नेपाली साहित्यमा मूलतः ५० को दशकबाट युद्ध साहित्यको सुरुवात भयो । जनयुद्धकालीन समयबाट सरोकारवालाहरूले जनसाहित्यको नाममा एकतर्फी युद्ध साहित्यको सिर्जना गरे । यो सिर्जना एक किसिमको विचारप्रधान भई एक वर्ग  र उद्देश्यको लागि मात्र लेखिएको थियो । तर यही समयबाट सचेत साहित्यकारहरूले युद्ध साहित्यको आधिकारिक सुरुवात पनि गरे ।

कथाकार डा. राजुबाबु श्रेष्ठले ५० को दशकमा नै “मालिनोसेलोको जून” नामक कथाकृति प्रकाशन गरेका थिए । त्यहाँ  श्रेष्ठले केही युद्ध कथाहरू लेखी नेपाली साहित्यमा आफूलाई  युद्ध साहित्यको एक कुशल कथाकारको रूपमा उभ्याउन सफल भइसकेका थिए ।

राजुबाबु श्रेष्ठ आफ्नो कथाकारिताको सक्रिय याममा नेपाल प्रहरीसँग आबद्ध थिए । यही समयमा उनले देशभित्र चलिरहेको जनयुद्धलाई नजिकबाट नियाल्ने मौका पाएका थिए । त्यसो त उनले नेपाल प्रहरीको तर्फबाट युएनमा आबद्ध भई केही विदेशी भूभागमा भएको भीषण युद्धहरूमा शान्तिको लागि काम गर्दै युद्धलाई नाङ्गो आँखाले प्रत्यक्ष देख्न र भोग्न पनि पाएका थिए । यी भोगाइहरूलाई कथाकार राजुबाबु श्रेष्ठले कुशलताका साथ युद्ध अनुभूतिलाई कलमको हतियारबाट लडेर पाठकहरूका मन मस्तिष्कमा विजयी भएका छन् । यस कार्यलाई थप पुष्टि र निरन्तरता दिन राजुबाबुले “बेनामे जर्नेल” कथासङ्ग्रहको प्रकाशन गरेका थिए । आजको यस शृङ्खलामा म कथाकार राजुबाबु श्रेष्ठको “बेनामे जर्नेल” बारे दीपक दृष्टि राख्ने अनुमति चाहन्छु ।

बेनामे जर्नेल

बेनामे जर्नेल

“बेनामे जर्नेल”लाई इन्डिगो इन्क प्रकाशन प्रा.ली.ले वि.सं. २०७९ सालमा प्रकाशनमा ल्याएको हो । आवरण, साजसज्जा, कागज र छपाइको दृष्टिले उच्च देखिएको यसमा सङ्ग्रहित कथाहरू गुणको हिसाबले पनि अब्बल भएर रहेका छन् । पन्ध्र वटा कथाहरू सङ्ग्रहित छन् । अधिकांश कथाहरू दुई हजार क्यारेक्टर्सभन्दा माथि छन् । पुस्तककै नाम रहेको शीर्ष कथा “बेनामे जर्नेल”  शब्दको हिसाबमा लामो छ  तर  भद्दा  छैन । कथालाई पाठकले पात्रहरू सँगसँगै रमाएर नै कथा तुर्छन् ।

कथाहरू प्रायः युद्ध, गरिबी, मधेस, राजनीति, महिला, यौन र राष्ट्रियता सबल बनेर देखिएका छन् । तर यति हुँदाहुँदै पनि उनको कथाको मूल चुरो भने युद्ध नै हो । कतिपय युद्धकथाहरू पढिरहँदा जर्मनीहरूले निर्माण गरेका युद्ध चलचित्रहरू हेरिरहेको आभास हुन्छ । कथामा कहाँ, कहिले र कसरी गोली वा बम पड्कन्छ स्वयम् पात्र वा पाठकले कतै अनुमान काट्दैनन् । कथा युद्ध जित्नकै खातिर अघि बढिरहन्छ । तर त्यही युद्धकथामा थाहा नपाउँदो गरी नायक र नायिका जन्मिछन् र कथाको अन्त्यमा प्रेमको सुवास युद्धमा पड्किएको बारुद र गोलाको धुवाँभन्दा बढी यादगार र चोटदार भएर पाठकको मन मुटुमा सदा सर्वदा रहिरहन्छन् । युद्ध साहित्यमा राजुबाबु श्रेष्ठको यो कला दमदार र पेचिलो छ ।

