सपना पौड्याल नेपाली कलाकारहरूका बीचमा एक चिरपरिचित कलाकारको नाम हो । उनी एक स्थापित प्रतिभा हुन् । उनीसँग मेरो भेट हुन पाएको थिएन । यद्यपि कलाकार भनेर मैले अप्रत्यक्ष रुपमा सामाजिक सञ्जालमा चिनेको भने थिएँ । केही समयअधि रसियन कल्चर सेन्टरमा भएको सामूहिक कला प्रदर्शनीमा उनीसँग मेरो प्रत्यक्ष भेट भयो । संयोगवश, म पनि त्यो प्रदशर्नीमा निमन्त्रित थिएँ । त्यहाँ उनले बनाएका दुई थान क्लासिक चित्रहरू प्रदर्शित थिए । हुन त, सामाजिक सञ्जालमा उनका चित्रहरू हेर्न पाएकै थिए । तर प्रत्यक्ष रुपमा हेर्ने मौका त्यो प्रदर्शनीमा जु-यो । यसअघि मैले उनको केही चित्र देख्न पाएको थिए । एक चित्रमा सारड्गी बजाउँदै गरेको एक नेपाली बृध्दको पोट्रट देखेको थिएँ । त्यस चित्रमा नेपालको देहातीपनको सामाजिक रुपरेखा देखाउन खोजिएको जस्तै थियो ।

मूलतः पौड्याल पौभा कलाकारको रुपमा नेपालमा चिनिएकी भए पनि उनको पौभामा आधुनिकता तर्फको यात्रामा उन्मुक्त रहेको पाइन्छ । उनका कलामा दृष्टिगोचर हुँदा पौभा पृष्ठभूमि सँगसँगै सररियालिज्मको महकता पनि भेटिन्छ । एक चित्रमा भगवान् गणेशले आफ्नी दुई पत्नी रिद्धी सिद्धीसँग गरेको नृत्यको प्रतिविम्व भेटिन्छ । गणेश चित्रको वर्णन गदै उनी भन्छिन्, ‘चाँदनी रातको शान्त वातावरणमा, हिन्दु र बौद्ध परम्परामा पूज्य देवता गणेशले आफ्नो दिव्य उपस्थितिलाई सुन्दर ढंगले प्रकट गर्दछ । मैले बनाएको गणेश चम्किलो गुलावी कमलमा विराजमान हुनुहुन्छ । जुन क्यानभासको तल्लो भागको उथुलपुथुलको संयोजन पानीबाट विजय रुपमा निस्किएको छ । र, प्रत्येक संघर्षको साथ गणेशको आकाशीय रुपले भब्यता र अनुग्रहको आभामण्डल चारैतर्फ छरिएको छ ।’

चित्रमा देखिएका दुई मनमोहक जोडीहरू रिद्धि र सिद्धीहरू गणेशका आध्यात्मिक प्रेम, सौन्दर्य, शक्ति र समिृद्धिका प्रतीक हुन् । साथै तिनीहरूले एक ईश्वरीय झाँकी सिर्जना गरेका छन् । तिनीहरूमा उज्ज्वल शरीरहरू आकाशीय रत्नहरूले सजिएको छ । भगवान् गणेशको निकटमा विराजमान रहेका साथी वा गणेश वाहन चरा र मुसा चित्रको सुन्दरतामा स्पर्श थपेका छन् । दिव्यमय लय, प्रेम र सद्भाव अटाएको मेरो गणेश चित्र साह्रै लोभलाग्दो सिर्जना बनेको छ ।’

