म घरमा स्थिर भएर धेरै समय बस्न सक्दिनथेँ । समय समयमा घरबाट फुत्त निस्केर यताउता चहार्थेँ । प्रायः आफ्नै टोलतिर घुम्थेँ भने कहिलेकाहीँ अलि परको बस्तीतिर पनि पुग्थेँ । अलिक बढी फुर्सद भएको समयमा चाहिँ केही टाढाको खोला र जङ्गलको काखमा लुटपुटिन पुग्थेँ । म यसरी घुमिहिँडेको मेरी श्रीमतीलाई मन पर्दैनथ्यो । ‘जहिले पनि लखरलखर हिँड्या’छ ! हिँड्या’छ ! कुकुर झैँ कति डुल्न सकेको होला !’ श्रीमतीको आवाज सुन्थेँ । वास्तवमा घरायसी मात्र नभई अन्य विभिन्न खालका तनावबाट पनि मुक्ति पाउनका लागि हिँड्थेँ ।

अहिले पनि टिसर्ट र पाइन्ट लगाएर हिँड्न के तयार भएको थिएँ, छोराले पछ्याइहाल्यो । छोरालाई साथमा लैजान चाहेको थिइन तर जान्छु कि जान्छु भनेर ज्यादै ढिपी गरेकाले साथमै हिँडाउन बाध्य भएँ । बाबु भनेपछि हुरुक्कै गर्छ, एक छिन पनि छोड्न चाहन्न । पन्ध्र–सोर वर्षको लाठे भइसक्यो, मैसँग सुत्छ । आमा घरबाट निस्केर दुईचार दिन कतै गए पनि आत्तिँदैन तर म घरबाट केही दिनका लागि अन्यत्र जानुपरेको अवस्थामा निन्याउरो अनुहार बनाउँछ । पोहोर साल एक साताका लागि म मधेशतिर जानुपर्दा भनेको पनि थियो, ‘तपाईं हिँडेपछि त मलाई एकदम न्यास्रो लाग्छ के बाबा !’

मध्यान्हको घाम केही ओथाएको समय थियो । छोरालाई साथमै लिएर म घरबाट पूर्वतर्फ लागेँ । बस्ती सकिएपछि खेतको आली आली हिँडेर हामी मूल बाटामा निस्क्यौँ । मूल बाटो दक्षिणतिर सोझिएको थियो । केही दक्षिण लागेपछि ओरालो झर्नुपर्ने गौँडामा पुग्यौँ हामी । गौँडाको मुखैनेर देब्रे साइडमा एउटा ठुलो चौतारो । चौतारामा एक्लो पीपलको रुख थियो । गौँडो ओर्लेपछिको ठाउँ सम्म परेको थियो । सम्म परेको ठाउँको देब्रेतिर वृद्धवृद्धाहरूका लागि एउटा आश्रम । आश्रमको बाहिरपट्टि चउरमा केही बुढाबुढीहरू बसेका थिए । आश्रम सकिए लगत्तै बाटाका दायाँ–बायाँ केही चौतारीहरू थिए । यी चौतारीमा भने वर र पीपलको जोडी नै देखिन्थ्यो । ओरालो ओरालो हुँदै बाटो दक्षिण–पूर्व मोडियो । हामी बायाँतिरबाट आएको नदीको शीतल हावा खाँदै दायाँतिरको खोलाको किनारमा पुग्यौँ ।

