मेन्सुरेसन म्याटर्स ! महिनाको २६ दिन घरकी रानी, बाँकी चार दिन अँध्यारो कहानी ! ‘महिनाबारी अभिसाप हैन’ जस्ता कुराहरू केही दिनदेखि सामाजिक सञ्जालमा देखिरहेको थिएँ । यतिबेला म आफ्नो नजिकको नातेदारकहाँ थिएँ । आँत नै सुकेर लडिहाल्छु जस्तो प्यास थिएन, तर घरी घरी पानी पिइरहने बानीले गर्दा छुच्चो मनले मुखलाई खाली रहन कहाँ दिन्थ्यो र ? दिएन अनि मुख फोरें, ‘नानी पानी खाऊँ न !’
मैले आफूलाई संस्कारतिर ढालेँ । पानी त खानेकुरा हैन क्यार ! तर हामी खान्छौं । पिढी दरपिढी खाइरहेका छौं । यही क्रम निरन्तर चलिरहन्न भन्ने कुनै आधार छैन ।
‘आफैँ लिस्यो न ल दादा, मैले हुन्न के !’, बाईस वर्षकी चेलीको भागमा सायद पानी सारेर दिनसक्ने हिम्मत पनि परेको थिएन । नेपाल हो नि ! त्यही भएर यस्तो उत्तर आयो । आश नगरिएकाे उत्तर ।
मेरो अपेक्षा र उसको स्वभाव यति साधारण थिएन । ऊ आजकी क्रान्तिकारी विचारले भरिपुर्ण नारी थिई तर उसको मानसपटलमा हाबी भएको संस्कारको सामु उसको अधिकारले पनि घुँडा टेकेको छ । उसको क्रान्तिले पनि हार मानेको छ । ऊ आज पनि पुरानै जुग बाँचिरहेकी छ । संस्कारको टोपीको अगाडि आत्मसमर्पणको झण्डा फर्फराएपछि कसको के चल्छ र ? मेरो चल्थ्यो कि भन्नु पनि फजुल हुन्थ्यो । फेरि सम्झिएँ, सञ्जालमय बनेको मेन्सुरेसन म्याटर्स ।
‘एक गिलास पानी दिन नसक्नेले किन क्रान्तिकारी कुरा गर्नुहोला ! यो संस्कार सधैँ कायम रहोस्, तिमीहरु आफ्नै हालमा रहनू ।’ बिस्तारै फुसफुसाएँ । उठेर भान्सातिर छिरें । पानी सारें र आँत भिजुन्जेल खाएँ । पिइनँ । आँत भिजाउने सिँचाइ गरेँ तर त्यो पानीले सितल दिन सकेन । भकभक उम्लिरहेको पानी पिइरहेको जस्तो भयो । उसले दिएकी हुन्थी भने सायद त्यस्तो नहुन सक्थ्यो । मस्तिष्कमा करेन्ट दौडिए जस्तै प्रतीत भयो । आँखा बन्द गरें र सोचें, म छोरी भएको भए यस्तै हुन्थेँ होला त ? यस्तो हुन्थेँ भने धन्य भगवान्, तिमीलाई मुरीमुरी धन्यवाद । धन्न मलाई त्यस्तो बनाएनौ । धन्न मलाई छोरी बनाएनौ । धन्न मलाई नास्तिक बनायौ । धन्न क्रान्तिकारी बनायौ । तिमीलाई धेरै धन्यवाद ।
जसरी म सोच्छु त्यसरी यो दुनियाँ नसोच्दो रहेछ । वा यसरी भनौं, यो दुनियाँ जसरी सोचिरहेको छ मैले त्यसरी सोच्न सकिरहेको छैन । म त्यस्तो समाजमा छु जहाँ धर्म देखावटी बनेको छ । वास्तविक धर्म के हो ? कसैलाई पर्वाह नै छैन । मतलब पनि छैन । संस्कारको दौडमा सबै सन्तुष्ट छन् । संस्कारलाई धर्म बनाउने र मान्ने दुबै गलत छन् । त्यसैले त्यही दौडको हिस्सा हुँदाहुँदै पनि म तृप्त हुन सकिनँ र अध्ययन सुरु गरेँ ।
