आदरणीय कलाकारहरू, बरु दुई चार डलर कम लिएर नेपाल जानुहोस् तर आफ्नो इज्जत, मान र प्रतिष्ठालाई तिलाञ्जली नदिनुहोस् । कसैलाई खुसी पार्ने नाममा वा खान, बस्न वा केही उपहार दिए भन्दैमा सुत्ने कोठा कोठामा गएर कलाकारिता देखाउँदा, अलि भद्दा देखिने मात्र होइन कद  घटेको जस्तो हुने रहेछ । कलाकार र स्रोतादर्शकको सम्बन्धमा अलिकति दुरी रहँदा नै कलाकार, कलाकार जस्तो लाग्ने रहेछ।

कलाका अथक साधकलाई हृदयदेखि नमन छ । यो लेखको उद्देश्य कलाकारको विदेश यात्राको नाममा हुने केही विकृति र त्यसका प्रणेताहरू लक्षित हो ।

विगत १ दशकदेखि म क्यानडामा आएका कलाकारहरू, उनीहरूको मनोदशा, रोजाइ, बाध्यता र क्रियाकलापलाई नजिकबाट चुपचाप नियालिरहेको छु । नेपालबाट कलाकार यता बोलाउने र कार्यक्रम गर्ने चलन हरेक वर्ष १० गुनाले बढ्दै गएको छ । त्यही अनुपातमा नेपाली भाषीको वृद्धि भएर पनि होला सायद । पहिला पहिला दशैँ-तिहार, नयाँ वर्षमा मात्र देखिने कलाकारहरू अचेल जन्मोत्सव मनाएको ठाउँमा, वैवाहिक वर्षगाँठ मनाएको ठाउँमा,नारायण पूजा लगाएको ठाउँमा र घर पूजा लगाएको ठाउँमा पनि भेटिन्छन् । सायद, कोही न कोही एक दुई जना कलाकार यतै हुँदो हुन् सधैँ ।

कलाकार हुनु आफैमा एउटा भिन्न क्षमता हुनु हो । सबै जना कलाकार हुन सक्दैनन् । त्यो कलाकारितालाई धैर्यता र अनुशासनले बाँध्न सक्ने स्रष्टा नै कालजयी र दीर्घकालीन कलाकार हुन्छन् । असली कलाकारले भाइरल कलाकार बनेर चाँडै धनी हुने सपना देख्नु हुन्न । निरन्तरको साधनाले नै कलाकारलाई जीवनपर्योन्त जीवित राख्दछ ।

आफूलाई कुन स्तरमा प्रस्तुत गर्ने नितान्त कलाकारको व्यक्तिगत रुचिको विषय हो । तर कलाकार शब्दको नै अपमान हुने गरी प्रस्तुत गर्नाले सिङ्गो कलाकारिता जगतलाई नै गिज्याए जस्तो लाग्ने रहेछ ।

एक जना मूल कलाकार र कलाकारसँगै जोडिएर विविध  उद्देश्य सहित लिइने ल्याइने उप-कलाकार, सह-कलाकार, नव-कलाकार, व्यवस्थापक, उप-व्यवस्थापक, सह-व्यवस्थापक आदिलाई तपाईंले “नो” भन्न सकेको दिन कलाप्रति देखाएको  उच्च सम्मान हुनेछ । समय समयमा मानव तस्करीमा कलाकारहरूको नाम जोडिनु लज्जास्पद कुरो होइन र ? यस्तो समाचारले कला जगतको मात्र होइन कलालाई सच्चा हृदयदेखि माया गर्ने जो सुकैको मन कुँडिन्छ । ‘नो’ भन्नु सधैँ नराम्रो मात्र हुँदैन है ।

कलाकार सम्मान, पुरस्कार वितरण, अवार्ड सेरेमोनि आदि विविध नामबाट ठगी भएका घटनाहरू देख्न र सुन्न पाइयो । प्राय: यस्तो खालको ठगीमा  एक दुई जना नाम चलेका कलाकारको फोटो हालेर सामाजिक सञ्जालमा हल्ला फैलाउँदै सीमित व्यक्तिले आफ्नो निहित स्वार्थ पूर्ति गरेको पाइन्छ । यदि तपाईं आफूलाई सच्चा कलाकार मान्नु हुन्छ भने आफ्नो फोटो र नामको दुरुपयोग हुँदा आवाज उठाउने र कानुनी प्रक्रियामा अघि बढ्ने हिम्मत राख्नु पर्छ । नबोल्नु भनेको स्वीकृति दिनु जस्तै हो- मौनं स्वीकृति लक्षणम् ।

