठान २०७४
-नेपाल भारत साहित्य सम्मान २०७५
-मेरठसाहित्य सम्मान २०७५
-पालुङ साहित्य सम्मान २०७६
-छन्द तरङ्ग सम्मान २०७६
-निजामती सेवा दिवस कविता प्रतियोगिता – तृतीय पुरस्कार २०७७
-विश्व कविता प्रतियोगिता – प्रथम पुरस्कार २०७८
-भानु साहित्य सिर्जना सम्मान – २०७८
-हरिभक्त साहित्य सिर्जना सम्मान तथा पुरस्कार २०७८

जाँदैछु पैसा लिन

कल्पना काफ्ले

छन्द: शार्दूलविक्रीडित
गणः म स ज स त त गुरु
विश्रामः छ र बाह्र अक्षरमा

चिन्दैनन् बरु दाजुभाइ तर यो पैसा सबै चिन्दछन्
पैसासाथ भए समस्त जगका हाँसोखुसी मिल्दछन्
पैसा फल्छ कहाँ टिपिन्छ कसरी के हो बटुल्ने विधि ?
दौडी जान्छु लिएर आउँछु छिटै बाटो बताऊ दिदी !

पैसा फल्दछ वृक्षमा यदि भने बोटै लिई आउँछु
ल्हासा भोट पुगी लिएर बिरुवा सारेर हुर्काउँछु
यौटा बोट म रोप्छु गोड्छु अनि पो फुल्नेछ यो आँगन
पैसाको रुख खोज्न जान्छु म मुमा ! बाटो कता हो भन ।

पैसाका लहरा झुलाइ रहने कस्तो छ खै वाटिका !
दौडी पुग्छु छिटै सँगेल्छु कसिला पैसा बिटाका बिटा
सिक्का नोट अनेक टिप्न सकिने खोज्नै नपर्ने सुन
बाबा ! जान्छु लिएर आउँछु छिटै पर्दैन दुःखी हुन ।

टालेको फरिया लगाउन अझै सङ्घर्ष गर्ने कति ?
कैले पाउनु खान पेटभरि खै ? निर्धक्क चाहेजति !
पैसाले सब कष्ट टर्दछ भनी भन्छन् सँगातीहरू
बाजी प्राण लगाउनेछु यसमै चाहिन्न केही अरु !

पैसाले सब कष्ट हर्दछ भने बाधा हटोस् विश्वको
लाखौँ रोग र भोक खप्न जहिल्य‌ै बेकार चाहन्छ को ?
पैसाले सब छोपिदिन्छु दुनियाँ चाहन्नँ निर्धो हुन
आमा!आँसु नझार यो घर भुली जाँदैछु पैसा लिन।

गङ्गा आचार्य सापकोटा

गङ्गा आचार्य सापकोटा
मातापिताः विष्णुदेवी आचार्य /हरिदत्त आचार्य जन्म स्थानः जलजला -४ मल्लाज, पर्वत
हालको स्थान: काठमाडौ
शिक्षाः स्नातकोत्तर पेसाः शिक्षण (अवकाश प्राप्त )

प्रकाशित कृतिः
-आस्थाको आँचल -मुक्तक सङ्ग्रह २०७६
-छाउपडीका देवता-लघुकथा सङ्ग्रह २०७६
-भावगङ्गा -गजल सङ्ग्रह२०८०
-गङ्गाप्रवाह-कविता सङ्ग्रह २०८०

सम्मान तथा पुरस्कार:
-स्थलगत कविता प्रतियोगिता २०७४ द्वितीय
-देशव्यापी राष्ट्रिय कविता प्रतियोगिता २०७६ उत्कृष्ट
-विश्वव्यापी खुला मुक्तक प्रतियोगिता २०७७ प्रथम
-मोहनबहादुर मल्ल पुरस्कार २०७९
लगायत अन्य केही संस्थाहरूबाट सम्मान तथा कदरपत

