`४५ वर्षको उमेर पुगेपछि सायद स्वास्नीमानिसलाई कुनै निश्चित थलोमा पुगेजस्तो लाग्छ, जहाँबाट अगाडिको सफर गर्नुपर्ने आवश्यकताको अनुभव हुँदैन; मानौँ जीवनले भार बिसाएर विश्रामको शान्ति पाउँछ ।´

उपन्यास यही लाइनबाट सुरु हुन्छ । विश्वेश्वरप्रसाद कोइरालाले पुरुष भएर पनि नारी भावानालाई कति मज्जाले उतार्न सकेको होला ! साँच्चै, नारीका लागि ४५ जीवनको एउटा मोड हो । प्राकृतिक हिसाबले हेर्ने हो भने ४५-५० को उमेरमा महिलामा रजोनिवृत्ति आउँछ । जसरी १२-१५ को उमेरमा पुग्दा किशोरीको रजस्वलासँगै जीवनमा नयाँ मोड लिन्छ, त्यसैगरी रजोनिवृतिले रजस्वलाको शृङ्खला बन्द गर्छ । यतिबेला नारीमा भावनाको उतारचढाव हुन्छ, अनायासै पसिना आउन सक्छ, असन्तुलन बढ्न सक्छ, कसैलाई डिप्रेसनमा पनि पुर्‍याउन सक्छ । उपन्यासको मूख्य पात्र इन्द्रमाया पनि जीवनको त्यो मोडमा बसेर आफूले हिँडेका गोरेटाका तीतामीठा स्मृतिलाई सम्झिँदै हुन्छिन् ।

`तीन घुम्ती´ उपन्यासको नामले नै धेरै कुरा अनुमान लगाउन सकिन्छ । इन्द्रमायाको जीवनमा आएको अन्यौलग्रस्त तीनवटा घुम्तीले यता जाऊँ कि उता भन्ने द्विविधाको अवस्थामा लिइएका तीनवटा निर्णयको कथा हो । भनिन्छ, कुनै पनि मान्छेको जीवनको गाडी कतातिर जाने भन्ने कुरामा उसले लिएको निर्णयले ठूलो भूमिका खेल्छ्न । आज हामीले जे निर्णय लिन्छौँ भोलि हाम्रो जीवनमा आउने उतारचढाव त्यसैको प्रतिफल हो ।

तर निर्णय लिन कहिले पनि सजिलै हुँदैन । कुनै निर्णय तत्कालको फाइदा र पछिको घाटा हुने खालको हुन्छ भने कुनै निर्णय तत्कालको घाटा र पछिको फाइदाका लागि हुन्छ । निर्णय नै जीवनको निर्णायक हो । `त्यसैले अचेल इन्द्रमायालाई लाग्न थालेको छ कि हुन त मानिसले नै निर्णय गर्छ, तर नियतिले निर्देशन गरेको बाटोमा हिँड्न उसको निर्णय भवितव्य सेवकको रूपमा प्रकट हुन्छ ।´(पृष्ठ २३)

यो वाक्यले बताउन खोजिरहेको छ कि कति निर्णय मान्छेले नै लिने भए पनि नियतिको दास भएको कारण सो निर्णय लिइन्छ । (चाहेर /नचाहेर)

तीन घुम्तीइन्द्रमायाको जीवनमा तीनवटा घुम्ती आउँछ र दायाँ जाने कि बायाँ जाने भन्ने अन्यौलमा तीनवटा निर्णय पनि लिन्छिन् । त्यही तीनवटा निर्णयले उनको जीवनको आउने गोरेटो खनेको छ । हरेक निर्णयले भविष्यको पटकथा लेखिएको हुन्छ ।

पहिलो निर्णयलाई क्रान्तिकारी मान्न सकिन्छ । त्यतिबेलाको समयमा अन्तर्जातीय विवाह गर्नु चानचुने कुरा हुँदै होइन । एउटा राजपरिवारको नजिकको रैथाने काठमाडौँको नेवारको छोरी पहाडे बाहुन त्यो पनि राजनीतिक परिवर्तनको लागि हिँडेको युवासँग विवाह गर्ने निर्णय नै उनको पहिलो घुम्ती हो । हरेक क्रान्तिकारी निर्णयको महान् मूल्य चुकाउन पर्छ । यो निर्णयले गर्दा उनले आफ्नो माइतीलाई जीवनभरको लागि गुमाउनु पर्छ । यो उनको प्रेमप्रतिको पागलपन वा साहस जे पनि मान्न सकिन्छ ।

