बिम्बात्मक रूपले कवितालाई खेलाउने अनौठो कलमले अशेषलाई पाठक बीच लोकप्रिय गरायो । समकालीन पुस्ताहरूका बीच अलग्गै चिनिने गरी उनी उभिए यही कवित्व विशेषताले । तीसको दशकका कविका रूपमा स्थापित नामहरूमा अशेषको नाम ‘अ’ कै रूपमा आएको छ । बीसको दशकको कविताले भत्काउन नसकेको पद्यमोह तीसको दशकमा आइपुग्दा भताभुङ्ग भएको छ । यसमा अशेषको कविपुस्ताको योगदान उल्लेख्य छ ।
२०३५ साल अघि यस पुस्ताले आफ्रनो उपस्थितिलाई सामान्य रूपमा प्रस्तुत गर्दै आएका थिए । २०३६ सालको सडक कविताक्रान्तिले यिनीहरू मध्ये धेरैलाई एकाएक एकैचोटी चर्चामा ल्याएको थियो । नेपालको प्रजातान्त्रिक इतिहासमा त्यस आन्दोलनका लेखकहरूले
खेलेको भूमिकाको महत्व विशेष रूपमा रहेको छ ।
अशेषका कविता अरूकाभन्दा फरक लाग्छन् बिम्ब र प्रस्तुतिको प्रयोगले । उनका कविताको मुल्याङ्कन गर्दै डा. तारानाथ शर्मा लेख्छन्–‘उनी पुराकथाको प्रतीकलाई नयाँ अर्थ प्रदान गर्छन् । उनी नयाँ काव्यात्मक आयामको सगर्व आविष्कार गर्छन र नयाँ सम्भावनाका क्षितिजहरू उघार्छन् ।’
वास्तवमै अशेषका कविता उनकै पुस्ता बीच पनि अलग्गै चिनिन्छन् । उनका कवितामा अरूका कवितामा भन्दा बेग्लै प्रकारका शव्दविन्यास र वाक्य संयोजनहरू छन् । नाटकीय प्रस्तुतिले कविता स्वयं नै कुनै रङ्गमञ्चमा अभिनय गरिरहे झैं लाग्छन् । अशेषका कविताको शक्ति नै नाट्यमयता हो । उनी कालान्तरमा गएर एक सशक्त नाटककार र निर्देशक पनि भइसकेकै छन् । नाटकलाई सडकमा ल्याएर बन्द मञ्चबाट मुक्त गर्ने आन्दोलनको अगुवाई पनि उनैले गरे । कविताको सडक आन्दोलन अर्थात सडक कविताक्रान्तिबाट नाटकतिर फड्केका उनले नेपाली नाटकलाई रङ्गमञ्चीय प्रविधिहरूको बन्धनबाट मुक्त गरे । सर्वनाम नाट्य मण्डलीको नामबाट सुरु भएको त्यो नाट्य आन्दोलनले नेपाली दर्शकहरू बीच अनौठो तरङ्ग ल्याएको थियो । कवि बिष्णुविभु घिमिरे निर्देशक रहेको त्यस समुहमा अन्य धेरै समकालीन युवाहरू सक्रिय थिए जो आज पनि नाटकलाई नै आफ्रनो जीवनको प्रथम र अन्तिम यात्राका रूपमा लिएर काम गरिरहेका छन् ।
कवि बिष्णुविभु घिमिरे निर्देशक रहेको त्यस समुहमा अन्य धेरै समकालीन युवाहरू सक्रिय थिए जो आज पनि नाटकलाई नै आफ्रनो जीवनको प्रथम र अन्तिम यात्राका रूपमा लिएर काम गरिरहेका छन् ।
कवितामा समकालीन चेतना तीसको दशकको साझा विशेषता थियो । अधिकांश कविहरूले आफ्ना कवितामा राजनीतिक दवावका बिरूद्धमा आवाज उठाएका छन् । अशेषका कविताको लेखन मार्ग पनि त्यही हो । तर अरू कविहरूको लस्करमा उनलाई अलग देखाउने पनि उनकै कविताको शैली हो । विद्रोहलाई पनि शान्त प्रकारले उठाएर अशान्त प्रकारले प्रहार गर्ने उनको शैली नै उनी हुन् । उनका कवितामा अहिंसात्मक विद्रोह छ । क्रान्तिलाई पनि क्षेतिविहीन रूपमा सफल गराउने सपना देख्छन् उनी । उनका कविताले गाउँले जनजीवन, परिवेश, आर्थिक पारिवारिक स्थितिहरूको चित्रण र त्यहाँ भित्र दबिएर रहेको कुण्ठा र समस्यालाई ब्युँझाउँछन् ।
