नब्बे वर्ष पुग्न आँटेका कवि दुर्गालाल श्रेष्ठको जीवनी पुस्तक ‘कवि – कविताको छवि’ हालै प्रकाशित भएको छ । ‘फूलको आँखामा’ गीतबाट नेपालीमाझ व्यापक लोकप्रियता हासिल गरेका कवि दुर्गालाल साहित्यिक वृत्तमा ‘जनकवि’ उपाधिले चिनिन्छन् । वास्तवमै उनी जनताका कवि हुन् । उनले हजारौं हजार गीत रचेका छन् भने लगभग पचहत्तर कविता कृति प्रकाशित छन् । अप्रकाशित कविताका कृति पनि दर्जनौं तयार छन् । मूलत: मातृभाषा नेपालभाषाका लेखक उनी नेपालीमा पनि उत्तिकै सिद्धहस्त छन् ।

कविको सानिध्यमा चालिस वर्ष बिताएका लेखक आर. मानन्धरले सो कृति प्रस्तुत गरेका छन् ।  उनी आफैं पनि कवि हुन्, र कवि दुर्गालालको जीवनीमा शोध गरेर स्नातकोत्तरमा उत्कृष्ट अङ्क हासिल गर्ने शोधार्थी हुन् । उनै लेखकसित जीवनी कृतिमाथि यो अन्तर्वार्ता प्रस्तुत छ ।

===

कवि दुर्गालाल श्रेष्ठ यस्ता श्रष्टा हुन् जो नामले भन्दा सिर्जनाले चिनिन्छन् । ‘फूलको आँखामा’ गीत नसुन्ने नेपाली शायदै होला । उनको जीवनीलाई सारा नेपालीमाझ लिएर आउनुपर्छ भन्ने किन लाग्यो ?

हो, कवि दुर्गालाल भनेपछि मानिसहरू ‘फूलको आँखामा’ गीत सम्झन पुग्छन् । यसले उनको मान भएको छ वा कुनै दृष्टिबाट अपमान, त्यसको समीक्षात्मक विश्लेषण गर्न बाँकी नै छ । साहित्यिक लेखक पाठकले उनलाई कवि भनेर चिन्लान् । तर उनको व्यक्तित्वका अनेक आयाम छन् जससित नेपाली पाठक परिचित छैनन् । यसै कारण उनको जीवनी लिएर आउनु आवश्यक भएको हो ।

उनी ‘फूलको आँखामा’ जस्तो मनलाई शीतलता प्रदान गर्ने गीतका रचनाकार त हुन् नै । तर उनले आगो ओकल्ने गीत पनि रचेका छन् । त्यसैले उनी जनकवि भनेर चिनिन्छ । कवि सँगसँगै उनी नाटककार पनि हुन् । उनका गीति नाटक अब्बल छन् । उनको जीवन अत्यन्तै सङ्घर्षपूर्ण छ । उनी समानताको पक्षमा लड्ने एउटा निष्ठावान् योद्धा हुन् । साधारण मानिसले नभोग्ने असाधारण दु:ख उनले भोगेका छन् । अनेकौं अचम्मका घटनाहरू उनको जीवनमा घटेका छन् । ती रोचक त छन् नै । तिनबाट धेरै शिक्षा पनि लिन सकिन्छ ।

अझ उनी मुख्य रूपमा भाषिक र जातीय योद्धा हुनुहुन्छ । नेवार समाजबाहिर यो कुरा धेरैलाई थाहा छैन । आफ्नै शब्दमा उनी भन्छन्, ‘मलाई कवि लेखक केही नभनिदिओस्, मलाई भाषिक योद्धाको एउटा सिपाहिँ भनिदिए पुग्छ ।’ लेखन मात्र होइन, उनको जीवन नै यही सङ्घर्षमा समर्पित छ । दमन र असमानताको पीडाले उनको हृदय अचाक्ली पोल्छ, रुन्छ ।

प्रतिकारमा उनी सडकमै उत्रन्छन्, कहिले कार्यकर्ता त कहिले अगुवा भएर । यही निष्ठाको सङ्घर्षले दु:खले भरिएको जीवनलाई पनि उनले अर्थपूर्ण बनाएका छन् ।

