अङ्ग्रेजीका प्रसिद्ध उपन्यासकार तथा नाटककार जोन गल्सवर्दी १४ अगस्त १८६७ का दिन लण्डन नजिकै सर्रे (Surrey) को किङ्स्टन हिलमा एउटा सम्पन्न परिवारमा जन्मेका थिए । उनले अक्सफोर्ड विश्वविद्यालयबाट कानुनको अध्ययन पूरा गरी १८८९ मा ब्यारिस्टर भएका थिए । १८९० देखि अदालतमा बहस गर्न थाले पनि उनलाई यो पेसा मन नपरेकोले वकालत छोडी उनी आफ्ना पिताको जहाजको व्यवसाय सम्हाल्न देश विदेश घुम्न थाले । त्यसै वेला भावी उपन्यासकार जोसेफ कन्राड र अदेलाइदसँग सम्पर्क भएपछि उनको साहित्यिक रुचि बढ्न थाल्यो । सन् १८९७ मा उनको पहिलो कथा सङ्ग्रह चार वटा आँधीबाट (From the Four Winds) प्रकाशित भयो । तिस वर्षको उमेरमा उनले जोसेलिन (Joscelyn) भन्ने उपन्यास लेख्न सुरु गरे ।
सन् १९०६ मा धनाढ्य मानिस (The Man of Property) शीर्षक उपन्यास प्रकाशित भएपछि उनको कीर्ति फैलिएर गयो । उनको प्रकृतिको सुमधुर वर्णन र काव्यात्मक प्रवाहमा हामी कता कता हराउँछौँ । समाजलाई प्रकृतिदेखि टाढा नराखी दुबैमा तादात्म्य स्थापित गरी पात्रहरूको स्वाभाविक चित्रणद्वारा उनी जीवन र प्रकृतिलाई एकै शृङ्खलामा अघि बढाउन चाहन्छन् । उनको विश्व प्रसिद्ध उपन्यास स्याउको रुख (Apple Tree) प्रसिद्ध चित्रकार एवं उपन्यासकार लैनसिंह बाङ्देलले नेपाली भाषामा अनुवाद गर्नु भएको छ । उक्त अनूदित पुस्तकको भूमिकामा उहाँले गल्सवर्दीको कुशल कलाकारिताको वर्णन यसरी गर्नुभएको छ, प्रकृतिको बयान गर्दा ज्यादै मर्मस्पर्शी ढङ्गले चित्रण गर्न सक्ने र सूक्ष्मभन्दा सूक्ष्म कुरालाई पनि एकदम कलात्मक ढङ्गले दर्साउन सक्ने (उनी) एक जना सिद्धहस्त लेखक हुन् । कहीँ कहीँ उनले गरेका प्रकृतिको बयान पढ्दा आफूलाई बिर्सी हामी त्यहीँ, उनले बयान गरेका ठाउँमा पुग्छौँ, हामी आफैँले आफैलाई बिर्सिदिन्छौँ, त्यो ठाउँको वर्णनले मुग्ध हुन्छौँ ।
उपन्यास द फर्सीट सागा (The Forsyte Saga) र नाटक आधुनिक सुखान्त नाटक (The Modern Comedy) उनका प्रख्यात कृति मानिन्छन् । गल्सवर्दीले सन् १९३२ को साहित्यतर्फको नोवल पुरस्कार प्राप्त गरेका थिए ।
जनवरी ३१, १९३३ मा संयुक्त अधिराज्यको ह्याम्पस्टीड भन्ने ठाउँमा ब्रेन ट्युमरबाट गल्सवर्दीको देहान्त भयो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।