भावुकता उनका कविताको सबैभन्दा सफल पक्ष हो । उनका कवितामा बुद्धिपक्षभन्दा हृदयपक्ष बढी सक्रिय रहेको भेटिन्छ । उनी कवितालाई प्रेम र प्रणयको रुमानी संसारबाट निकालेर राजनीतिक र सामाजिक परिर्वतनको ध्वनी बनाउने कोसिस गर्छन । त्यसबेलाका अविवाहित युवक मन, मायाप्रेमका, ओठआँखाका, कम्मरनितम्बका रुमानी चित्रणहरूमा पनि हराउन सक्थे होला तर बौद्धिकताले थिचेको सचेत मानसिकताले हृदयको बाटोलाई पनि सामाजिक जीवनपद्दतिको खोजीमा नै समावेश गरेको बुझिन्छ ।
जोसिला र कडा शव्द र वाक्यसंगठनभन्दा सरल र बिम्बात्मक वाक्य रचनामा अशेषको सीप सजिएको देखिन्छ । कुनै विषयलाई सम्बोधन गर्नुपर्दा उनले त्यसलाई हेर्ने अाँखा अलग्गै टल्काउँछन् । जस्तैः –
कविता लेख्न बिर्से के होला
कहाँ पोख्ने आँसु
दुख्ने घाउ अझ दुख्दो हो
एकदम, हर्दम,
मन कतै बिरानो जङ्गलमा पुग्दो हो
र चिर्थोदो हो बाघका पञ्जाहरूले
कविता छ र त आँसु पिइदिने कोही छ
कविता छ र त मन बिसाउने चौतारी कहीं छ ।
(…………………)
कवितालाई आमाको काख, प्रेमीको अङ्गालो वा अभिभावकको माया देखेका छन् उनले । जति दुःख, पीडा र व्यथाहरू छन् ती सबैलाई बिसाउने र मन हलुका बनाउने माध्यम नै कविता हो भन्छन् । कविताले नै जीवनको हार्दिक धरातलको प
हिचान गराउँछ भन्छन् ।
उनका कवितामा आउने पात्रहरू ठूलाठूला राजा महाराजा, धनीमानी सामन्त वा पुँजीपतिहरू छैनन् । बरू एकदम नै साधारण नागरिकहरू छन् । ‘तिनीहरूलाई’ शीर्षक कवितामा उनले सम्बोधन गरेका साना नानीहरूको चित्रणले मनलाई भित्रसम्म झसङ्ग हुने गरी छुन्छ । आँगनमा उफ्रिदै खेलिरहनु पर्ने, पुस्तक च्यापेर स्कूल जाँदै वा फर्किदै गर्नुपर्ने, केही सानातिना चकचक वा बिगार गरेर घर वा टोलछिमेकमा अभिभावकहरू बीच क्षेणिक तनाव उत्पन्न गराउनु पर्ने, तर उनीहरू गम्भीर छन् । किन गम्भीर छन् ? किन बूढाबूढी झैँ थोरै बोल्ने र धेरै गम्ने भएका छन् ? किन प्रकृति देखेर रमाउँदैनन् ? र व्यावहारले थिचिएका ऋणी पिताझैं झोक्राएका छन् ? भुराभुरीमै यसरी उनीहरू बूढाबूढी भएभने जीवनको रस फेरि समाजले कता खोज्नु होला ! ‘तिनीहरूलाई’ देखेर अशेष गम्भीर भएका छन् ।–
किन यी एकतमासका नानीहरू
पीडाजस्तै चुपचाप आवाज
आँखाभरि बोक्दै
मनमनका मौन स्वरहरू चिच्याइरहेछन्
कि पैतालाका घाउ अझै निको भएका छैनन् तिनीहरूका
कि कतै विश्वास खोज्दै अझै बस्ती पसेका
बा आमाहरू फर्केका छैनन् तिनीहरूका !
