पाठक हो, त्यसको एउटा कारण थियो येन चुन आफूलाई म त के के न हुँ भन्ठान्थ्यो र त्यसैले असाध्यै राम्री केटी नपाएसम्म बिहे गर्दिन भन्दथ्यो । त्यस्ती भने जस्ती केटी नपाएको हुनाले नै त्यो कुमारै रहन गएको थियो । हुन त त्यो चौपट्टै नराम्रो थियो, तैपनि चहकिला, राता, हरिया लुगा लगाएर ऊ आफूलाई कत्ति नै राम्रो छ भन्ठानी मख्ख परी हिँड्दथ्यो । ठान्न त ऊ आफूलाई कसैभन्दा कम्ती ठान्दैनथ्यो, तर एउटा सिङ्गै वाक्य लेख्न पनि उसलाई धौ धौ पर्न जान्थ्यो । यति हुँदाहुँदै पनि पाण्डित्यको फुइँ देखाउन ऊ कसैसित कुरा गर्दा ठाउँ ठाउँमा बडे बडे काव्यका उद्धरण र इतिहासका दृष्टान्त जबरजस्ती नघुसाई छोड्दैनथ्यो । त्यस्ता मानिससित आफ्नो कुनै कुराको मेलै नखाने जान्दाजान्दै पनि त्यसले आफूलाई शरण दिई पढलेख चटक्कै छोडिहाल्नु नपर्ने गरिदिएको हुनाले चिएन चिङ दाजु चाहिँका सारा कुरा सहेरै बसेको थियो । चेनका पछाडि लिसै लागेझैँ लागेको हुनाले जम्मै जसो कुरामा येन भाइ चाहिँसित सल्लाह नलिई केही गर्दैनथ्यो । यसले गर्दा पनि ती दुवैको एक किसिमले मेलै थियो ।
अब मुख्य कथातिर लागौँ – वर्षको दसौँ महिना थियो । यु चेन नाम गरेको टाढाको एउटा नातादारले टुडटिङ टापुबाट बेच्न ल्याएका सुन्तलाका भारीबाट यसपालिका पहिला फल भनी येनलाई दिन ल्यायो । यु चेनले फलफूल पसल थाप्न येन सीतै ऋण लिएर काम थालेको थियो । ऊ साहै धूर्त व्यापारी थियो । टुडटिङमा छँदा त्यस पनि काओ त्सान ज्वाइँ तुल्याउन एउटा असल केटो खोज्दै छ भन्ने सुनेको थियो । यताउतिका गफ गर्दागर्दै प्रसङ्गवश त्यसले कसो कसो यो कुरो पनि येनलाई भन्न पुगेछ । येनले तुरुन्तै कान ठाडा पारिहाल्यो ।
त्यसले विचार गर्यो, “मैले पनि आफू सुहाउँदी एउटी केटी खोजेकै हुँ । तर भेट्टाएको भने थिइन । बल्ल खोजे जस्ती यो केटी भेटिई । धन दौलतका कुरै पर सारी आफ्ना रूप गुणकै खबरसाथ केटी माग्न लमी पठाएँ भने पनि कुरा नमिल्ला भन्नु छैन ।”
यी सब कुराको विचार गर्दागर्दै त्यसलाई रातभर निद्रै परेन । भोलिपल्ट सखारै उठेर नुहाई धुवाइ गरी हत्तपत्त लुगा फेरेर ऊ यु चेनका घर पुग्यो । यु चेन पसल खोल्ने तरखरमा थियो ।
येनलाई एकाबिहानै आएको देखेर त्यसले सोध्यो, “एकाबिहानै कताबाट पाल्नुभयो, हजुर ?”
येनले भन्यो, “तपाईँसित मेरो एउटा सानो काम थियो । कतै निस्किहाल्नुहोला भन्ने डरले आइहालेँ ।”
यूले सोध्यो, “मैले गरिदिनुपर्ने यहाँको त्यस्तो के काम होला ? पाल्नुहोस् न, भित्र बसौँ । कुरा त्यहीँ गरौँला ।”
येन चुन भित्र पस्यो । शिष्टाचारपूर्वक ढोग भेट भइसकेपछि तिनहरू घरपट्टी र अतिथिका आसमा बसेर कुरा गर्न लागे ।
येनले भन्यो, “अरू कुरा केही होइन, तपाईँले मेरो लमी भइदिनुपर्यो ।”
“यस्तो काम सुम्पेर लमीभाग भेट्टाउने मौका दिनु यहाँको ठुलो कृपा हो । कुन घर रोज्नुभयो ?”
“त्यही हिजो भन्नुभएको पश्चिमी टुङटिङ द्वीपको काओ परिवार क्या ! साहै राम्रो जोडा मिल्छ । गएर काम कुरो छिनेरै आउनुपर्यो ।”
त्यसका कुरा सुनेर यू चेन दङ्गै पर्यो । त्यसले भन्यो, “सफासफी कुरा गर्दा रिसानी माफ राख्नुहोला – अर्को कुनै घर भए त खुसीसाथ जाँदो हुँ । काओकहीँ पठाउनु छ भने अर्कै लमी बन्दोबस्त गर्नुभए बढिया हुने थियो ।”
येनले भन्यो, “किन र ? तपाईँ किन नजाने ? कुरा पहिले तपाईँले नै ल्याउनुभएको हो । अब अर्को लमी किन खोज्नु ?”
