बाँच्नु पनि पुरुषार्थ हो भन्नेहरूलाई देख्दा म अपराधबोध गर्न थाल्छु । साँच्ची, बाँच्नु भनेको पाप गर्नलाई हो ? कति गम्भीर प्रश्न । उत्तरका निम्ति आफ्नै अहम्सँग ठोकिन्छु र व्यग्र हुन्छु ।

म यसलाई मर्न नसक्नेहरूको हरूवा तर्क भन्छु ।

यथार्थ त कसैलाई मार्नु पर्दो रहेछ । कस्तो विडम्बना ! अपहरण नगरी सुन्ने नै होइन । बन्द नगरी कसैले टेर्नै छाडिसके । बिनातोडफोड उजुरी नै लाग्दैन । हैन, के भएछ अचेलका मान्छेलाई ?

मलाई लाग्दैन पाप गर्नलाई म जन्मेको हुँ । तर पाप नगरीकन बाँच्न नसकिने समाजमा बाँच्नु पाप गर्नलाई हो भन्ने लाग्न थालिरहेछ । दुराचारी हुनलाई बाँचेजस्तो बाँचेकाहरू देख्दा होइन भनी प्रतिकार गर्न सकिनँ ।

प्रत्युत्तरको अभावमा निरुत्साहित म यसैलाई उत्तर ठानेर निष्कर्ष निकाल्छु । हो, पाप गर्नलाई जन्मेको होइन तर पाप नगरी बाँच्न सक्तैनौँ ।

म हत्यारालाई अपराधी भन्दिनँ किनभने बाँच्ने हो भने उसले कसैलाई मार्नुपर्छ । यो विवशतामा जो पनि ज्यानमारा भइदिन्छन् भने कसरी अपराधी भन्ने ? बरु सहानुभूति गर भन्छु ।

म चोरलाई दोषी भन्दिनँ, किनभने चोर हुन्छु भनेर कहाँ कोही चोर भएका हुन्छन् र ? भीख मागेर उसले कम्तीमा त्यसभन्दा निन्दनीय काम गरेन । कसैको आश्रयमा बाँचेर शरणार्थी चोर हुनु साहसिलो काम हो ।

अनैतिक आचरण गर्नेलाई चरित्रहीन भनेर किन अपमानित गर्ने ? तिमीले भनेजस्तो ठूलो कुरो त बाँच्नु हो । आत्महत्यालाई अपराध मानेर हुतिहारा हुनुभन्दा बाँच्नलाई जे पनि गर्न सक्नुपर्छ ।

यो गर, त्यो नगर भनी उपदेश गर्ने तिमी को हौ ? आफैंलाई त्यसअनुसार सच्याएर डोर्याएको भए कहाँ पुगिसकिन्थ्यो । दोष दण्डित हुनेहरूको होइन, त्यस्तो समाज रच्नेहरूको हो जहाँ अपराध नगरी बाँच्दैनौँ ।

भनूँ भने अपराध के हो, केलाई भन्छन् थाहा छैन । कस्तो हुन्छ, कुन रङको हुन्छ, हुलिया नभएकाले अमूर्त चित्रजस्तो लाग्छ । आकाशजत्तिकै व्यापक, देश भएर फैलिदिएको छ ।

तैपनि आदेश जारी गर्छन् । दोषी ठहर्याएर दण्डित हुन्छन् बात लागेकाहरू । पाप नगरी बाँचेका छौँ भने कसैलाई अपराधी भन्नु निरपराधी हुन खोज्नु मात्रै हो ।

मलाई सोध्छौ भने ससाना नानीहरूजस्तो निष्कलङ्क कोही छैन । कसैको अनुहारमा बालकको जस्तो हाँसो देख्दिनँ । गङ्गाजलीय अनुहारजस्तो पवित्र पनि देखिनँ पूर्णमासी अनुहारजस्तो स्वच्छ पनि र व्रती महिलाको निरामिष अनुहारजस्तो अनुहार पनि देखिनँ ।

हेर्दाहेर्दै वाग्मती दुर्गन्धित भएजस्तै भइसकेछौँ । देख्दादेख्दै वातावरण प्रदूषित भएजस्तै बिटुलिएछौँ । मिसावटी खाद्यवस्तुजस्ता छौँ साले हामी त ! टीभी मा धुल्याउनलाई फ्याँकेको कुहेको चामल खोसाखोस गरिरहेका मानिसको भीड देख्दा नेता, पार्टीहरूको पदमोह अनिकालको त्यही अन्नभन्दा कम लागेन ।

कहाँ गएछ हाम्रो व्रतालु निष्ठा ? खै त्यो शहीदी समर्पण ? सिद्धार्थी त्याग र गान्धी आचरण ?