बालकहरू अभिभावकको संरक्षणमा हुर्किन्छन् । अभिभावकका पीडाहरू नै उनीहरूका पनि पीडाहरू हुन् । जब अभिभावक नै विस्थापित छन्, बालकहरू कसरी खुसी हुन सक्छन् ? यहाँ यी ‘बालकहरू’ ले नेपाली जनताको बिम्बको काम गरेका छन् । नेपाली जनताको राजनीतिक, शैक्षिक, आर्थिक, बौद्धिक र सामाजिक स्तर एउटा बालकको जस्तै असहाय र परापेक्षी छ । आफैं केही गर्न नसक्ने अवस्थामा रहेको नेपाली जीवनको यो एक बिम्ब हो । अभिभावकको रूपमा रहेका परिवर्तनकामी शक्ति र चिन्तनहरू परदेश लागेका, भूमिगत भएका वा निर्वासन भोगिरहेका बेला जनताको स्वर असहाय रोगग्रस्त बालकको जस्तै हुन्छ नै । देशभित्र नृत्य गरिरहेको एकाधिकारबादी राज्यसत्ताको तानासाहीका अघि ‘निगुरमुन्टी’ भइरहेको आम जनता नै हुन् ‘तिनीहरू’ कविताको बालपात्र ।
टाढाबाट देखिएको राजधानी नजिक पुगेर हेर्दा त्यो त एउटा शताब्दी पुरानो प्रयोगहीन इनार मात्र थियो, जहाँ प्रशस्त पुरातात्विक महत्त्वका बस्तुहरू त थिए तर जीवन बाँच्नका लागि चाहिने अक्सिजन चाहिँ थिएन ।
‘विश्वास खाुज्दै अर्कै बस्ती पसेका बाआमाहरू’ त राजधानी पो पुगेछन् । राजधानी जो उनीहरूले सुनेका हुन्, सोचेका हुन् । राजधानी जुन उनीहरूले बुझेका हुन् , कल्पना गरेका हुन् –के त्यही रहेछ त ?
जब उनीहरू राजधानी पुगे– त्यो संरक्षक थिएन, राज्यसंचालक थिएन, जनता चिन्ने र बुझ्ने थिएन । राजधानी त आफैंमा एक महाअन्धकार पालेर गजधम्म बसेको थियो । जो यसभित्र पस्थ्यो कुनै ब्लाक होलमा पसेझैं हराउँथ्यो । राजधानी त चिसो र ठिहिर्याउँदो थियो । प्रत्येक व्यक्ति एक्लो र असहाय थियो । टाढाबाट देखिएको राजधानी नजिक पुगेर हेर्दा त्यो त एउटा शताब्दी पुरानो प्रयोगहीन इनार मात्र थियो, जहाँ प्रशस्त पुरातात्विक महत्त्वका बस्तुहरू त थिए तर जीवन बाँच्नका लागि चाहिने अक्सिजन चाहिँ थिएन ।
शीत ओच्छ्याएर, लौरो हराएको, काम्दै हातहरू, बिना आवाज ओठ चलाएर, उहिल्यै लिलाम भइसकेको,
जस्ता शव्दावलीको चित्रणले राजधानीको स्वरुप आँखामा बिझाउन आउँछ । राजधानीको यो चित्रण राज्य संचालन गर्न बसेको सत्ताको यथार्थ अनुहार हो । जो आफैं यति विषक्त छ, त्यसले देशका कुनाकुनामा के अमृत छर्दो हो ! उनी लेख्छन्–
० यसपालि कुनै चिज महङ्गो भएको छैन
किनभने बजारमा अभावबाहेक अरुथोक छैन
त्यही अभाव खल्ती र झोलाभरि भरेर आऊ
अनि अलिकति उसलाई देऊ
अलिकति तिमी लेऊ ।
यो वर्ष तिमीहरू माया चपाएर बाँच
० छैनबाहेक ऊसंग अरू केही छैन
केही र कोही नहुनुको अर्थ ऊ हो
जसको केही नाम, थर र ठेगाना छैन
ऊ त्यो हो
यदि नामाकरण गर्नुपर्ने हो भने
उसको नाम सायद अभाव हो ।
(अभाव)
