सबेरै निद्राले छोड्यो। भित्तामा झुन्डिरहेको भित्ते घडी हेरेँ, बिहानको ५ बजेको रहेछ । चिसो बढिरहेकोले उठ्न मन लागिरहेको थिएन । राति पनि त्यति सुत्न पाएको थिइनँ । आमा रातीको ८-९ बजेदेखि बिहानको २-३ बजेसम्म मोबाइल अगाडि बसेर विभिन्न हाउ भाउमा गफिन थाल्नु भएको पनि केही वर्ष भयो । बाबाले तीन वर्षअघि विदेशदेखि पठाइदिनु भएको स्मार्ट मोबाइल नै उहाँको रातको सहारा भएको छ । पुरानो र नयाँ गरी दुईवटा मोबाइल साथमै राख्नु हुन्थ्यो ।
बाबा घरमा हुनुहुँदासम्म हाम्रो घरमा इन्टरनेट थिएन, इन्टरनेट के हो भन्ने सम्म मलाई थाहा थिएन । म जम्मा तीन कक्षामा पढ्थेँ बाबा विदेश जानु हुँदा । मलाई याद छ, म बाबासँगै काठमाडौँ गएको थिएँ । आमा पनि साथमै हुनुहुन्थ्यो । नाइट बसको लामो यात्रा तय गर्दै जाँदा विदेश भनेको कहाँ होला भनी निकै खुल्दुली भएको थियो । विदेश भनेको त्यति टाढा होला जस्तो लागेकै थिएन । मलाई के थाहा विदेश जानु भनेको बाबालाई दिन दिनै देख्न नपाउनु हे, सँगै हुन नपाउनु हो भनेर ।
काठमाडौँ जाने भनेर गइयो, बस निरन्तर कुदिरहेको थियो रातलाई छिचोल्दै, बेला बेला घच्घचाउँदा डरले हैरान भयो । रातभरि बाबाको छातीमा टाँसिएर निदाइछु । निद्राबाट बिउँझँदा झिसमिस उज्यालो हुँदै रहेछ । बाबाको काखमै थिएँ उहाँ अझै निदाइरहनु भएको थियो, आमा पनि सँगैको सिटमा सुतिरहनु भएको थियो, लहरै लहर घरहरू आएको आइ छ, बस निरन्तर गुडिरहेको छ । अब सहर आए जस्तो लाग्यो । मैले त्यस्तो बजार कहिल्यै देखेको थिइनँ । तराईमा भन्दा त कति धेरै गाडी, घर, पसल, म दङ्ग परेको थिएँ त्यो बेला ।
अहो ! बाबा विदेश जानुभएको पनि ४ वर्ष पुग्न लागेछ । बाबाले एयरपोर्ट भित्र जाने बेला आमालाई राम्रोसँग बस्नु अनि छोरीको, आफ्नो राम्रो ख्याल गर्नु भनी निन्याउरो मुख लगाएर मलाई अँगाल्नुभएको थियो । मलाई गालामा माया गर्नुभएको थियो, धेरै पढ्नु भनेर एक पूरी बिस्कुट दिनुभएको थियो । म निकै डराएँ, आत्तिएँ, बाबा कता जान लाग्नु भयो भनेर । मेरो आँखामा आँसु टिलपिलाए, म धेरै रोएँ ।
आज लक्ष्मी पूजा ! आँखा खोले देखिनै बाबा लाई मिस गर्दै छु । केही वर्ष भयो उहाँसँगै दशैँ तिहार मनाउन नपाएको । घरमा आमा र म मात्र छौं । मेसेन्जरमा बाबासँग भिडियो च्याट गर्दा पनि आनन्द आउँछ । बाबा मसँगै होस जस्तो लाग्छ ।