“बेनामे जर्नेल” कथामा कथाकारले युद्धको अलावा मधेसीभूमि र त्यही भूमिका भुइँमान्छेहरूको व्यथालाई  उतारेका छन् । आफ्नो प्रहरी जीवनमा मधेसी भूमिमा रहेर कति राष्ट्रिय महत्वका कामहरू राजुबाबु श्रेष्ठले गरे त्यो त नेपाल प्रहरीको रेकर्डमा नै होला । तर मधेसी भूमिमा रहेर कथाकारले राष्ट्रियताको लागि भुल्नै नसकिने  साहित्यको सिर्जना चाहिँ जरुर गरेका छन् । “बेनामे जर्नेल” कथासङ्ग्रहभित्रको पहिलो कथा “जङ्गे पिलर” नै यसको एउटा जबरजस्त नमुना हो । यस कथामा अनागरिक नेपाली धर्तिपुत्र गरिब मधेसी परिवारहरूले पुस्तौंपुस्तासम्म कसरी जङ्गे पिलरको नाममा देशको सिमाना जोगाइरहन्छन् भन्ने कुरा सचित्र वर्णन गरिएको छ । यस कथामा सीमा रक्षामा हाम्रो सरकार कति सुस्त र उदासीन छ भन्ने कुरा बढो शान्त पारामा देखाइएको छ । यही कथाको अन्त्यले हाम्रो अनुसन्धान र पत्रकारिता कति फितलो छ भन्ने कुरालाई पनि झल्काइएको छ ।

त्यसैगर “छोरीको बोझ”, “मोहम्मदीको चकलेट” , “मेयर मोतीलाल ” , “बोर्डर पार” जस्ता कथाहरूले पनि मधेसी पीडा र गरिबीलाई बोकेर कतै राजनीति त कतै महिला हिंसाको विकृतिलाई पर्दाफास गरेको प्रस्ट देखिन्छ । तराईका भागहरूमा व्याप्त दहेज प्रथालाई पनि कथाकारले नजिकबाट छोएर कथामा आफ्नो अनुभूतिहरूलाई कथानकमा ढालेका छन् ।

श्रेष्ठको कथाकारिताको एउटा सुन्दर पक्ष भनेको कथामा व्यक्त हुने शील यौन पक्षहरू पनि हो । एउटा सामान्य विषयको उठान गरी सामान्य पात्रको यौन मनोविज्ञानलाई चर्चाको चुलीमा पुर्याएर पाठकलाई न्यानो र उकुसमुकुस बनाउन कथाकारको सीप सक्षम छ । यौन कथामा भद्दा र छाडा शब्दहरूको प्रयोग गरिनु पर्ने एकपक्षीय मान्यतालाई कथाकार राजुबाबुका यौन कथाहरूले तोडेका छन् । यसको प्रमाण “झ्यालको चेपबाट” कथाले दिन्छ । यस कथामा देखिएकी एक गृहिणीले छिमेकमा देखिएको एक नौजवान पुरुषसँग नबोली मनमा उत्पन्न भावहरूलाई आफैभित्र खेलाई मनोभावमा प्रस्तुत गरिएको छ । कथाले पाठकलाई तुरुक्क रुवाउन विवश बनाउन सक्छ ।