उनले कवितामा भनेको ‘यो वर्ष’ भनेको कुन वर्ष हो कविजी ? भनेर सोध्न मन लाग्छ । किनभने मायाबाहेक अरूथोक चपाएर बाँच्ने दिन नै आजसम्म कहिले आएको छ र ! प्रत्येक वर्ष, प्रत्येक दिन, महङ्गाइ र अभावले थिचिएर होचिंदो जीवनस्तर बानी परेको छ हामीलाई । हरेक दिनको युद्ध, अभाव र महङ्गीकै बिरुद्धको त हो । तर यो विरोधको आवाज जहिले पनि खोलाको गीत मात्र भएको छ । तीसको दशकतिर लेखिएको यो कविताले आज सत्तरीको दशकमा पनि उत्तिकै अर्थ पाएको छ, अभाव र गरिबीको आँगनमा उभिएर ।
दुःख पीडा र आँसुसंग मात्र आफूलाई सजिलो गरी भेट्छन् कवि । खास गरी बालक, बुढाबुढी, नारी र गाउँ उनका कविताले देखेका समस्याका केन्द्र रहेछन् । जस्तै– ‘मेरी आमाको आँखा ’ कवितामा लेख्छन् –
त्यो आँखा
जहाँ हरदिन वर्षादले छाइरहेको हुन्छ
त्यसैमा पौडेर मैले धेरैपटक
किनार भेट्ने गरेको छु
त्यो आँखा
मेरो विश्वासको सबभन्दा ठूलो आकास
त्यो आँखा
मेरो स्वतन्त्रताको आँखा
मेरी आमाको आँखा
मेरी वृद्ध आमाको वृद्ध आँखा ।
आँखासंग दृश्य र दृष्टि सम्बन्धित छन् । आँखै त हो जसबाट मानिसले जीवनका सबै चित्रहरू देख्दछ । खुसी, रमाइलो, हर्ष, उन्माद, जो मनपर्छ मान्छेलाई ती सबै भावहरू आँखैमा त हुन्छन् । आँखैबाट देखिन्छ संसारलाई पनि र आफूलाई पनि । तर कवि ती आँखा हराएको र तिनका ठाउँमा संवेदनहीन दृश्यपट जडिएको अनुभव गर्छन् । आमाका आँखा नै सबैभन्दा सुन्दर र प्यारा हुन्छन् । आमाकै आँखाले संसार हेर्ने कोसिस गर्छन संतान पनि । तर अव्यवस्ता र बिकृतिको–‘सूर्यको हजार किरणले भ्याउन नसक्ने कालो छायाँ’ का अघि आमा आँखाहरू सदा बगिरहन्छन्, पग्लिरहन्छन्, रोइरहन्छन् । हाम्रो समाज आमाका आँखाका आँसुले भिजेको समाज हो । भिजिरहेको समाज हो ।
०००
अशेषका कवितामा पाइने विद्रोह उनका समकालीन कविहरूको भन्दा भिन्दै पाराको देखिन्छ । देशभित्र रहेको वेथिति, विकृतिका विरुद्ध परिवर्तनकामी शक्तिको प्रतिक्षा गरिरहेको छ उनको एउटा कविता ‘एउटा कृष्णको आगमन पर्सिरहेछु ’ ।
युद्ध भनेको कुनैपनि परिर्वतनका लागि उठ्ने कुनैपनि आवाज हो । आवाजले परिवर्तन ल्याउन नसके कहिलेकाहिँ हतियार पनि उठ्छन् । युद्ध– मनको, बुद्धिको, हतियारको जेको पनि हुनसक्छ । तर युद्ध जुनसुकै होस्, त्यसले यथास्थितिलाई जित्नसक्नु पर्छ । अशेषले पर्खेको कृष्ण कुरुक्षेत्रको निष्ठुर र युद्धोचारी कृष्ण होइन । उनी त रक्तहीन क्रान्तिको संवाहक वा मानवतावादी परिवर्तनकामी शक्तिको बिम्ब बोकेको कृष्णको प्रतीक्षामा छन् । परिवर्तनका नाममा हुने हत्या, हिंसा र आतङ्कमाथि उनको विश्वास छैन । उनी भन्छन्–
युद्धका लागि उसले तयार हुनुपर्छ