वरिष्ठ पौभा कलाकार दीपककुमार जोशीकी शिष्या सपना पौड्याल नितान्त पौभा कला पृष्ठभूमिको धरातलबाट अघि बढेकी कलाकार हुन् । पौभा कलाको प्रसंग उट्दा उनलाई नितान्त वा पूर्ण परम्परागत शैलीको पौभा कलाकार भनिहाल्न मिल्दैन किनकि उनी पौभा चित्र बनाउनुका साथै बेलामौकाममा वस्तुवादी चित्र, पोट्रेट चित्र, सामाजिक चित्र, एब्स्ट्रयाक चित्र पनि कोर्न भ्याउने गर्छिन् । यसो हुनुमा उनको पछिल्लो चरणको चित्र प्रशिक्षण केन्द्रको रुपमा काष्ठमण्डप ग्रुप भएकाले होला । ग्रुपको आधुनिक प्रभावले उनको हृदयलाई छुन सकेकाले होला । उनको एक सेमी एब्ट्रयाक चित्रले स्वयम् आफ्नो हृदयको प्रतिनिधित्व गरेको पाइन्छ । जहाँ रङ र विषय सन्दर्भलाई चित्रको अभिन्न अंगको रुपमा आत्मसात भएको देखिन्छ । चित्रमा प्रयोग भएका रंगहरूमध्ये गुलाबी रङले उनी स्वयंभित्र विधमान रहेको नारी सुलभ व्यवहार, सबैलाई आफैँले हेरचाह गर्ने आदत र प्रेमको प्रेमिल झोँकालाई प्रतिनिधित्व गरेको संकेत हुन्छ ।

सपनाको पारिवारिक पृष्ठभूमि कलाकारिता नभए पनि उनी आफ्नै परिश्रमको बलले स्वअध्ययनबाट बनेकी कलाकार हुन् । उनको कला गुणमा कलाको शिल्पी पक्ष, सनातन वैदिक, अध्यात्मिक संरचना र प्रस्तुति अति उत्कृष्ट हुन्छन् । कलाका हरेक विषय संरचनाहरू सशक्त र डिटेलमा बनेका हुन्छन् । उनको जस्तो मिहिन चित्र बनाउन संयमता र धैर्य एकदमै आवश्यक हुने गर्दछ । अति डिटेलमा बनेका देवीदेवताका चित्रहरू अहिले नै बोल्लान बोल्लानजस्ता देखिन्छन् । पौभाबाट फट्को मार्ने चाहना बोकेका उनका चित्रहरूले नेपालका परिवर्तनकामी (पौभामा आधुनिकपन दिन खोज्ने)पौभा कलाकार समुद्रमानको कलाको याद दिलाउछ यद्यपि परिवर्तनको तुलनात्मक रुपमा यी दुई कलाकारमा फरकपन छ । समुद्रको पौभा चित्रले पौभा शैलीलाई सरदर ब्रेक गरिसकेको अवस्था छ भने सपनाको चित्रले पूर्ण रुपमा ब्रेकको बाटो अंगीकार गरिहाल्न सकेको देखिदैन । सपनाको पौभा चित्रमा अझै पनि पौभा शैलीको मिठास र मान्यता उजेलिन्छन् । उनको देवी सरस्वती र आर्य तारा शीर्षकका चित्रहरू यही तर्कका प्रमाण हुन् । सन् १९८९ मा काठमाडौँमा जन्मेकी उनी आर्यतारा विषयवस्तुको कथाको सन्दर्भमा भन्छिन्, ‘चित्रमा अंकित आर्यताराको जन्म अवलोकितेश्वरको दयालु आँशुबाट भएको हो । जब अवलोकितेश्वरले दुःखको संसार हेर्दै थिए । पीडाले उनको आँखाबाट अश्रु खसे र सेतो शान्त ताराको जन्म भयो । चित्रमा अंकित विविध भावभंगिमा र प्रतीकले एक एक अर्थ बोकेको छन् ।’

स्वदेश तथा विदेशमा विभिन्न समयमा चित्रकला प्रदर्शनी गर्दै आएकी पौड्यालका चित्र विविध देशहरुमा संग्रहित रहेका छन् । उनी स्वदेश तथा विदेशका कला कार्यशालामा निरन्तर सहभागिता जनाउ“दै आईरहेकी छिन् । नेपाली समाजको रुपरेखा पनि चित्रित गर्न पछि नपर्ने उनको कलाको स्वाद माथि भनिएजस्तै परम्परागत मानिने पौभा कन्सेप्टबाटै दर्शकले भरपुर आनन्द पाउँछन् । र, उनीहरू यसैमा बढी खुसी पनि हुन्छन् ।