सबल बनौँ

गङ्गा आचार्य सापकोटा
छन्द: वसन्ततिलका
गणः त भ ज ज गुरु गुरु
विश्रामः आठ अक्षरमा

खुम्चेर मात्र जहिल्यै किन बस्नु भित्र ?
निस्केर बाहिर नियाल्नु छ मानचित्र
छन् विघ्न बन्धन निकै सब तोड्न थालौँ
नारीहरू सबल बन्न अगाडि लागौँ ।

बस्नै हुँदैन महिला भरमा अरूको
शिल्पी बनेर गरियोस् तय जिन्दगीको
पोखेर दिव्य पसिना पहिचान खोजौँ
नारीहरू सबल बन्न अगाडि लागौँ ।

वैषम्य भाव मनमा छ भने निकाली
जुट्दै समस्त महिला मत एक पारी
उत्थान हुन्छ कसरी नित सोच्न थालौँ
नारीहरू सबल बन्न अगाडि लागौँ ।

हिंसा सहेर कहिल्यै पनि बस्नु हुन्न
लड्नै परे पनि परोस् पछि हट्नु हुन्न
कोही झुकेर नबसी शिर उच्च पारौँ
नारीहरू सबल बन्न अगाडि लागौँ ।

कर्तव्यको पनि सदा अति ख्याल राख्दै
आफ्नो छ के कति सबै अधिकार खोज्दै
अस्तित्व रक्षित गरेर सगर्व बाँचौँ
नारीहरू सबल बन्न अगाडि लागौँ।

पवित्रा घिमिरे

पवित्रा घिमिरे
साहित्यिक नाम: छन्दिका त्रिपाठी
मातापिता:सरिता घिमिरे /माधववियोगी
ठेगाना: पोखरा-२५ हेमजा
पेशा: संस्थापक विद्यालय सुपरिवेक्षक ज्ञानसागर एकेडेमी
साहित्यिक यात्रा:
-बाल्यकालमा पिताजीको साधनाबाट प्रेरित ।
पहिलो प्रकाशित रचना -अनुशासित वि.पि. -धनगढीबाट प्रकाशित पत्रिका-युगपुकार २०५३

प्रकाशित कृति:
-जता हेर्यो उतै आगो -कविता संग्रह २०६३
-छन्दमणि आदर्श पुष्पा (महाकाव्य २०६४
-अनुहार तिम्रै -गजलसङ्ग्रह २०६५

के भो मलाई

छन्दिका त्रिपाठी

छन्द: वसन्ततिलका
गणः त भ ज ज गुरु गुरु
विश्रामः आठ अक्षरमा

आभा गयो सब गए मनका इरादा
आए कडा किसिमले अति कष्ट बाधा
सम्पूर्ण शान्ति हरियो सुख त्यो हरायो
के भो मलाई कसले दु :खमा पुर्‍यायो।

राती निदाउन निकै बल गर्नुपर्छ
अत्तालिँदै कलकली जल प्यूँनुपर्छ
केही निदाउन पुगे सपना दगुर्छन्
के भो मलाई दुःख पो कसले सहन्छन्।

खान न रुच्छ मनमा पिरताप बढ्दा
देखिन्छ जे जुनकुरा हुन जान्छ पर्दा
हेर्छन् मलाई परका जिवजन्तु सारा
के भो मलाई अहिले भन हे पियारा।

कर्तव्यमा दिनदिनै कर यी लगाई
चल्दैछ उच्च बलले तर खै कमाई
केही मिलेन दुखमा भगवानबाट
के भो मलाई किन हो शुभ काँटछाँट।

चाहेँ भलो स्वजनको हितमा रमाएँ
संस्कारको मधुर नैतिकता समाएँ
खेल्दा कला समयको परिवेशमा म
के भो मलाई कसरी सुखमा पुगूँ म।