युद्ध रगत पोखिएरै किन हुनुपर्यो
युद्धमा गोली र बारुद नै किन पड्किनुपर्यो
गान्धीयुद्ध पनि हुनसक्छ
बुद्धयुद्ध पनि त हुनसक्छ
विश्वास नथाकेर जुर्मुराउने युद्ध
हो त्यो युद्ध हुनुपर्छ
त्यो युद्ध उठ्नुपर्छ ।
मानवतामाथि नै विश्वास हराइसकेको युद्धले मानवताको संरक्षण गर्न सक्दैन । बाँच्नुकै विरुद्धको युद्धले जीवनको पक्षमा विजय गर्न सक्दैन । बाँच्न पाउने हकसहितको गान्धी वा बुद्धको जस्तो शान्तिपूर्ण युद्धले पनि त समाज परिवर्तन गर्न सकिन्छ । त्यस्तो युद्धले पनि त अधिनायक र तानासाहीलाई विस्थापित गर्न सकिन्छ । युद्ध त मानिसलाई बाँच्न र बँचाउन पो लडिन्छ ।
तर शान्तियुद्धको प्रस्ताव असफल हुँदै जाँदा कविभित्र पनि एकप्रकारको शक्तिविद्रोह जाग्न थालेको बुझिन्छ । उनी अर्काे कविता ‘अँध्यारोसंगको युद्ध’ मा भन्छन्–
कमसेकम मेरो कोठामा
अँध्यारा भित्तासम्म पनि
उज्यालो आइदेवस्
जसलाई म दृष्टिसंग साँट्न सकूँ
हुन नसक्ने भए
के म कोठाको भित्ता फोरुँ ?
आफैंभित्र प्रश्न र विद्रोद उभिएको छ अलल्लिएर । युद्ध शान्तिपूर्ण ठीक कि सशस्त्र ! कविता अन्यौलमा छ । कविताको अन्यौलपक्ष कविभित्रको अनिर्णित स्थिति पनि हो । जे भए पनि युद्धको अनिवार्यता कविको मनले स्विकारी सकेको छ ।
विश्वास त्यसबेलासम्म सुरक्षित रहन्छ, जबसम्म त्यसको बाटो भएर अघि बढ्न सकिने आसा बाँकी रहन्छ । जब सबै आसाहरू निस्कृय हुन्छन् अनि पुर्वस्थापित कुनै आस्थाहरू पनि मानिसलाई आश्वासन दिइरहने आधार बन्न सक्दैनन् । ईश्वर मानिसको धेरै पुरानो साथी हो । हरेक आपतमा, एकलासमा, असहाय अवस्थामा आफ्नो अघि ठिङ्ग उभिएर उद्धार गर्ने मित्र हो त्यो विश्वास । हरेक समाज र सभ्यताले आ–आफ्नो ईश्वर बनाएको छ । तर जब कुनै प्रविधि वा शासनसत्ताको अत्याचारले मानवतालाई जित्न थाल्छ र त्यसबेला ईश्वर बोल्दैन अनि त्यो विश्वासले विदा लिन्छ ।
कवि देशको यस्तो अवस्था हुँदासम्म पनि नबोल्ने ईश्वरलाई निदाएको देखेर त्यस्तो ईश्वरप्रतिको अन्ध आस्थाबाट समाजलाई मुक्त गर्नुपर्ने आव्हान गर्छन् ।
० भो, अब घर फर्क
अबेर भइसक्यो
कतिन्जेल भजन गाएर
समय फालिरहन्छौ
कतिन्जेल यो ढुङ्गालाई झकझकाएर
ब्युँझाउन खोजिरहन्छौ ।
० बुढीआमाले भाकल गर्ने
चौतारीको ढुङ्गा ईश्वर हो भने
अहिले ईश्वरको घरमा पहिरो गएको छ
आमाले धुपअक्षता छर्किने
पूजाकोठाको तस्वीर ईश्वर हो भने
अहिले ईश्वरको छातीमा
धमिरो लागेको छ
(ईश्वर)
मुल ईश्वरमाथि नै विश्वास हटिसकेपछि त्यसको बिम्बका अघि आराधना गर्नुको कुनै औचित्य नभएको अभिव्यक्ति छ यहाँ । कविमा आफूभित्र आध्यात्मिक आस्था मर्दै गएको अनुभूति उभिएको देखिन्छ । यथार्थामा यो अनुभूति समग्र नेपाली जीवनको अनुभूति हो ।