खोला किनारको सम्यानीमा बायााँतिर प्लटिङ गरिएको जग्गा रहेछ । डिपिसि गरेर राखिएका एक सय जति घडेरी हुँदा हुन् त्यहाँ । मैले गनिन, अनुमान मात्र लगाएँ । प्लटिङमा घर भने एउटा पनि बनेको थिएन । बजारबाट केही टाढै रहेकाले पनि हुन सक्छ त्यहाँ घरहरू नबनेको । प्लटिङमा गाईभैँसीहरू चरिरहेका थिए । दायाँ साइडबाट खोलो सुसाएको आवाज आइरहेको थियो । खोलाको किनारमा बाख्रा चरिरहेका थिए । खोलाभन्दा पारिपट्टिको जङ्गलमा पनि केही गाईवस्तु र बाख्रा देखिएका थिए । हामी बाबुछोरा बिना सिलसिलाका गफ गर्दै अगाडि बढिरहेका थियौँ । प्लटिङ सकिएपछि बाटाछेउमा केही होटेल–रेस्टुराँ र एकादुई घरहरू पनि देखिए । हामी खोला किनारको बाटो नछोडी अगाडि तिरै बढ्यौँ । कताकति किराना पसल पनि थिए । खोला किनारको चउरमा एउटा पिकनिक खाने टोलीले रमाइलो गरिरहेको थियो । तिनीहरूको नाचगान हेर्दै हामीले हिँडाइलाई नै निरन्तरता दियौँ । किनारै किनार आधा किलोमिटरभन्दा केही बढी हिँडेपछि देब्रेतिर हरिया रुखहरूले ढाकिएको एउटा ढिस्कामा हाम्रो मन तानियो । ढिस्को उत्तरपश्चिमबाट दक्षिणपूर्वतिर फैलिएको थियो ।

‘आहा ! कति राम्रो ठाउँ रहेछ । त्यहाँ जाऊँ न बाबा !’ मेरो अनुहारमा दृष्टि दिँदै गरेको छोरोको आग्रहलाई नाइँनास्ती गर्न सकिनँ । त्यहाँ जानका लागि बाटो दक्षिणी मोहडाबाट रहेछ । हामी दक्षिणबाट उत्तरतर्फ उकालिएर मूल गेटमा पुग्यौँ । गेटमा ‘आशा तपोभूमि’ लेखिएको ठुलो र आकर्षक बोर्ड टाँगिएको थियो । भित्र जानका लागि टिकट काट्नुपर्ने रहेछ । टिकट काटेर भित्र छिर्‍यौँ ।

ढलान गरिएको बाटाको दुवै साइडमा निगाले बाँसका झ्याङहरू पङ्क्तिबद्ध थिए । सुन्दर बाटिकाका रूपमा थियो त्यो ठाउँ । रामायण, महाभारतमा वर्णित ऋषिमुनिहरूको तपोभूमि जस्तै थियो । वरिपरि खयर, शिशौ, तेजपत्ता, पैयुँ, खन्यु र अमलाका बोटहरू थिए । ठाउँठाउँमा चौर र बिजुली बत्तीका बल्बहरू थिए । गुलाब र  गोलैँचीहरू फुलेका थिए, कतै कतै सुनाखरी झुलेको पनि देखिन्थ्यो । लिचीका बोट र केराको घारी देखियो । ठाउँठाउँमा पानीका फोहरा र मूर्तिहरू थिए । आकर्षक रूपमा शिव, हनुमान, कृष्ण, बुद्ध, गणेश, सरस्वती, लाफिङ बुद्ध आदिका मूर्तिहरू सजिएका थिए ।

हामी तिनै मनमोहक दृश्यहरूको स्वाद लिँदै दक्षिण मोहडाबाट प्रवेश गरी उत्तरतर्फ लागिरहेका थियौँ । आकाशमा घाम चर्के पनि रुखबिरूवाको छाया परेकाले त्यहाँको वातावरण शीतल थियो । वातावरणलाई झ्याउँकिरीको सङ्गीत र चराहरूको चिरबिराहटले  उद्वेलित पारिरहेको थियो । नदी र खोलाको कलरव ध्वनि आइरहेको थियो । हेर्दा खोलाको तुलनामा नदीको पानी बढी धमिलो देखियो । केही तलतिर थियो नदी र खोलाको सङ्गम अर्थात् दोभान । बाटिकाका बिचबिचमा जीवन र जगतलाई उपयोगी हुने व्यावहारिक सन्देश लेखिएका बोर्डहरू टाँगिएका थिए । ढिस्काको दुवै छेउमा फलामे बार थियो । ससाना चौतारी र ती चौतारीमा सानै खालका शमीका बोट पनि देखिए । निकै सुन्दर देखिने दुई-तिन तलाका केही पक्की घरहरू थिए । घरको बाहिरी भाग कुनैमा पहेँलो र कुनैमा हल्का रातो रङ पोतिएको थियो । वनको बीचमा रहेको यो ठाउँ निकै आकर्षक थियो । हामी दुई घरी एक्लाएक्लै त घरी सेल्फी खिच्दै अगाडि बढिरह्यौँ । केही समय सुस्ताउने विचारले शमीको बोट भएको आडैको सानो चौतारीमा बस्यौँ ।

