आयरल्यान्डका लेखक पल लिन्चले यस वर्षको बुकर पुरस्कार जितेका छन् । उनको पाँचौं उपन्यास ‘प्रोफेट सङ’को विषयवस्तुले उनलाई यो पुरस्कारको हकदार बनाएको हो । उनले उपन्यासमा यस्तो आयरल्यान्डको कल्पना गरेका छन्, जुन क्रमशः तानाशाहको कब्जामा पर्न थालेको छ ।

‘उपन्यासले अहिलेको सामाजिक तथा राजनीतिक दुश्चिन्तालाई समेटेको छ र यसले हाम्रो आत्मालाई नै झंकृत बनाएको छ,’ पुरस्कारको हकदार किन भयो भन्ने प्रश्नमा निर्णायक समितिकी अध्यक्ष क्यानडेली उपन्यासकार एसी एडुजेनले भनिन्, ‘यसले हरकोहीलाई तान्छ ।’

एडुजेन यसअघि दुई पटकसम्म बुकरका लागि छोटोसूचीमा परिसकेकी सर्जक हुन् । छ घण्टासम्मको निरन्तर छलफलपछि यो उपन्यासले ५० हजार पाउन्डको पुरस्कार हात पारेको शनिबार आयोजित एक कार्यक्रममा उनले बताइन् ।

राजधानी डब्लिनमा लोग्नेसँग आनन्दपूर्वक जीवन बिताइरहेकी माइक्रोबायोलजिस्ट एलिस र उनका शिक्षक संघका पतिको जीवनमा आइपर्ने संकटका बारेमा उपन्यासमा बयान गरिएको छ । शिक्षक युनियनका वरिष्ठ अधिकारी रहेका एलिसका पति बेपत्ता भएपछि एलिसले आफ्ना चार सन्तान र एक जना बिरामी बुवालाई छाडेर कसरी गृहयुद्धले ग्रस्त डब्लिनमा आफ्नो दैनिकी र लोग्ने खोजी अभियानको संघर्ष जारी राख्छिन् भन्ने विषयमा उपन्यास केन्द्रित छ ।

पुरस्कार हात पारेपछि आफू ज्यादै खुसी भएको लेखक लिन्चले बताएका छन् । ‘यो लेख्नलाई उति सजिलो किताब थिएन,’ उनले द गार्डियन पत्रिकालाई भनेका छन्, ‘यो उपन्यास लेखेर कतै मैले मेरो लेखन करियरलाई नै त ध्वस्त बनाइनँ भन्ने प्रश्न कयौँ पटक मनमा उठेको थियो । लेख्नै पर्थ्यो किनभने नलेखी मनमा चैन आउने थिएन । यस्ता कुराका लागि हामीसँग छनोटको सुविधा हुन्न ।’

उनले यो पुरस्कार हात पारेपछि यो सफलताका लागि संसारभर अप्ठेरो झेलिरहेका सन्तानहरूलाई समर्पण गरेका छन् ।

रोचक त के छ भने डब्लिनमा हालै भएको चक्कु प्रहारबाट प्राथमिक स्कुलका एक बालक र एक जवान घाइते भएको घटनाका विरूद्ध हिंस्रक प्रदर्शन भइरहेका बेला यो पुरस्कार घोषणा गरिएको छ ।

कुनै राजनीतिक द्वन्द्वका विषयमा लगातार दोस्रो वर्ष पनि पुरस्कार पाउने यो दोस्रो उपन्यास बन्न पुगेको छ । यसअघि सन् २०२२ मा सेहान करूनाटिलकाले द सेभेन मुन्स अफ माली अल्मेडाले पनि श्रीलंकाको गृहयुद्ध र राजनीतिक द्वन्द्वलाई मूल आधार बनाएको थियो ।

सन् १९७७ मा लिमेरिकमा जन्मिएका लेखक लिन्च काउन्टी डोनेगलमा हुर्किएका थिए । यतिबेला उनी डब्लिनमा नै बसिरहेका छन् । उनी बुकर पुरस्कार हात पार्ने प्रख्यात उपन्यासहरूको सूचीमा पाँचौं नम्बरमा परेका छन् । यसअघि आइरिस मुर्डोक, जोन बानभाइल, रोडी डोयल र एन एनराइटले यो पुरस्कार हात पारिसकेका छन् । उत्तरी आयरल्यान्डकी एन बर्न्सले सन् २०१८ मा यो पुरस्कार जितेकी थिइन् ।

लन्डनमा आयोजित पुरस्कार वितरण कार्यक्रममा नाजनिन जघारी रेटक्लिकले कि-नोट भाषण गरेकी थिइन् । गत वर्ष उनलाई इरानले बेलायती जासुस भएको आरोपमुक्त गरेको थियो । उनलाई एकान्तबासमा सहयोग गर्ने सुन्दर किताबहरू नै भएको र तिनले आफूलाई स्वतन्त्र महसुस गराएको उनले बताएकी थिइन् ।

यस पुरस्कारको छोटो सूचीमा पल मुरेको द बी स्टिङ, चेतना मारूको वेस्टर्न लेन, पल हार्डिङको दिस अदर इडन, जोनाथन एस्कोफेरीको इफ आई सर्भाइभ यु र सारा बर्नस्टेनको स्टडी फर अबेडियन्स परेका थिए ।