सानी सधैँ उनीसित डराउँथी अनि तर्किन्थी । हरेक बिहान काममा जानुअघि उनी बच्चाहरूको कोठामा आउँथे र सानीलाई हतारमा देखावटी म्वाइँ खान्थे । प्रत्युत्तरमा सानी उनलाई ‘गुडबाइ बुबा !’ भन्थी । त्यो लामो सडकमा बग्गी दगुर्दै पर पुग्दा क्रमशः मधुरो हुँदै जाने त्यसको आवाज । आहा ! त्यो आवाज सुन्दा कति हलुङ्गो हुन्थ्यो उसलाई ।

साँझपख घर फर्केपछि तलको ठुलो कोठामा बुवाले चर्को स्वरमा बोलेको ऊ रेलिङमा अडेस लगाएर सुन्थी ।

‘चुरोट तान्ने कोठामा मेरो चिया ल्याइदेऊ…, पत्रिका अझै आइपुगेको छैन ? तिनीहरूले फेरि पनि भान्सामा लगे कि क्या हो ? आमा ! जाऊ न पत्रिका त्यहाँभित्र छ कि छैन, हेरिदेऊ । अनि मेरो चप्पल पनि ल्याइदेऊ ।’

‘केजिया !’ आमा उसलाई बोलाउँथिन्, ‘आऊ बा ! तिमी ज्ञानी छोरी हौ भने तल आएर बुबाको जुत्ता फुकालिदेऊ ।’

ऊ सुस्तरी भऱ्याङ ओर्लिन्थी । उसको एउटा हातले रेलिङका डन्डीहरूलाई च्याप्प समातेको हुन्थ्यो । त्यो ठुलो कोठानिर आइपुग्दा ऊ झनै बिस्तारै ओर्लिन्थी । त्यसपछि ‘चुरोट तान्ने’ कोठाको ढोका घचेट्तै उघार्थी ।

त्यतिन्जेलमा उनले चस्मा लगाइसकेका हुन्थे र उसलाई यसरी हेर्ने गर्थे कि त्यो हेराइले ऊ भयभीत हुन्थी ।

‘केजिया ! तिमी आज ज्ञानी छोरी भयौ कि भइनौ ?’

‘मलाई थ… था…था छैन बुबा ‘

‘तिमीलाई थ… था…था छैन रे ? यसरी भकभकायौ भने त आमाले तिमीलाई डक्टरकहाँ लानुपर्ने हुन्छ ।’

हुन त उसले भकभकाउने बानी एक किसिमले छोडिसकेकी थिई । अरू मानिसहरूको अघिल्तिर बोल्दा ऊ कहिल्यै भकभकाउँदिनथी । तर बुबाको अघिल्तिर पर्दा भने नभकभकाई बोल्न सक्तैनथी । बुबासँग बोल्दा राम्ररी उच्चारण गरेर बोल्नुपर्छ भनेर कोसिस गरेकै कारणले यस्तो भइदिन्थ्यो ।

‘के भो तिमीलाई ? त्यस्तो टिठलाग्दो अनुहार किन बनाएकी ? आमा ! तिमीले यो केटीलाई मर्ने लागेको जस्तो गरी त्रसित अनुहार नबनाउन सिकाएनौ जस्तो छ नि ! ल केजिया ! मैले चिया खा’को कप टेबुलमा राखिदेऊ त ! बिस्तारै गर है ! फेरि तिम्रो हात त बूढी मान्छेको जस्तो काम्छ नि ! अनि रुमाल पनि खल्तीमा पो राख्नुपर्छ । बाहुलाभित्र राख्ने हो त ? नराख त्यसरी !!

‘हऽ हवस् बुबा !’

हरेक आइतबार चर्चमा प्रार्थना गर्दा ऊ बुबासँग कुर्सीमा बस्थी । बुबा प्रस्ट आवाजमा ठुलो स्वरले गाउँथे । प्रवचनको बेलामा उनले नीलो ठुटे सिसाकलमले खामको पछिल्तिरको भागमा केही टिपोट गरेको ऊ हेरिरहन्थी । अर्को हातले भने उनी कुर्सीको हातमा आवाज नआउने गरी बिस्तारै ‘थपथप’ मादल बजाएझैँ गरिरहन्थे । प्रार्थना पनि उनी ठुलो स्वरले गर्थे । सानी के कुरामा विश्वस्त थिई भने ईश्वरले चर्चको पुजारीको प्रार्थनाभन्दा केवल उनकै प्रार्थना सुन्नुहुन्थ्यो ।

