माछा मार्ने चञ्चल नौका,

मधुघट त्यसमा साथ लिई 

                                         जाने गर्दछु त्यस स्थल दिनहुँ 

जुन स्थल कोमल भाव पिई 

                                         पुष्पित मालिंगा घारीबिच 

गुड्छन् मेरा गीतहरू । 

                                         चञ्चल पवन स्तब्ध हुन जान्छ, 

बादल तर्की जान्छ बरु । 

                                         हरित काँचझैँ शान्त झिलमा 

चँदुवा निलो स्वच्छ गगन-

                                         कञ्चन पानी, उज्ज्वल नभले

कसको मन पो हुन्न मगन ?

यो कविता सुङ वंशको शासन काल (९६०-१२७९ इ.) मा भएका याङ पेइले ताइहु झिल देखेर लेखेका हुन् । यो झिल सुचाउदेखि दश मील दक्षिण पश्चिममा पर्दछ । झिल कत्रो छ ? – भन्नुहुन्छ भने – पूर्व पश्चिम त्यसको लमाइ अन्दाजी सत्तरी मीलको होला, र उत्तर दक्षिण त्यसको चौडाइ दश मील जति होला । त्यसको एक सय साठी मीलको गिर्दा छ । क्षेत्रफलमा त्यो साठी हजार एकडको छ । सानाठूला गरी त्यसमा बहत्तर वटा टापु छन् । त्यसमध्ये दुइटा सबभन्दा ठूलो चाँहिलाई ‘पूर्वी टुङटिङ’ र ‘पश्चिमी टुङटिङ’ भन्दछन् । ती दुवै टापु पानीबाट सोझै मास्तिर ठडिएका छन् । वरपरका अरू साना टापुचाहिँ कहिले झिलमा उत्रिरहेका झैँ देखिन्छन् र कहिले लहरले छोपिएर नदेखिने हुन जान्छन् ।

पूर्व टुङटिङ र पश्चिमी टुङटिङ – दुवै टापु झिलका बिचमा भएकाले तिनलाई चारैतिरबाट पानीले घेरेको छ । त्यहाँसम्म पुग्न नाउ चढी हुरी र छालको मुकाबिला गर्दै जानुपर्दछ । ती टापुका बासिन्दा कुशल व्यापारी हुन्छन् । देशभरी नै तिनले आफ्ना माल-सामान बेचेको देख्ता ‘ताइहुका मानिस स्वर्गमा गएर पनि मोलतोल गरी आफ्नो काम पटाइहाल्न सक्तछन्’ – भन्ने उखानै भइसकेको छ ।

हामी यहाँ पश्चिमी टुङटिङको काओ त्सान नाम गरेको एउटा व्यापारीको कथा भन्न लागेका हौँ । तरुनो छँदा काओले पश्चिमतिर अन्नपातको राम्रो व्यापार गरेको थियो । त्यसबाट प्रशस्त धन कमाएर त्यसले अन्त्यमा धितो जमानी लिई रुपियाँ पैसा सापटी दिने तेजारथको कारोबार गर्न पाइएला भनेर त्यसले कामकाज हेरिदिने चार जना मानिस पनि राखेको थियो । त्यसकी स्त्री चिन-परिवारकी छोरी थिई । त्यताबाट एउटी छोरी र एउटा छोरो भएका थिए । छोरो काओ पियाओभन्दा छोरी चिउ फैङ दुई वर्षले जेठी थिई । काओ त्सानले आफ्ना छोराछोरी पढाउन एउटा अनुभवी बुढोलाई राखेको थियो । चिउ-फेङ बालक कालदेखि नै साह्रै प्रतिभाशाली लिई । सात वर्षकै उमेरदेखि पढ्न थालेकी हुनाले बाह्र वर्षा पुग्दा नपुग्दै त्यसले सारा प्राचीन काव्यहरू पढिसकेकी थिई र लेख र कविता पनि राम्रै लेख्तथी । तेह्र वर्षकी भएपछि त्यसले स्कुल जान छोडी । त्यसपछि ऊ घरै बसी सिउने बन्ने जस्तो स्त्रीयोचित सीपमा लागी । सोह्र वर्षकी हुँदा ऊ बयान गर्न लायककी राम्री भई ।

