‘साताका पुस्तक’ स्तम्भअन्तर्गत नयाँ तथा पुराना कृतिहरूलाई समेट्दै कृति तथा स्रष्टालाई साहित्यका पाठकसम्म पुर्याउने हाम्रो उद्देश्य हो । आगामी दिनमा पाठक तथा स्रष्टाहरूको सहयोगले यस स्तम्भलाई थप सशक्त रूपमा अगाडि बढाउन सकिने विश्वास लिएका छौँ । हाम्रो उद्देश्य, साताभरिमा प्रकाशनमा आएका साहित्यिक पुस्तकहरूलाई यस विधामा समेट्नु हो । हामी चाहन्छौँ – नेपाली साहित्यअन्तर्गत प्रकाशनमा आएका कुनै पनि पुस्तक नछुटुन् । तर पुस्तकको उपलब्धता नहुँदा केही छुट्ने गरेका छन् । प्रकाशक तथा लेखकहरू सम्भव भएसम्म आफ्ना नवीनतम साहित्यिक कृतिहरू साहित्यपोस्टको कार्यालयमा उपलब्ध गराइदिनुहुन अनुरोध गर्दर्छौं ।

यसै क्रममा ‘साताका पुस्तक’मा यो साता ५ पुस्तक –  शिवप्रसाद जैशी खतिवडाको ‘बाँठी’, दधिराज सुवेदीको ‘अविरल यात्रा’, गोविन्द भट्टराईको ‘कार्ल मार्क्सको कसम’, सञ्जु अधिकारी ‘इन्द्रेणी स्पर्श’, भागवत खनालको ‘बाबा मेरो पीआर आयो’ ।

० ० ० ०

१. बाँठी — शिवप्रसाद जैशी खतिवड

व्यवस्थापन, पर्यटन र अर्थशास्त्रसँग सम्बन्धित विषयहरूमा लेख्न रुचाउने कवि शिवप्रसाद जैशी खतिवडाको पहिलो उपन्यास हो – “बाँठी” ।

सुदूर पश्चिमकै घटनामा आधारित कथानक, त्यहाँकै जनजीवनबाट टिपिएका चरित्र, त्यहाँकै स्थानीय परिवेश र त्यहाँकै भाषाको पाइन चढेको अभिव्यक्ति एवम् कथोपकथनमाझ सार्थकता भएको यस उपन्यासलाई २२ परिच्छेदमा विभाजित गरिएको छ ।

 

“प्रस्तुत उपन्यासमा शिशु जन्माउन नसक्ता पीडित बनेका अन्य महिलाका समस्यातिर पनि दृष्टि लगाइएको छ जसमा बाँझी रहे बापत लोग्नेद्वारा सौता भित्र्याइएका मात्र नभई लोग्ने नपुंसक रहेका कारण महिलाले सन्तानविहीन भएको दोष खेप्नु परेको कुरा पनि वर्णित छ । यसमा आफू बाँझी भएकै कारण गौमतीकी दिदी पर्ने किस्मतीले आफ्नै मामाकी छोरीलाई बाबुका उमेरका आफ्ना वृद्ध लोग्ने देवारथ कठायतसँग विवाह गराई सौता भित्र्याएकी छन् ।” प्रा. डा. जीवेन्द्र देव गिरी लेख्छन्, “यसरी नै एउटी मात्र पुत्री जन्माएका कारण पीडित भएको मन्धीर फुपू आफ्ना पति शोभाराज अधिकारीका निम्ति आफ्नी छोरीभन्दा कान्छी रजस्वला नै नभएकी कलिलो उमेरकी आफ्नी भदैलाई सौता बनाउन विवश भएकी छन् । मन्धरी र किस्मती दुबै आमा छोरी हुन् र दुबै जीवनका उत्तरार्धमा परिवारबाट अलगिएर सँगसँगै बस्न बाध्य हुनु परेको छ । यसका साथै सन्तान जन्माउन नसकेका महोने दाइको मृत्युपछि एक जना बुढालाई अँगालेर सन्तान जन्माउने उनैकी पत्नी जुना भाउजू तथा निःसन्तान रही महोनेकै ढोका कुरेर रोगग्रस्त जीवन गुजार्ने सुवा भाउजू मात्र होइन, कोख बाँझो रहनाले समस्या ग्रस्त बनेका दुई बाहुनी महिलाको प्रसङ्ग पनि उपन्याससँग गाँसिएको छ । यसरी केन्द्रमा गौमतीलाई राखेर समाजमा बाँठी हुनुको समस्या भोग्ने तमाम महिलाहरूको भोगाइलाई उपन्यासकारले यस उपन्यासमा उतारेको पाइन्छ ।”