दोस्रो निर्णय पनि पहिलोभन्दा अझै धेरै क्रान्तिकारी निर्णय मान्न सकिन्छ । दोस्रो निर्णयले मानव सभ्यताले  प्रेम र यौनलाई जसरी अनैतिक बनाएर राखेको छ; यसको विरोध पनि हो । इन्द्रमायाको दोस्रो निर्णय भनेको विवाहेत्तर सम्बन्धबाट बच्चा जन्माउने साहसिक निर्णय । यो निर्णयले उनको घर तहसनहस हुनसक्ने र समाजिक छवि बिग्रने भए पनि यसलाई गर्वका साथ सहज भएर निर्णयमा अडिग रहनु उनको अर्को क्रान्तिकारी कदम हो ।

तेस्रो निर्णय जसलाई नेपाली समाजमा अधिकांश नारीले सोच्न पनि नसक्ने निर्णय हो । प्रायः नेपाली समाजमा नारी आर्थिक हिसाबले सबल हुँदैनन् । त्यसैले उनीहरू श्रीमानको शरणमा हुन्छन् । साहसिक निर्णय लिन भय हुने यसैले पनि हो । इन्द्रमायालाई जब छोरी र श्रीमान् मध्ये एउटा रोज्न पर्ने धर्मसङ्कट आउँछ उनले छोरी रोजेर घर त्याग्छिन् । यसलाई अर्को क्रान्तिकारी निर्णय मान्न सकिन्छ ।

विश्वेश्वरप्रसाद कोइरालाले निर्माण गरेको इन्द्रमाया चरित्र महिलावादी छ । उनले नेपाली नारीले भोग्नुपरेको समस्या, मनोवैज्ञानिक असर, सामाजिक हैसियत, परम्पाराको पिँजडा, अस्तित्वको सङ्कट आदि कुराबाट पार लगाएर इन्द्रमाया जस्तो पात्र खडा गरेर समाजमा नारीलाई साहसी हुने चेतना प्रवाह गर्न खोजेका छन् । हामी आजको समयमा आउँदा त नारीहरू पितृसत्तात्मक जालोबाट उम्किन सकिरहेको अवस्था छैन, झन् तात्कालिक समयको परिवेश कल्पना गरन सहजै सकिन्छ ।

कोइरालाका उपन्यास साना आकारको हुन्छन् । यो उपन्यासले पनि ८० पृष्ठलाई पनि चुमेको छैन । उनको उपन्यासमा विस्तृत वर्णन हुँदैनन् । त्यसैले प्रत्येक वाक्यले महत्त्वपूर्ण कुरा भनिरहेको छन् । त्यही भावले पाठकलाई स्वयं अर्थ लगाउने ठाउँ दिन्छ । यस उपन्यासमा पनि हरेक लाइनको त्यसै महत्त्वपूर्ण अर्थ छन् ।

इन्द्रमायाले जब प्रेमको लागि घर त्याग्छिन्, उनलाई आफ्नो निर्णयमा कुनै पछुतो लाग्दैन । पीताम्बरको सेवामा बिताइदिन्छिन् । सरकारविरोधी आन्दोलनमा हिँडेका उनका श्रीमानको घरमा राजनीतिक समूहका साथीभाइहरूको जमघट चलिरहन्थ्यो । पीताम्बरले इन्द्रमायालाई शङ्काको दृष्टिले हेरेको थाहा पाएपछि एउटा खिन्नता आउँछ । त्यतिबेला रमेश भन्ने पात्रसँग उनको एक किसिमको ध्यान खिचिएको चाहिँ हुन्छ । इन्द्रमायालाई आमा बन्न मन लाग्छ तर पीताम्बरले बाँझो भनेर अपमान गर्छन् । उनलाई अपहेलना गरेर भनिएको शब्द बाँझो र अन्य पुरुषसँग शङ्काको नजरले हेरिन थाल्नु दोस्रो निर्णयको सिर्जनाको कारण हुनजान्छ ।