प्रभा पोखरेल

प्रभा पोखरेल
जन्म:ताप्लेजुङ,फूलबारी
स्थायी ठेगाना: काठमाण्डौ कोटेश्वर
हाल: नर्थ क्यारोलिना ,अमेरिका
पेशा: शिक्षण
शैक्षिक योग्यता: एम .एड
रूचि: नेपाली साहित्य सिर्जना र
अध्यायन ,गद्य पद्य कविता ,लघु कथा ,बाल कविता, मुक्तक ,हाइकु ,कोपिला ,सुसेली
पञ्चाङ्ग ,गजल ,संस्मरण लेखन अभ्यासमा साधनारत

कोपिला

प्रभा पोखरेल
छन्द:स्रग्विणी
गण: र र र र
विश्राम:तीन र छ अक्षरमा

फुल्दछन् फल्दछन् कोपिला हौसिँदै
जिन्दगी बुझ्दछन् लक्ष्यमा लम्किँदै।
दर्बिलो ओतमा खुल्छन् मस्किँदै
दु:खमा आँसुले भिज्दछन् झस्किँदै।

खुस्बुका आँकुरा टाकुरा बन्दछन्
लोभमा लाभमा कोपिला मन्द छन्
खेलमा मेलको माधुरी भर्दछन्
सानको गानले वासना छर्दछन्।

मस्तिको बस्तिमा कोपिला रम्दछन्
पुष्पको बागझैँ अग्लिँदै जम्दछन्
आङमा घामको रस्मिले रङ्गिँदै
रापमा तापमा उठ्दछन् चम्किँदै।

चाँदनी रातको जूनको देशमा
कोपिला सानले फुक्दछन् भेषमा
रागले दागले रुन्न रे कोपिला
देख्नमा शान्त छन् बातमा चोटिला।

कोपिला कोकिला मात्र हुन् गीतमा
चुस्दछन् माहुरी माड्दछन् शीतमा
देख्नमा लेख्नमा कोपिला काव्य हुन्
जिन्दगी बाँच्नमा कोपिला साध्य हुन्।

कल्पना अधिकारी भट्टराई

कल्पना अधिकारी भट्टराई
मातापिताः नारायणी अधिकारी / स्व. हरिभक्त अधिकारी

जन्म स्थानः लमजुङ, दुराडाँडा चारघरे शिक्षाः स्नातकोत्तर नेपाली
पेसाः गृहिणी

प्रकाशित कृतिहरू:
-वासन्ती वन – कविता सङ्ग्रह
-कल्पनाका सुसेली सुसेली – कविता सङ्ग्रह
सम्मान तथा पुरस्कार:
-सुख शान्ति अनलाइन टिभीले सञ्चालन गरेको आमाको सम्मानमा सिर्जना प्रतियोगिता – प्रथम
-लायन्स क्लव अफ चितवनले सञ्चालन गरेको राष्ट्रव्यापी खुल्ला कविता प्रतियोगिता -द्वितीय
– जन आकाश मिडिया- कदर पत्र
-रेडियो अन्नपूर्ण नेपालले सञ्चालन गरेको भानु महोत्सव -उप विजेता
-कदर पत्र -साहित्यिक चौतारी नेपाल
-कदर पत्र -राष्ट्रिय सुसेली मञ्च
-कदर पत्र -आधुनिक साहित्य परिषद्
-कदर पत्र -लहर साहित्य मञ्च
-आभार पत्र-मनका लहर साहित्य मञ्च
नेपाल
-सम्मान पत्र – चौतारी नेपाल जापान शाखा
-प्रमाण पत्र-नेपाली साहित्य संसार

लौरो

कल्पना अधिकारी
छन्द:शार्दूलविक्रीडित
गणः म स ज स त त गुरु
विश्रामः छ र बाह्र अक्षरमा