बुबा ठुलो काँटका थिए । उनका घाँटी अनि हातहरू यही हिसाबले ठुलै दारका थिए । अझ ठुलो त उनको मुख थियो-विशेष गरी हाइ काढ्दा त्यस्तो देखिने गर्थ्यो । खेल्ने कोठामा उनका बारेमा सोच्न लाग्दा सानीलाई राक्षसकै झझल्को आउँथ्यो । हरेक आइतबार हजुरआमाले सानीलाई मखमली लगाइदिएर ‘बुबाआमासँग मीठा मीठा कुरा गर्न जाऊ’ भन्दै बैठक कोठामा पठाइदिन्थिन् । तर सानी त्यहाँ पुग्दा आमा ‘द स्केच’ भन्ने पत्रिका पढिरहेकी हुन्थिन् । बुबाचाहिँ सोफामा लमतन्न परेर गोजीको रुमालले मुख ढाकेर सुतेका देखिन्थे । त्यतिखेर उनी आफ्नो गोडा सोफामा राखिने बालिस्टमाथि अड्याएर घुर्दै मस्तले निदाएका हुन्थे । सानी भने पियानो राख्ने स्टुलमा बसेर उनी जागा नहुन्जेल निन्याउरो अनुहारले उनलाई हेरिरहन्थी । उनी जागा भएपछि आङ तन्काउँदै ‘कति बज्यो हँ ?’ भनेर सोध्थे अनि बल्ल ऊतिर हेर्थे ।

‘त्यसरी एकोहोरो नहेर न केजिया ! तिमी त सानो उल्लुले हेरेजस्तो गछौं ।’

एक दिनको कुरा हो, ऊ रुघाले ग्रस्त भएर बसेकी थिई । हजुरआमाले उसलाई बुबाको जन्मदिन अर्को हप्तामा पर्छ, बुबालाई उपहार दिनका लागि ‘पिन कुसन’ बनाऊ भनेर साटनको पहेँलो कपडा दिइन् । सानीले खुबै मिहिनेतका साथ कपडालाई दुई तह बनाएर तीनतिरको घेरा सिएर जोरिदिई । तर अब भित्र पो के हाल्ने होला ? सानी सोच मग्न भई । कसलाई सोध्ने ? हजुरआमा पनि बगैँचामा थिइनन् । आमा सुत्ने कोठामा थिइन् । थोत्राथात्री केही पाइन्छ कि भनेर ऊ भित्र पसी । पलङनिरको टेबलमा उसले धेरै कागजहरू फेला पारी। ती कागजहरू एकैनासका राम्रा थिए । तिनलाई उसले समेटी र धुजा धुजा पारेर च्याती । तिनै धुजा पारिएका कागज उसले सिएको कपडाभित्र कोचेर चौथो घेरालाई पनि टम्म पारेर सिइदिई ।

त्यो रात घरमा ठुलो हल्लीखल्ली भयो । बुबाले पोर्ट अथरिटी (बन्दरगाह निकाय)मा गर्नुपर्ने महत्त्वपूर्ण भाषणको कागज हराएको थियो। सबै कोठाहरूको खानतलासी लिइयो । प्रत्येक नोकरलाई यसबारेमा सोधियो । अन्त्यमा सानीको खेल्ने कोठामा आमा आइपुगिन् ।

‘केजिया ! तिमीले हाम्रो कोठाको टेबलमा केही कागज देखेकी थिइनौ ?’

‘ए त्यो ? त्यसलाई त मैले बुवालाई जन्मदिनमा उपहार दिएर छक्कै पार्छु भनेर सबै च्यातेँ ।’

‘करे ?’ आमाले जोडले चिच्च्याएर भनिन्, ‘ल, तुरुन्त खाने कोठामा आइहाल, अहिले नै ।’

उसलाई घिसारेर बुवा भएको ठाउँमा लगियो । बुवा दुवै हात पछाडितिर बाँधेर बेचैनीमा खाना खाने कक्षमा ओहोरदोहोर गर्दै थिए ।

कडा स्वरमा उनले, ‘ए…!’ भने ।

आमाले घटनाको बेलिबिस्तार लगाइन् । बुवा टक्क अडिए र सानीलाई वाल्ल परेर हेर्न थाले ।

‘तिमीले हो त्यस्तो गरेको ?’