खोलाको पारिपट्टि ठुला सिमलका रुखहरू देखिए । त्यहाँ गिद्धले गुँड लगाएको रहेछ । गिद्धहरू उडेको र आएर बसेको दृश्यमा तल्लीन थियौँ । यस्तैमा एक जना वृद्ध हाम्रा अगाडि देखा परे । ती वृद्धको कपाल र दाह्री सेतै फुलेका र लामा पनि थिए । सामान्य सर्ट पाइन्ट लगाएका तिनलाई देख्नासाथ मेरा दुवै हात जोडिए । नमस्कारको आदानप्रदानपछि हामीले केही समय भलाकुसारी गर्र्‍यौं । उनीसँगको भलाकुसारीमा मलाई यस ठाउँका बारेमा केही जानकारी मिल्यो– यो ठाउँ एउटा रिसोर्ट जस्तो देखिए पनि त्यस्तो होइन रहेछ । यहाँ शहरका सम्पन्न मानिसहरू मासिक रूपमा निश्चित रकम तिरेर बस्ने गरेका रहेछन् । खानपान, बसोबास, औषधोपचार आदिको व्यवस्था यही तपोभूमिले गर्दो रहेछ । खेलकुददेखि पुस्तकालय सम्मका सम्पूर्ण सुविधाहरू रहेछन् । अन्तिममा ती वृद्धलाई बिचमा राखेर मैले छोरोसहितको एउटा सेल्फी खिचेँ । उनी आफ्नै वासस्थानतिर लागेपछि छोराले सोध्यो, ‘को हुन् बाबा यी दाह्री बाजे ? यहीँ बस्ने जोगी हुन् ?’

‘कहाँ जोगी हुनु ! उहाँ त यस क्षेत्रकै नाम चलेको समाज सुधारक, प्रगतिशील चिन्तक ।’ मैले जिज्ञासा मेटाएपछि पनि उसले पुनः प्रश्न गर्‍यो, ‘त्यसो भए यहाँ किन जोगी भएर बसेका त ?’ मैले ती बाजेको जीवन कहानी सुनाउनै पर्ने भयो । दाह्री बाजेको जीवनकथालाई अगाडि बढाउन थालेँ मैले । ‘यी बाजे अहिले लगभग असी वर्षका भए होलान् । यिनी सहरको बिच भागमै पुर्ख्यौली थलो भएका व्यक्ति हुन् तर यिनी जन्मेको समयमा त्यहाँ आजको जस्तो बस्ती थिएन । शहरी बस्तीको विकास नै भएको थिएन । कताकति ढुङ्गामाटाले बनाइएका कच्ची घरहरू थिए । अझ घुमाउने घरहरू बढी थिए । समथर भूभाग, बारीका पाटाहरू मिलेका थिए । उब्जनी प्रशस्त हुन्थ्यो । खेतीपाती र पशुपालनमा त्यो ठाउँ अब्बल थियो । यिनी बाबुआमाका एक्ला छोरा थिए । जग्गाजमिन प्रशस्त थियो । अहिलेकै हिसाबमा पनि यिनीसँग करोडौँको सम्पत्ति छ ।’

‘आबुई ! त्यस्तो मान्छे किन जोगी भएर यो वनमा बसेको होला ?’ छोराको यस जिज्ञासालाई वास्तै नगरी मैले आफ्नै कुरालाई अगाडि बढाएँ, ‘त्यस समयमा लेखपढका लागि वरिपरि कुनै व्यवस्था थिएन । स्कुल, कलेजहरू पनि यता हुँदो खुलेका थिएनन् । अलि हुनेखाने, टाठाबाठाहरू पढ्नका लागि भारतको बनारस पुग्ने गर्थे । पढ्न अति नै इच्छा हुने सामान्यहरू पनि जसोतसो खाई नखाई बनारस नै पुग्ने चलन थियो । साउँ अक्षर अर्थात् कखरा त घरगाउँमै पनि चिन्न पाइन्थ्यो । त्यस समयको पढाइ प्रायः ब्राह्मण जातिमा सीमित थियो । चण्डी, रुद्री, गीता, भागवत् आदि पाठ गर्नुलाई पढाइ मानिन्थ्यो । पण्डितहरूले पढाउँथे । सानो उमेरमा यी बाजेले पनि त्यस्तै पढाइ पढेका थिए रे । केही बुझ्ने भएपछि भने यिनी बनारस लागेका थिए ।

