
हरिभक्त कटुवाल
एउटा सर्जक जब सीमा नाघेर बाँच्छ, तब ऊ कुनै समुदायको हुँदैन, कुनै जातको हुँदैन, कुनै घेराभित्रको हुँदैन । ऊ हुन्छ त केवल सृजनाको सर्जक । पछिल्लो समयमा कुनै घेराभित्र साहित्य लेखिरहेका सर्जकको लागि हरिभक्त कटुवाल सीमाविहीन सर्जकको उदाहरण दिने नाम हो । सीमाभन्दा बाहिर बसेर लेख्नु त्यो आफैँमा एक चुनौती हो ।
विसं १९९२ मा भारतको असाममा जन्मेका हरिभक्त कटुवाललाई कतिले नारायणगोपालको स्वरबाट चिने भने कतिले अक्षरमा उनलाई पढे । चलचित्र निर्देशक तुलसी घिमिरेले एक अन्तर्वातामा भनेजस्तै हरिभक्त कटुवाल “भारतमा रहुञ्जेल नेपाली भएर बाँचे, नेपाल रहुञ्जेल भारतीय भएर बाँचे”, तर उनी आफ्ना गीत र कवितामा देशको सीमाभन्दा माथि उठेर बाँचिरहेका छन् ।
विभिन्न कविका विभिन्न समयमा आउने जयन्ती हामीलाई विदतै रहेको छ । तर कवि हरिभक्त कटुवालको जयन्ती मनाएको पछिल्लो समयमा कवि तथा गजलकार पुरु लम्साल र कवि प्रोल्लास सिन्धुलियाले गरेको पहललाई हामीले बिर्सनु हुँदैन ।
कवि हरिभक्त कटुवालले मिथमा टेकेर सायदै कम कविता लेखे होलान् तर उनले आफ्नो भोगाइ नै आफ्ना सृजनामा व्यक्त गरेको भेटिन्छ । यो भन्दै गर्दा समालोचक महेश पौड्याल भन्छन् “ कविले आफू बाँचेको समयमात्र लेख्न सक्दछ भन्दछौँ तर हरिभक्त कटुवालले आफूले बाँच्न नभ्याएको समयको कविता पनि लेखेका छन् ।”

महेश पौड्याल
आफ्ना भोगाइमा रहेर लेखेको “ यो जिन्दगी खै के जिन्दगी ” शीर्षकको कविता नेपाली साहित्यमा सर्वाधिक चर्चामा रहेको कविता हो । मान्छेले आफ्नो मनको बह भुलाउनको लागि यो कवितामा आफूलाई खोजिरहन्छ । कवि हरिभक्त कटुवालको यो जिन्दगी खै के जिन्दगीले आम मानिसको पीडा बोलेकोले नै यस कवितालाई खोजिन्छ भन्दा अन्याय हुँदैन ।
विसं २०२८ ताका लेखिएको यस कविता यो जिन्दगी खै के जिन्दगी शीर्षककै कविता सङ्ग्रहमा समेटिएको छ ।
उनको उक्त कविता हामी यहाँ प्रस्तुत गर्दछौँ ।
यो जिन्दगी खै के जिन्दगी
भित्रभित्र खोक्रिएर बाहिर बाहिर बाँचेको
एटमको त्रासले चुसेको
समस्याको भूतले सताएको
यो जिन्दगी खै के जिन्दगी !
बन्दुकको नालमा टाउको राखेर जिदाउनु पर्छ यहाँ
खुकुरीको धारमा पाइताला टेकेर जिउनु पर्छ यहाँ
आँखा चिम्लनु पनि जगजगी आँखा उर्घार्न पनि जगजगी
यो जिन्दगी खै के जिन्दगी
पसलमा सोकेशभित्र सजाएरराखेको
काँचको चुरा जस्तो यो जिन्दगी
कुनै युवतीको हातमा चढ्दाचढ्दै
प्याट्ट फुट्न सक्छ यो जिन्दगी!
रबरको सस्तो चप्पल जस्तै यो जिन्दगी!
