कोरोनाभाइरसका कारण संसारभर यतिबेला बन्दाबन्दीको अवस्थामा छ । यस्तो अवस्थामा पुस्तकको व्यापार चौपट रहेको केही व्यवसायीहरूको भनाइ रहे पनि केहीका लागि भने यो गज्जबको अवसर बन्न पुगेको छ ।
यो मामिलामा भाग्यमानी बन्न पुगेकी छन्, भारतीय मूलकी अमेरिकी लेखक अल्का जोशी । उनको नयाँ उपन्यास द हेन्ना आर्टिस्ट यतिबेला बेस्ट सेलर सूचीमा पर्न गएको छ ।
सन् १९५० को दशकको भारतीय भावभूमिमा तयार पारिएको यो उपन्यासलाई निस्कनेबित्तिकै कसैले पनि उति चासो दिएका थिएनन् । तर जब हलिउडकी प्रख्यात अभिनेत्री तथा अस्कर अवार्ड विजेता रिजी विदरस्पुनले व्यक्तिगत रूपमा यो पुस्तकका बारेमा खुलेर बोलिन्, अल्काको भाग्य उदय भयो ।
अहिले यो पुस्तक बेस्ट सेलर सूचीमा उक्लन सफल भएको छ ।
१७ वर्षको उमेरमा पारम्परिक रूपमा बिहे भएपछि गाउँको पीडादायी वैवाहिक जीवन बेहोर्न नसकेपछि जयपुर शहर भागेकी लक्ष्मी कसरी मेहन्दी लगाउने कलाकार बन्न पुगिन् र उनले आफ्नो भाग्य कसरी आफैँ सिर्जन गरिन् भन्ने उपन्यास यति हिट होला भनेर स्वयं अल्काले पनि कल्पेकी थिइनन् ।
एकाएक रेस्टुराँमा बसेर पढ्ने संस्कृति ढल्यो, किताब पठन कार्यक्रम रद्द हुन थाले, प्रकाशकले आयोजन गर्ने हाई टी, पत्रकार सम्मेलनजस्ता कार्यक्रम नै बन्द भए । त्यो भन्दा पनि लेखिका अल्का जोशीले दिवंगत आमाको स्मृतिदिन पारेर १५० जना जति भेला गरेर आफ्नो किताब विमोचनको कार्यक्रम पनि बनाएकी थिइन् । त्यो पनि गर्न पाइनन् । उनलाई आफ्नो किताबको भाग्यमाथि दया लागिरहेको थियो र त्यो भन्दा बढी प्रकाशक माइरा बुक्सको ठूलो रकम फँसेकामा चिन्तित थिइन् ।
उनले भग इन्डिया म्यागेजिनसँग भनेकी छन्, ‘जुन उत्साहका साथ उनीहरूले किताब निकालेका थिए, ती सबै खेर गएको देख्दा मलाई दुःख लागेको थियो ।’
तर अचानक हलिउडकी प्रख्यात नायिका रिजी विदरस्पुनले चलाइरहेको महिलाकेन्द्रित पुस्तकहरूको पठन कार्यक्रममा मे महिनामा द हेन्ना आर्टिस्ट छानिएको खबर सार्वजनिक भएपछि भने किताब बिक्री उकालो लाग्न थाल्यो ।
‘यस्तो त मैले कल्पनै गरेकी थिइनँ,’ अल्काले म्यागेजिनलाई भनेकी छन्, ‘मेरी आमाले भन्नुहुन्थ्यो- हरेक मान्छेले आफ्नो भाग्य आफैँ बनाउँछ । रिजीको घोषणापछि मलाई पनि केही गरौँ भन्ने जाँगर चलेर आयो । त्यसपछि उपन्यासका लागि आफूले गरेका शोधहरू, उपन्यासकी पात्र लक्ष्मीसँग मिल्ने मेरी आमा लगायतका चिजबिजहरू फेसबुकमा पोस्ट गर्न थालेँ । तिनै चिजबिजका आधारमा मिडियामा रिपोर्ट आउन थाले र क्रमशः किताबको चर्चा उक्लिन थाल्यो ।’
यसपछि उनको किताब उपन्यासको विधामा बेस्ट सेलरको सूचीमा द न्युयोर्क टाइम्स, लस एञ्जल्स टाइम्स, युएसए टुडे, टोरन्टो स्टार र द ग्लोब एन्ड मेलजस्ता पत्रिकामा पर्न थाल्यो ।
बेस्ट सेलर भएपछि त अल्कालाई यति उत्साह जाग्यो कि बन्दाबन्दीकै अवस्थामा उनले यसको अर्को भाग पनि लेखिसिध्याइन् । सो पुस्तकलाई पनि प्रकाशकले अर्को वर्ष निकाल्ने भनेर किनिसकेको छ ।
पहिलो उपन्यासबाट पाएको यो सफलताबाट खुसी हुँदै लेखिका अल्का भन्छिन्, ‘चमत्कार घट्छ, भलै बाहिर महामारी किन नहोस् !’
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।