खुट्टामा दम छैन टेक्नु कसरी बूढी बनेका घरि
लाग्छन् रोग अनेक यो समयमा पीडा हजारौँ थरी
बोल्ने शक्ति हुँदैन थर्थर हुने यी हात गोडा गली
लौराले तब दिन्छ साथ असली छोरा र छोरीसरि ।

बर्सिन्छन् दिनरात आँसु गहमा सम्झी पुराना पल
कस्तो देह थियो सशक्त बलियो खस्क्यो हरायो बल
अन्तःदृष्टि घटेर सृष्टि धमिलो देखिन्न राम्रो गरी
लौराले तब दिन्छ साथ असली छोरा र छोरीसरि ।

बिर्सन्छौँ स्मृति निख्रिँदा छिनछिनै बन्छौँ स्वयं बेसुर
हेप्छन् मान रहन्न चाह मनको गर्छन् र को मञ्जुर?
बाधा हुन्छ असाध्य यो हृदयमा सन्तापले बेसरी
लौराले तब दिन्छ साथ असली छोरा र छोरीसरि ।

केही गर्न सकिन्न काम घरको गर्छन् सबै गन्थन
तन्नेरी पनि बृध्द बन्दछ भरे गर्छन् र को मन्थन
बुझ्नै सक्दिनँ जिन्दगी किन हरो बन्दै गयो यो घडी ?
लौराले तब दिन्छ साथ असली छोरा र छोरीसरि ।

एक्लो लाग्छ उजाड जीवन बुटी सिद्धिन्छ सङ्घर्षमा
चोला नाजुक फूल नै ठहरियो सम्झिन्छु निष्कर्षमा
टाढासम्म छ हेर्नु राम रमिता,छन् कष्ट काँढासरि
लौराले तब दिन्छ साथ असली छोरा र छोरीसरि ।

थाती छन् कति चाह भित्र मनका सङ्कल्प मूर्छा परे
सिन्को भाँच्न नपाउँदै दिन ढले फूर्ती र नाडी गले
माया मोह छुटेन मर्नु कसरी होलान् कता श्रीहरि
लौरो आखिरमा भयो भर दिने छोरा र छोरीसरि ।

जानुका गुरागाईँ

जानुका गुरागाईँ
मातापिताः धनमाया गुरागाईँ/ दिनानाथ गुरागाईँ
स्थायी ठेगाना: विर्तामोड नगरपालिका-५ झापा शिक्षाः एम .एड.
पेसा: नोकरी प्रकाशित कृतिः परिवेशका सुसेली -गजल सङ्ग्रह
सम्मान तथा पुरस्कार: विभिन्न सङ्घ संस्थाबाट समय समयमा लेखन हौसला स्वरूप सम्मान तथा प्रशंसा पत्र
कार्यरत संस्था: शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
साहित्यिक विशेषता: समकालीन समाजका समसामयिक विषयवस्तुमा आधारित सिर्जना

धीरता

जानुका गुरागाईँ
छन्द:स्रग्विणी
गण: र र र र
विश्राम:तीन र छ अक्षरमा

आसमा त्रासमा जिन्दगी पारिँदा
दीनदुःखीहरू गोरुझैँ नारिँदा
भोकले शोकले रोगले बिच्किए
पाउने आसमा मार्गमा निस्किए ।

हर्षमा जिन्दगी पार्नलाई भनी
भेष फेर्दै निकै अग्रगामी बनी
हिँड्दथे जो सधैँ ती सबै टाढिए
मुख्य मुद्दाहरू स्वार्थले भाँडिए ।

न्याय अन्यायको मापनी एउटा
भैदिँदा धूर्त भो सर्वदा देउता
खिन्नताले सधैँ जिन्दगी तड्पियो
धीरताको दरो बाँध नै भत्कियो ।

घातमात्रै भए कामका नाउँमा
सिंहझैँ गर्जिने के पुगे गाउँमा
सत्यनिष्ठा सबै तेलमा खारिए
द्रव्यको मोहमा धीरता पारिए ।