यस्तै सोच्दै फेरि घडीतिर आँखा कुदाएँ, मात्र ६ बजेको रहेछ । आमा अझै उठ्नु भएको छैन । उहाँको उठ्ने दैनिकी नै बिहानको ९ बजे तिर हो । सबै कुराको तयारी गरी स्कुल जाने बेला सम्म पनि मेरी आमा सुतिरहेकी नै हुन्छिन् । म पनि अचेल कक्षा ७ मा पढ्ने भएकी छु घरको कामभन्दा गर्न सक्ने भएकी छु । मेरी आमा जम्मा २८ वर्षकी हुनुभयो गत असोजमा । बाबा भन्दा जम्मा दुई वर्ष कान्छी । मलाई ज्यादै माया गर्नुहुन्थ्यो, बाबा विदेश नगएसम्म । मलाई मेरोलागि सबै समय दिनुहुन्थ्यो ।
मेरो बाबा ट्याम्पो चालक भएर जेनतेन कमाएर हामीलाई कुनै कमीमा राख्नु भएन सकेको खाएम, सकेको लाएम । यसमा आमाको पनि ठूलै योगदान रह्यो । कक्षा १० सम्म पढेकी मेरी आमाले ठूलै रेखदेख गर्नुभयो । बाबा विदेश गएपछि भने म र आमा एक्लै एक्लै पर्न थाल्यौं । बाबाको दिनदिनैको कमाइबाट अब महिना कुर्नु पर्ने भयो । महिना बितेपछि बाबाले घरखर्च भनी ४० हजार पठाइदिन थाल्नु भयो । बेला बेला बाबाले फोन गर्नुहुन्थ्यो धेरै खर्च नगरी बचत पनि गर्न आमालाई भन्नुहुन्थ्यो । यता आमाको दिनचर्या पहिले जस्तो थिएन । दिनभरि साथीसँग गफिनु अनि घरमा कम समय दिनु । दैनिक जसो फेरिएको मेरी आमाको जीवन शैलीमा पल्लो घरको आन्टीको सङ्गतले झन् शृङ्गार थपेको छ ।
आमाको आनीबानी शृङ्गार पटार, लवाई दिनदिनै फरक हुन थाल्यो, त्यसैले अचेल निकै राम्री हुनु भएको छ । स्कुल गए पछि चाहिँ आमाको क्रियाकलाप थाहा नहुने नै भयो । शनिवार र बिदाको दिनमा भने हाम्रो १ तले घरमा छतमा बसेर आमा र आन्टीको लागि कयौँ टिकटक भिडियो खिचिदिएकी छु । कहिले ‘बादल वर्षा, बिजुली…’ त कहिले ‘अरेली काढा …’ वाला गीतमा । उहाँहरू मच्ची मच्ची नाच्नु गाउनु दिनचर्या जस्तै नै थियो। आधा खुलेको ब्लाउज र साडीमा कम्मर,नितम्ब नचाउनु, भिडियो बनाउनु अति भद्दा महसुस गर्थें । यो उहाँहरूको व्यक्तिगत रुचि होला तर यो हर्कतबाट मैले के सिकुँला जस्तो लाग्थ्यो ।
फेरि घडी हेरेँ ८ बज्न मात्र १० मिनेट बाँकी छ, आमाको उठ्ने सुरसार अझै भएको छैन । बेलुकी मोबाइलमा व्यस्त हुन थालेदेखि उहाँको बेड र मेरो बेड अलग भएको छ । तर आमाको बोली अलि चर्को भएको अनि कोठा पनि नजिकै भएकोले उहाँले गरेको हरेक कुराहरू प्रस्ट सुन्न सक्थेँ । त्यो मलाई याद छ, मात्र २ दिन बाँकी थियो दशैँको टिकाको दिन, घरमा एउटा अङ्कल कोसेली बोकेर आउनु भयो । “बाबाले विदेशबाट पठाइदिनु भएको” अङ्कलले भन्दा कस्तो कस्तो रमाइलो लागेको थियो । बाबाले मलाई घडी, जुत्ता, चकलेट अनि आमालाई पनि घडी, पाउजु र कुर्ताको सेट पठाइदिनु भएको रहेछ ।