कथाकारको अर्को शिल्प हो, कथामा भर्ने उपकथा र पटकथा । उपकथाहरूले कथालाई दह्रो र खरो बनाएको छ । अझ त्यसमाथि प्रयोगमा आएका पटकथाहरूले  हरेक कथालाई स्तरीय बनाउन सहयोग गरेका छन् ।  कथाहरू लामा जरुर छन् तर भाषाको कोमलता र शैलीको माधुर्यले गर्दा  पाठकले पढ्न थालेपछि छोडिहाल्ने दुस्साहस गर्दैनन् ।

डा. राजुबाबु श्रेष्ठ

डा. राजुबाबु श्रेष्ठ

नेपाली कथाले विश्व कथा साहित्यमा प्रतिस्पर्धा गर्न सक्ला ? यो प्रश्न  बहसको विषय बनिरहेकै बेला  श्रेष्ठका कतिपय कथाहरूलाई विश्व कथा साहित्यको रिङमा उतार्न  सकिन्छ । युद्धका विषयहरूमा लेखिएका उनका कथाहरूलाई परिवेश, पात्र, चरित्र, शब्दसंयोजन र युद्ध विभीषिका साथै त्यही युद्धको अवशेषमा रहने प्रेम र निस्सारता आदिको कोणबाट अब्बल ठम्याउन सकिनेछन् । उदाहरणको लागि बेनामे कर्णेल कथालाई नै लिन सकिन्छ । यस कथाले अन्तर्देशीय पृष्ठभूमि बोकेर युद्धभित्र बीभत्स दृश्यमा पनि प्रेम अङ्कुरण गराएको छ ।

वास्तवमा श्रेष्ठका हरेक कथामा युद्धको गन्ध र सुगन्ध कतै प्रस्ट र कतै अस्पष्ट छ । राजुबाबुको युद्धकथाको चर्चा गरिँदा गोर्खाली ठिटोको पृष्ठभूमिलाई पनि हामीले राम्रोसँग बुझ्नु पर्छ ।  गोर्खाको माटो  सुन्दर युद्ध र त्यसभित्र प्रेम  जमाउने माटो हो । चेपेको किनारामा उभिएर द्रव्य शाहकी आमाले दूधको धारा चेपे नदीमा बगाउँदै युद्धमा प्रेमको रस सिँचेको ऐतिहासिक कथा पढेका थियौँ । यही पढेर  हुर्किएको ठिटो राजुबाबुले लेखेका हरेक युद्धकथामा केवल युद्ध मात्र हुँदैनन् त्यहाँ प्रेम र प्रेमभित्रको अव्यक्त पीडाहरूको मुस्लाहरू पनि हुन्छन् । उदाहरणमा  राजुबाबु श्रेष्ठ सर्बियन गाउँहरू घुमुन् वा नेपाली तराई र पहाड भौँतारिउन्, त्यसमा पाठकलाई केही वास्ता हुने छैन । राजुबाबु जता पुगे पनि कथाकारको आँखाले कथा खोज्छन् । उनी अधिकांश कथाहरूलाई युद्धकै आँखाले टिप्छन् र त्यही टिपिएका कथाहरूमा प्रेमको सुगन्ध पनि छर्किन्छन् ।

वास्तवमा कथाकार राजुबाबु श्रेष्ठ भनेको युद्धमा पनि प्रेम खोज्ने कथाकार हुन् । भीषण युद्ध र त्यही युद्धभित्र प्रेम पढ्न नेपाली पाठकहरूले मात्र होइन राजुबाबु श्रेष्ठलाई पढ्न विदेशी पाठकका आँखाहरू पनि सायद कुरिरहेका छन् । अब ‘बेनामे जर्नेल’ जस्ता कथाहरूको अङ्ग्रेजी अनुवादको खाँचो छ  र खाँचो छ, नेपाली कथालाई विश्वका कथासँग सोझै युद्ध गराई युद्धकथामा नेपाली सुगन्ध र प्रेम फैलाउन ।