प्रा. डा. हेमराज पन्त लेख्छन्, “साहित्य समाजको ऐना हो भन्छन् वास्तवमा हो पनि । उपन्यासले नेपाली समाजको एक कालखण्डको सजीव वर्णन गरेको छ । यस उपन्यासकी मुख्य पात्र गौमतीको कथा नेपालका थुप्रै बाँठीहरूको कथा हो । उपन्यासले समाजमा विद्यमान लैङ्गिक विभेदलाई अत्यन्त गहिरो तहमा गएर व्यक्त गरिएको छ । तत्कालीन समाजमा महिलाहरूमाथि हुने लैङ्गिक विभेदको वरिपरि सम्पूर्ण कथावस्तु केन्द्रित छ । उपन्यासमा वर्णित त्यो कालखण्डको सामाजिक स्थितिमा अहिले पनि त्यति परिवर्तन आउन सकेको छैन ।”

१ सय ६४ पृष्ठमा बुनिएको पुस्तकको मूल्य ३ सय ९० रुपियाँ रहेको छ । पुस्तकलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो ।

० ० ० ०

२. अविरल यात्रा — दधिराज सुवेदी

भाषा साहित्यको विविध विधामा कलम चलाउने कुशल, सफल स्रष्टा दधिराज सुवेदीको आत्मवृत्तान्त पुस्तक हो – “अविरल यात्रा” ।

१ सय ६० पृष्ठमा आधारित यस पुस्तकमा दधिराज सुवेदीको जीवनकथा, उनले आफू र आफ्नो जीवनयात्रामा कति पीडा भोगे, कति खुसी कमाए, अहिलेको यात्रासम्म उनले कति सङ्घर्ष गर्न पर्यो लगायत उनका सुखदुखका कथाहरू समेटिएको छ । पुस्तकमा ‘जन्म र परिवेश’, ‘शान्ति र आनन्द’, ‘जीवनमा पश्चाता’, ‘मेरा लिखित तथा सम्पादित’, ‘मालती–मङ्गले गीतिनाटक’, ‘आफ्नो विवाह आफैले…’, ‘धनगढीमा रु. एक लाख’, ‘प्रतिभा पुरस्कार प्रतिष्ठान’ १ सय २१ थान शीर्षकमा ‘अविरल यात्रा’ बुनिएको पाइन्छ । अन्त्यमा आकर्षित तस्बिरहरू समेत समावेश छन् ।

“दधिराज सुवेदी अविरल साहित्यिक यात्रामा बग्ने नदी हुन् । उनी कहिले सङ्लो बगे कहिले धमिलो बगे । कहिले गुलियो, नुनिलो, कहिले खल्लो बगे । कहिले हरियाली बगे, कहिले मरुभूमि र बगर बग े। तर जसरी बगे पनि उनी जताजता बगे साहित्यिक सृष्टि बगे, आफू दुखेर पनि, समाजका लागि देशका लागि साहित्यका लागि खुसी बगे, सुख बग े। सन्तुष्टि र शीतलता बगे ।” विवश पोखरेल उल्लेख गर्छन्, “उनी नेपाली भाषा साहित्यको बगैंचाका माली मात्र होइनन्, बगैंचामा फुलेका सुन्दर फूल पनि हुन् । जो अहिले नेपाली साहित्य क्षेत्रका बहुआयामिक स्रष्टाका रूपमा परिचित छन् । बरगाछी उनले सम्पादन गरेको चर्चित पत्रिका हो । प्रजातन्त्र प्राप्तिका लागि यस पत्रिकाको योगदान प्रशंसनीय छ । जुन पत्रिका कैयौंपल्ट प्रतिबन्धित समेत भयो । जीवन निर्वाहका लागि जागिरे जीवन बाँचेका यी स्रष्टाले पत्रिका निकालेकै कारण प्रशासनको तारोसमेत बन्नु पर्यो । उनले प्र.जि.अ. कार्यालयमा तारिखसम्म बोके । कैंयौपल्ट अनेक कागजसम्म गर्नु पयो । बरगाछी पत्रिका मार्फत् यिनले लोकतन्त्र प्राप्तिका लागि शब्द विचार र अनुभूतिसँगै चेतनाको बिगुल फुकिरहे । प्रजातन्त्रवादी चिन्तक, विचारक र लेखकको सम्मान र श्रद्धा गरिरहे । उनी एउटा अथकित साहित्यिक आध्यात्मिक यात्री पनि हुन् । उनीभित्र अझै केही गरौं भन्ने भावना जीवन्त छ । प्रस्तुत कृति अविरल यात्रा साहित्यकार दधिराज सुवेदीको जीवनयात्राको दस्ताबेज हो ।”