त्यसै गरी कुनै पनि कार्यक्रममा जानु अगाडि आयोजकसँग आफ्ना सर्तहरू स्पष्ट राख्ने गर्नुहोस् ताकी तपाईंलाई एयरपोर्टमा झरेदेखि आफ्नो शिर निहुराएर जसले जताजता भन्यो त्यतै त्यतै लुरुलुरु हिँड्नु नपरोस् । कहाँ बस्ने, कहाँ खाने, कहाँ कला प्रदर्शन गर्ने जस्ता कार्यक्रमको खाका लिएर आउँदा तपाईंले चिया पसलमा वा कसैको किचेनमा कला देखाएर आयोजकका चुरीफुरी गर्नेलाई खुशी गराइराख्नु पर्दैन । यस्तो व्यवहार गर्दा तपाईंलाई ढोङ गरेको मानिने छैन, यसमा व्यावसायिकता झल्कने छ । ढिलो चाँडो  सबैले तपाईंको सिको गर्न थाल्ने छन् ।

विदेशमा बस्ने र कार्यक्रम आयोजना गर्ने सामाजिक अभियन्ता भन्दैमा सबैको एउटै उद्देश्य र स्वार्थ हुँदैन । वर्षको  दुईचार कार्यक्रम गर्ने, कलाकार ल्याउने र त्यसैलाई ओल्टाईपल्टाई गरेर जीविका पाल्ने पनि छन् । यस्तो प्रवृत्तिले सीमित व्यक्तिलाई त फाइदा भएकै होला तर समग्र समाज र कलाकारिताको मानक यस्तो प्रवृत्ति कुनै हालतमा हुनै सक्दैन । यस्तो प्रवृत्तिलाई हतोत्साहित गर्न कलाकारहरूले मात्र सक्दछन् ।

कलाकारको सम्मान गर्नु, टिप्स दिनु असाध्यै सराहनीय कुरो हो । यसलाई व्यवस्थित गर्न जरुरी छ । प्रस्तुतिको बीच बीचमै टोपी थाप्ने, फेटा गुथ्ने अनि कोही चैँ जुरो हल्लाउँदै स्टेजमा चढेर सामाजिक सञ्जालमा लाइभ गर्ने गर्दा खेरी कार्यक्रममा उपस्थित अधिकांश दर्शकस्रोतालाई नराम्रो लागेको मैले धेरै जनाको मुखबाट सुनेको छु । यसलाई कतै टिप्स बक्स राखेर वा प्रस्तुति नखलबलाई गर्नु हुन्न र ? कलाकारले पनि मलाई यस्तो मन पर्दैन भन्नुपर्ने होइन र ? आफ्नो फाइदा हुने कुरो आयो भने हामी हाम्रो संस्कृति र पहिचान भन्छौ, आफूलाई फाइदा नहुने भो भने नौटङ्की भन्छौं त्यही कुरालाई । अझै केही ढिलो भएको छैन – राम्रो कुरा जसको अनुसरण गर्दा पनि राम्रै हुन्छ ।

अर्को मौलाएको विकृति कलाकार कार्यक्रम स्थलमा समयमा नआइपुग्ने पनि भएको छ । मूल कार्यक्रम हुने अघिल्लो रात अबेलासम्म खाने पिउने, त्यतैको माहौलमा रम्ने-रमाउने र कार्यक्रममा ढिला पुगेर थोरै प्रस्तुति दिई दर्शक स्रोतालाई निराश बनाएको मैले कयौँ चोटि देखेको छु, भोगेको छु । मातको सुरमा पानीको बोतल र माइक फालेको दृश्य त हामीले सामाजिक सञ्जालमा देखि नै हाल्यौं । सभ्य दर्शक श्रोता पाउन कलाकारको हात उत्तिकै हुन्छ । कतै हामीले प्राथमिकता दिनै पर्ने कुरालाई चैँ कम र प्राथमिकता नदिए पनि हुने कुरालाई चैँ बढी महत्त्व दिइरहेका छैनौं ?

तसर्थ, हामी बसेको समाज र देशलाई प्रतिनिधित्व गर्ने कलाकार हाम्रो समय र समाजका ऐना हुन् । ऐनामा सकेसम्म धुलो लाग्न नदिने र लागिहाले पनि पुछ्ने काम तपाईं हामी सबैको कर्तव्य हो किनकि धुलो लागेको ऐनाम हाम्रो स्वरूप राम्रोसँग देखिँदैन । हाम्रो समयलाई कला र जीवनको सुन्दर सङ्गम बनाउन कलाकार पनि उत्तिकै संयमित र जिम्मेवार हुनुपर्छ चाहे स्वदेशमा होस चाहे विदेशमा ।

क्यानडा