(संसारभरि नै आयामका दृष्टिले हाइकु, मुक्तक जस्ता लघुतम कवितादेखि बृहत् आयामका महाकाव्यसम्म विभिन्न किसिमका कविता लेखिँदै आएका छन् । तीमध्ये विश्वसाहित्यमा पनि र नेपाली साहित्यमा पनि छोटा कविताको आफ्नै सुन्दर परम्परा रहेको छ । सूक्ष्म कविताहरु कुनै निश्चित नियममा नबाँधिई स्वतन्त्र लेखनमा आधारित कविता हुन् । यी कविताका सन्दर्भमा स्वतन्त्रता आफैमा एउटा नियम र सबैभन्दा ठूलो सौन्दर्य हो । शब्दको मितव्ययी प्रयोगबाट भाव र विचारको घनत्व तथा अभिव्यक्तिको तीव्रतालाई कलात्मक रूपमा प्रस्तुत गर्नु नै यस्ता कविताको शक्ति हो । कविताको मूल शक्ति एउटै झिल्कोभित्र हुन्छ । त्यो झिल्को भनेको नै विचारको सघनता, भावको तीव्रता अनि आकस्मिक मोडबाट उत्पन्न हुने शक्तिशाली झट्का हो । त्यसले नै पाठकको हृदयमा गहिरो प्रभाव उत्पन्न गर्छ । आजको व्यस्त दुनियाँमा छोटाछरिता, सघन भावले भरिएका र अविस्मरणीय प्रभाव छोड्न सक्ने तागत भएका कविताहरूको औचित्य र उपयोगिता बढिरहेको छ । त्यसैले छोटा कविताको सौन्दर्य र यसको विशिष्ट पहिचानका बारेमा गम्भीर विमर्श हुनु जरुरी छ । त्यही विमर्शका लागि ध्यानाकर्षण गराउँदै यस शृङ्खलाको आरम्भ गरिएको हो । — डा. विप्लव ढकाल)
१. सङ्घर्ष
(केदारमान व्यथित)
तिम्रो र हाम्रो बीच
बढ्दै गइरहेको यस सङ्घर्षमा
हामीले नजिती भएको छैन ।
यस कारण कि हामी हा¥यौँ भने
करोडौँ मानिसको पहिचान
सधैँका लागि समाप्त हुनेछ ।
तर हामीले जित्यौँ भने
पराजय कसैले पनि भोग्नुपर्ने छैन ।
किनकि हाम्रो जीतबाट लाभान्वित हुने
मानिसहरूको लामो पङ्क्तिमा
सममानवीय गर्वका साथ
उभिइरहने मानिसहरूमध्ये एक जना
स्वयम् तिमी पनि हुनेछौ ।
२. कुनै निश्चितता छैन
(विजय मल्ल)
कुनै निश्चितता छैन भनेरै
शङ्कामा आफूलाई राख्न खोज्दछु,
तर मलाई थाहा छ—
म यस पृथ्वीमा जन्मनुपथ्र्यो, जन्मेँ ।
जेसुकै आइपर्छ, बोक्नुपर्दथ्यो, बोकेँ
आकाशको शून्य रिक्ततामा
मलाई धानिराख्ने सामथ्र्य थिएन
यसैले म यहाँ आएँ ।
अब रित्तो आकाशलाई म किन हेरुँ ?
मलाई शङ्का छैन—
म यहाँ, यस अलमलमा
जन्मनुपथ्र्यो, जन्मेँ ।
३. मेरो देशको पुस्तक
(वासु शशी)
मेरो देशको पुस्तकका पृष्ठहरू
ठाउँ ठाउँमा च्यातिएका छन् !
यसलाई पढ्ने मेरा बालकहरूले
अवश्य ‘यो त भएन बा !’ भन्नेछन्
यसका पन्नाहरूको अक्षर नै मेटिने गरी
ठाउँ ठाउँमा कालो मसी पोखिएको छ !
यसलाई पढ्ने मेरा बालकहरूले
अवश्य ‘यो त नराम्रो भो बा !’ भन्नेछन्
अनि म बाँझोले बादललाई झैँ हेरिरहुँला—
तिनीहरूले ती टुक्रिएका चौटाहरु ल्याएर जोडिरहेको
दागहरू माझेर पुस्तक सफा गरेको !
हो, मेरो देशको पुस्तकका पृष्ठहरू
ठाउँ ठाउँमा च्यातिएका छन् !
४. त्रिकोण
(पोषण पाण्डे)
कसले निमोठ्छ मनको रहर
कसले पार्छ नदीलाई बगर
कसको चुम्बनमा अमृत हुन्छ
कसको चुम्बनमा जहर ?
आँसु त नुनिलो पानी हो
पिउन लायकको छैन यो
तर के पिउने पानीले मात्र
दिलको गहिराइको प्यास मेट्छ र ?
मानिसलाई कुकुरले टोक्दैन
मानिसलाई मानिसले टोक्छ
जनावर त यो हो भनेर था’ हुन्छ
मानिस ! यो नै हो भनेर था’ हुँदैन ।
५. नील आकाशको तारालाई
(भीमदर्शन रोका)
नील आकाशको तारालाई
हेरिरहेछु म मेरो सहारालाई
हेरिरहेकी होलिन् प्रियतम मेरो
दूर प्रवासबाट यही तारालाई
नील आकाशको तारालाई !
हामी जति टाढा भए पनि
दिउँसो दूर दूर गए पनि
सन्ध्या–समय फर्कन्छु सधैँ
बलिरहने उज्यालो किनारालाई
नील आकाशको तारालाई !
हाम्रो मिलनस्थल कति अग्लो र महान् छ
कति मौन, कति गम्भीर, निश्चल छ
कि आउँदैन केही आवाज कहिले
तर बुझ्दछु म आँखा र इशारालाई
नील आकाशको तारालाई !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।