कवि कार्लफेल्ट २० जुलाई १८६४ मा स्वीडेनको दलार्ना प्रान्तको कार्लबो भन्ने ठाउँमा जन्मेका थिए । सन् १९३१ मा मरणोपरान्त यिनले नोबेल पुरस्कार प्राप्त गरे । उनी जीवित छँदा कैयौंपटक स्वीडिश एकेडेमीले उनलाई पुरस्कृत गर्ने प्रस्ताव राख्यो, तर १९०४ देखि नै उनी एकेडेमीका सदस्य रहेकाले यसलाई उनले स्वीकार गरेनन् । उनको मृत्युपछि उनका तीन सन्तानलाई यो पुरस्कार हस्तान्तरण गरिएको थियो । यसअघि कहिल्यै पनि साहित्यकारलाई मरणोपरान्त पुरस्कृत गर्ने चलन नभएकाले प्रतिष्ठानको यस नीतिले विद्वान बिच निकै विवाद ल्यायो ।

उपसाला विश्वविद्यालयबाट उच्च शिक्षा प्राप्त गरेपछि उनी शिक्षक भए र केही समयपछि सन् १९०३ मा स्टकहोम स्थित राजकीय पुस्तकालयको प्रमुखको रूपमा पाँच वर्षसम्म काम गरे । उनको काव्यिक प्रतिभा अद्भुत थियो । उनी कल्पनालाई सङ्गीतमय तरङ्गमा प्रवाहित गरी पाठकका नसा नसा रसाई दिन्थे । स्वीडेनको प्राकृतिक शोभा, संस्कृति र किसानलाई लिएर उनी प्रतीकात्मक कविता रचना गर्दथे । स्वीडेनमा यसरी जीवन र जगतसँग भिजेर लेख्ने कवि मध्ये उनी एक अग्रणी मानिन्छन् । प्रेम र मरुभूमिका गीतहरू (Songs of Love and Wilderness)

उनको प्रथम काव्य कृति थियो । उनका प्रमुख काव्य कृति यी हुन्: १) प्रतीक्षाको समय (Time of Waiting), २) फ्रिडोलिनका गीतहरू (The Songs of Fridolin), र ३) हेमन्तको संकेत (The Horn of Autumn)

उनका निम्नलिखित काव्यकृति अंग्रेजीमा अनूदित छन् :-

१) आधुनिक स्वडिसी कविता भाग-१ (१९२९) अनु. C. D. Locock २) अर्कादिया बोरियलिस (१९३८) अनु. Charles Wharton Stork ३) उत्तर ! उत्तरलाई ! (२००१) अनु. Judith Moffett, five poets including Karlfeldt

कार्लफेल्टले स्वीडेनको राजधानी स्टकहममा अप्रिल ८, १९३१ का दिन यस सन्सारलाई त्यागे ।