कतिपय मानिसहरू कसैले भाषा जातिको कुरा गर्यो भने त्यो किन आवश्यक छ र भनेर प्रश्न गर्छन् । नाक खुम्च्याउने पनि छन् । अर्थात् त्यो अनावश्यक ठान्छन् । उनको जीवनी पढेपछि कसैले किन भाषा जातिको कुरा गरिरहेका छन्, तिनको मर्म के हो, भोगाइ के हो प्रष्ट हुन्छ । उनको जीवनी पढेपछि जो कसैले पनि त्यसको उत्तर पाउँछ, फेरि प्रश्नै नउठ्ने गरी ।

वास्तवमा यो जीवनी पुस्तक मात्र कविता लेख्ने कविको कहानी होइन, आजीवन सङ्घर्षमा होमिने युद्ध नायकको महाभारत कथा हो ।

 

प्राय: साहित्यकार वा गैर साहित्यकारले आफ्नो आत्मकथा आफैं लेखेको भेटिन्छ । विदेशतिर आत्मकथा लेख्ने व्यावसायिक लेखक हुन्छन् । तपाईंले नै दुर्गालाल श्रेष्ठको जीवनी लेख्ने अवसर कसरी जुट्यो ?

वास्तवमा म यसलाई अहोभाग्य ठाछु । कवि दुर्गालालसितको मेरो सानिध्य भरखरै युवा हुँदैदेखिको हो । उनीसँग म नजिकिएँ । उनलाई नजिकबाट हेर्ने, बुझ्ने सौभाग्य पाएँ । साथै, दुर्गालालका धेरै पुराना मित्रहरूसित पनि मेरो नजिकको चिनजान रह्यो । यसकारण अग्रज कवि दुर्गालालको विषयमा धेरै कुरा यसै पनि मलाई अवगत नै थियो ।

सचेत रूपमा जीवनी लेख्ने प्रयास स्नातकोत्तरको पढाइबाट सुरु भयो । जब शोधको लागि विषय छनौट गर्नुपर्ने भयो, सूचिमा ‘साहित्यकार दुर्गालाल श्रेष्ठको जीवनी, व्यक्तित्व तथा कृतित्व’ देखेर म दङ्ग परेँ । त्यस बेला विभागीय प्रमुख थिए, डा. दयाराम श्रेष्ठ । मेरो छनौटमा उनले उत्प्रेरणा थपिदिए । अनि शोध निर्देशनको लागि डा. कुमारबहादुर जोशी तोकिदिए । जोशी सरले निक्कै माया पनि गरे, उत्तिकै मेहनत पनि गराए । अनि चिनजानबाट अवगत तथ्यले शोधको संरचना पायो । सोही शोध नै जीवनी पुस्तकको लागि मुख्य सामग्री बन्न पुग्यो ।

म व्यावसायिक रूपमा आत्मकथा लेख्ने लेखक होइन । तैपनि अनुसन्धान र प्रस्तुतिको संरचनामा कुशलता हुनै पर्छ । त्यसलाई व्यावसायिकता भन्ने हो भने अर्कै कुरा हो । तर व्यवसायिक भन्दैमा प्रकाशकले दिएको चल्तीको खाकामा लेख्नेलाई पनि बुझ्ने गरेको छ । त्यसमा पारिश्रमिक पनि पाइएला । मैले पारिश्रमिक लिएर लेखेको पनि होइन । एउटा कविको जीवनी एउटा व्यावसायिक निर्धारित खाकामा लेख्दा कस्तो देखिएला ? त्यसमा पनि कवि दुर्गालालको जीवन हिमालबाट निस्केको नदीजस्तो छ । व्यावसायिक उपयोगिताको लागि नहरजस्तो बनाएर लेखेर त भएन ।

केही प्रकाशकबाट त्यस्तो चेष्टा पनि नभएको होइन । संक्षिप्त होस्, तर कविको जीवनी काव्यमय हुनुपर्छ भन्ने मेरो अभिप्राय हो ।

जीवनी लेखनका क्रममा आर. मानन्धर र दुर्गालाल श्रेष्ठ

उनको जीवनी लेख्न कति समय अध्ययन गर्नु पर्यो ? विगतदेखि वर्तमान कोट्याउन के कस्तो प्रणाली प्रयोग भयो ?