डा. लक्ष्मणप्रसाद गौतम लेख्छन्, “प्रभावपरक समालोचनामा पनि रचनाको अन्तर तहसम्म पुगेर कृतिको कुरो मात्र होइन चुरो ठम्याउने दधिराज सुवेदीको समालोचकीय विशेषता र स्रष्टा एवम् उसका सिर्जनालाई अभिमूल्यन र अवमूल्यनको कराहीमा नपकाएर तटस्थ विवेचना गर्ने उहाँका समीक्षकीय गुण पनि मलाई राम्रो लाग्छ ।”

पुस्तकलाई पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले प्रकाशनमा ल्याएको हो ।

० ० ० ० 

३. कार्ल मार्क्सको कसम — गोविन्द भट्टराई

सडक सुरक्षा अभियन्ता, खेल अधिकारी, पर्यटन प्रवर्द्धक गाविन्दभट्टराइको ‘जिजीविषा’ कवितासङ्ग्रह, ‘ब्याकगियर’ व्यङ्ग्यसङ्ग्रह प्रकाशित भइसकेका छन् । उहाँको तेस्रो पुस्तक हो – “कार्ल मार्क्सको कसम” ।

यसमा न्युट्रल पोजिसन ‘पुस्तकका कुरा’, पहिलो गियर ‘यात्रा/अनुभूति’, दास्रो गियर गियर ‘नीति/नेतृत्व’, तेस्रो गियर ‘यातायात व्यवस्थापन’, चौथो गियर ‘सडक सुरक्षा’, पाँचौँ गियर ‘खेल/पर्यटन’, व्याक गियर ‘अजबको नेपाल/गजबको नेपाल’ आदि ६ वटा परिच्छेद समावेश छन् । प्रत्येक गियरमा पनि उपशीर्षकहरू राखी सडक र सवारीको अवस्था, तिनमा जोडिएको संवेदनशीलता, त्यस क्षेत्रमा भइरहेका दुःखद अभ्यासलाई उल्लेख गरिएको छ ।

पुस्तकका कुरामा लेखिएको छ, “देश कहिल्यै बन्दैन भन्नेहरूले नै ‘देश चलाइरहेका’ छन् भन्नुभन्दा दुःखको कुरा के हुनसक्छ । सार्वजनिक यातायात झन्झन् थला पर्यो या पारियो । समाजवादी संविधान भएको देशमा सार्वजनिक यातायात र मोबिलिटी सुरक्षाको लागि कति वर्ष लड्नुपर्ने हो ? राज्य आजसम्म किन सबैको हुन सकेन ? जुनसुकै सरकार होस् जनताले ठूलो आशा गरेका हुन्छन् । सानो अपेक्षा पूरा गर्न राज्यशक्ति असफल हुँदा यस्ता पुस्तक लेखिने अवसर पाउँछन् । आशा गरौँ, बिस्तारै यस्ता लेख तथा सङ्ग्रहहरू निकाल्न नपरोस् ।”