बनारस त्यस समयमा नेपाली राजनीतिको केन्द्रबिन्दु थियो । त्यस समयमा नेपाली साहित्यको केन्द्र पनि बनारस नै बन्न पुगेको थियो । नेपालबाट त्यहाँ बसेर पढ्ने छात्रहरूले नेपाली भाषामा विभिन्न साहित्यिक पत्रिकाहरू प्रकाशन गर्थे । त्यहाँ राजनीतिक चर्चा परिचर्चा हुन्थ्यो । साङ्गठनिक कामहरू हुन्थे । राणा शासनको समयमा राणाविरूद्धका गतिविधि हुन्थे भने पञ्चायती कालखण्डमा पञ्चायती शासन व्यवस्थाविरुद्धका गतिविधिहरू हुन्थे । यी बाजे सानैदेखि विद्रोही स्वभावका थिए । समाजको प्रगतिमा लाग्नुपर्छ भन्ने सोचका थिए । क्रान्तिका कुरा गर्थे । भेदभावका विरोधी थिए, समानताका पक्षधर ।

जातले यिनी बाहुन । बाबुले आठ वर्षको उमेरमै व्रतबन्ध गरिदिएका थिए तर पछि यिनले जनै लगाएनन् । बनारसमा बसेर नेपालको क्रान्ति सफल पार्न चाहने राजनीतिक नेताहरूको संसर्गमा पुगेपछि यिनले जनै फालेका थिए । यिनी भन्थे कि– जनै कि सबै जातिले लगाउनु पर्‍यो, होइन भने एउटा मात्रै जातले लगाउँदा तागाधारीहरूमा अहङ्कार बढ्न सक्छ र जातीय असमानताको वृद्धि हुन्छ । यिनको यस्तो तर्कलाई तत्कालीन युवा पुस्ताले मन पराएको थियो र अरू अरू युवाहरूले पनि जनै फालेका थिए ।