माथि भनिएजस्तै, उनको जीवनको अध्ययन त कलिलो युवाकालमै उनीसितको संसर्गसितै अनजानमै सुरु भएको थियो । त्यो समय भनेको चालिस वर्षअघि हो । यस अर्थमा यो जीवनी चालिस वर्षको अवधिको संसर्गमा अर्गानिक किसिमले विकसित भएको हो । त्यस अवधिमा म उनको घरमा गइरहन्थेँ । साहित्यकै कुरा गर्दै घण्टौं बित्थ्यो । उनलाई कविता फुर्यो कापीमा टिपि दिनु पथ्र्यो । उनका रचनाहरु, अझ पुस्तकै पनि, कम्यूटरमा टाइप गरिदिन्थेँ । कतिपय रचनाका भावभूमि सोध्थेँ । ती निक्कै रोचक हुन्थे ।

सचेत रूपमा जीवनी लेखन स्नातकोत्तरको शोधग्रन्थको तयारीबाट सुरु भयो । सो शोध सकिएको केही समयपछि उनको नागरिक अभिनन्दन कार्यक्रम हुने भयो । ने. सं. ११२७ मा ‘झी दुर्गालाल हने’ (हाम्रा दुर्गालालको सम्मान गरौं) एक वर्ष लामो अभिनन्दन कार्यक्रम भएको थियो । वर्षैभरि विभिन्न संस्था, लेखक, कलाकारले अनेकौं कार्यक्रम आयोजना गरे । कसैले सांगीतिक, कसैले सांस्कृतिक कोसेली चढाए । मैले त्यस बेलासम्म प्रकाशित उनका सम्पूर्ण कृति र उनीसित सम्बन्धित उपलब्ध लगभग सबै सामग्री (अन्तर्वार्ता, लेख आदि) खोज अनुसन्धान गरी एउटा अन्तरक्रियात्मक सीडिमा समेटेर चढाएँ । ‘कविकविता’ नामको त्यो सीडि त्यसबेला निक्कै बिक्री भएको थियो । एउटै कार्यक्रममा एकाध घण्टामै तीन सय चक्का बिक्री भएर पनि अपुग भएको थियो ।

प्रकाशित जीवनी उनीसितको घनिष्ठता, शोधग्रन्थ र त्यसपछि ‘कविकविता’ सीडिको लागि गरेको खोज अनुसन्धानको संयुक्त परिणाम हो । लामो समयको निरन्तर परिश्रमको नतिजा हो । अझ भनौं, कविप्रति मेरो अन्तरमा रहेको हार्दिक भावनाको फल हो । त्यसैले यसलाई पनि कविको विषयमा लेखिएको कविता नै भनेर ग्रहण गर्दा पनि हुन्छ ।

 

कवि दुर्गालाल श्रेष्ठसँग यहाँको लामो सानिध्य रह्यो । उनलाई कसरी चिन्नुहुन्छ वा कसरी चिनाउनुहुन्छ ?

उनी एक संवेदनशील भावप्रधान मानिस हुन् । साना साना कुराले पनि उनीभित्र भावको हुरी चल्छ । उनको हरेक रचनाको पछाडि कुनै न कुनै घटना कारक रहेको हुन्छ । घटनाले छुनासाथ उनी तत्कालै लेख्नुहुन्छ । योजना बनाएर लेख्नेभन्दा कुनै क्षणिक भावमा बगेर तत्क्षणै लेख्ने कवि हुन् उनी । त्यसैले मल्ल के. सुन्दरले उनलाई ‘तत्काल संवेदनाको कवि’ भनेका छन् ।

उनी विचार वा दर्शनप्रधान लेखक होइनन् । परिस्थितिले उनलाई लेखाउँछ । सोचेर, पढेर, गुनेर वा लामो योजना बनाएर लेख्ने उनको गुण होइन । नभए त उनले महाकाव्य पनि लेख्थे होलान् । टिभिमै होस् वा बाटोमा, केही देखियो र त्यसले छोयो भने लेखिहाल्छन् । कसैबाट केही मर्मस्पर्शी कुरा सुने पनि लेख्छन् । त्यसैले पनि होला उनले थुप्रै लेखे । नलेखीकन बितेको दिन नहोला । रातमा निद्रा नलाग्दा पनि कविता नै उनको साथी भइदिन्छ ।

