आगे फलानाको नाति, ढिस्कानाको छोरा आदिकवि भानुभक्त आचार्यको यस अमरावती कान्तिपुरी नगरीमा एउटा निजी झुपडीसम्म पनि नभई कहिले डल्लु त कहिले चुच्चेपाटी अनि कहिले हाँडीगाउँ त कहिले कालीमाटी गरी डेरा चाल्दै हिँड्ने, विगत त्रिपन्न–त्रिपन्न वर्षदेखि साहित्यसाधनामा लागेर टट्टनटाटका टट्टनटाट नै रही घरको न घाटको भएको म डुकूलन्ठू केशव पिँडाली आजका मितिदेखि यो बिच्छुकी साहित्यिक क्षेत्र छोडी राजनीतिमा फालहालेको घोषणा गर्दछु ।

सर्वप्रथम म टुटपुँजिया बज्जिया देशमा बहुदलीय व्यवस्था ल्याउन आत्माहुति दिने समस्त सहिदहरूको श्राद्ध बिनापिण्ड यसै लेखनीले गर्दछु र राजालाई संवैधानिक राजा बनाई देशमा साँचो प्रजातन्त्र स्थापना गर्न संघर्षरत सबै महानुभावहरूलाई पनि यसै लेखनीबाट सहस्र–सहस्र धन्यवाद दिन्छु ।

बहुदलीय व्यवस्थाको संसद्का लागि अब छिटै हुने निर्वाचन बालिग मताधिकारको आधारमा हुने हुँदा व्यवस्थाको ढोका अब बिनाधोका सबैका लागि खुला रहने भएको छ । यसबाट अब मजस्तो तुलेगाँडो पनि संसद्का चुनावमा खडा हुन सक्ने भएको छ ।

अबउप्रान्त नेपालको प्रधानमन्त्री संसद्का सदस्यहरूले आफूमध्येबाटै सिफारिस गरेको व्यक्ति हुनेछ र मन्त्रिमण्डल संसद्प्रति उत्तरदायी हुनेछ । यसरी अब अहिलेको यो व्यवस्था पूर्ण प्रजातान्त्रिक व्यवस्था भएको हुँदा म डुकूलन्ठू पिँडाली अब यो पनि घोषणा गर्दछु, आगामी निर्वाचनमा म भानुभक्तको यही अमरावती कान्तिपुरी नगरीबाट निर्वाचित हुनेछु र निर्वाचित भएपछि प्रधानमन्त्रीका लागि पनि उमेदवार हुनेछु ।

पञ्चायती व्यवस्थाले देशको राजनीतिलाई भाँड्नुसम्म भाँडेको थियो । ‘जति जोगी आए कानै चिरेका आए’ भनेझैँ पञ्चायती व्यवस्थामा जति पञ्च आए छद्मभेषी नै आए । देखाउँदाचाहिँ आफूलाई सन्तसाधु देखाएर फलफूल खाने र धुस्सा ओढ्ने तर भित्रभित्र भने मालका माल उडाउने र मूसा हग्ने गरेका थिए । तर, म पञ्चायती व्यवस्थाको देन यो फरेबी राजनीतिलाई त्याग्नेछु र जो भन्नेछु त्यो गर्नेछु र जो गर्नेछु त्यो भन्नेछु ।

मैले आफ्नो साहित्यिक जीवनमा आफ्ना अनुभव र अनुभूति स्पष्ट भन्ने गरेको थिएँ । त्यसैले अब राजनीतिमा पनि म सदा स्पष्ट र खुला रहनेछु । अब आउने चुनाव जितेर प्रधानमन्त्री हुन्छु भन्नाको मेरो एक मात्र उद्देश्य हो मोक्ष प्राप्त गर्नु ।

यसो भन्दा सके अब तपाईंहरू भन्ठान्नुहोला, मूलाले यति भाँती कुरा गरेको त संसारबाटै सडकसीताराम हुनका लागि पो रहेछ ! संसारबाट सडकसीताराम मेरा शत्रुहरू होलान्, म किन हुन्छु ? आफ्नू यहाँ अहिलेसम्म खाऊँखाऊँ लाऊँलाऊँ भन्ने कुनै धोको नै पूर्ति भएको छैन, म किन छोड्छु यस संसारलाई ?

