कर्णाली प्रदेशको एक चम्किलो मणिका रूपमा उभिएको रारा तालको भ्रमण मेरो जीवनको सबैभन्दा ठुलो उपलब्धि हो । राराको यात्रा एउटा सामान्य यात्रा मात्र थिएन, यो प्राकृतिक सौन्दर्यमा रम्ने काव्यात्मक यात्रा थियो, जहाँ प्रत्येक पाइला साहसिक कार्यको लयमा कविता रच्दै थिए । मेरा लागि यो शान्ति खोज्ने प्रमुख स्रोत, नयाँ संस्कृति सिक्ने स्रोत र मनोरञ्जनको स्रोत बनेको छ । यात्रा गर्दै जाँदा, रारा र कर्णालीले मलाई जीवनका महत्त्वपूर्ण शिक्षाहरू प्रदान गरेका छन् । हिमशीतल हावा र स्वच्छ पानीको स्वागतले मन प्रफुल्ल बनाएको छ । बादललाई अँगालेका ती रमणीय पहाडहरू र आकाश प्रतिविम्बित ताल साँच्चै मन रहेछन् ।

पहिलो नजरमा नै राराको सौन्दर्यले मलाई मन्त्रमुग्ध पार्‍यो । तस्बिरमा देखेको राराभन्दा पनि धेरै सुन्दर थियो स्वयं पुगेर आफ्नै नेत्रमा बस्न सफल रारा । सुनेका कयौँ कुराहरूभन्दा पनि धेरै विशाल र मन हर्ने थियो राराको सुन्दरता । समुद्रमा मोती चम्किएजस्तै लागिरहेको थियो रारामा छल्केको पवित्र पानी ।

रारा जाने बाटोमा हावाका वेगहरूले पुराना कथाहरू बोकेका थिए । पानीका छालहरूमा अतीतका कैयौँ कथाहरू झल्किरहेका थिए । बाटोमा यसअघि हिँड्नेहरूको पाइला महसुस गर्न सकिन्थ्यो । हरियो जङ्गलले रङ्गिएको क्यानभासजस्तै परिदृश्य देखिन सकिन्थ्यो सबैतिर । घोडामाथि चढेर मैले घोडाको नेत्रबाट रारालाई चिहाएँ र पाएँ एउटा भिन्न अकल्पनीय रूप । मैले तालमा हेरेँ, मैले आफ्नो प्रतिविम्ब मात्र नभई त्यसभित्र शान्तिको प्रतिविम्ब देखेँ । राराको सौन्दर्यको अँगालोमा, मैले गन्तव्य मात्र नभई आत्माको आश्रयस्थल भेट्टाएँ ।

राराको प्राङ्गणको क्याम्पफायर सानो कविता महोत्सवजस्तै थियो, जहाँ ताराहरू प्रत्यक्ष दर्शकका रूपमा सहभागी भएका थिए । पानीका लहरहरूले कविताको नयाँ लय सिर्जना गरेका थिए । आगोको रापसँगै साहित्य सिर्जनाका निम्ति नयाँ ऊर्जा थपिँदै थियो । रुखका हरेक पात सङ्गीतमा परिवर्तन भइरहेका थिए । चराहरू कविताजस्तै नयाँ स्वरले उत्सवमा नयाँपन थप्दै थिए । हिमालसँगै चम्किरहेका थिए कवि र कविताको अलौकिक चिनारी । रात्रीको अन्धकारमा उज्यालो थप्दै क्याम्पफायर सङ्गीत, नृत्य र कविताहरूको सङ्ग्रहमा परिणत हुँदै थियो र त्यही सङ्ग्रहको अमूल्य भाग बन्न पाएकामा मख्ख थियौँ हामी ।

राराबाट सुर्याेदय र सूर्यास्त दुवै हेर्न पाएकामा मन एकदमै खुसी भयो । बिहानीको सुर्याेदयभन्दा अगाडि नै डाँफे होटलको कोठाबाटै राराको सुन्दर दृश्य देख्न पाउनुजस्तो आनन्दको अनुभव अरू केहीबाट हुन्छ जस्तो मलाई लाग्दैन । आफ्नै आँगनमा राराको सुन्दरता चुम्न पाउनु हामीले आफ्नो सौभाग्य सम्झियौँ ।