संवेदनाको सम्प्रेषणमा उनी एउटा बालक जत्तिकै इमान्दार छन् । अन्तरसम्म संवेदित नभई कुनै लालसावश कहिल्यै लेखेनन् । अरू त अरू, आफ्नो लेखाइले आफूलाई ठूलो कवि प्रमाणित गर्न पनि उनले खोजेका छैनन् । बरु, हृदयले महसूस गरेको कुरालाई भने किञ्चित् यताउति नगरी लेख्ने कवि हुन् उनी । आफ्नै भावनाप्रतिको इमान्दारिता नै उनको लेखनको विशेषता हो । यो उनको बलियो पक्ष हो भने, कमजोरी पनि यही हो । भावनामै मात्र बगेर लेख्दा वैचारिक रूपमा परिपक्व नहुनसक्ने कुरा पनि उनी महसूस गर्छन् । तर पनि आफ्नै आदतले मजबुर छन् । त्यसैले पनि होला उनी नाटकभन्दा कविता र कविताभन्दा गीतमा बढी सफल छन् । वास्तवमा उनी आफूलाई कविभन्दा पनि गीतकार भन्न रुचाउँछन् ।

नेवाः एकता दिवसको कार्यक्रममा वसन्तपुरमा कवि दुर्गालाल

नेपाली आत्मकथालाई एउटा आरोप छ । सबल पक्षलाई चाहिनेभन्दा बढी उजागर गर्ने र दुर्बल पक्षलाई ढाकछोप गर्ने । यस जीवनीमा पाठकले त्यो गुनासो गर्ने ठाउँ रहन्छ कि रहँदैन ?

जीवनी लेख्ने भनेकै असाधारण व्यक्तिको हो, वा भनौं असाधारण उपलब्धी हासिल गरेका व्यक्तिको । प्रायोजित लेखन हो भने कुरा अर्कै । थोरै मात्र सबल पक्ष भएको व्यक्तिको जीवनी प्रकाशन गर्नै पर्यो भने त्यसमा बढाइचढाइ गर्नु पर्ने हुन्छ ।

दुर्गालाल बेजोड कवि त हुन् नै । तर उनी कोठाभित्र बसेर कविता लेख्ने कवि मात्र नभएर सङ्घर्षको मैदान उत्रने लडाकू पनि हुन् । उनको जीवनबाट शिक्षा लिने कुरा प्रशस्त भएकैले जीवन लेखनतिर उद्यत भएको हुँ ।

तर उनी एउटा सामान्य मानिस पनि हुन्, कतिपय मानवीय कमजोरीले भरिएका । बुझाइको कमी वा अपरिपक्वताले जीवनमा गल्तीहरू पनि गरेका छन् । संस्कारको अघि निरीह भएका घटना पनि छन् । ती घटना र प्रवृत्ति पनि जीवनीमा समेटिएका छन् । उनले आफ्नो जितको मात्र होइन, हारका कथा पनि भनेका छन् । निष्ठावान् पात्रसित भएका हारलाई सहर्ष स्वीकारेका छन् । उनका कमजोरीहरु मैले स्वाभाविक रुपमा उल्लेख गरेको छु, कतै नबिझ्ने गरी । कपिपय भए गरेका कमजोरीको स्वीकार कवि स्वयम्ले गरेका छन्, र आत्मालोचना पनि गरेका छन् ।

कतिपय विरोधाभासी घटनाहरु पनि छन् । तिनलाई तटस्थ प्रस्तुत गरेको छु । जस्तो कि उनी प्रगतिशील भएर धर्मसित जोडिएका परम्पराप्रति विद्रोह गर्दै गर्दा पटक पटक दैवीशक्तिको साक्षी पनि बन्नु परेका थिए । यिनमा म लेखक आफैं हावी भएर कुनै निचोड दिएको छैन, कुनै पक्षमा ढल्केको पनि छैन । जीवनमा बुद्धिले निर्क्याैल गर्न नसकिने अनेक कुरा हुन्छन् । त्यस्ता विरोधाभास देखिने कुरा जस्ताको तस्तै प्रस्तुत गरेको छु । त्यसैमा सौन्दर्य देखेको छु ।

 

कवि दुर्गालालबाट युवा पिढीले लिनसक्ने प्रेरणा वा ज्ञान के हुनसक्छ जस्तो लाग्छ ?