आफ्नै लागि मर्ने–मार्नेहरूको भीडमा अपाहिज देश हिँड्नै सकिरहेको छैन । जहिले हेर बाटाहरू मान्छेजस्तै अपहृत भइदिन्छ । कैदी हुन्छौँ आआफ्नै थलोभित्र । विध्वंसको सुनामी लहर थामिने नामै छैन । जलिरहेको निर्माण र उद्योगधन्दाहरूको आगो तापेर लोकतन्त्र हुर्काउन व्यस्त छौँ ।

सङ्क्रमण भन्ने गरेको याम त सबैको बाली भित्र्याउने मौसम पो भइदिएछ । सबै वर्ग–जातजाति, सबै क्षेत्र–भाषाभाषी, के दलित महिलाहरू, के पेशाकर्मी मधेशीहरू आ–आफ्नै हकहितको रोपाइँमा तल्लीन छन् । भोलि अधिकारविहीनताको भुखमरी खेप्नु पर्ला भन्ने डरले होला राजधानी विद्रोहीहरूको तपोभूमि भइसक्यो । माओवादीहरू पनि आफ्नै फुच्चाफुच्चीलाई होमेर अश्वमेध यज्ञ गर्ने तयारीमा लागेका छन् । अनि यहाँका सडक, मन्त्रालय, पार्क, अड्डाखाना, सिंहदरबार, मण्डला सबै दोबाटो, सबै चौबाटो खेतमा परिणत हुन्छन् । हकहितका नारा घन्किरहेको आवाजले रोपाइँ यामको असारे गीत सम्झाइदिन्छ ।

बाँच्न खोज्नेहरूको अग्रगामी पाइला भन्छु यसलाई हातमुख जोर्नेहरूको फिरादपत्रजस्तो पनि, वर्षौंदेखि दबिएको असन्तोषको टाइमबमजस्तो पनि । भन्नेहरू नयाँ इतिहासको आरम्भ भन्छन् । हामी भुच्चुकहरूलाई केके न पायौँ भन्ने नलागेको होइन तर सधैँ परम्परा भएर दोहोरिने विडम्बनाबाट कहिल्यै मुक्त भएनौँ ।

लाग्छ यो शुरूआतको अन्त छैन । मात्रै दोहोरिने गर्छ, खालि तुहिरहन्छ । धर्म लाग्ने निर्णयहरू बेठीक थिएनन् । अधर्म लाग्ने सोचजस्तो अनुचित नलागिदिएको पनि होइन । यसरी निरर्थक कामहरू कति भइदिएका छन् जिन्दगीमा, निरर्थक आन्दोलनहरू पनि भइदिएका छन् इतिहासमा ।

कसैले के पाएर मौका छोपे होलान् । कसैले के भएर जिन्दगी सपारे होलान् । पापकर्ममा सहभागी भई पल्केकाहरू फेरिफेरि आन्दोलित हुन्छन्, क्रान्ति गर्छन् । फेरि अर्को आन्दोलनको अश्वमेधी घोडा तयार छ अभियानमा हिँड्नलाई ।

यहाँ अलिकता व्याख्याको आवश्यकता देख्छु । जसलाई हामी धर्म भन्छौँ नि, पाप ठान्छन् सालेहरू । उनीहरू जसलाई पाप भन्छन् हामी धर्म मानेर उछित्तो गर्छौं, तर पाप भएको पनि होइन, धर्म लागेको पनि होइन ।

अपराध गर्न उल्क्याउनेहरू यसैलाई धर्म सम्झेर पाप गरिरहे । क्रान्ति, आन्दोलन, विद्रोह त उनीहरूका निम्ति अपराध ठहरिन्छ पापजत्तिकै अस्पृश्य । यो अपराध भनेर आरोपित आन्दोलनहरू पनि हाम्रो भएन । त्यसमा सहभागी थिएनौँ नभनौँ । यसरी लुछाचुँडी, आत्मघात, निष्कासन, धोका, भ्रष्टाचारको हिलोमा मात्रै दबिनरहेर लखेटिन्छौँ गाउँ–गाउँबाट, बस्ती–बस्तीबाट ।

बीभत्स मृत्यु मरे निरपराधीहरू । दुव्र्यवहारको प्रतिशोध गर्नेहरू पनि घृणा, बहिष्कारको आगो सल्काएर मान्छे मार्दै छन् । उचित सम्बोधनको अभावमा घाउ क्यान्सर भइदिँदो रहेछ ।