‘ह…ह… होइन ।’ उसले अस्पष्ट स्वरमा भनी ।

‘आमा ! तिमी उसको खेल्ने कोठामा गएर त्यो ठाँडो ल्याइहाल त । अनि बच्चीलाई पनि सुत्न पठाइहाल त तुरुन्तै ।’

सानी सारै रोई । खासमा कुरा के भएको थियो भनेर स्पष्ट पार्न पनि नसक्ने गरी रोई ऊ । त्यो अँध्यारो कोठाको आँखीझ्यालबाट मधुरो उज्यालो छिरेर भुईँमा सानो उदासझैँ देखिने बुट्टा बनाएको थियो । त्यो बुट्टा हेर्दै ऊ त्यही अँध्यारो कोठामा पल्टिरही । केही बेरमै हातमा लट्ठी लिएर बुबा कोठाभित्र आइपुगे ।

‘त्यस्तो काम गर्ने हो ? तिमीलाई त म बेसरी पिट्छु ।’

‘नाइँ, नाइँ ‘

तन्नाभित्र गुटमुटिएर खुम्चिँदै ऊ चिच्याई । उनले तन्ना तानेर एकातिर पन्छाए ।

‘ल उठेर बस !’ कड्केर भने, ‘हात थाप अब, आफ्नो बाहेक अरूको सामान छुनै हुँदैन । यो कुरा कहिल्यै नबिर्सिने गरी सिकाउनै पर्ने भएको छ तिमीलाई ।’

‘तर त्यो त तपाईँलाई ज… जन्मदिनमा दिनका लागि बनाएको ।’ सानीले डराएर लगलग हुँदै भनी । त्यसपछि उसको कलिलो गुलाबी हत्केलामा स्वाट्ट लट्ठी बज्रियो । बुबा गइसकेका थिए । एक छिनपछि हजुरआमाले उसलाई ओढ्नेले बेरेर आराम कुर्सीमा राखिन् र हल्लाइरहिन् । सानी हजुरआमाको कमलो, न्यानो जीउमा लुपुक्क टाँसिई । ‘प्रभुले बुवाहरू किन बनाएका होलान् ?’ उसले सुँक्कसुँक्क गर्दै गुनासो गरी ।

‘यो सफा रुमाल लिऊ त बाबा ! यसमा मैले मेरो गुलाबजल छर्केको छु । सुत है नानु ! भोलीसम्ममा त तिमीले बिर्सिहाल्छ्यौ नि ! मैले बुबालाई कति सम्झाउन खोजेँ, तर उहाँलाई यसपल्ट सारै दुख लागेको रहेछ, केही पनि सुन्नै मान्नुभएन ।’

तर सानी बच्चीले त्यो दुख बिर्सिन सकिन । अर्को चोटि बुबासँग भेट हुँदा उसले दुवै हात स्वाट्ट पछिल्तिर लुकाई र गाला रातो पारी ।
छिमेकमा म्याकडोनलहरू बस्थे । पाँच जना त केटाकेटी मात्र थिए त्यहाँ । साँझतिर करेसाबारीको बारको चिर्कटोबाट यसो हेर्दा सानीले ती केटाकेटीलाई ‘ट्याग’ भन्ने खेल खेलिरहेको देखी । फुच्चे म्याक बुबाचाहिँको काँधमा थियो । दुई साना केटीहरू उनको कोटको फेरमै झुन्डिएर फूलहरूको ड्याङ वरिपरि फन्को मार्दै खित्का छोडेर मरीमरी हाँसिरहेका थिए । एकपल्ट त ती केटाहरूले पानी फ्याँक्ने पाइप आफ्नो बुवातिर तेर्स्याएर पानी छ्यापिरहेकै देखी उसले । त्यसपछि त बुबाचाहिँले तिनीहरूलाई समातेर काउकुती लगाउँदै सासै अड्केला जस्तो गरी हँसाए । हो, ठिक त्यही बेला सानीले बुवाहरू थरी थरी स्वभावका हुँदा रहेछन् भन्ने अर्थ लगाई ।

एक दिनको कुरा हो । आमा बिरामी परिन् । त्यसपछि उनी बन्द बग्गीमा चढेर हजुरआमासँग सहरतिर गइन् ।
त्यो ‘जर्साब’ नै हुँ जस्तो गर्ने एलिससँग बच्ची घरमा एक्लै परी । दिउँसो त केही भएन तर राति एलिसले सुताउन खोज्दा सानीलाई एक्कासि डर लागेर आयो ।

‘राति डरलाग्दो सपना देखियो भने के गर्ने ?’ उसले सोधी, ‘म त धेरैजसो डर लाग्ने सपना देख्छु अनि हजुरआमाले मलाई आफ्नै ओछ्यानमा लैजानुहुन्छ । फेरि म अँध्यारोमा बस्नै सक्तिनँ । अँध्यारोमा चारैतिर खासखुस गऱ्या जस्तो लाग्छ । अनि त्यस्तै सपना देखियो भने म के गरुँला ?’