पुस्तकको पछिल्लो पृष्ठमा लेखिएको छ, “ यो पुस्तक मोबिलिटी, सडक र यातायात व्यवस्थापन, सडक सुरक्षा, दिगो शहरी विकासका क्षेत्रहरूमा आफ्ना राष्ट्रिय र अन्तर्राष्ट्रिय अनुभवहरूको सङ्ग्रह हो । यसमा सुरक्षित, दिगो, व्यवस्थित र सबै नागरिकको पहुँच सहितको मोबिलिटी अधिकार, सार्वजनिक यातायात, सडक सुरक्षा परिषद्, इन्टरनेसनल ड्राइभिङ परमिट र स्मार्ट सिटी एवं शहरी व्यवस्थापनका केही अनुभव र सुझाव समेत छन् । त्यसैगरी यो पुस्तकमा ड्राइभ टुरिजम र टु हिवल टुरिङ, मोटर स्पोर्ट्स, साहसिक तथा पर्यटकीय खेलकुद, आधुनिक पर्यटन प्रवर्द्धन तथा दिगो विकास बारेमा समेत रोचक तरिकाले वर्णन गरिएको छ ।”

पुस्तकलाई नासा फाउण्डेसन नेपालले प्रकाशनमा ल्याएको हो । २ सय ५८ पृष्ठमा आबद्ध यस पुस्तकको मूल्य ५ सय रुपियाँ रहेको छ ।

० ० ० ०  

४. इन्द्रेणी स्पर्श — सञ्जु अधिकारी 

पेशाले चार्टर्ड एकाउन्टेन्ट भएपनि कथा, कविता साथै समसामयिक विषयमा लेखिरहने कवि सञ्जु अधिकारीको पहिलो उपन्यास हो – “इन्द्रेणी स्पर्श” ।

२ सय ४२ पृष्ठमा बुनिएको छ । यस उपन्यासमा ‘कायापलट’, ‘बालापनको माया’, ‘पर्खाइपछिको अँगालो’, ‘मनको यात्रा’, ‘सात फन्को’, ‘बिचल्लीमा परेको रात’, ‘इन्द्रेणीको झलक’ आदि शीर्षकहरूबाट नारीको सङ्घर्षमय जीवनको कथा प्रस्तुत गरिएको छ ।

सञ्जु अधिकारी उल्लेख गर्छिन्, “यो किताबका हरेक हरफ पूर्ण रूपमा काल्पनिक भए पनि यो माटो, परिवेश, जीवनशैली, सोच र भावनालाई न्याय गर्ने जमर्को गरेकी छु । कथा र कथाका पात्रहरू देशको राजधानी सेरोफेरोकै छन् । सामान्यजस्ता लाग्ने घटना, संवादलाई पनि सकेसम्म सबेको मन छुने ढङ्गले पस्कने प्रयास गरेकी छु ।”

पुस्तकको पछिल्लो पृष्ठमा लेखिएको छ, “‘इन्द्रेणी स्पर्श’ नारीहरूको आफ्नै कथा हो । यसमा नारी सँगसँगै आउने पुरुषको पनि कथा छ । नारी जीवनका भाव, यात्रा तथा नारी संवेदनाका रंग समेटेर लेखिएको यस उपन्यासमा बदलिँदो परिवेशमा समाजको संस्कार, मान्यता र परम्परामाथि प्रश्न उठाउने चरित्रमर्फत् नारीको आवाज मुखर गर्न खोजिएको छ । सम्बन्धका रङहरूमा चाहना, समर्पण, त्याग, सुख, शान्ति र आत्मीयताको गाढापन छ । मायाको आवश्यकता महसुस गर्ने हरेक मनमा ‘इन्द्रेणी स्पर्श’ले छुन्छ र हरेक छुवाइमा शब्दहरूले प्रेम र सद्भाव बाँड्ने क्षमता राख्छन् । यसमा प्रेमको स्पर्श छ ।”

कलम प्रकाशनले बजारमा ल्याएका यस पुस्तकको मूल्य ४ सय ३५ रुपियाँ रहेको छ ।

० ० ० ०

५. बाबा मेरो पीआर आयो — भागवत खनाल

कथाकार भागवत खनालकृत कथासङ्ग्रह हो – “बाबा मेरो पीआर आयो” ।

२ सय ७८ पृष्ठमा आबद्ध यस पुस्तकमा ‘बिर्सेको प्रेम र गण्डकीका छालहरू’, ‘मी टू…’, ‘अचेतन’, ‘शुक्रे डिट्ठाको भूत’, ‘स्वीटेको भकुन्डो’, ‘कोरोना बाजे’, ‘मुनि’, ‘उर्वशी भाउजू’लगायत २४ थान कथा सङ्ग्रहित छन् ।