अहिले नब्बे पुग्न आँटेका कवि दुर्गालालले पनि आफ्नो युवाकाल बाँचे, त्यसमा रमाए, बिताए । युवाहरुले आफूलाई मात्र युवा ठान्नु हुँदैन । वृद्धहरू पनि कुनै समय युवा नै थिए । ती भूतपूर्व युवा हुन् । अनुभवले परिपाक भएका युवा हुन् । अझ भनौं भने युवा अनुभूति तिनका दिल र दिमागमा अझै जीवित छन् । पुस्तकमा उनको युवाकालकै घटनाहरू बढी छन्, युवा सङ्घर्षकै कुरा धेरै छन् ।

उनको जीवनीबाट सिक्ने भनेको नै दु:ख र संघर्षमै कसरी रमाउन सकिन्छ भन्ने हो । निराशाजनक स्थितिमा पनि कसरी उर्जावान् भई सङ्घर्षशील हुन सकिन्छ भन्ने हो । दु:खसँग प्रेम गर्न सके कुनै पनि दु:ख कठिन हुँदैन । दु:खसित प्रेम गरेरै उनी रोमान्टिक भए र जीवनलाई प्रेमपूर्ण बनाए । अनेकौं असफलतामा पनि उनी हच्किएनन् । निराश नभई सत्यको बाटोमा एकोहोरो लागिरहने, असत्यसित कुनै सम्झौता नगरी अडिग रहने उनको स्वभाव जोकसैको लागि प्रेरणा हुनसक्छ । सत्यप्रतिको निष्ठा नै उनको धन रह्यो, बल रह्यो । सफलता भनेको लक्ष्य प्राप्ति हुनु वा नहुनुले मात्र नापिँदैन । बरु लक्ष्य नै ओझेलमा पर्दा पनि उही समर्पणले निरन्तर अघि बढिरहनुले उँचाइ प्रदान गर्छ । उनले आफ्नो जीवनबाट यो प्रमाणित गरेका छन् ।

‘झी दुर्गालाल हने’ नागरिक अभिनन्दनअन्तर्गत एक कार्यक्रममा कवि दुर्गालाल र आर. मानन्धर (ने.स. ११२७)

आत्मकथाको भीडमा यो पुस्तक किन पढ्ने ?

यो एउटा कविको जीवन कथा हो । यसमा कविको जन्म, लेखकको रूपमा जन्म, अनि रमाइला प्रेमप्रसङ्गदेखि सङ्घर्षका कथा र जीवनका उतारचढावका घटनाक्रम त छन् नै । त्यसबाहेक पनि मैले लेखकको हैसियतले यस पुस्तकलाई अन्य किसिमले पनि अर्थपूर्ण बनाउने प्रयास गरेको छु ।

यस पुस्तकमा कविको जीवनी सँगसँगै कविका कविताहरुको रसपान पनि पाठकले गर्न पाउने छन् । जीवनका घटना र कविका कविता सँगसँगै बगेका छन् । यसको लागि मैले कविका सबै किसिमका कविताको प्रतिनिधित्व गराउने प्रयास गरेको छु । कुनै पाठकले कविका कविता पढेको छैन भने पनि यो पुस्तक पढेपछि उनी कस्ता कस्ता कविता लेख्ने कवि हुन् भनेर मज्जाले ठम्याउन सक्छ । साथै कविता र एकाङ्कीका रचनाको भावभूमि पनि उल्लेख भएकोले उनी कसरी कुन अवस्थामा लेख्ने गर्छन् पनि स्पष्ट हुन्छ ।

त्यति मात्र नभएर दुर्गालालको जीवनीको बहानामा नेपालभाषा आन्दोलनको इतिहास पनि समेटेको छु । अझ भनौं उपत्यका केन्द्रित पहिचान आन्दोलन पनि प्रस्तुत भएको छ । आन्दोलनका घटना मात्र नभई, आन्दोलनको मर्म पनि झल्काउने प्रयास गरेको छु । फेरि पाठकले फोसामा आधा शताब्दीअघिको काठमाडौंको जनजीवनको झल्को पनि पाउन सक्छन् । तत्कालीन नेवार जनजीवनको सजीव चित्रण पनि यसमा छ ।

मैले भन्ने यत्ति हो । जीवनी लेखन कति सफल भयो भएन, त्यो त पाठक, समीक्षकले ठम्याउने हो ।