बाटामा हिँड्दाहिँड्दै
च्याट्ट टुट्न सक्छ यो जिन्दगी!
यो जिन्दगी खै के जिन्दगी !!
कवि हरिभक्त कटुवालले आफ्ना पीडा र भोगाइ लेखेका हुन् । तर अनन्तमा उनका पीडाहरू पाठकसँग मिल्न गए र यस कवितालाई पाकलले आफ्नै पीडा सम्झिएर प्रेम गर्न थाले ।

बिष्णुविभु घिमिरे
हरिभक्त कटुवाललाई सम्झँदै पूर्व उपकुलपति बिष्णुविभु घिमिरे भन्छन् – “ हरिभक्त दाइको हुलिया हेरेर कसैले अनुमान लगाउन सक्दैन थियो कि यिनले कविता र गीत पनि लेख्छन् भनेर ।”, घिमिरेकै अनुसार भन्ने हो भने उनको हुलियाले नै उनी पीडामा छन् भन्ने देखाउँथ्यो । कपाल, कपडा र आँखा त्यसका उदाहरण थिए । यो जिन्दगी खै के जिन्दगी शीर्षकको कविता घिमिरेका अनुसार कविले जिन्दगीबाट बैराग्येर नै हरिभक्त दाइले यो कविता लेखेका थिए ।
यो जिन्दगी खै के जिन्दगीबारे कवि राजा पुनियानी:
कटुवालले ‘यो जिन्दगी खै के जिन्दगी’ किन लेखे होलान् ?
रक्सी खाएर चुर भएको बेला लेखेका होलान् नि ।
यस्तै उत्तर पाएँ । एक साथीबाट ।
तर के साँच्चै हरिभक्त कटुवाल भनेर चिनिएका यी लिजेन्डरी पोएटले मात्र रक्सीकै मातमा लेखे त यो सारगर्भित कविता ? कवितालाई यति सपाट र ओभर जेनेरलाइज्ड व्याख्या कवि र कविताको हकमा ठूलै अन्याय ठहर्ने हो ।

राजा पुनियानी
हुन त सरर हेर्दा यो कविता अति नै पेसिमिस्ट खाले छ । जिन्दगीसँग हार मानिसकेको मान्छे हुनु हो र उसले हदै निराश भोगिरहेको बेला यो कविता सुनाइदिनु हो भने त उसले ड्याम्मै आत्महत्या गर्न तम्सिँदो हो । यसो हुँदाहुँदै कविताको कन्टेन्टलाई दार्शनिक फरूवाले उत्खनन गर्दै लानु हो भने छोटोमा लेखिएको यो कविताले निक्कै लामो डिस्कोर्स जन्माउने सम्भावना प्रशस्त छ ।
कवि असन्तुष्ट प्राणी हो । जहिल्यै सामाजिक वितण्डा, हतकण्डा र विसङ्गतिहरूलाई सबैभन्दा पहिले देख्ने, गम्ने र छुने प्रवणता बढ़ी रहेको प्राणी । व्यक्तिगत र सामाजिक असन्तुष्टि उसको सृजनाको मूल हो । बुद्धले इग्नोरेन्स इज ब्लिस भने । इग्नोर गर्नै नसक्ने प्राणी कवि । त्यसैले कवि चिन्तित प्राणी । उसको चिन्ता शब्दहरूमा प्रकट हुन्छ र त्यो कविता बन्छ । आफू वरिपरि चलिरहेको सामाजिक घटनाक्रमदेख विमुख भएर कवि कवि नै हुँदैन । चाहे ऊ ती घटनाक्रमको अंशदार होस् वा नहोस् । ऊ छोइन्छ । र ऊ कवि बन्छ ।
कवि हरिभक्त कटुवाल कविहरूमा झनै चिन्तित प्राणी । उनको व्यक्तिगत जीवन र सामाजिक जीवन दुवैको अनतर्घुलनले उनलाई निक्खुर कवि बनायो । उनी कवि बाँचे र कवि मरे । आज उनका कविताहरूबाट समाजलाई अझ पनि घचघचाइरहेको कवि हुन् उनी । उनका कविता यसैले अझ पनि समकालीन छन् । उनका मासटरपीस केही कविताहरूमध्ये एक ‘यो जिन्दगी खै के जिन्दगी’ ।