आखिर के हो धर्म ? जसरी सुनाउँदै आएका छन्, के धर्म त्यस्तै छ त ? त्यसपछि धर्मका अनुयायी मानिने भागवततिर पहिलोपटक मेरो ध्यान गयो । थाहा छैन सबैले मानेजस्तै यो कृष्णले लेखे वा लेखेनन् । खैर, जसले लेखे पनि मैले भागवतलाई फरक फरक मुखराबिन्दुबाट फरक फरक शैलीमा सुन्ने पागलपन देखाएँ । धेरैपटक सुनिसकेपछि एकपटक पढ्ने आँट गरेँ । सायद यो समाजले मेरो निर्णयको पत्तो पाएको भए मेरो पत्तासाफ हुनसक्थ्यो । किनकि, यहाँ भागवत उसैले पढ्न पाउँछ जो हरिद्वार, वृन्दावन र वारणासी जस्ता अध्यात्मिक ठाउँमा गएर आफूलाई समर्पण गरेर आउँछन् । तपस्या, साधना, कुन्नि के के गरेमात्र पढ्न पाइन्छ । जुन मैले गरेकै थिइनँ । सरल भाषामा यसलाई भन्दा, मसँग भागवत पढ्ने लाइसेन्स (अनुमतीपत्र) थिएन । तर बिनालाइसेन्स जसरी ट्राफिक छलेर बाइक चलाउनुको मजा छ, त्यस्तै मजा मैले आफ्नो विद्रोहमा पाएको थिएँ ।
विद्रोहकै कुरा गर्ने हो भने – त्यो दिन पनि मैले विद्रोह गरेको थिएँ । जुन दिन अरूको नजरमा म मैलो भएको थिएँ । तन पखाल्नुलाई शुद्ध हुनु मान्ने यो समाजमा मैले उनीहरू जति कर्म त गरेकै थिएँ तर कसैको जानकारीबिना गरेको कामको जस पाइनँ । त्यो दिन उनीहरुले जस्तै मैले बिहानै आफ्नो अनुहार पखालिसकेको थिएँ । बिहान निन्द पखाल्नु संस्कार त हैन तर पनि रितपूर्वक यसको पालना भएकै छ । त्यो दिन मैले पनि त्यही गरेको थिएँ । निन्द मात्र पखालेको थिएँ । ताकि आँखामा अन्धकार नरहोस् ।
वि. सं. २०७१ को कुरा हो । माफ गर्नुहोला, आजकल याददास अलि कमजोर भएको छ । कमजोर याददासका बाबजुद सम्झने प्रयास गरिरहेको छु । पक्का ७१ सालमा नहुन सक्छ तर जहाँसम्म मेरो होसले काम गरिरहेको छ, भुकम्प जानुभन्दा अघिल्लो वर्ष अर्थात् ७१ सालकै कुरा हुनुपर्छ । त्यतिबेला म मुम्बई बस्न थालेको… सरी सरी, बम्बैमा दौडन थालेको एक वर्षभन्दा बढी भइसकेको थियो । दौडिन यस अर्थमा कि त्यहाँ हुँदा म होटलमा डिसवासर अर्थात् भाडा सफा गर्नेदेखि लिएर सेफसम्मको यात्रामा दौडिएँ । यतिले मात्र कहाँ पुग्थ्यो ? बान्द्रा, जुहु, सान्टाक्रुज कताकता मात्र कुदिनँ भन्नुस् न ! दिनमा अंधेरीसम्म दौडन्थें र रातमा लोअर परेलको त्यो रेस्टुरेन्टमा जहाँ उज्याला अनुहार धेरै हुन्थे ।