देश हुङ्कारले मात्र चल्ने भए
बात चिप्ला छरी अन्न फल्ने भए
हुन्नथ्यो दुर्दशा मान सम्मानको
बन्दथ्यो दर्बिलो बाँध संज्ञानको ।

रमा दाहाल खतिवडा
जमस्थल:भोजपुर
माता पिता निर्मला दाहाल/ लेखनाथ दाहाल
हाल: नयाँबजार पोखरा
प्रकाशित कृति: समृद्धि – संयुक्त मुक्तक संग्रह

देश दुख्छ

रमा खतिवडा

रमा खतिवडा
छन्द-द्रुता
गण :र य ज गुरु
विश्राम:पाँच अक्षरमा

शान्ति छैन झन् द्वन्द्व चर्कियो
देश झन् सधैँ कष्टमा पर्‍यो
दुष्ट फैलिए त्रास झन् बढ्यो
पाप झाँगियो धर्म मासियो ।

छैन एकता भाइ टाढिए
देश टुक्रियो भाग लाइए
सम्पदाहरू मासिँदै गए
देश यो थलामा छ शोकले ।

दूर छन् युवा गाउँ रिक्त छन्
दु:ख कष्टमा वृद्ध मात्र छन्
रोग भोकमा साथ दिन्छ को?
झन् पहाड भो दु:ख दर्दको ।

भोग्छ यातना सत्य बोल्छ जो
मार्ग सत्यको भत्किँदै गयो
पाप धर्मको छैन चेतना
लिप्त छन् यहाँ मात्र स्वार्थमा ।

बाँझिदै गए खेतका गरा
काटिँदै गए वृक्षका जरा
नाङ्गिदै गए शैल टाकुरा
नासिँदै गयो मृत्ति उर्वरा ।

खेल मात्र छन् जालझेलका
योजना सधैँ तालमेलका
निभ्छझैँ भयो शान्तिको दियो
रुग्ण देश भो दुख्छ देश यो ।

वीणा रोका

वीणा रोका
ठेगाना: घोराही-९ दाङ
मातापिता:छवि रोका/झुप्पल बहादुर रोका
शिक्षा: एम .एड. नेपालीमा
सम्मान तथा पुरस्कार:
-हरिकला नन्दप्रज्ञा पुरस्कर -लेखक सङ्घ दाङ २०७८
चक्रपाणि – लक्ष्मी -लोकेश्वरी स्मृति छन्द पुरस्कार राप्ती साहित्य परिषद् दाङद्वारा २०७९
संलग्न
– राप्ती परिषद् दाङ शाखाको कार्यक्रम समिति सदस्य ।
-राप्ती परिषद् दाङको आजीवन सदस्य ।
-नेपाली साहित्य धरहरा मेरो पहिचान पेजको कार्यक्रम सञ्चालिका ।

अझ सान राख्छ

वीणा रोका
छन्द: वसन्ततिलका
गणः त भ ज ज गुरु गुरु
विश्रामः आठ अक्षरमा

झुक्दैन वीर खुकुरी अब देश हाँक्छ
रोकिन्न शत्रु बलमा अझ सान राख्छ
चम्किन्छ आज भवमा नवधा प्रभा हाे
बग्दैछ रक्त तनमा अब वीरताको ।

पूर्खा लडेर जगमा कति युद्ध जित्थे
सम्मान साथ घरमा तब बस्छु भन्थे
हाँसेर मान सबले शिरमा सजाए
साथै सुपुत्र जनले जननी हँसाए ।

माटो छ साथ करमा म हुँ वीर पुत्र
संसार काँप्छ बलमा सपना विचित्र
नेपाल नाम धरमा अति सुन्न पाएँ
हाम्रो अखण्ड रहने भव राष्ट्र आएँ ।