यूले भन्यो, “मैले नामन्जुर गरेको त होइन, तर काओ बुढोलाई त्यसै पटाइहाल्न सक्नु गाह्रै छ । त्यसैले अलि हच्केको हुँ।”
येनले भन्यो, “अरू कुरामा बुढोले तपाईँलाई ठगिहाल्न पनि सक्ला, सितिमिति नपटिने खालको व्यापारी-बच्चो ठहर्यो, तर लमीको काम त त्यस्तो गाह्रो छैन । त्यसले केटा र केटीको कुरा लगेर जोरीसम्म दिनु त हो नि । यसमा के असजिलो छ ? हँ, त्यसकी छोरी बिहे गर्दिन भन्दछ भने कुरो अर्कै हो । स्त्री पुरुषले एक न एक दिन बिहे गर्नैपर्दछ । तसर्थ जस्तोसुकै अप्ठेरो मान्छे भइरहोस् – त्यस काओ भन्ने बुढोले लमीसित केको नराम्रो व्यवहार गर्ला ? अनि तपाईँलाई केको धक ? मेरो काम गरिदिने मन भएन होला, त्यसैले जानाजान आफै कुरा अप्ठेरो पारेर देखाउन खोज्नुहुन्छ । भइहाल्यो, अर्कै केही खोज्नुपर्ला – त्यत्ति नै त हो नि । तर, बिहे भोजको निम्तो पाउने आशा भने अहिलेदेखि नै मारिहाल्नुभए हुन्छ ।”
यति भनेर अँध्यारो मुख लाई फनक्क फन्किएर ऊ गइहाल्न उठ्यो । ऋणी भएको हुनाले यू चेन येनका कुरामा धेरैजसो नाइँ नास्ति गर्ने सक्तैनथ्यो ।
साहुलाई त्यसरी रिसाएको देखेर त्यसले तुरुन्तै कुराका छाँट बदलिहाल्यो ।
त्यसले भन्यो, “रिसाइ नहाल्नुहोस् न । बस्नुहोस् – राम्ररी फेरि छलफल गरौँ ।”
येनले भन्यो, “तपाईँलाई जाने मन छ भने त्यस्तै कुरा गर्नुहोस्, नत्र भने बस्ने र छलफल गर्ने मतलबै के छ ?”
जाग्दाजाग्दै पनि त्यो फेरि बस्यो ।
यूले त्यसको चित्त बुझाउन भन्यो, “मैले जानाजान कुरा अप्ठेरो पारेर देखाएको होइन । साँच्ची भन्छु – त्यो बुढो काओ पनि एकतमासकै मानिस छ । हेर्नुहोस् न – अरूहरू केटी रोज्दा केटाका तर्फबाट किसिम किसिमका कुरा भिक्तछन्, त्यो बुढो भने ज्वाइँ रोज्न पो नानावलीका ह्याँत्याँ गर्छ । आफ्नै आँखाले हेरी रोजेर चित्त नबुझुन्जेल त्यसले कसैलाई त्यसै छोरी दिइहाल्ने होइन । यी सब नचाहिँदा भ्याउला देखेरै तपाईँ बेफ्वाँकमा कुनै टन्टामा पर्न जानुहोला कि भन्ने डर लाग्दछ । यिनै सब कारणले मैले यस्ता फसादका काममा बरु हातै नहाल्न खोजेको हुँ।”
येनले भन्यो, “तपाईँका कुरा सुन्दा त झन् यसभन्दा सजिलो कुनै कुरै छैन भन्ने पो लाग्यो । मलाई हेर्न खोज्दछ भने हेरोस् न – कानो-खोरन्डो छैन क्यारे ! त्यसै पनि किन तर्सनुहुन्छ ?”
यू चेनले हाँसो थाम्नै सकेन ।
त्यसले भन्यो, “नराम्रो नठान्नुहोला – कुरा क्या हो भने – तपाईँलाई काओले तपाईँभन्दा कता हो कता – धेरै राम्रा कुरूपै भन्न नमिले तापनि केटाहरूलाई पनि मन पराएन । तपाईँलाई त्यसले नदेखेसम्म काम पटिहाल्छ कि भन्ने केही आशा गर्न सकिएला, कथंकदाचित् देखिहाल्यो भने त दश हजारमा एउटासम्म पनि आशा देख्तिन ।”
येनले भन्यो, “उखानै छ – झुटोको सरदार लमी । गएर मेरा रूपको धूमधाम प्रशंसा गरे भइहाल्यो । हेर्नुहोस् – यो बिहे प्रारब्धैले जुराइसकेको हुन सक्तछ । त्यसो भए मलाई हेर्ने कुनै नझिकी बुढाले खुरुक्कै ‘हुन्छ’ भनिहाल्छ ।”
“तर, हेर्ने नै ढिपी कस्यो भने कसो गर्ने नि ?”
“त्यस्तै परिहाल्यो भने पनि मिलाउँदै गरुँला नि । गएर मेरो कुरा त चलाइहाल्नुहोस् ।”
“हुन्छ, तपाईँको चित्त बुझाउन जानै पर्ला ।”
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।