पछि बनारसबाट घरमा फर्केर पनि यिनले प्रगतिशील तवरले नै आफ्नो बिहे गरेका थिए आफ्नै बाबुले खोजेको र सजातीय ब्राह्मणीसँग । थोरै जन्ती र दाइजोको लेनदेन बिना मन्दिरमा यिनको बिहे सम्पन्न भएको थियो । समाजमा अरूलाई पनि प्रगतिशील तरिकाले बिहे गर्ने सल्लाह दिन्थे । तडकभडकले समाज भाँडिन्छ, विकृत हुन्छ भन्ने यिनको सोचाइ थियो । प्रगतिशील आन्दोलनमा ज्यान फालेर लागिपरेका थिए । क्रान्तिकारी आन्दोलनको नेतृत्व गर्दै हिँड्न थालेका थिए । ऊ जमानामा यिनले पञ्चायती निरङ्कुश व्यवस्थाका विरुद्धमा आफ्नो आवाजलाई बुलन्द पारेका थिए । नेपालमा गणतान्त्रिक व्यवस्था ल्याउनका लागि नै यिनी क्रान्तिमा होमिएका थिए । प्राकृतिक सम्पदाको सदुपयोग गर्न सकेको खण्डमा नेपाल समृद्ध बन्छ भन्ने कुरा गर्थे । जल, जङ्गल र जडीबुटीको उपयोग गरेमा नेपालले छिटै काँचुली फेर्छ भन्ने यिनको धारणा  थियो ।
यिनको व्यक्तिगत आचरण पनि राम्रो । शुद्ध शाकाहारी । भोजभतेर यिनको रुचिको विषयमा पर्दैनथ्यो, तडकभडक मन पराउँदैनथे । भरसक भोजभतेरमा सामेल हुँदैनथे । सामेल हुनै पर्ने अवस्थामा यिनी सामेल हुन्थे तर खाना नखाई फर्कन्थे । सादा जीवन र उच्च विचारका थिए । दसैंमा टीका लगाउने काम यिनीबाट हुँदैनथ्यो । घरमा कहिल्यै पनि सप्ताह, पुराण लगाएनन् । बाबुको श्राद्ध पनि यिनले परम्परागत रूढि तरिकाले गर्दैनथे । प्रगतिशील युवाहरूका लागि यिनी एक आदर्श पुरुष थिए । कपाल र दाह्री पालेका, साथमा घरबुना झोला बोक्ने । झोलामा साहित्यिक कृतिका साथै अन्य विधाका पुस्तकहरू पनि हुन्थे । अध्ययनले मानिसलाई परिपक्व बनाउँछ भन्दै अरूलाई पढ्नका लागि पनि प्रेरित गर्थे ।
दुई छोरी र एक छोराका बाबु हुन् यिनी । छोरीहरूलाई लेखपढ गराइदिएपछि यिनले तिनीहरूको बिहे पनि प्रगतिशील तरिकाले नै गरिदिएका थिए । छोरा र छोरीमा विभेद गर्नु हुँदैन भन्ने मान्यता यिनमा थियो । आफू जीवित छँदै छोराछोरीलाई अंश दिनुपर्छ भन्ने मान्यतामा अडिग थिए । बाबुबाजेको सम्पत्तिमा छोरा र छोरी दुवैको बराबर अधिकार हुनुपर्छ भन्ने धारणा थियो । छोरीहरूको बिहे हुनुअगावै यिनले पुर्ख्यौली जग्गाजमिन केही आफ्नो बुढ्यौलीका लागि राखेर बाँकी छोरी र छोरालाई बराबर गरी बाँडिदिएका थिए । बिहे भएपछि छोरीहरूले आफ्नो नामको जग्गा बेचेर लगेका थिए ।

यी बाजेको छोरो पनि बाबुकै बिँडो धान्ने खालको थियो । छोरो स्कुल पढ्दादेखि नै विद्यार्थी सङ्गठनमा आबद्ध थियो । तत्कालीन समयमा आइए पढ्न क्याम्पस पुगेदेखि राजनीतिक रूपमा अझ बढी सचेत र क्रियाशील हुँदै अगाडि बढेको थियो । स्नातक तहमा पुग्दा त आफ्ना विद्यार्थीहरूको सङ्गठनको नेतृत्व गरेको थियो । पछि युवाहरूका बीचमा पनि लोकप्रिय हुँदै गयो । युवकहरूको सङ्गठनमा पनि अगाडि नै थियो । पार्टीको बफादार कार्यकर्ता थियो । पार्टी कामकै सिलसिलामा उसको भेट उजेली नाम गरेकी कार्यकर्तासँग भएको थियो । यी दुवैको काम गर्ने भूगोल एउटै थियो । समय क्रममा यी दुईका बिच एकापसमा भावनात्मक सम्बन्ध जोडिँदै गयो । पार्टीले नै उनीहरूको प्रेम सम्बन्धलाई वैवाहिक जीवनमा परिणत गराइदिएको थियो ।

बिहे भए पनि उसले श्रीमतीलाई घरमा भित्र्याएको थिएन । ऊ जुन सपना देखेर पार्टीमा होमिएको थियो, त्यो सपनाअनुरूप पार्टीका गतिविधिहरू अगाडि नबढेको जस्तो उसलाई महसुस हुन थाल्यो । कतिपय नेताहरूको भोगिबिलासी तथा स्वार्थीपनाका कारण पार्टीप्रति उसमा क्रमशः वितृष्णा जाग्न थाल्यो । पछि युरोपतिर भासियो । श्रीमती उजेली भने पार्टीमै क्रियाशील थिइन् र पार्टीले खटाएको भूगोलअन्तर्गत माइतैमा बसिन् । घरमा उसले नराखेको हुन सक्छ अथवा सासूससुराले बुहारीलाई मन नपराएको पनि हुन सक्छ । यो कुरा चाहिँ यसै भन्न सकिने अवस्था थिएन ।’