भाषा र भेष पहिचान अझै छ राम्रो
वाणी छ सत्य अनि धर्म पराग हाम्रो
अग्ला हिमाल धवलामय हेर्न पाएँ
डाँफे मुनाल हिमशैल भरी रमाएँ ।

साक्षी छ देश इतिहास रचेर पुर्खा
जागे उठे भुवनमा तब वीर गोर्खा
नेपाल सुन्दर रहोस् अनि हाँस्छ माटो
झण्डा छ चन्द्र अनि सूर्य यहीँ छ साँचो ।

शुभ शर्मा
ठेगाना : पोखरा -११ कास्की
मातापिताःझगलाल गैरे/मिठूमायाँ गैरे
जन्म स्थानः रत्ननगर चितवन
प्रकाशित कृतिः शुभांशु -लघुकथा सङ्ग्रह
रूचि :साहित्य सिर्जना

उद्घोष

शुभ शर्मा

शुभ शर्मा

छन्दःवसन्ततिलका
गणःत भ ज ज गुरु गुरु
विश्रामःआठ अक्षरमा

लेखिन्छ काव्य रसिलो शुभ जाग्दछे लौ
भै चन्द्र शान्तसरिको अब लाग्दछे लौ
चुम्दैछु शान्त नभमा रस प्रेम झर्छन्
झर्दै छ शीत मतिरै तपतप्प खस्छन् ।

शैलेन्द्रमा झलझली नवरत्न जस्तै
ठान्दै छु काव्यतिरका पथ हुन्छ उस्तै
गाह्रो छ कोर्न कविता तर लाग्दछे यो
ठूलो छ लक्ष्य मनको न त थाक्दछे यो ।

आँटे सकिन्छ सजिलै सय हात नाघ्न
को सक्छ विद्वतविना सय बात काट्न
गल्किन्छ पत्थर यहाँ ! अलि ताप देऊ
तात्छे तसर्थ शुभ यो थप राप देऊ ।

आलस्य पू्र्व दिनका सब छोड्छु मेरी
उत्कृष्ट खोज्छु नतिजा गुरु वाक्य टेरी
मातापिता र गुरुको छ समान कर्जा
सत्प्रेरणा छ शुभमा मनमा छ ऊर्जा ।

छन् प्राप्ति कष्ट तर आँट छ मिल्छ जे नै
उत्साह साथ म हिँडे नहुने छ के नै ?
सौगात दिन्छु जगमा थप काव्य मात्रा
आरम्भ हुन्छ अब ए ! नमनीय यात्रा ।

 

प्रकृति

निर्मला अर्याल

निर्मला अर्याल

पोखरा -७ मासबार
छन्द: अनुष्टुप
गण:चार पाउको पाँचौँ ह्रस्व र छैटौँ दीर्घ
पहिलो र तेस्रो पाउ – सातौँ दीर्घ
दोस्रो र चौथो पाउ- सातौँ ह्रस्व

पालुवा फेर्दछन् वृक्ष स्वप्नबाट उठे सरी
कलिला बन्दछन् ताजा झुल्दछन् साथमा चरी
रट्दछन् चच्चु घोटेर चुम्दछन् पालुवा अनि
नाच्दछन् खेल्दछन् उफ्रि जुरे फिष्टा र धोविनी।

च्याहाँ!च्याहाँ!गर्य‍ो यौटाको हो ? को हो? भने अरू
पोखरा जाम् !भन्यो यौटा ढुकेर कुर् भने अरू
खैंजडी मुजुरा जस्तै बजे ध्वनि कता कता
सुस्केरा स्वर्गको पस्कि बग्यो वायु जतातता।

सितलो छर्कियो आफै दिव्यता त्यो मन‍‍ोहरी
थाके हुन् कुन्जका धौता भन्ने सोची कठैवरी
खन्याय‍ो वैशको हुरी चुमेर पालुवा लता
गयो तृप्त भयो आफै जन्मिय‍ो एक मौनता।