‘नानु ! तिमी सुत न ।’ एलिसले उसको मोजा फुकालिदिएर पलङको डन्डीमा राखिदिँदै भनिन्, ‘फेरि चिच्च्याएर बिचरा बुबालाई उठाउनेचाहिँ होइन नि !’

तर सुतेपछि उही पुरानै डरलाग्दो सपना दोहोरियो-चक्कु र डोरी लिएको कुनै पशु मार हान्ने मान्छे जस्तो कुटिल मन्द हाँसोको अनुहार लिएर नजिक अनि झन्झन् नजिक आइरहेको…। सानी आफू भने हल्लिनसम्म नसकेर ठिङ्ग उभिएर ‘हजुरआमा !
हजुरआमा !’ भन्दै चिच्च्याइरहेकी । लगभग काम्दै सानी बिउँझिई । हातमा मैनबत्ती लिएर बुबा छेवैमा उभिरहेका थिए । ‘के भयो ?’ बुबाले सोधे । ‘आबुई मार हान्ने मान्छे… चक्कु हजुरआमा खोइ ?’

बुबाले फु गरेर मैनबत्ती निभाए, निहुरिएर सानीलाई बोके र प्यासेज हुँदै आफ्नो सुत्ने कोठामा लगे । ओछ्यानमा एउटा पत्रिका त्यत्तिकै थियो । आधा सिद्धिएको सिगार पढ्ने बत्तीमा मिलाएर अड्याइएको थियो । बुबाले पत्रिका भुईँमा फ्यात्त फाले, सिगारलाई कोठा न्यानो पार्ने अगेनुमा मिल्काए अनि बच्चीलाई होसियारीपूर्वक बिस्तारै ओछ्यानमा सुताए । आफू पनि उसको छेवैमा पल्टिए । सानी अर्ध निद्रामै थिई । अझै त्यो मार हान्ने मान्छेको डरलाग्दो मुस्कानको झझल्कोले अँचेटिएकी थिई । बुबाको पाखुरामुनि टाउको घुसारेर उनको पाइजामा ज्याकेट च्याप्प समातेर टाँसिएर सुत्न खोजी ।

अब अँध्याराको पिर भएन । ऊ शान्त भएर हलचल नगरी पल्टिइरही ।

थकाइले गर्दा सानी निदाउनुभन्दा पहिल्यै बुबा निदाए । उसको मनमा रमाइलो कुरा खेल्न थाल्यो । बिचरा बुबा ! त्यति ठुलो त
होइन नि उहाँ पनि । अनि उहाँको हेरविचार गर्ने पनि कोही छैन । हजुरआमाभन्दा उहाँ कडा हुनुहुन्थ्यो, तर त्यो कडापन नै कति राम्रो । हरेक दिन उहाँले धेरै काम गर्नुपर्थ्यो अनि कामले थाकेपछि म्याकडोलन जस्तो बन्न त कहाँ सक्नु र ? उसले त उहाँले त्यस्ता राम्रा कुरा लेख्नुभएको कागज नै च्यातिदिएकी थिई । ऊ एक्कासि चलमलाई अनि लामो सुस्केरा हाली ।

‘के भयो ? फेरि सपना देख्यौ कि क्या हो ?’

सानीले भनी, ‘मेरो टाउको तपाईँको मुटुमै छ । यसले ढुकढुक गरेको मैले सुनिरा’छु । मेरो प्यारो बुवा । तपाईँको यो मुटु कति ठुलो छ ।’

 

क्याथरिन म्यान्सफिल्ड

जन्म : सन् १८८८, न्युजिल्यान्ड । सन् १९०८ देखि लन्डनमा स्थायी बसोबास । ९ वर्षको उमेरमा पहिलो लेख प्रकाशित । द डल्स हाउस, अ कप अफ टी उनका प्रख्यात कथाहरू । ब्लिस (सन् १९२०), द गार्डन पार्टी (सन् १९२२), समथिङ चाइल्डिस, द डभ्स नेस्ट (सन् १९२३) इन जर्मन पेन्सन जस्ता कृतिका लेखिका । त्यस समयकी उत्कृष्ट कथाकारमध्ये एक ।

मृत्यु : सन् १९२३, जनवरी ९ मा ३४ वर्षको उमेरमा ।