मेरो मोक्ष प्राप्तिको अर्थ त हो निर्धनताबाट मोक्ष र के खाऊँ के लाऊँ भन्ने चिन्ताबाट मोक्ष । म त्रिपन्न–त्रिपन्न वर्ष पर्यन्तको लामो साहित्यिक साधना र तपस्यामा यति भोकाएको छु, यति भोकाएको छु, प्रधानमन्त्री भएपछि अरू थोकको त के कुरा उड्नेमा चंगा र गुड्नेमा ढुंगासम्म पनि खान बाँकी राख्ने छैन ।

सबैको घट्टमा यस कुराको पनि टहटह घाम लागोस्, म कृष्णप्रसाद भट्टराईजस्तो चोखो र त्यागी तथा सन्त प्रधानमन्त्री सपनामा पनि हुने छैन । म त पीताम्बर पहिरेर सुनको पालकी चढेर हिँड्ने भोजनभट्ट महन्त प्रधानमन्त्री हुनेछु । त्यसैले म प्रधानमन्त्री भएपछि खाने मामलामा कसैलाई काखा र कसैलाई पाखा पनि गर्ने छैन ।

मलाई प्रधानमन्त्रीमा सिफारिस गर्ने सबै सांसद्हरूलाई पञ्चायती व्यवस्थाको गाउँ फर्क पद्धतिको जस्तै वर्णानुक्रमबाट एक–एक महिनाका लागि मन्त्री बनाउने छु र तिनले मसँग फिप्टी–फिप्टीका हिसाबले जति सकेको खान पाउनेछन् ।

यसका अतिरिक्त पनि म प्रधानमन्त्री हुनासाथ, एउटा ‘सामान्य प्रशासन तथा घूस संकलन मन्त्रालय’ को पनि स्थापना गर्नेछु । यो मन्त्रालय सोझै प्रधानमन्त्रीको मातहतमा रहनेछ ।

अधिराज्यभरि घूस संकलनको यावत् कार्य यसै मन्त्रालयले गर्नेछ र संकलित घूस ‘भागसान्ती जय नेपाल’ का हिसाबबाट प्रत्येक महिना प्रत्येक मन्त्रीको टेबिलमा घूस प्याकेट नियमित रूपमा पुग्नेछ ।

म प्रधानमन्त्री भएपछि अध्यापक तथा प्राध्यापकहरूले क्लास नलिएर तलब पकाउन सक्नेछन् । त्यस्तै, विद्यार्थीहरूले उत्तीर्ण हुनका लागि परीक्षा दिनुपर्ने छैन । कर्मचारीहरूलाई मीनपचासभर दिनको तीन घण्टा कार्यालयमा घाम ताप्न दिइनेछ । किसानहरूले मालपोत तिर्नुपर्ने छैन ।

कारखानाका मजदुरहरूले मागमाथि माग राख्दै हड्ताल गर्न पाउनेछन् । सरकारी कर्मचारीहरूलाई पनि कार्यालय बन्द गरी जिन्दावाद, मुर्दावाद भन्ने अधिकार हुनेछ ।

काठमाडौं खुलामञ्चमा वर्षभरिमा सबभन्दा बढी भाषण गर्नेलाई ‘भाषणभट्ट’ को उपाधि दिइनेछ र त्यस्तै राजधानीमा वर्ष दिनभरिमा सबभन्दा बढी जुलुस निकाल्नेलाई ‘जुलुस मास्टर’ नामको सुनको तक्मा दिइनेछ ।

यी सबका अतिरिक्त पनि म प्रधानमन्त्री भएपछि प्रज्ञा पुरस्कार, मदन पुरस्कार र जगदम्बा पुरस्कारकै ढर्रामा दुई लाख रुपियाँको एउटा ‘पिँडाली पुरस्कार’ को पनि स्थापना गर्नेछु । मेरो प्रशंसामा जसले सबभन्दा बढी लेख्नेछ, मेरो चाकरी गर्नेछ र गुणगान गर्दै हिँड्नेछ त्यसैलाई यो पुरस्कार दिइनेछ ।

(पिँडालीको  ‘प्रसन्न हुनुहोस्’बाट ।)