चलचित्रको सपनाले मलाई दिन रात केही भन्न दिएन । सडकका किनारमा दिन रात नभनी सेनाको तयारीमा दौडिएका सपनाहरू जस्तै मलाई पनि दौडाइरह्यो । मेरो सपनाले औधी दुःख दियो तर म दौडिरहें । खैर, सपनाबाहेक त्यसबेला मेरा अरू कोही पनि त थिएनन् । साथीभाइ थिएनन् । सँगै यात्रा गर्छु भनेर हिँडेकी सहयात्री थिइनन् । र थिएनन् मेरा बाआमा पनि ।
यहाँ जन्मबाट कैयनका बुवाआमा हुँदैनन् तर मेरा नभएर नभएका हैनन् । भएर पनि थिएनन् । म संस्कार पछ्याउँदै आफ्नासँग नाखुस भएर अलग्गै भएको थिएँ । बाक्लो दाल खान छुट्टिएको भन्छन् नि हाम्रो समाजमा, सायद त्यही । तर यदि अलग्गिनु संस्कार हुन्न थियो भने म त्यो संस्कारको शिकार हुने थिइनँ । खैर, म अलग भएपछिको दुःखपीडा आफ्नो ठाउँमा छ तर खुसीको आशमा समाएको हात छुट्दाको दुःख धेर थियो । त्यसबेला ऊ र म अलग भैसकेका थिएनौँ तर साथमा थियौँ भन्नुचाहिँ सम्बन्धको अपमान गर्नु बराबर हुन्थ्यो । यदि साथमा हुनु भनेको मैले जस्तै सहनु हो भने कोही कसैको साथमा नरहोस् ।
यहाँ कुरो र कुलो जता लग्यो उतै जान्छ भनेजस्तै भयो । अनुहार पखालेको कुरा गर्दागर्दै खै कता पुगेँ, त्यसको लागि क्षमा चाहन्छु ।
हामी दुई जोडा यात्रा गर्दा पनि म एक्लो थिएँ । चार जनामा उनीहरू तीन जनाको एक टिम थियो । एकता थियो । र म निरीह थिएँ । त्यति एक्लो त त्यो सिंगल ट्री पनि छैन । रगतको नाता साँच्चै बलियो हुन्छ भन्ने आभास मलाई त्यतिबेला भयो । हैन भने उसले पनि विगतमा आफ्नो बुवाआमाको बेवास्ता नगरेकी हैन । मलाई सबैजना सँगै हुनुपर्छ भन्ने होस् तब मात्र आयो । त्यस घडीअघि मलाई बुवा–आमा, दाजु–भाइ कोही चाहिएन । तर अब म सबैको साथमा हुनुपर्छ भन्ने अठोटमा पुगिसकेको थिएँ ।
मुम्बईबाट तिरुपतिको यात्रामा संस्कार कहाँ–कहाँ जन्मियो र कहाँ–कहाँ मर्यो, हिसाब नै गर्ने हो भने सब मिथ्या लाग्छ । हामी संस्कारको यात्रामा थियौं । अन्धविश्वासको यात्रामा थियौं । मैले त्यतिबेला विज्ञान पनि बोकेर हिँडेको रहेछु । तर त्यो कुरा फर्किएपछि मात्र थाहा भयो । आज त्यही संस्कार र विज्ञानको सन्तान जन्माउने प्रहरमा छु । गर्भधारण गरेको छु भन्ने हो भने पनि बिग्रने छैन । सन्तानको नाम गर्भमै तय भयो – ‘आधा मण्डप’ ।