त्यो भन्दा अगाडि ३० हजार पनि IME बाट आमाले निकाल्नु भएको थियो । दशैँ टिकाको दिनको कुरा हो, मामा घरबाट फर्के पछि बाबाले फोन गर्नु भएको थियो, पैसा सामानको बारेमा बुझ्न । आमाले पायौँ भनेर जवाफ दिनुभयो । हामीलाई बाबाले दशैँको आशीर्वाद दिनुभयो । मैले बाबालाई अब छिटो आउनुस् घर भनेँ । उहाँले अमिलो मन बनाएर फोन राखिदिनु भयो । मलाई थाहा छ, उहाँ आफ्नो आँखामा आँसु आउनु अगाडी नै फोन राख्नु हुन्छ भनेर । नरमाइलो लाग्छ त्यति बेला । आमा अचेल फोन राख्नै हतार गर्नुहुन्छ, अरू बेला नि बाबासँग धेरै कुरा गर्नु हुन्न । त्यही पैसा आवश्यक भएको बेला छिटो पठाइदिनु भन्नुहुन्छ, समस्या देखाउनु हुन्छ । कहिले आउनु हुन्छ भनेर आमाले बाबालाई सोधेको याद नै छैन । घर छिमेकमा तेरो आमा यस्तो उस्तो भनेको मात्र सुन्छु । योसँग लागेको छ, त्योसँग लागेको छु भनी सुनेको धेरै भयो ।
आमासँग यो बारे कुरा गर्दा ‘तँ बढी जान्ने न हो‘ भनेर झपार्नु हुन्छ । त्यही टीकाको दिन बेलुकी खाना खाए पछि फेरि उहाँको शृङ्गार सुरु भयो, चिटिक्क परेर टिकटकमा जोडिनु भयो । अहो उहाँ राम्री भएर ‘लाइभ’मा बस्नु भयो । यो दशै बिदामा सरहरूले विषय पिच्छे नै धेरै गृहकार्य दिएर दङ्ग पार्नु हुन्छ । कति गर्नु यो गृहकार्य पनि…जति गरेपनि जिउको तिउँ । करिब बेलुकी ८ बजेतिर बाबाले मेसेन्जरमा फोन गर्नुभयो । आमाले फोन उठाउनु भएन । २ घण्टी लगातार बज्दा पनि उठाउनु भएन, उहाँ अर्को मोबाइलमा टिकटकमा व्यस्त हुनु हुन्थ्यो । तेस्रो पटक घण्टी आएपछि म कोठाबाट फोन उठाउन गएँ । मेरी आमा हतार हतार बाथरुम जानुभयो । मैले फोन उठाएर बाबासँग कुरा गर्दै थिएँ- बाबाले ‘के गर्दै?, के खायो ? आमा खोइ ?‘ भन्नु भयो । मैले बाथरुम जानुभएको छ भनेँ ।
आमा केही बेरपछि बाथरुमबाट सबै शृङ्गार पखालेर आउनु भएको थियो । अनि बाबासँग कुरा गर्नु भयो – ‘किन हो र यति राती नि फोन गरेको ?’ । आमाले अनि सन्चो नभएको कुरा गरेर फोन हतारमा राखिदिनु भयो । अनि मलाई ‘तँ कोठामा जा …’भनेर झपार्नु भयो । म विस्मात बोकेर कोठामा गएँ । आमाको झर्किलो बोलीले टीकाको दिन पनि कस्तो खल्लो र नरमाइलो लाग्यो । आमाको बारे बाबालाई सबै कुरा फोनमा भनुँला जस्तो लागेको छैन किनकि उहाँ विदेशमा हुनुहुन्छ, चिन्ता गर्नु हुन्छ । ‘आ… ‘आउनु भए पछि नै भन्छु भनेर बसेकी छु । बाबालाई धेरै ‘मिस’गर्दै केही बेर त्यतिकै बसेँ । “ए भगवान् त्यत्रो गृहकार्य त गर्ने बाँकी छ ।” तिर्खा लाग्यो, पानीको लोहोटा लिन म भान्छा कोठा जाँदा मेरी आमा फेरि सजिएर, झनै राम्री भएर ‘टिकटक’लाइभमा बस्नु भएको रहेछ । कोठाभित्र पस्नै लाग्दा उहाँले फेरि आँखा तर्नु भयो । कस्तो डर पो लागेको थियो ।
कोठामा गई गृहकार्य गर्दै थिए, एक्कासि म झस्किएँ,
“मोहन… ए हजुर… के हो अनलाइन हुँदा नि नबोल्ने ?”