‘ससुरा भनेका यिनै जोगी बुढा हुन् बाबा ?’ छोराले सोध्यो ।

‘बिचमा नबोल् न तँ, म यिनै बाजेको कथा त भन्दै छु नि ।’ छोराको मुख टालेर मैले दाह्री बाजेको छोराको प्रसङ्गलाई नै अगाडि बढाएँ । ‘आफू युरोप बस्न थालेपछि केही वर्षको अन्तरालमा उसले श्रीमती पनि उतै लग्यो । उतै दुईवटा छोरी जन्मे । त्यसपछि उसले छोरीहरूलाई त्यहीँ नै शिक्षादीक्षाको व्यवस्था मिलायो ।’

‘छोरो घरमा फर्केर आएन र ? अनि घरमा यिनै जोगी बाजे र बज्यै मात्रै !’ छोराले फेरि जिज्ञासा राख्यो ।

‘म भन्दै त छु । बोल्न दे न मलाई ।’ मैले कुराको सिलसिलालाई नै अगाडि बढाएँ ।

‘हो, घरमा यिनै दाह्री बाजे र बज्यै मात्रै । छोराबुहारी, नातिनातिनाहरू सबै उतै । साना बालबच्चा पढाउने क्रममा च्वाट्टै छोडेर स्वदेश फर्कन पनि पाएनन् होला नि । लगभग डेढ दशकपछि बालबच्चाको रेखदेख र बसोबासको व्यवस्था मिलाएर छोराबुहारी फर्कंदा बज्यै बितिसकेकी थिइन् । घरमा बाजे एक्लै थिए । आर्थिक रूपमा सम्पन्न भएकाले खान बस्नलाई गाह्रो थिएन । दुईवटा घरमध्ये एउटा भाडामा लगाएका थिए, अर्कोमा बस्थे । घरको काममा लागि सहयोग होस् भन्ने उद्देश्यले एउटा निम्न वर्गीय परिवारलाई आश्रय नै दिएका थिए । जब छोराबुहारी घरमा भित्रिए तब के सुर चल्यो कुन्नि, बाजे घर छोडेर हिँडे ।’

‘किन त नि घर छोडेका ? सँगै बस्न हुँदैनथ्यो र ? कि छोराबुहारी र यी जोगी बाजेका बिचमा झगडा पर्‍यो बाबा ?’ छोराले मेरा कुरामा उत्साहित हुँदै प्रश्नहरू तेर्स्यायो ।

अब भने मलाई उसका प्रश्नको उत्तर दिन सकस परिरहेको थियो । बाबु र छोराबुहारीका बिचमा झगडा भएको भन्ने कुरा पनि मेरा कानमा परेका थिएनन् । छोराले दिदीहरूलाई अंश दिएर आफूलाई मर्कामा पारेको भनी गुनासो गर्दै हिँडेको पनि थिएन । ऊ आफै प्रगतिशील विचारको थियो । लैङ्गिक समता कायम हुनुपर्छ भन्ने सोचाइको थियो । जातीय समानतालाई व्यवहारमै कार्यान्वयन गर्नुपर्छ भनेर नै उसले उजेलीसँग बिहे गरेको थियो । मेरा मनमा यिनै तर्कनाहरू खेलिरहेका थिए । अचानक छोराले अनौठो प्रश्न गर्‍यो, ‘उजेली के जातकी थिइन् र बाबा ?’

छोराको अनुहारमा हेरेँ । उसको दृष्टि पनि मेरै अनुहारतिर थियो । उसको अनुहारमा उत्तरको अपेक्षाको भाव झल्केको थियो । ‘तँलाई जातभातको कुरा किन चाहियो र ?’ मैले उसको जिज्ञासालाई वास्तै नगरी प्रश्न उसैतिर फर्काइदिएँ । उसले आफ्नो कुरा गर्‍यो, ‘इन्टरकास्ट हो कि भनेर नि !’