पीताम्बर जेलमा हुँदा उनी एक्लो,असाह्य र कमजोर बनेकी हुन्छिन् । रमेश उनको त्यतिबेलाको साहारा बन्छन् । रमेश प्रेम दर्साउन थाल्छ । प्रशंसा गर्न थाल्छ । मीठो अनुभव गराउँछ । यहाँनेर कोइरालाले एउटा कुराको सङ्केत गरेका छन् । महिलालाई प्रेम देखाइरहन पर्ने हुन्छ । प्रेमिल वातावरणको सिर्जना गर्नुपर्ने हुन्छ । उसको शृङ्गारको तारिफ, उसको हाँसोको तारिफ, उसले बनाएको खानाको स्वादको व्याख्या आदि । इन्द्रमायाले यो सब पीताम्बरबाट पाउन सकेकी हुँदिनन् । रमेशको यो कलाले इन्द्रमाया प्रभावित हुन्छिन् ।

प्रेम र यौन; यो  निकै विराट विषय हो । यसलाई विभिन्न दृष्टिकोणबाट व्याख्या गर्न सकिन्छ । प्रेम मात्रै वा यौन मात्रै या प्रेम र यौन दुबै । विपरीत लिङ्गीमा हुने प्रेममा यौन आउँछ कि आउन्न, यो पनि एउटा अल्झेको विषय हो । मानव सभ्यताको यो लामो यात्रा गरिसकेपछि पनि मानवलाई सभ्य बनाउने नाममा उनीहरूका इच्छालाई दबाउन बाध्य बनाइएको पनि छ । जब कसैको इच्छा दब्छ अनि सुरु हुन्छ सभ्यतालाई प्रश्न गर्ने घटनाहरू । वैवाहिक सम्बन्धभन्दा बाहिर गएर यौनसम्पर्क गर्न नहुने समाजिक नियम हो । यस्तो भयो भने पुरुषको सम्बन्धमा त फरक पर्दैन तर नारीको सम्बन्धमा भने जिन्दगीभर ग्रहण लाग्छ, हाम्रो समाजमा । प्राकृतिक प्राणी मान्छेलाई यौन चाहनाको आवश्यकता पर्न सक्छ कुनै पनि बेला तर त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा विवेकको कुरा हो । इन्द्रमाया रमेशसँग नजिकिन्छिन् । उनी प्रेम र यौनलाई सहर्ष स्विकार्छिन् । उनको मनमा प्रसन्नता र विषाद दुबै छाउँछ । एकतर्फ उनले आफ्नो शारीरिक आवश्यकताको परिपूर्तिमा रमाउँछिन् अर्कोतर्फ श्रीमानको प्रेम सम्झेर दुःखी हुन्छिन् ।

ओशोले भनेका छन्, ‘जुन दिन विश्वमा यौन स्वीकृत हुन्छ, जस्तो कि भोजन, स्नान स्वीकृत छ । त्यस दिन विश्वमा अश्लील तस्वीर टाँसिने छैन । अश्लील पुस्तक छापिने छैन । अश्लील मन्दिर बनिने छैन ।’

उनले यौनको बारेमा यसरी व्याख्या गरेका छन्, ‘यौन जीवनको अद्भूत रहस्य हो । यसबाट डराउनुपर्ने, भाग्नुपर्ने केही छैन ।’   प्रायः संसारभर अपराधको कारण यौन पनि हो । यौनलाई मान्छेको चरित्रसँग जोडेर हेर्दा प्राकृतिक आवश्यकताको ख्याल नराख्दा र यसलाई धेरै नै लुकाउन पर्ने विषयको रूपमा स्थापित गराउन खोज्दा यसको उल्टो असर समाजमा देखिएको हो । आध्यात्मिकताले त इन्द्रियलाई वशमा राख्ने कुरा गर्छन् तर यो सबै वशको कुरा होइन ।