नयनजार पाण्डे लेख्छन्, “ भागवत खनालका कथाहरूमा घटनाक्रमको नवीनता, चरित्रको विविधता र परिवेशको व्यापकता बडो सन्तुलित एवम् सुललित लयमा भेटिन्छन् । चित्रात्मकता उहाँको कथाको बलियो विशेषता हो । कथा पढ्दै गर्दा लाग्छ, म कुनै क्लासिक सिनेमाका दृश्यहरू हेर्दैछु । तर, यतिले मात्र उहाँका कथाहरू उल्लेखनीय बनेका हैनन् । घटनाक्रममा स्वाभाविक रूपमा उनिएर आउने दार्शनिकताले उहाँका कथालाई एक सिद्धहस्त कथाकारको कुशल शिल्पयुक्त सिर्जना बनाउँछन् । यो नै उहाँको लेखनको सबैभन्दा शक्तिशाली पक्ष हो । उहाँ कथानकको विस्तारमा हतार गर्नुहुन्न । गन्तव्यमा पुर्याउनुअघि नै हठात् कुनै अप्रत्याशित ’ट्विस्ट’ दिएर कथानकलाई टुङ्ग्याउनु पनि हुन्न । शिल्प र प्रस्तुतिमा चामत्कारिक प्रभाव उत्पन्न गर्ने निहुँमा कुनै गिमिक्समा फस्दैनन् उहाँका कथाहरू । त्यसैले उहाँको कथा लेखन मेरा लागि सम्मानयोग्य विषय हो । यो सङ्ग्रहले उहाँको कथा लेखनको बान्कीलाई सशक्त रूपमा पाठक समक्ष प्रस्तुत गरेको छ ।”

अभय श्रेष्ठ लेख्छन्, “साहित्य मूलतः जडताको विघटन, जराको खोजी र अनुद्घाटित सत्यको उद्घाटन हो । भागवत खनालका कथा पढ्दा मलाई यही सन्देश प्रसारित भएझै लाग्छ । शीर्षक कथा ’बा मेरो पीआर आयो’ले हाम्रा परम्परागत सोचाइमाथि धावा बोल्छ । देशको हालत आज यस्तो छ– घरखेत बेचेर, आफैलाई बन्धकी राखेर पनि हरेक परिवार छोराछोरीलाई अमेरिका, क्यानडा, युरोप, जापान, अस्ट्रेलिया पठाउन चाहन्छ । विदेशमा आफ्ना सन्तान हुँदा गर्व गर्छ । कसैगरी उसले त्यहाँको पीआर हाँसिल गरोस् भनेर कुनै देवतालाई नित्य भाकल गरिरहेको हुन्छ ।”

पूर्ण ओली लेख्छन्, “यस कथासङ्ग्रहमा विविध कोणबाट समाजलाई हेरिएको हुँदा प्रकाशित हुने बित्तिकै पाठक बजार तताउने आशा छ । उहाँको सिङ्गै यौवन सरकारी जागिरेको रूपमा व्यतीत भएका केही कथाहरूले जागिरे जीवनका सङ्गति र विसङ्गतिबारे पनि उद्घाटन गर्दछन् । केही कथाले समाजमा रहेका सुसंस्कृतिलाई उजागर गर्दछन् भने कतै समाजका विकृति तथा कुरीतिको विरुद्धमा कुर्लन्छन् । केही कथाहरूले पाल्पा राज्यको इतिहासलाई पनि झल्काउँछन् भने केहीले डायस्पोराको यथार्थ जीवन प्रस्तुत गर्दछन् । सङ्ग्रहको कथा ‘बाबा मेरो पीआर आयो’ डायस्पोरिक कथा हो ।”

पुस्तकलाई विनीता खनलाले प्रकाशनमा ल्याएका हुन् ।