नेपाली समाजले राजालाई ईश्वरको अवतार मान्थ्यो । एउटा त्यस्तो विश्वास थियो तर जब राजाले देशमा भएको अन्याय अत्याचारको जिम्मेवारी लिन मानेन र आफूसमेत अत्याचारीको समूहमा गएर मिसियो अनि त्यो ईश्वर नभएर ढुङ्गोमा परिणत भयो ।
आज देशमा गणतन्त्र घोषणा भएको छ । ईश्वरको अवतार भनिएको राजसत्ता समाप्त भएको छ । आस्था टुटेपछि हरेक मानिसको मूर्ति ढुङ्गा मात्रै हुन्छ । अशेषको यो कविताले उसैबेला गणतन्त्रको सङ्केत गरिसकेको रहेछ ।
यति धेरै अव्यवस्था, अन्याय अत्याचार र निरङ्कुशताका बिरुद्ध उठिसक्नु पर्ने तर हामी कता हरायौं ! किन उठेनौं र निदाइरहयौं भनी पाठकलाई तिखो व्यङ्ग्यवाण हानेर झकझकाउने काम उनका कविताले बारम्बार गरेका छन् । २०३६ सालको जनमतसंग्रहको परिणामपछि प्रजातन्त्रवादीमा आएको जुन निरासा हो, त्यही प्रतिबिम्बित छ यो कवितामा–
हामी निदाउने क्रममा थियौं
र निदाउने बेलामा सबैले भनेका थियौं
भोलि बिहानै उठौंला
बादल हुरी बतास नलागे
फेरि बाँकी बाटाहरू हिंडौला
हामी हिंड्न छाडेर त्यस रात पिंडीमा सुतिरह्यौं
थाहै भएन
हामी कहिले उठ्यौं
वा उठ्दै उठेनौं ।
सारै मार्मिक कविता छ यो । यसले हरेक पाठक मनलाई एकपल्ट पिरो गरी हान्छ । आफ्नो निरिहता, कमजोरी र दासतालाई सम्झाउँछ । भविष्यप्रति वेखबर रहेको र उत्तरदायित्वबाट पन्छिएको पशुत्वको बोध गराउँछ । हामीले उठ्नु र ब्युँझनुपर्ने कहिले हो, केका लागि हो र किन हो ? यसको यथार्थ अनुभूति गर्न जहिले पनि बाँकी नै देखिन्छ । आज गणतन्त्र स्थापना भइसक्दा पनि के हामी साँच्चै उठेका छौं त ? प्रश्न छ ।
यात्रा, हिंड्नु वा गतिमा विश्वास गर्छन अशेषका कविता । उनका अधिकाँश कवितामा गति छ । कतै पुग्ने चाहना, इच्छा र छटपटी छ । वास वा स्थगन उनलाई स्वीकार छैन ।’ थाहै भएन हामी कहिले उठ्यौं वा उठ्दै उठेनौं ।’ कवितामा सुतेकाहरूलाई ब्युँझाउँछन् अर्को कविता लेखेर–
० धेरै लामो भयो हाम्रो विश्राम
उठेर हिंड्नुपर्ने थियो हिजो नै ।
हामीलाई छोडेर गएको बतास
धेरै टाडा पुगिसकेको हुनुपर्छ
हामीलाई हेरेर गएका पन्छीहरू
धेरै टाडा सायद टाडा पुगेको हुनुपर्छ ।
०हामी हिंड्नु पथ्यो हिजो नै
र पुग्नु पथ्यो टुङ्गोमा
धेरै लामो भयो हाम्रो विश्राम
धेरै लामो भयो ।
(धेरै लामो भयो)
वास्तवमा हामी जुन अवस्था र स्थितिमा छौं, हामी धेरै पछि छुटेका छौं । एक्काइसौं शताब्दिको यस प्रतिस्पर्धामा हामी कहाँ छौं ? केवल खाने र लगाउने मात्र युद्धमा छौं हामी । हामीले खानु र लाउनुभन्दा पर्तिर सोच्नै सकेका छैनौं तर यसबाटको मुक्ति पनि त हाम्रै प्रयत्नबाट मात्र संभव छ, होइन र ?