यो पंक्ति पौभाको सन्दर्भमा उठेकोले हामीले यस विधाको परम्परागत उठानको बारेमा पनि थाहा पाइरहन जरुरी हुन्छ । विषयवस्तुका दृष्टिले हिन्दू र बौद्ध धर्म एवं विविध सम्प्रदायका दर्शन, मान्यता र परम्परासँग सरोकार राख्ने परम्परागत कला हाम्रो पहिचान र सभ्यताको सूचक हो । यसभित्र मौलिक नेपाली चित्रकला, मूर्तिकला, वास्तुकला लगायतका कलाहरू पर्दछन् । प्यागोडा, गुम्बज, टुँडाल, ऐतिहासिक ढुङ्गे मूर्ति, पौभा, मण्डला आदि कलाहरू परम्परागत कलाका विविध स्वरूपहरू हुन् । यी कलाहरूले अन्तर्राष्ट्रिय कलाक्षेत्र र बजारमा निकै राम्रो उचाइ पाएका छन् । यसबाट नेपाली कलाकारको आर्थिक उन्नतिका साथै हाम्रा मूल्य, मान्यता र पहिचानहरूको प्रभाव पनि विश्वमञ्चसम्म पुगिरहेको छ ।

विश्वमञ्चमा नेपाली कलाको शिर उँचो राखेको परम्परागत चित्रकलाको इतिहास कहाँबाट सुरु भयो ? यो प्रश्नको तथ्यपरक उत्तर आज पनि हाम्रा इतिहासकारहरूले किटानीसाथ भन्न सकिरहेका छैनन् । प्राचीनकालमा बनाइने यस्ता कलामा धार्मिक आख्यान, श्लोक, उक्ति र बिम्बहरू सुन्दर तवरले कोरिन्थे । नवौं वा दशौं शताब्दीमा लेखिएको प्रज्ञापारमितालाई नेपालको प्रथम ग्रन्थचित्र भन्ने चलन छ । यसलाई राजा नरेन्द्रदेवले आफ्नी छोरीलाई दिएका थिए भन्ने भनाइ रहिआएको भए तापनि अहिलेसम्म यसको प्रमाणिक आधार हामीसँग छैन । तर दशौंदेखि तेह्रौं शताब्दीसम्मका चित्र भने अझै पनि हामी कहाँ सुरक्षित नै छन् । त्यसकालमा चित्रहरू प्राकृतिक आधारपट जस्तैः भोजपत्र, ताडपत्र, पर्खाल र जमिनमा कोरिन्थे र लिपिबद्ध चित्रहरू धार्मिक भावना र मौलिक सुगन्धले ओतप्रोत हुन्थे ।

प्राचीन चित्रकलापछि पौभा कलाको परम्परा नेपाली समाजमा छाएको देखिन्छ । यो कलाको प्रचलन १२औं शताब्दीअघि नै सुरु भएको भन्ने तर्क छ । १२औं शताब्दीमा अरनिकोको तिब्बत र चीन यात्राको अवसरले यो कलाको प्रायोगिकता र प्रचारमा होस्टे गराएको थियो । पौभा शब्द विशेषतः नेवारी नामकरण हो । तिब्बती भाषामा यसलाई थाङ्का (प्राचीन नाम थाङ्कु) भनिन्छ । पौभा र थाङ्का भन्नु एकै भए तापनि यी दुईको बनावटको शैलीमा भने थोरै मात्र अन्तर भेटिन्छ । पौभा लेख्ने ‘पठी भराण्डो’ चलन अपभ्रंश भई पौभा भएको हो । पौभामा विशेषतः बौद्ध आस्था र हिन्दू देवीदेवताका जीवनी र लीला कोरिन्छ । यसअन्तर्गत बनाइने गोलाकार मण्डलाको बीच भागमा प्रमुख देवी वा देवताको चित्र राखिन्छ र नियमानुरूप राख्नैपर्ने वरिपरि सहयोगी देवीदेवताहरूलाई सजाइन्छ । साथै चित्रलाई अझै उत्कृष्ट र आकर्षक बनाउन रूखपात, खोलानाला, झरना, आगो, गुम्बा, बिहार र अन्य आवश्यक बिम्बहरू प्रतीकात्मक वा यथार्थ रूपमा कोरिन्छन् । सपनाका डिटेलका चित्रहरूमा पनि यस्तै यस्तै प्रतीकले ठाउँ पाउने गरेको छ ।