‘घोस्ट राइटिङ लघुकथा प्रतियोगिता’ अन्तर्गत वर्षका उत्कृष्ट १० लघुकथा छनौट गरिएको छ । यसअघि ‘उत्कृष्ट २५’ मा रहेका लघुकथाहरूमध्येबाट वर्षका उत्कृष्ट २५ लघुकथाको छनौट गरिएको हो ।

साहित्यकारहरू किशोर पहाडी, महेश प्रसाईँ तथा डा. हरिप्रसाद भण्डारी सम्मिलित तीन सदस्यीय छनौट समितिले ‘उत्कृष्ट २५’ लघुकथाबाट ‘वर्षका उत्कृष्ट १० लघुकथा’को छनौट गरेको हो । कथावस्तु, रूपविधान, संरचना, विषयवस्तुको नवीनता, भाषिक प्रवाह, विषयको सर्वकालिकता, कथावस्तुले उत्पन्न गराउने कुतूहलता, विचार तथा सामाजिक पक्षका आधारमा उत्कृष्ट ठहरिएका लघुकथाहरूलाई ‘वर्षका उत्कृष्ट १० लघुकथा’मा समेटिएको निर्णायकहरूले बताएका छन् ।

वर्षका उत्कृष्ट १० लघुकथामा (शृङ्खला–क्रमअनुसार) धवन्तरी मिश्र ‘कात्यायन’को ‘यायावर’, दिव्य गिरीकाे ‘नवदुर्गा’, रचना शर्माकाे ‘मेरो बैँस’, किशन पौडेलकाे ‘खुशी’, अङ्कुर चन्दकाे ‘सपथ’, शोभा पोखरेलकाे ‘अनुमति’, शुभ शर्माकाे ‘प्रतिप्रश्न’, दीप मङ्ग्राती निरीहको ‘पूजा’, राम्जी रानाभाटकाे ‘बाआमाकाे बिहे’ र विष्णु एस. राईकाे ‘स्वतन्त्रता’ रहेका छन् ।

घोस्ट राइटिङ नेपालसँगको सहकार्यमा चालीस शृङ्खलासम्म साहित्यपोस्टमा साप्ताहिक रूपमा सञ्चालित लघुकथा प्रतियोगिताबाट १ सय १८ लघुकथाहरू छानिएका थिए । यसअघि पहिलो चरणमा सोही १ सय १८ लघुकथाबाट उत्कृष्ट ५० तथा दोस्रो चरणमा ५० बाट ‘उत्कृष्ट २५’ लघुकथाको छनौट गरिएको थियो ।

४० सातासम्म चलेको प्रतियोगितामा हरेक साता छानिएका उत्कृष्ट कथाहरूलाई सङ्ग्रहको रूप दिएर सर्वोत्कृष्ट तीनको घोषणासँगै ‘वर्षका उत्कृष्ट लघुकथा’ प्रकाशन गरिने साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालले जनाएका छन् । कोइराला भन्छन्, “प्रत्येक साता छानिएका उत्कृष्ट लघुकथाहरूलाई कृतिका रुपमा घोस्ट राइटिङ् प्रा. लि.ले प्रकाशन गर्नेछ । साथै, प्रत्येक साता छानिएका उत्कृष्ट लघुकथामध्येबाट पनि ‘वर्षका सर्वोत्कृष्ट तीन लघुकथा’का स्रष्टाहरूलाई क्रमशः नगद ३० हजार, २० हजार र १० हजारका साथमा १०–१० थान चर्चित आख्यानका कृतिहरू उपहार दिइनेछ ।”

‘वर्षका उत्कृष्ट १० लघुकथा’बाट विशेष निर्णायक समितिले ‘वर्षका सर्वोत्कृष्ट तीन लघुकथा’को घोषणा गर्नेछ । उक्त घोषणा विशेष समारोहकाे आयोजना गरी ‘वर्षका उत्कृष्ट लघुकथा’ नामक पुस्तकको लोकार्पणसहित गरिने छ । र, सोही समारोहले ‘वर्षका सर्वोत्कृष्ट तीन लघुकथा’का कथाकारहरूलाई पुरस्कार राशिसहित सम्मान गर्नेछ ।

साहित्यपोस्टमा सञ्चालन भएको लघुकथा प्रतियोगिताको प्रायोजन घोस्ट राइटिङ् नेपालले गरेको हो । साहित्यलाई व्यावसायिक बनाउने हेतुले सुरु भएको घोस्ट राइटिङ् प्रा.लिले हालसम्म दुई सय बढी पुस्तक प्रकाशन गरिसकेको छ । उक्त संस्थाले नेपाली साहित्य पढ्न चाहनेहरूका लागि सिर्जनात्मक कक्षाहरू पनि सञ्चालन गरिरहेको छ ।