रोकिए वृक्षका डाली र‍ोकिए स्वरका गला
मौनता शितलो शान्त प्रकृतिको थियो कला
र फेरि ब्यूँझियो कुन्ज संजिवनी पिए सरि
घन्कियो गीत बिस्तारै झ्याउँकिरी त्यसै गरी।

छोपिदा छोपिदै आफै स्वरमा स्वर बेसरी
गुन्जिए कुन्जका सारा कोइली न्याउली चरी
हरितम् नैनमा प्यारो दृष्यमा डुब्न पुग्छु म
शुन्यता सिर्जने दिव्य कुण्डमा स्नान गर्छु म।

जलाइ मनका व्याधा द्रभिभुत बन्यो मन
धर्तीमा स्वर्गझैँ प्यारो प्रकृतिको समागम
रोकियो मनको द्वन्द संयोग छन्दको लिदै
म बुझ्छु प्रेमको शुत्र प्रकृतिको छुदै छुदै।

चन्द्रावती अधिकारी

चन्द्रावती अधिकारी
ठेगानापोखरा-८ न्यूरोड
शैक्षिक योग्यता: एम.ए., राजनीतिशास्त्र
आमापिता: स्व.सरस्वती अधिकारी/ स्व.मित्रलाल अधिकारी
प्रकाशित कृति :
-आइन छोरी (२०७५)
-हरिश्चन्द्र -शोक काव्य (२०७५)
-नरोए आमा (सन् २०१६)
-जागिरे नारीको पीडा-भाग-१, (सन् २००६)
-गरिन गुनासो (२०७६)
-जागिरे नारीको पीडा-भाग-२ २०७७
-शहरको सुविधा र म -२०७७
-दर्जा बेरोजगारको -२০৩৩
-आउ स‌ङ्गी रमाईलो गरौं बरीलै -२०७८
-रमाइलो माइतैमा -२०৬৭
-जाडिया श्री -२०७९
-सून्य छ जन्मेको घर बरिलै -२०७१
-फेरिपनि आयो तीज मन दुखाउन -२०८०
-कृषि प्रधान मेरो देश -२०८०
-पल पलका भावना -२०८०
-तीज गीत संग्रह -२०८०
पेसा:पोखरा महानगरपालिका कार्यालय (अधिकृत)

आबद्धता :
-कास्केली अधिकृत समाज ।
-नारी प्रतिभा वाड्मय प्रतिष्ठान नेपाल ।
-गीताञ्जली परिवार, पोखरा-१० ।
-गोर्जे मिजुरे पोखरा सम्पर्क समाज ।
-तनहुँ सम्पर्क समाज, विश्व हिन नेपाल न्यूरोड ।
-महिला उत्थान मञ्च, पोखरा-८ ।
-रेडियो सफलता १०३.४ ।
-माधववियोगप्रतिष्ठान ।
-नेपाली लेखक संघ कास्की ।
पुरस्कार र सम्मान:
-सोसल आइडल अवार्ड -२०७७
-सम्मान न्यूरोड महिला उत्थान मञ्च -२०७४
-रेडियो सफलता पुरस्कार -२०७६
-संघर्षशील नारी सम्मान नारी दिवस -२०७९
-नेपाल महिला संघ पोखरा महानगर समिति ।
-महिला मिलन समुह पोखरा -२०७८

माग्दछु यहीँ ईश्वरसँग

चन्द्रावती अधिकारी
छन्द:झ्याउरे
अक्षर :३, २, ३, २, ३, ३
विश्राम: पाँच र दस अक्षरमा

अधुरो जीवन मायाको डोरी झन् साह्रो कस्दैछु सम्झेर तिमी साँझको दियो कुरेर बस्दछु
नबुझे जस्तो भै दिन्छ किन मान्दैन यो मन
बिर्सन्छु भन्यो मान्दैन मुटु चर्किन्छ योझन ।