“आम्मा के सारो हो मान्छे त ?” भन्दै आमाले जादु स्वर निकालेर कुरा गर्दै हुनुहुन्थ्यो । मानौँ त्यस्तो मिठो जादु बोली र आँखा बोल्ने पारेपछि कस्तो साह्रो चट्टान नै पगालिदिन्छ होला जस्तो लाग्यो । अरे एक मनले सोचे विदेश गएपछि बाबाले पो नाम परिवर्तन गरेर मोहन पो राख्नु भयो कि ?, फेरि उहाँको नाम बद्रीकुमार हो । आमाले को सँग किन कुरा गर्नु भएको केही भेउ पाउन सकिनँ । अनि बिस्तारै चाल मारेर गएर हेर्दा टिकटकमा दारी जुँगा वाला मान्छे सँग च्याट गर्दै हुनुहुँदो रहेछ मेरी आमा । बाबाले कहिल्यै दारी जुँगा पाल्नु भएको मलाई याद छैन ।
मैले चासो दिएको देखेर आमाले ‘अझै सुतेको छैनस्’ भनेर आँखा तर्दै ढोका ढक्क लगाउनुभयो । होमवर्क गर्न मनै लागेन । नरमाइलो लाग्यो । बाबालाई धेरै सम्झेँ । कति बेला निदाएछु, त्यो रात पत्तै पाएन ।
यस्तै कुरा सोच्दै थिएँ, घडीले साढे आठ बजायो । हिजो बजारबाट किनेर लेराएको सयपत्री माला तेतिकै असरल्ल छ । उठेर यसो उनेर राखौँ कि लाग्यो तर मलाई कहाँ उन्न पो आउँछ र ? त्यसो त फेरि आमा अहिलेसम्म नि उठ्नु भएको छैन । टाउको पनि हल्का दुखिरा छ, हिजो राती राम्ररी सुत्न नि पाएको थिइनँ, यसो उठेर बाथरुम गएँ । फर्केर आउँदा आमाको कोठाको ढोका खुल्लै देखें, यसो चियाएर हेरें । बाबाले पठाइदिनु भएको पाउजु, घडी टेबलमै असरल्ल थियो । निलो रङको कुर्ता, शृंगारका सामानहरु -आखाँको कृतिम परेला, कृतिम नङहरू सबै त्यही थियो । मेरो मानसपटलमा मलाई हिजो राती मेरो निद्रा भंग गर्ने आमाको सुरिलो बोली हरूको याद आयो, कति जनासँग गफिनु भयो । कति मिठो मिठो वार्तालाप सुन्नु पर्यो । धेरै पटक ‘ट्याप ट्याप’ ‘ट्याप ट्याप’ गर्नु भनेर अनलाइनका अङ्कलहरूलाई अनुरोध गर्नुभयो ।
धेरै पटक जसो ‘A ले A लाई B ले B ‘ लाई भन्नु भयो । ‘वाउ चश्मा’, ‘वाउ टोपी’ ‘वाउ प्लेन’ ‘वाउ रोज’ त कति भन्नु भयो कति, मन्त्रनै जपे सरी । सबैलाई मदहोसी पारामा ‘थैंक यु’ ‘थैंक यु’ ‘धन्यवाद धन्यवाद’ भन्नु भन्यो । कति मोहन जस्ता अङ्कलहरूसँग मन साट्नु भयो होला, यी क्रियाकलापहरू एक ठाउँमा थियो तर मोहन जस्ता अङ्कलहरूले ‘त्यो देखाऊ न’ ‘एकछिन त हो नि देखाऊ न’ भन्दा आमाले ‘ए एकछिन है त, अझै कति ? देख्नु भएन ? टिकटकमा लाइभ आयो कि खाली देखाऊ मात्र भन्ने ला हेर बाँदर, कुत्ता’ भनी मायालु भावले उहाँले अनलाइनका अङ्कलहरूका अनुरोध पुरा गरिदिनु भयो । हो त्यही बेला चुरा बज्थ्यो, पाउजुको आवाज सुनिन्थ्यो । त्यति बेला म सोच्थे, आमाले अस्ति बाबाले पठाइदिनुभएको पाउजु, घडी टिकटक लाइभमा देखाउनु पर्ने किन होला ? अनि अङ्कलहरूले कस्तो राम्रो रहेछ भनी किन