छोरी त्यस्ती राम्री गुणवती भएकी हुनाले काओ त्सानले त्यसको बिहे कुनै चानचुने मानिससित नगरी खुदै राम्रो र कुलीन परिवारको प्रतिभाशाली विद्वान्सित गरिदिने निश्चय गर्यो । छोरीज्वाइँलाई दिने दाइजो र सारसौगातका सम्बन्धमा त्यसलाई फिक्री नै थिएन, छोरी सुहाउँदो केटो पाएमा जतिसुकै दाइजो दिनुपरे पनि उसले आँटेकै थियो । यस्ता कुरा सुनेर छरछिमेकका परिवारबाट चिउ फेङलाई माग्ने मानिस पनि निकै नै आए । तर ति केटा मामुली नै रूपगुणका भएका हुनाले काओले तिनको वास्तै गरेन ।

काओ त्सान निकै धनी भएको हुनाले लमी काम गरी हिँड्नेहरू जताततै त्यसकी छोरीको रूपगुणको बखान गर्दै हिँड्न थाले । रूपवान् र गुणी ज्वाइँ पाएका खण्डमा काओ छोरीको बिहेमा निष्फक्री खर्च गर्न हच्कने छैन भन्ने कुरा तिनीहरूले चारैतिर फिँजाए । यसले गर्दा अलिकति पनि अनुहार परेको र थोरबहुत पढेलेखेको जुनसुकै केटोले पनि राम्रो कुरो चलाइदिन त्यसकहाँ लमी पठाएर आफ्नो भाग्य अजमाउन बाँकी राखेन । तर, तीमध्ये धेरैजसो साह्रै मामुली खालकै ठानिए । अनेक पटक त्यस्ता लमीहरूको कुरामा परिसकेको हुँदा अन्त्यमा बिचरो काओ साह्रै आत्तियो ।

बिहेको कुरा चलाउन आउने लमीहरूलाई त्यसले भन्यो, “अबउपरान्त काम न काजका यस्ता बोक्रे कुरा लिएर नआउने गर, त्यस्तै कुनै असल केटो पाइन्छ भने त्यसलाई साथै लिएर मात्र आऊ । आफ्नै आँखाले हेरेर हुने-नहुने-क्या हो, तुरुन्तै निधो गरिहालुँला । त्यसो गर्दा धेरै टन्टाबाट जोगिने होइन्छ ।”

त्यसपछि लमीहरू राम्ररी विचार गरेर मात्र काओकहाँ नयाँ केटाका कुरा लिएर आउने भए ।

अब सुचाउ जिल्लाको बुचियाङ भन्ने ठाउँमा बस्ने चिएन चिङ नाम गरेको एउटा नौजवान विद्वान्का कुरा गर्नतिर लागौँ । त्यस नौजवानले काव्यहरूको राम्रो अध्ययन गरेको थियो । प्राचीन र नवीन विषयको त्यसलाई विस्तृत ज्ञान थियो । देख्नमा पनि त्यो चिताएजत्तिकै राम्रो थियो । गरिबै घरमा जन्मेको भए तापनि त्यसका घराना विद्वान्हरूकै थियो । बाल्यकालमै आमाबाबु मरिसकेको हुनाले ऊ टुहुरो र यस संसारमा एक्लै थियो । यस कारण उमेर पुगिसकेको भए तापनि त्यसले बिहे गर्न सकेको थिएन । चिएन सियाङ नामको एउटा बुढो नोकरबाहेक हेरविचार गर्ने त्यसको अरू कोही थिएन । बुढो नोकर थोरबहुत फौबन्जारको काम पनि गर्दथ्यो । त्यसको आयस्ताले ती दुईले हो-हो पेट पालेका थिए । कहिलेकाहीँ त तिनीहरू भोकै पनि पर्दथे । चिएन चिङले जिल्ला परिक्षा पास गरेका वर्ष वुचियाङकै उत्तरीय ढोकाबाहिर बस्ने येन चुन नाम गरेको त्यसको एकजना धनी दाजु पर्नेले सौभाग्यवश त्यसलाई आफ्ना घरमा आएर बसी लेखपढ गर्न बोलायो । येन र चिएन दुवै त्यस वर्ष अठार पुगेकाले दौँतरी नै थिए । तर, येन तिन महिनाले जेठो भएको हुनाले चिएन त्यसलाई दाजु भन्दथ्यो । येनको बाबु मरिसकेको थियो, बुढी भइसकेकी आमा मात्र बाँकी थिई । येनको पनि बिहे भएको थिएन ।

तपाईं भन्नुहोला,”कसो कथा भन्ने, चिएन चिङले त गरिब हुनाका कारण बिहे गर्न पाएको थिएन; तर हुँदो खाँदो येन चुन अठार वर्षको उमेर भइसक्दा पनि कसरी कुमारै रहन गयो ?”