यो कविता उनले के सुरमा लेखे होलान् । त्यो रचनागर्भ उनीसँगै बितेर गएको हो । हामी केवल अड़कलबाजी गर्न सक्छौँ ।
डिब्रुगढ – भारतमा जन्मिएका, हुर्किएका यी कवि नेपाल पनि धाइरहे । नेपालप्रेम यिनका कविता, विचार र बसाइमा स्पष्ट झल्किएको हो । भारत र नेपालको दोसाँधमा उनको कवि छटपटाएको उनका कविताहरूमा प्रतिफलित छन् । पारिवारिक अस्थिरता, भौगोलिक अस्थिरता, पेशेवर अस्थिरताले यिनको ‘कवि’–को निर्मिति छ । कवितीय क्राफ्टमा छुट्टै ढङ्गमा माहिर कटुवालले नेपाली साहित्यलाई कविताको एउटा नयाँ भाषा दिनुभएको बढ़ीले नकार्न नसक्लान् । यिनका कविताको बलियो पक्ष नै कविताको सरल बहाउ, प्रतीक बिम्बको उच्चस्तरीय चयन, शक्तिशाली अभिधा, अतुलनीय ऊर्जा हुन् । अरू अरू पक्ष पनि छन् नै ।
कविताको सुरूमा प्रयुक्त ‘एटमको त्रास’, ‘बन्दुकको नाल’, ‘खुकुरीको धार’ उही युद्धविरोधी चैतन्यको उपज हो ।
कविताको पहिलो स्टान्जामै उनको कविले इलियटको ‘हलो म्यान’ को याद दिलाउँछ । रोमान्टिक एलिमेन्टलाई बढ़ी पस्कन रुचाउने कवि कटुवालले यो कविता रच्दा इलियट सम्झे सम्झेन् – त्यो थाहा छैन । तर दोस्रो विश्वयुद्धपछिको युरोपेली समाजको रित्तोपनको गहिरो व्यङ्ग्य हो इलियटको यो कविता । उसरी नै उनकै ‘जोरन्सन’कविता पनि । सिङ्गोमा ‘द वेस्टल्याण्ड’ले इलियटको सम्पूर्ण व्यवस्था विरोधी चेत प्रकट गर्दछ । कटुवाल पनि यताको समाजको विसङ्गतिदेखि टाढ़ा छैनन् । उनको यस कविताको सुरूमै समाजको विसङ्गतिलाई गहिरो प्रहार गर्छन् । यताको समाजमा युद्ध पश्चिममा जतिकै आइनसकेको भए पनि युद्धको छायाँदेखि सतर्क गराउँछन् ।
यस अर्थमा कविताको सुरूमा प्रयुक्त ‘एटमको त्रास’, ‘बन्दुकको नाल’, ‘खुकुरीको धार’ उही युद्धविरोधी चैतन्यको उपज हो ।
मान्छेको जिन्दगी एक त औद्योगिक पूँजीवादी व्यवस्थाको तुमुल वैश्विक परिवर्तनहरूको उथुलपुथुलको मारमा परेको अर्कोतिर अनिश्चितताको भुँवरीको घेरोमा परेको अवस्थालाई यो कवितामा उनले सहज विम्बहरूद्वारा अभिव्यक्त गर्दछन् ।
“पसलमा सोकेशभित्र सजाएर राखेकोरकाँचको चुरा जस्तो यो जिन्दगी” – यो अंशमा सामाजिक व्यवस्थासँगै जीवनको भौतिकीकरणमाथि कटाक्ष गर्दछन् । जिन्दगीको ‘वस्तु’ झैँ भइसकेको अवस्था । अब्जेक्टिफिकेसन अफ लाइफ ।