भन्नु भयो ? के त्यो आवश्यक छ र जस्तो लाग्छ । बिरामी पर्दा निधारमा पानी पट्टी लगाइदिएर मलाई दिनभरि रातभरि कहिल्यै छोड्नु हुन्थेन । छातीमै टाँसेर सुताउनु हुन्थ्यो मलाई तर अचेल म एक्लै महसुस गर्छु । बिरामी हुँदा पनि धेरै रात एक्लै परेकी छु । आमाको काख र न्यानो माया बिस्तारै गुमाउँदै छु । आमाको स्नेह, स्पर्श सबै मनोज अङ्कलहरूले खोसिदिनुभएको छ ।
अहो ९ बजिसकेछ । आमाको अझै उठ्ने सुरसार नै छैन । हिम्मत गरेर आमा उठ्नुस् भनेर उठाएँ, उहाँले मन नलागी नलागी कोल्टे फेर्नु भयो । मैले फेरि भनेँ, ‘९ बजिसक्यो, आज लक्ष्मीपूजा केही तयारी गरेकै छैन, माला पनि उनेकै छैन, अब त उठ्नुस् आमा ।”
आमाले कन्दै ‘जा चिया लिएर आइज’ भन्नुभयो । दूध थिएन, ढाका काकाको घरमा गएर दूध लिएर आएँ अनि चिया पकाएर आमाको कोठामा लगेर टक्राएँ । आमाले मोबाइल हेर्ने हुनुहुँदो रहेछ, अकस्मात् उहाँले मन अमिलो बनाउनु भयो । अनुहारको भावबाटै थाहा पाए पक्का केही भएको छ भन्ने । तुरुन्तै पल्लो घरको आन्टीलाई फोन गर्नु भयो- ‘सुनिस् आजै बाट टिकटक बन्द गर्ने रे सरकारले’ ।
म धेरै खुसी भएँ, सरकार को हो थाहा थिएन सरकार भनेको प्रधानमन्त्री वा राजा होला भनी सोच्थेँ, जसले बन्द गरे पनि मनमनै धन्यवाद दिएँ । आमा दिनभरि जसो छटपटिनु भयो । बेलुकी लक्ष्मी पूजा गरिसकेपछि पनि उहाँ तनाव मै हुनुहुन्थ्यो । खाना पनि राम्रो सँग खानु भएन । स्कुल खुल्ने बित्तिकै सरलाई बुझाउनु पर्ने होमवर्क धेरै नै गर्न बाँकी थियो। म त्यही गर्न बसें । एक्कासि आमाले बोलाउनु भयो ‘मुना त यहाँ आइज !’ म डराई डराई आमाले बोलाउनु भएतिर लागे । उहाँ आज बिना शृङ्गारमा सरल रूपमा हुनुहुन्थ्यो । उहाँले मलाई अझ नजिक बोलाउनु भयो र अँगालोमा कसेर भन्नुभयो, ‘त आज मसँगै यहाँ सुत !’
सुन्दा पनि मलाई कस्तो आनन्द लागेर आयो । धेरै पछि म आमासँगै सुतें । मिठो माया र स्नेह फेरि प्राप्त गरेको अनुभव भयो । आमाको वासनालाई ठूलै सास लिएर फोक्सोभरी पारें । खुशीले गद्गद् भएँ । सबै दुख: पीडा भुलेँ । अनि मायालु पाराले आमालाई भनेँ, ‘आमा विदेशबाट बाबालाई सधैँको लागि बोलाउनुस् न’।
आमाले मुन्टो मात्र हल्लाउनु भयो । शायद उहाँलाई लाग्यो होला, एउटा टिकटक र परपुरुष हकसँगको हाँसीमजाक, मस्तीले आफ्नो सन्तान, परिवारको मायालाई कसरी छायामा पर्दो रहेछ भनेर । उहाँ धेरै बेर केही बोल्नु भएन, मलाई सुमसुम्याइरहनु भयो, मुसारिरहनु भयो । म फेरि आमाको सानी पुतली भएँ, मायाले गद्गद भएँ । मनमनै टिकटक बन्द गर्ने ‘सरकार’लाई धन्यवाद दिएँ ।
आमाको बाहुमा मस्त निदाएँ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।