उनका कवितामा भेटिएको विद्रोहको सबैभन्दा कडा स्वर यस्तो छ ।–
० ए ! काला सालिकहरू
अब बन्द गर वंशावलीहरू
बक्सिसका तक्मा र लालमोहरहरू
अझै पनि सालिकका दृष्टिहरू क्षतविक्षत हुनै बाँकी छ
सजग !
आवाजहरू सजग होऊ
बन्दुकको सिरानी हालेर
कोही ढुक्कले निदाउन सक्दैन ।
(मुक्तिका मुरलीहरू)
त्यसो त अशेषका कवितामा आमा, पत्नी र छोरीहरू पनि छन् । प्रेम र प्रणयको कामना पनि छ तर, रुमानी प्रेम र प्रणय देखिदैन त्यहाँ । त्यो प्रेम र प्रणयमा पनि सामाजिक र राष्ट्रिय दायित्व सिधा उँभिएको भेटिन्छ । उनको भावुकतामा पनि एउटा जिम्मेदारी संधै पाले भएर उँभिएको हुन्छ । ‘सुहागरात’ कवितामा भन्छन् –
तिमीलाई दुलही बनाएर भित्र्याउँदा
एक्लै आउँछ्यौ भन्ने लागेको थियो
तर तिमी एक्लै आइनौं
एउटा जुलुस पनि बोकेर आयौ
हातमा ल्पेकार्ड लिएको लामो जुलुस
धेरै मूर्दाबाद र थोरै जिन्दाबादका ल्पेकार्ड
धेरै बिरोध र थोरै समर्थनका ल्पेकार्ड
के जुलुस मसंगै बस्छ ?
विवाहको पहिलो सुहागरातमै अभाव र समस्याहरूको स्मृतिले मानसिकतालाई आक्रान्त पारेको छ । गरिबीले थिचेको हाम्रो अवस्थाको यो पीडादायी चित्रण हो । सबै थोक बिर्सिएर जीवनको पहिलो प्रणयको रातमा पनि मनभरी समस्या बोकेर एकअर्कालाई अँगाल्नुपर्ने स्थिति कति निरासाजनक छ ! प्रेम गर्न, माया गर्न पनि फुर्सद छैन ।
केही युद्धका
केही शान्तिका
राष्ट्रिय, अलिकति अन्तराष्ट्रिय
भूगोल र केही इतिहास
अखवार, रेडियो, चर्चा–विचर्चाका कुरा गरेर
केही समय उब्रेछ भने
तिमीलाई माया गरुँला
केही क्रान्तिका टिप्पणी
लेख्दै, पढ्दै, मेट्दै
भैगो, यो पनि किन र !