रेल, बस र पैदल यात्रा गरी हामी तिरुपति (भगवान् बिष्णुका एक रूप) परिसर पुग्यौं । त्यहाँको लाम हाम्रो ग्यासको, पेट्रोलको, बैंकको र सेयर बजारको जोड गर्दा पनि नभेट्टाउने गरिकाे थियो । धर्म पनि पैसापिच्छे फरक थियो । हाम्रो यहाँकै जस्तो । त्योभन्दा पहिले मैले जातपिच्छे फरक देखेको थिएँ । पैसा र पाउर हुनेले अभाव नखेपेजस्तो लाइन खेप्न नपर्ने । हामी निशुल्कमा थियौं । शुल्कमा हुनेहरू हाकाहाकी दर्शन गर्न पाउँथे । लामै लाइन बस्नु परे पनि त्यहाँ कोही मर्ने थिएनन् । भगवानले भनेका हुँदा हुन्, मेरा भक्तहरूलाई सहीसलामत मकहाँ ल्याइयोस ।
तर यदि त्यो मन्दिर नेपालमा हुन्थ्यो भने र त्यस्तै लाइन बस्नुपर्थ्यो भने पक्कै केही संख्यामा त लढ्नै पर्थ्यो । तर त्यही शैलीको संस्कार हुन्थ्यो त हामी साँच्चै भाग्यमानी हुन्थ्यौं । यहाँ भोको पेटमा दर्शन गर्ने मानसिकता जो छ, तर त्यहाँ टन्न खुवाइपियाइ गरिन्छ । भक्तहरूको भरपुर ख्याल गरिन्छ । शिवरात्री र तिजको जस्तो त पक्कै हैन ।
धर्म त भोको पेटमा हुनु पर्ने हैन र? मैले आफैसँग प्रश्न गरें । हल्वा, दूधलगायत खान दिएर को हामीलाई पापको भागिदार बनाएर आफू धर्म गर्दैछ ? मलाई त्यो बुझ्न मन थियो । तर म त्यसका लागि त्यहाँ थिइनँ । यो विषयमा म कुनै दिन खोजी गरौंला । मैले त्यतिकै छोडिदिएँ । त्यहाँ लाममा हुन्जेल कोही भक्त चक्कर आएर लढ्नेवाला थिएनन् तर त्यही लाइन यहाँ हुन्थ्यो भने भक्तले सिधैँ स्वर्गमा बास पाउन सक्थ्यो । तर पनि म त भन्छु, हाम्रै संस्कार राम्रो हो । धेरै दुःख नगरी भगवानको दर्शन जो पाइन्छ, चाहे मरेर किन नहोस् !
झण्डै २४ घण्टाको यात्रामा मैले संस्कार कहीँ कतै निभाइनँ तर जे हेर्न गएका थियौं, हामी चारमध्ये मैले मात्र देखेछु । मैले मुख नधोई विद्रोह गरेकाले दण्ड पाएको पो हुँ कि ? किनकि भगवान् विष्णुले विवाहको ऋण तिर्न नसकेर त्यहाँ बसेको लाेककथन पनि छ । जसले देख्छ, सायद ऊ त्यो ऋणमा भागिदार पो हुने हो कि ? यदि हुनुपर्ने हो भने पनि उनको ऋण तिर्नमा साथ दिन सक्दिनँ । मनमा यस्तै विचार नआएको हैन तर म अरूले नदेखेकोमा खुसी थिएँ ।
उनीहरू धर्मको नाटक गर्दै मलाई पनि त्यस्तो नाटकमा सामेल हुन भनिरहेका थिए । मैले मानिनँ । उनीहरूले भनेको नमाने पनि आफ्नो नित्यकर्म गरेर आफूलाई केही हदसम्म चोखो बनाएकै थिएँ । तर मन सधैँ चोखो राख्ने मेरो प्रयासमा सफल नै छु जस्तो लाग्छ । कहिल्यै कसैको कुभलो सोच्न जानेको छैन । शत्रुको पनि भलै होस् भन्ने गरेको छु । नदेखिएको झरना जति नै सुन्दर होस् त्यसको सुन्दरताले कसैलाई छुँदैन । हो त्यस्तै हो । नदेखिएको कुरा कहाँ मान्य हुँदो रहेछ र ?
