बालबालिकाको पहुँच विविध विषयका पुस्तकमा पहुँच पुगे, तिनको पठन रूचि विस्तृत हुने र त्यसले पठन संस्कृतिमा सकारात्मक प्रभाव पार्ने एक बाल साहित्यकारले बताएकी छन् ।
प्रख्यात पुरस्कारहरूकी विजेता बाल साहित्यकार क्याथरिन रन्डेलले जसरी वयस्क पाठकका लागि विविध विषयका पुस्तक पाइन्छन्, बालबालिकाहरूका लागि त्यस्तै फराकिला विविध विषयका किताब उपलब्ध हुनुपर्ने बताएकी हुन् ।
उनले कुनै पुस्तक पसलमा जब बालबालिकाहरू छिर्छन्, त्यो बेला पसलका डेस्कमा डुल्दै गरेका बालबालिकाहरूले विविध किसिमका बगैंचायुक्त पसलमा छिरेको अनुभूत गर्नुपर्ने बताएकी हुन् ।
उनको पछिल्लो पुस्तक इम्पोसिबल क्रिएचर्स पुस्तकले हालै वाटरस्टोन बुक अफ दि इयर पुरस्कार हात पारेको थियो । सो पुरस्कार हस्तान्तरण कार्यक्रममा उनले यो कुरा बताएकी हुन् ।
कुनै समय पुस्तक पसलमा डेभिड विलियम्सका किताबहरू मात्र देखिने क्याथरिनले स्मरण गर्दै भनिन्, ‘यत्राविधि किताब किन लेख्नु पर्यो भनेर पत्रकारहरूले सोध्दा उनले भन्थे, बालबालिकाहरूलाई विविध विषयमा लेखिएका पुस्तकहरू पढ्न वास्तवमा ढिला भइसक्यो भन्ने लागेर मैले यति धेरै पुस्तक लेखेको हुँ ।’
डेभिडले २५ पुस्तकहरू बालबालिकाका लागि लेखेका थिए । ती पुस्तक संसारका ५० वटा भाषामा अनुवाद भएका छन् भने उनका सबै पुस्तकहरू एकमुष्ठ रूपमा तीन करोड ५० लाख प्रति बिक्री भएका छन् ।
विलियम्सको पुस्ता सेलाउँदै जाने र नयाँ पुस्ताका लेखकहरूमा पुस्तक लेखनीप्रति चासो घट्दै जाने क्रम बढेकाले बालबालिकाका लागि नयाँ स्वादका पुस्तकको अभाव भएको रन्डेल बताउँछिन् ।
बेलायतमा बालबालिकाका पुस्तकहरूको बजार निकै लोभलाग्दो छ । पछिल्लो समय त यो बढ्दै जान थालेको छ । हालै द बुकसेलर पत्रिकाको गणनाअनुसार पछिल्ला आठ महिनामा मात्र बालबालिकाका लागि निकालिएका पुस्तकहरूको बिक्री संख्या ४१.९ मिलियन पुगेको छ । यसले करिब २५५.८ मिलियन पाउन्ड रकम बजारबाट उठाएको छ ।
रन्डेलले यसअघि कोस्टा चिल्ड्रेन्स बुक अवार्ड र ब्लु पिटर बुक अवार्ड हात पारिसकेकी छन् । उनले बालबालिकाले किन्न मन पराउने पुस्तक लेख्नका लागि चलनचल्तीका शैलीबाट मुक्त हुनुपर्ने सुझाव दिएकी छन् ।
३६ वर्षीया यी लेखिकाले सबैभन्दा कम उमेरमा अक्सफोर्ड विश्वविद्यालयले दिने प्रख्यात पुरस्कार बैली गिफोर्ड पुरस्कार हात पारेकी थिइन् । उनले १७ औँ शताब्दीका प्रख्यात बेलायती कवि जोन डनको जीवनीका लागि सो पुरस्कार जितेकी थिइन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।