प्रेमिकासंग वा पत्नीसंग माया गर्न पनि फुर्सद चाहिएको छ । हामीलाई गाँजेर ल्याएको सामाजिक र राष्ट्रिय चेतनाले निजात्मकतालाई समेत नियोजित गरेको छ । पत्नीलाई सम्झिदाको चित्रण पनि भावुकताले भरिएकै छ । जस्तै–
तिमी नभएपछि कोठामा केही पनि हुँदैन
भित्ता, दराज, पुस्तक, तस्वीर केही पनि हुँदैन
तिमी नभएपछि कोठामा कोठा स्वयं पनि हुँदैन ।
(तिमी नभएपछि)
घरमा पत्नीको अर्थ र उपस्थिति खोज्छन् उनी । आफूभित्रै हुन्छ तिनको उपस्थिति । भित्रकै लागि बाहिर खोजिएको त्यसरी ।
अशेषले आफ्ना कवितामा नारीको जीवनलाई सारै मार्मिक पाराले खिचेका छन् । ग्रामीण महिलाको जीवनको यथार्थ रूप यो कविता हो । आज पनि हाम्रा नारीहरू यस अवस्थाबाट मुक्त छैनन् । उनी लेख्छन्–
घाँसको पहाड पिठ्युमा छ
घाम अस्ताउन लागेको छ
र उक्लिरहेकीछे उकालो
नाम सोध्दा थाहा छैन भन्छे ।
० चुला, जङ्गल, कुवा र गोठका स्कुलमा
कसौडी, गाग्री, घाँस र दाउराका अक्षरहरू पढ्दै
जीवनको परीक्षामा हाम फालेर
सँधै अनुत्तीर्ण, आफैंलाई बिर्सेकी
थकित्
अविश्रान्त यात्रामा हिडेकी
नाम सोध्दा थाहा छैन भन्छे ।
(नाम सोध्दा थाहा छैन भन्छे)
नामबिनै, परिचयबिनै सारा जिन्दगी बाँचिरहेका हाम्रा आमा, दिदीबहिनीहरूको जिन्दगीको तस्वीर हो यो । अनाम जिन्दगीको सशक्त चित्र । पत्नी, प्रेमिका, छोरी र नारीका बारेमा उठेको उनको कलमले रुमानी भावुकता र प्रणयचेतको हैन जीवनको कारुणिक पक्षकै प्रतिनिधित्व गरेका छन् । उनका कुनै कविताले पनि हाँसो, रमाइलो र उज्यालो पोख्न सकेका छैनन् ।
गम्भीरता अशेषका कविताका विशेषता हुन् । उनका अरू समकालीन कविहरूका जस्ता कडा विद्रोहका नारा र स्वर पनि सुनिदैन । विध्वंश र विनासका प्रस्ताव पनि देखिदैनन् । सन्तुष्टिका सानातिना बिसौनीहरू पनि छैनन् । मसिनो र भलाद्मी स्वरमा यथास्थितिका बिरुद्ध निरन्तर यात्राको डेगिलो पाइला उचाल्छन् उनका कविताले ।
कविताका अधिकाँश भावनाहरू मानवअधिकार प्राप्ति र गरिबीबाट मुक्तिका निम्ति सशक्त भएर उभिएका छन् ।
अधिकांश कवितामा मुक्तिको चेतना प्रवल छ । प्रायः सबै कविताले यथास्थिति र गतिहिनताका विरुद्ध यात्राको प्रस्ताव गरेका छन् । हिंड्नु पर्ने र हिंडिहाल्नुपर्ने हतारो बोकेका छन् मनमा । तर मनमा मात्र छ–यात्रामा छैन । बास बसेको, अल्छी गरेको, निदाएको, प्रवृत्तिको चित्रणमा धेरै पृष्ठ खर्च भएका छन् ।
प्रायः सबै कविता देशप्रति चिन्तित छन् । राष्ट्रियता र प्रजातन्त्रका लागि छटपटाएका छन् । कविताका अधिकाँश भावनाहरू मानवअधिकार प्राप्ति र गरिबीबाट मुक्तिका निम्ति सशक्त भएर उभिएका छन् ।
सन्देशमुलक र उर्जाशील भए पनि उनका कवितामा एकरसताको कमजोरी देखिन्छ । प्रत्येक कविताले उस्तैउस्तै खाले विचारहरू सम्प्रेषित गरेकाले पढ्ने रुचीमा बाधा पनि उत्पन्न भएको आभाष हुन्छ । यस्तो हुनुमा उनका यी कविताहरूको काललाई फेरि एकपल्ट सम्झेर हेर्नुपर्छ । त्यो काल भनेको प्रजातन्त्रले हारेको निराशाजनक काल थियो । त्यसकालका अधिकांश कविहरूका कविताको धार नै यही थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।