अनुज्ञा नेपाल, पृष्ठभूमिमा रारा

रारामा डुङ्गामा अघि बढ्दै जाँदा हिमालय, निलो आकाशसँगै निलो पानी मिलेर बनेको नयाँ भूमिमा पुगेको अनुभव मैले गरेँ । तालको गहिराइसँगै राराप्रतिको प्रेमको गहिराइ पनि बढ्दै गरेको मनले महसुस गर्‍यो । ‘आलुदम चाना’को पुर्बेली भाकामा पश्चिमी भूभागमा रम्दै राराको सुन्दरतामा हराउँदा ४५ मिनेट कति छिटो कट्यो हामीले पत्तै पाएनौँ ।

भनिन्छ स्वर्ग पुग्न देह त्याग गर्नुपर्छ तर स्वर्गीय आनन्दको उपभोग गर्न मर्नु पर्दैन रहेछ । जीवन कालमा नै स्वर्ग पुगेको महसुस मैले रारा पुग्दा गरेँ । पानीको हरेक छालमा मैले स्वर्गका देवीदेवताको आकृति भेट्टाएँ । हिमालको छायासँगै मैले विशेष खुसियाली महसुस गरेँ जुन सायदै पनि साँच्चैको स्वर्ग पुग्दा महसुस गर्न सकिँदैनथ्यो । स्वर्ग कस्तो हुन्छ त मलाई थाहा छैन तर राराले मेरो मनमा स्वर्गको एउटा नयाँ परिभाषा निर्माण गर्न सफल भएको छ । स्वर्गमा स्वयं पुग्ने अवसर पाएकामा मैले आफूलाई एकदमै भाग्यमानी सम्झिएँ ।

राराबाट मैले मनको शान्ति पाएँ र पहाडी जीवनशैलीले मलाई सृष्टि र जीवनको नयाँ दृष्टिकोण प्रदान गर्‍यो । यहाँको मानव संस्कृतिको सौन्दर्यले मलाई आत्मीय रूपमा समृद्ध बनाए । साना भए तापनि कर्णालीका बालबालिकाबाट मैले सहनशीलता र आत्म–समर्पणको एकदमै ठुलो पाठ सिक्ने अवसर पाएँ । रारा र जुम्लाका मानिसहरूबाट मैले आत्मीयता सिक्न पाएँ । मार्सी चामलको स्वाद अझै मेरो मुखमा ताजा छ । कर्णालीको अर्गानिक चियाले जीवनमा थप मिठास थपेको छ । मुगु र जुम्लाका मानिसको कुराले जीवन हेर्ने दृष्टिकोण नै परिवर्तन भएको छ ।

रारा तालबाट बिदा हुँदा मेरो मन र आत्मा नयाँ सङ्गीतमा डुबेका थिए । मेरो जीवन नै एक अदृश्य सुन्दरता र शान्तिको नृत्यमा लट्ठ परिसकेको थियो । रारालाई बिदाइ गर्दा, पहाडहरूले यो यात्राको प्रतिध्वनिका रूपमा मेरो हृदयमा सधैँ रहिरहने वाचा गरे । तालको निलो पानीले भौगोलिक रूपमा साथमा नभए पनि कलात्मक रूपमा सदैव मसँगै बस्ने वाचा गर्‍यो । राराको बिदाइले मेरो मन, मस्तिष्क, सोच, मानसिकता र आत्मामा एउटा नयाँपन थपेको छ । जीवन हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याएको छ ।

रारा नेपालको अद्वितीय स्थल हो, जहाँ सौन्दर्य र शान्तिलाई एकै ठाउँ अनुभव गर्न पाइन्छ । साँच्चैको स्वर्गको अनुभव बटुल्ने मन छ भने एकपटक रारा पुग्नै पर्ने रहेछ । राराले मन नजित्ने कुनै मानव होला जस्तो मलाई लाग्दैन । त्यसैले म मेरो देशप्रति गर्व गर्छु, मेरो अद्भुत प्राकृतिक बनोटप्रति गर्व गर्छु र मेरो भूमिभित्र रहेका अनेकौँ स्वर्गहरूप्रति गर्व गर्छु ।