आफ्नै मन आफ्नै बसमा किन हो हुँदैन
सम्झाई दिन्छन् दुनियाँ सारा तै पनि हुँदैन कसरी थपूँ ओठमा लाली चेहरा मलिनो
नसिव कस्तो निरस जीवन सधैंको अलिनो।

तिमी बिनाको जीवन मेरो उराठ लाग्दैछ
मन भित्रका आकांक्षाहरू चाहना भाग्दैछ
जे परे पनि सहनै पर्ने मान्छेको जातले
गर्नेछु कदर दु:खमा आँसु पुछेका हातले ।

गरेर राजा श्रमको खेती जीवन पाल्दछु
निकाली गाढा मनका व्यथा कापीमा कोर्दछु कस्तो छ राजा स्वर्गको घर साथी ती कस्ता छन्
माग्दछु यही ईश्वरसँग आन्नद रहोस् मन ।

व्यायाम

मीरा ज्ञवाली

मीरा ज्ञवाली

छन्द:वसन्ततिलका
गण: त भ ज ज गुरु गुरु
विश्रामः आठ अक्षरमा

व्यायामले मनुजका सब रोग हट्छन्
पीडा छ जे जति सबै तनबाट घट्छन्
फाल्दै सबै मनविकार गरौँ न योग
उल्लास बढ्दछ खुबै बनिँदा निरोग ।

सञ्चार भै रगतको बल पाखुँरामा
चढ्ने छ स्वस्थ तनले सब टाकुरामा
लाग्ने छ रोग जन हो खुब धेर खाँदा
व्यायाममा जुट सदा गर सोच सादा ।

खाने गरौँन हरिया फलफूल ताजा
व्यायामले अझ हुने, सब रोग आधा
राखी सफा मन सधैँ गर योग साथी
व्यायाम लाभमय होस् न हरेक लागि ।

व्यायाम विश्वभरमा छ समान गङ्गा
यो देह हुन्छ बलियो मन हुन्छ चङ्गा
भज्दै गरौँ दिनदिनै सब योग हामी
व्यायाम जीवनभरी छ अमूल्य ठानी ।

व्यायाम नित्य गरिए तन हुन्छ राम्रो
ऊर्जा उमङ्ग भरिँदा मन स्वस्थ हाम्रो
व्यर्थै बसी समयको नगरौँ न हाँसो
व्यायामको गुण बुझी जन राख चाँसो ।

स्वच्छन्द भै भुवनमा शुभ कर्म गर्दै
व्यायामले मनविकार सबै छ हर्दै
अल्छीपना जति सबै अब त्याग नानी
व्यायाम योग्य छ सदा हुन दिन्न हानि ।

रूपन्देही

 

नारी

चरित्रा शाह

चरित्रा शाह

छन्द:शार्दूलविक्रीडित
गणः म स ज स त त गुरु
विश्रामः छ र बाह्र अक्षरमा

सक्ला चल्न र सृष्टि याे भुवनकाे नारी हुँदैनन् भने
के बल्ला र धपक्क अग्नि घरमा नारी हुँदैनन् भने
फुल्ने छैन ढपक्क पुष्प भवमा नारी हुँदैनन् भने
के खुल्ला र सहस्र प्यार दिलकाे नारी छुँदैनन् भने

के हाे हार्दिकता भनेर भवमा काे भेट्छ नारीविना
के हाे भावुकता भनेर जनले के बुझ्छ नारीविना
बग्ने छैन नि भावना भुवनमा नारी हुँदैनन् भने
खुल्ने छैन नि द्वार याे हृदयकाे नारी छुँदैनन् भने

के हाेला ममता र प्यार करुणा जाग्दैन नारीविना
के हाे धैर्य तथा अधैर्य समता छुट्टिन्न नारीविना
प्याराे सुन्दरता चुलिन्न नरमा नारी हुँदैनन् भने
भाषा मिष्ठ मिठास भर्छ जन काे नारी हुँदैनन् भने