“कुनै युवतीको हातमा चढ्दाचढ्दै र प्याट्ट फुट्न सक्छ यो जिन्दगी!ररबरको सस्तो चप्पल जस्तै यो जिन्दगी!रबाटामा हिँड्दाहिँड्दैर च्याट्ट टुट्न सक्छ यो जिन्दगी!” – कविताको उपसंहारीय अंशमा कटुवाल जीवनको अस्थिरता, अनिश्चिततालाई कविताको शुरूमा उल्लेख गरिएको यौद्धिक अस्थिरतासँग जोड़ेर एउटा गम्भीर सङ्कटतिर इशारा गर्छन् । अनिश्चिततामाथि दार्शनिक, वैज्ञानिक र कविहरूले बोल्दै आएको सत्यलाई सुन्दर प्रतीकमा अभिव्यक्त गर्छन् । जिन्दगी मानेको पातको थोपाजस्तै हो – यो प्रतीक मात्र चलाएका छैनन् । गाँठी कुरा चाहिँ कटुवाल यही गर्न चाहन्छन् जस्तो लाग्ने ।
कटुवाल कविताका लिजेण्ड हुन् । यिनको यो छोटो तर भव्य कविताले हल्लाउँछ भित्रैबाट । जिन्दगीलाई बीचबाटोमै छाड़्नु होइन, यसको अकाट्य अनिश्चिततालाई नजिकबाट चिनेर जिन्दगीलाई वास्तविकतामा बुझ्न र अङ्गाल्न उत्प्रेरित गर्न लगाउँछ ।
=========
हरिभक्तको कविताबारे पछिल्लो समयमा उत्कृष्ट कविता लेखिरहेका कवि जनक कार्की :
सबै दार्शनिक , कवि तथा विद्धानले जिन्दगीको बारेमा आफ्नो जीवनकालमा केही न केही लेखेका छ्न् । कसैले जिन्दगीलाई उत्सव भनेर लेख्छन् , कसैले जिन्दगीलाई खोज भनेर लेख्छन् । कविले जिन्दगीलाई भोगाइको दृष्टिकोणबाट लेख्छन् ।
कटुवालले आफ्नो कवितामा जिन्दगीलाई दर्दनाक अभिव्यक्ति दिएका छ्न् । सुख भोगको अभाव । प्राप्तीको खडेरी । बाध्यताको जँजीरले कैद । यी यस्ता भाव कविताका सुरुवातका हरफमा पाइन्छ ।

जनक कार्की
कविताको दोस्रो हरफतिर आइपुगेपछि जिन्दगीको शाश्वत सत्यसँग परिचित गराउन खोजिएको छ । यो जिन्दगीको श्वासको माला कति बेला बिखर्नु सक्छ थाहा हुँदैन । अन्त्यहीन गन्तव्यमा निक्लिएको मान्छे खै कुन बाटोमा ठेस लागेर लड्न पुग्छ । जिन्दगी अज्ञात छ । जिन्दगी अनेपेक्षित छ । जिन्दगी अकल्पनीय छ । कविताको सुरुवातमा निराशावादी भाव भएपनी समापन तिर जिन्दगीको यथार्थ सत्यको लोकार्पण भएको छ । जिन्दगीसँग मोह नराख । जिन्दगीको गाडी कुनैपनी बेला कृष्णभीरको पहिरोमा पुरिन सक्छ । यो जिन्दगी खै के जिन्दगी । मानिसले बुझेर पनि बुझ्न नसकिने कुरा जिन्दगी हो । कटुवालको कविताले जनमानसको प्रतिनिधित्व गर्छ ।
=============
आफ्नो जीवनको आरोह अवरोहलाई पार गर्दै कवि हरिभक्त कटुवालले आफ्नो जिन्दगीको पछिल्लो समय भने पुनः भारतमै बिताए । तर उनले नेपाली साहित्य र सङ्गीतलाई दिएको योगदान भने अविश्मरणीय बनेको छ । उनी नेपाली साहित्यमा जीवित छन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