मैले मजाकिया अन्दाजमा भनिदिएँ, ‘भगवान् स्वयंले पानी पारेर हामीलाई शुद्ध पारिरहेका छन् ।’ हल्का पानीका छिटाहरू खसिरहेका थिए तर धेरैबेरसम्म भएकाले लगभग पूरापुर शरीर भिजेकै थियो । बारम्बार मुख पखाल्न भनिएपछि मैले पनि जिस्क्याउँदो पारामा मुख पखालें । त्यो पनि परेकै पानीमा । अनुहार पुछेँ । ‘धोइयो त !’ मेरो जवाफमा कसैको केही तागत लागेन । उनीहरूले भन्नै छोडे ।
धर्म हो वा विज्ञान तर हिराको चमकले देखिने आस्थाको ढुङ्गा मैले देखें । त्यहाँ हिरा छ भनेर सुनेको थिइनँ तर हिराको उज्यालो बारे ज्ञान थियो । जति चाँडो धकेलिए पनि मेरो नजरमा बालाजी ठोक्किए । अरु खोजी नै रहेका थिए । अरूका आँखामा उज्यालो र मूर्ति दुबै परेनन् । उनीहरू मलाई धर्म गराउन चाहन्थे तर यस मानेमा हेर्ने हो भने – धर्म त मैले पो गरेको रहेछु त ।
धर्मविरुद्धमा जानु मुर्खता हो, अन्धभक्त हुनु महापाप हो । धर्मले प्रेम सिकाउँछ तर यहाँ भेदभाव हाबी छ । पुरुषले महिलालाई, महिलाले महिलालाई, धनीले गरिबलाई, कथित उपल्लो जातले तल्लो जातलाई । आखिर यो समाजले कहाँ छोड्यो त धर्म ? के धर्म ग्रन्थमा मात्र सीमित हो त ? यसलाई नीति नियम र विज्ञानसँग जोडेर बाहिर निकाल्नुको विकल्प अरु केही देख्दिनँ तर केही कपट मानसिकतावादीले लुटीखाने धन्दा बनाएका छन् । मेरो नजरमा तिनीहरू तस्कर हुन् । म हुनसक्छु, मेरा बा हुनसक्छन्, मेरी आमा, दाजुभाइ, छरछिमेकी, सरकार, धर्मशास्त्रीहरू जो-कोही पनि तस्कर हुनसक्छन् । जो विभेदको साँचो हातमा लिएर सत्यको ढोङ गर्छ, ऊ तस्कर हो । यहाँ त्यस्तै तस्करहरूको बाहुल्यता छ ।
गाउँमा पुराण लाग्छ खानापिना, कामधन्दा छोडेर पुराण सुन्न जानेको ताँती लाग्छ । सहर-बजारमा त्यति लाग्दैन तर जहाँसम्म मलाई लाग्छ एक न एकपटक भागवत नसुन्ने सायदै कोही बाँकी होला । अब उपरान्त जब यस्ता कार्यक्रम हुन्छ तब भागवतलाई सुन्ने मात्र नगर्नुस् । सकिन्छ भने घरमा एकचित्त भएर एकचोटि पढ्नुस् । पढ्नुस् मात्र हैन बुझ्नुस् । तब भगवान् मन्दिरबाट निस्किएर तपाईंको घरमा आउनुहुनेछ । तपाईंसँग खाने, बस्ने, सुत्ने र खेल्ने गर्नुहुनेछ । तर सर्वप्रथम तपाईंले एउटा मात्र काम गर्नुपर्ने हुन्छ । त्यो हो प्रेम । छाडिदिनुस् ती द्वापर, त्रेता र कलि युगहरू । आज र अहिलेबाट प्रेमको युग सुरु गरौं । धर्मको युग कायम गरौं । मानवताको युग सुरु गरौं ।
अब उपरान्त, आउँदा दिनहरूमा ‘श्री कृष्ण कन्हैया लाल की !’ भन्दा जय भन्नुस् वा नभन्नुस, मानव धर्मको कुरा गर्दा जय अवश्य भन्नुस् । प्रेमका बोली बोल्दा जय भन्नुस् । सेवाका भाव ओकल्दा जय भन्नुस् । किनकि आजको आस्थानै भोलिको दिनमा संस्कार हुनेछ । संस्कार जसले मृत्यु हैन जिन्दगी दिनेछ । जय जिन्दगी । जय संस्कार । जय प्रेम । जय धर्म ।
धर्मो रक्षती रक्षितः
(लेखक रूपक अधिकारीकाे दोस्रो उपन्यास ‘आधा मण्डप’ प्रकाशनकाे अन्तिम तयारीमा छ ।)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।