जङ्गलबाट शहर पस्यौँ । भूमिगतबाट सार्वजनिक भयौँ । बन्दुक बिसाएर बोधिवृक्षको सुवासले गन्ध पखाल्न खोज्यौँ । बारुदको गन्ध न हो, यति छिटो जाँदो रहेनछ । त्यसैले वातावरण अझै बारुदबारुद गन्हाउँछ ।

जङ्गल परित्याग गर्नु सानो कुरा होइन । त्यति ठूलो जोखिम कबुल्ने साहसिकता आफैंमा महान् हो । त्यस्तै महान् लाग्यो जङ्गली संस्कारबाट मुक्त हुनु । बाघ जङ्गलभित्र मात्रै बाघ भई बस्दैन, शहर पस्दा पनि बाघै भएर छिर्छ । त्यसकारण कुरो जङ्गल र शहरको होइन, हामीभित्र अवस्थित संस्कारको हो जसले गर्दा जङ्गल शहर भइदिन्छ, शहर जङ्गल ।

भूल सकार्दैमा द्यौता हुँदैनाँै । त्यसप्रति आश्वस्त हुने स्थितिको पुनररचना, इमानदारी महत्त्वपूर्ण हुन्छ; आशङ्कित वर्तमान यही भन्छ । सत्य हो, कसैका प्रति आस्थावान् छैनौँ ।

रित्तो–रित्तो छ वर्तमान । रित्तो भविष्यकै निम्ति ज्यान दिँदै आयौँ । भोलिका दिनहरू पनि यसरी नै आउनेछन्, जानेछन् । समय कसैको पछि लाग्दैन । आजका हाम्रा वशिष्ठ र विश्वामित्रहरू पनि एकअर्काको प्रतिस्पर्धा गर्छन् र केवल मालिक हुने होडमा विरोध चर्काइरहेका छन् ।

हामी यही अन्योल, विपन्नता, अविश्वास, विखण्डन बाँचेर तिनीहरूका हतियार भएछौँ ।

अहिले तिनै अपराधलाई म शब्द दिँदै छु, तिमी सङ्गीत भरेर गाउने गर । म त्यसलाई भाषा दिन्छु, तिमी अर्थ देऊ । म एक्लै जुलुस भएर हिँड्छु, तिमी सडक भई पछ्याउँदै आऊ । म पूर्णिमा भएर छरिन्छु, तिमी लहर भई उठिदेऊ ।

अपराध गर्न नसक्नेहरू भित्रभित्रै आत्महत्या गरिरहेका हुन्छन्, हुतिहाराले झैँ । हैन भने लाश भएर सास फेर्ने गर्छन् हिजोको प्रजालेजस्तो । यसलाई म आत्महत्या भन्छु । बाँच्ने हो भने अपराध गर्न सक्नुपर्छ ।

यो अपराध माओवादीले पनि गरेछन् । नत्र उसले पनि आत्महत्या गरिसक्थ्यो । यो अपराध सात पार्टीले पनि गरेछन् । यही अपराध गरिरहेछन् मधेशका जनमुक्ति मोर्चाकाहरूले पनि । अब त व्यक्तिले गर्ने अपराधको पनि राष्ट्रियकरण भइसकेछ ।

थाहा छ, अपराध गर्न जन्मेका होइनौँ तर अपराध नगरी बाँच्दा रहेनछौँ ।

कङ्क्रिटको यस जङ्गलमा तिमी–हामीले पनि अपराध गर्नैपर्छ । त्यसैले आऊ ! सडक बन्द गरौँ, बजार बन्द गरौँ, अफिसहरू बन्द गरौँ । यो यातायात, संसद्, शिक्षालय, कारखाना, अस्पताल सब बन्द गरौँ ।

अझ महत्त्वपूर्ण हो पानी । भाइहरू हो ! आऊ यो पानी पनि बन्द गरौँ । कलिङ्ग दुर्गभित्र जाने पानीको मुहान बन्द नगरेको भए अंग्रेज त के त्यसका बाबुले पनि गोर्खाली सेनालाई पराजित गर्न सक्तैनथ्यो । तर पानी के बन्द गरे, बलभद्रसिंहको पानी पनि पानीपानी भयो, क्यै लागेन ।

यति शक्तिशाली छ बन्दको राजनीति । राजनीतिमा जे गर्दा पनि हुन्छ । त्यसकारण आऊ, बन्द गर्ने अपराध गरेर अपराधकै विरोधमा अर्को अपराधको अभियान थालौँ ।

पाप गर्नलाई जन्मेका होइनौँ तर अपराध नगरी बाँच्न सक्ता रहेनछौँ ।

(‘कृष्णचन्द्रसिंहका निबन्ध’बाट)