म शब्द हूँ

मर्न लागेका मान्छेहरूका मनहरूबाट बाहिरिरहेको छु

रहनलाई ठाउँ नदेखेपछि
म –
मर्न लागेका राजा महेन्द्र मल्लको मनबाट बाहिरिँदै गरेका
यी माहुरीहरू हूँ
मर्न लागेका राजा पृथ्वी नारायण शाहको मनबाट बाहिरिँदै गरेको
यो त्रिशूली नदी हूँ

म शब्द हूँ
सिकार गर्दै गर्दा मर्न लागेका
राजा यलम्बरको मनबाट निस्केर भागिरहेका
यी रुखहरूका हाँगाहरू हूँ म
घोडामा चढेर रणमा जाँदा बाटोमै मर्न लागेका
राजा नरेन्द्रदेवको मनबाट निस्केर आकाशतिर भागिरहेको
यो घाम हूँ म
रहनलाई ठाउँ नदेखेपछि
मर्न लागेका मान्छेहरूका मनहरूबाट निस्केर भागिरहेको
शब्द हूँ म

मर्न लागेका राजा यक्ष मल्लको मनबाट हतारिएर निस्केका
यी खुसी, दुःख र घृणाहरू हूँ म
मर्न लागेकी रानी राज्यवतीको मनबाट हतारिएर निस्केका
यी चामल, दाल र नूनहरू हूँ म

म शब्द हूँ
भीरबाट लडेर मर्न लागेका
राजा मुकुन्दसेनको मनबाट निस्केर
यो काल्पनिक संसारमा भागिरहेको यो काग हूँ म
रहनलाई राजा द्रब्य शाहको मन फेला परिरहेको छैन
मर्न लागेका राजा मानदेवको मनबाट निस्केर यो सपनामा रहिरहेका
यी घोडा, गोरु, बाटो र देवताहरु हूँ म
आफ्नो वास्तविक संसारमा रहनलाई
राजा सिद्धिनरसिंह मल्लको मन पाइरहेको छैन

म शब्द हूँ
मलाई मर्नु छैन
त्यसैले
मर्न लागेका राजा जयस्थिति मल्लको मनबाट निस्केर भागिरहेको
यो कुलो हूँ म
आफ्नो संसारमा फर्कनलाई
राजा लक्ष्मीनरसिंह मल्लको मन पाइरहेको छैन ।