‘हो, छोराले अन्तर्जातीय विवाह नै गरेको हो । समाजको परिवर्तन चाहनेले सुरुवात आफैबाट गर्नुपर्छ भन्ने उद्देश्यले नै उसले उजेलीसँग बिहे गरेको थियो । ‘उजेली’ त उसलाई पार्टीले जुराइदिएको नाम थियो । उसको वास्तविक नाम त मनमाया विश्वकर्मा थियो… ।’

म बोल्दै थिएँ, छोराले मलाई बिचैमा रोक्यो, ‘ए, मैले बुझेँ । छोराले कमिनी बिहे गरेको भएर यी जोगी बाजेले घर छोडेका होलान् !’

छोराले गरेको हल्का खालको टिप्पणीले मेरो मन रन्थनियो । केही रिसाउँदै चर्कै स्वरमा बोलेँ म, ‘त्यो जमानामै क्रान्तिको बिगुल फुकेका बाजेको मनमा यस्तो जातीय अहङ्कार कसरी आउँछ ? नचाहिने कुरा गर्छ यो !’

मेरो चर्को स्वरको प्रतिवाद गर्दै उसले पुनः हलुकै तरिकाले तर गम्भीर कुरा गर्‍यो, ‘यी जोगी बाजेका नसाहरूमा आफ्नै पुर्ख्यौली रगत त बगेको छ नि हगि बाबा ! यिनको मानसिक अन्तरकुन्तरमा कतै आफ्नै जातीय श्रेष्ठताको अहङ्कारले पो बास गरेको छ कि !’

‘त्यसो होइन छोरा ! यी बाजेले त आफ्नो सिङ्गो जीवन क्रान्ति र परिवर्तनका लागि नै समर्पण गरेका छन् । यस्ता शालीन व्यक्तित्वको मनमा त्यस्तो भाव आउँछ भन्ने मलाई त एक रत्ती पनि लाग्दैन !’ मैले उसलाई सम्झाउने प्रयास गरेँ ।

छोरो बोल्न छोडेन, ‘तैपनि मान्छेको मन न हो बाबा, अर्काको मनको कुरा त कसरी बुझ्न सकिन्छ र ! भाषण एकातिर, व्यवहार अर्कातिर गर्ने समाजसेवीहरू पनि त छन् नि समाजमा ।’

छोरालाई पुनः सम्झाउँदै भनेँ, ‘तर यी बाजे त्यस्ता होइनन् छोरा ! यिनी त भाषणलाई व्यवहारमै उतारेर देखाउँदै हिँडेका मान्छे हुन् … ।’

मेरो कुरालाई बिचैमा काटेर छोराले पुनः प्रश्न गर्‍यो, ‘यी जोगी बाजेको शहरको बिचमै प्रशस्त जग्गाजमिन छ भन्नुहुन्छ, आफ्ना छोराबुहारी छन्, दुईदुईवटा पक्की घर पनि छन् ! अनि यहाँ यत्रो धेरै पैसा तिरेर किन बसेका त बाबा ?’

‘यो व्यक्तिगत स्वतन्त्रताको कुरा हो छोरा ! प्रमुख कुरो त मान्छेले विचार राम्रो लिनुपर्छ, उसको आचरण राम्रो हुनुपर्छ । यसो हुन सकेमा नै समाजको कल्याण हुन्छ भन्ने मलाई लाग्छ ।’ मेरो यस कुराले पनि छोराको चित्त बुझिरहेको थिएन । ऊ यिनै दाह्री बाजेका विषयमा पुनः प्रश्न गर्न खोज्दै थियो । पश्चिमपट्टिको पहाडबाट चमक हराउँदै गरेका घाम अस्ताउन लागेका थिए । मैले त्यतैतिर देखाउँदै भनेँ, ‘ऊ, हेर् त छोरा घाम अस्ताउनै लागे । एक घन्टा जति नहिँडी घर पुगिँदैन । अब ढिला हुन्छ । फर्कौं ।’

म उठेर हिँडेपछि छोरो पनि पछिपछि लाग्यो । छोरामा विकसित तार्किक शक्ति र गतिशील विचारप्रतिको जिज्ञासाका कारण मेरो मन रमाइरहेको थियो र खुसीका पाइलाहरू अगाडि लम्किरहेका थिए ।