इन्द्रमायाको आमा बन्ने सपना पनि रमेशसँगको यौन सम्पर्कले पूरा गरेपछि उनी झन् खुसी हुन्छिन् । समान्य नारी भएको भए यो एकदम ठूलो दुर्घटना लाग्न सक्थ्यो । इन्द्रमाया साहसिक महिला भएकाले यसले उनलाई अनन्तः सुख दियो । गौरवका साथ बच्चा जन्माउने निर्णय गरिन् । इन्द्रमायाको पेटमा बच्चा आएपछि रमेश बिस्तारै टाढिँदै जानुले यो अर्थ लगाउँछ कि रमेश मात्र शारीरिक प्रेमका लागि इन्द्रमायासँग नजिक भएका थिए । यसलाई प्रष्ट पार्ने केही वाक्य उपन्यासमा पाइन्छन् । तर, इन्द्रमायालाई रमेशको उपेक्षाले खासै फरक पार्दैन किनभने उनले प्रेम त पीताम्बरलाई नै गर्छिन् ।

उनले बच्चा जन्माउँछिन् । पीताम्बरले यो सब सहर्ष स्वीकार गरेर अगाडि बढ्छ्न भन्ने उनमा भ्रम हुन्छ । पीताम्बरले यो सब स्वीकार्न नसकेपछि उनको जीवनमा तेस्रो घुम्ती आउँछ । यो तेस्रो निर्णयले इन्द्रमायालाई स्वाभिमानी, स्वाभलम्बी र निडर महिलाको रूपमा चित्रण गरेको छ ।

देश परिवर्तन गर्न हिँडेको पीताम्बरभन्दा गृहिणी इन्द्रमायाको क्रान्तिकारी चेतना उच्च देखिन्छ उपन्यासमा । ठूला विचार र दर्शन बोकेर हिँडेका मान्छेले परम्परावादी सोच त्याग्न नसकेमा त्यसकाे अर्थ हुँदैन । यो मानेमा इन्द्रमाया एउटा असल योद्धा हुन् ।

समग्रमा उपन्यास महिलावादी, अस्तित्ववादी र मनोवैज्ञानिक कुराहरूमा घुमेको छ । समाजले वर्जित गरेको कुराहरूलाई विद्रोही नजरले हेरिएको छ । अधिकांश महिलाको मनसम्म मात्र आउने धेरै कुरालाई इन्द्रमायाले व्यवहारमा गरेर देखाएकी छिन् । यो एउटा विद्रोही चेतको नारीको कथा हो जसले आफ्नो अस्तित्वको लागि सम्झौता गर्दैन ।

थप कुरा 

आज पनि हाम्रो समाजमा नारीको अवस्था नाजुक छ । इन्गेजमेन्ट तोडिएकोमा आत्महत्या गरिरहेका छन् । दाइजो नपुगेर शिक्षित श्रीमानबाट बारम्बार टर्चर सहिरहेका छन् । परपुरुषसँग सम्बन्ध बनाएकोमा आमा समूहद्वारा नारीको हत्या । एक्लै बाँच्न सक्दिनँ भन्ने एउटा डर आज पनि समाजमा विद्धमान छ । यस्तो बेला यो समाजले इन्द्रमाया खोजिरहेछ । इन्द्रमाया जस्तो साहसिक, निडर, उच्च चेतना सबै नारीमा आउन सक्यो भने मात्र नारीले अस्तित्वको रक्षा गरेर जिउन सक्ने छन् । छोरीहरू इन्द्रमाया बन्ने बेला आएकै हो ।

– इन्द्रमाया 

प्रिय विश्वेश्वरप्रसाद बा

तिमीले जन्माएको इन्द्रमाया

यो समाजलाई फिर्ता पठाइदेऊ

चुनौतीको चुलेसीमा हिँड्न सक्ने

निर्णयको जुवा  खेल्न सक्ने

हिजो र भोलिको बन्धनबाट मुक्त

अस्तित्वको लागि संघर्षको सगरमाथा चढ्न सक्ने

शरण र चरणको मैलो जुत्ता फुकालेर दौड्न सक्ने

आजका छोरीको ह्रुदयमा

इन्द्रमायाको अलिकती साहसिक मुटु इन्स्टल गरिदेऊ ?